काठमाडौं/२७ पुस
भक्तबहादुर श्रेष्ठ अर्थात् कामरेड शेरसिंह नेपाली कम्युनिस्ट आन्दोलनका एक सच्चा, इमान्दार र क्रान्तिकारी नेता हुनुका साथै उहाँ माक्र्सवादी दर्शन र राजनीतिक अर्थशास्त्रका एक आधिकारिक व्यक्तित्व भएको कुरा आज एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । उक्त कुरा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजित तेह्रौं स्मृति दिवशका सन्दर्भमा बोल्ने वक्ताहरुले बताएका हुन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठान, घट्टेकुलोमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सो प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले भक्तबहादुरको योगदानको चर्चा गर्दै भन्नुभयो – ‘भक्तबहादुर श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका एक क्रान्तिकारी, सिद्धान्तनिष्ठ, माक्र्सवादी दर्शन र राजनीतिलाई पचाएर त्यसको व्याख्या गर्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले निकै कठिन परिस्थितिमा क्रान्तिकारी धाराका रुपमा स्थापित भएको नेपालको मुल धारको कम्युनिस्ट पार्टीको महामन्त्री भएर पार्टी र क्रान्तिलाई अगाडि बढाउनुभएको थियो ।’ त्यसैगरि अर्का वक्ता रामसिंह श्रीषले भक्तबहादुरले मोहनविक्रम सिंह र निर्मल लामालाई समेत सन्तुलनमा राखेर पार्टीलाई एकढिक्का बनाएर नेतृत्व गर्न सफल रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने अर्का वक्ता हेमन्तप्रकाश ओली सुदर्शनले भक्तबहादुर श्रेष्ठले माक्र्सवादी दर्शन र माक्र्सको कृति पूँजीजस्तो अत्यन्तै गहन र कठिन पुस्तकलाई पनि अध्ययन गरेर पचाएर त्यसलाई सरल र सहज भाषामा त्यसको व्याख्या गरेर नेपाली कम्युनिस्ट आन्दोलनका अध्ययताहरुलाई दिनुभएको विषयको चर्चा गर्नुभयो ।
यसैगरि भक्तबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हरिभक्त कंडेल, रामबहादुर बुढा, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, भक्तहादुर प्रतिष्ठानका सदस्य प्रह्लाद लामिछाने, भक्तबहादुरकी छोरी प्रभा श्रेष्ठलगायतले उहाँको योगदानको चर्चा गरेका थिए । सो अवसरमा प्रतिष्ठानले अन्य रचनात्मक कार्यहरु पनि गरेर भक्तबहादुरलाई अझ बढि स्थापित गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रहरी सुवेदी अटलले गर्नुभएको थियो । उक्त कार्यक्रममा भक्तबहादुरको फेटोमा माला तथा पुष्पगुच्छा अर्पण गरेर कार्यक्रमलाई अगाडि बढाइएको थियो ।