काठमार्डौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य किरणले मशाल बालेर उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका संयोजक किरणले क्रान्तिका लागि अन्तिम दमसम्म लड्ने सामथ्र्य रहेको उद्घोष गर्नुभएको थियो ।
लिखित सम्बोधन गर्नुभएका संयोजक किरणले भन्नुभयो, “हामीले आफ्नो सापेक्षतामा देश, जनता तथा क्रान्तिको पक्षमा अन्तिम दमसम्म लड्ने सैद्धान्तिक सामथ्र्य राख्दछौं । र त्यसलाई व्यवहारमा बदल्न जरुरी छ माक्र्सले भन्नुभएको थियो — दुनिया बुझ्नु मात्रै सबै कुरा होइन, मुख्यत बदल्नु हो । यसतर्फ हाम्रो राष्ट्रिय एकता महाधिवेशनले विशेष दृष्टि दिनेछ र यसमा म विश्वस्त छु।”
उहाँले इतिहासमा दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण विचारधारात्मक संघर्ष चलाउँदै आएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका सच्चा उत्तराधिकारी पनि आफूहरु नै भएको दावी गर्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनमा हुने गरेका टुट फुट विभाजनमा तीनवटा कारण रहेको उल्लेख गर्दै भन्नुभयो, “म्युनिस्ट आन्दोलनमा विभाजन मूलतः तीन कारणले हुन्छ । ती हुन्ः पहिलो, साम्राज्यवाद र संशोधनवादका बीचको गठबन्धन, दोस्रो, वर्गीय आधार र विचारधारात्मक तथा राजनीतिक मतभेद र तेस्रो, निम्न पुँजीवादी मानसिकता व्यक्तिगत अहम तथा चरम महत्वाकांक्षा । साथै, कुनै बेला केही त्रुटीबस, जटिल परिस्थितिबस, स्पष्टताको आव वा झिनामसिना सांगठनिक विषय पनि विभाजनको कारण हुन सक्दछ । परन्तु, अन्ततः विभाजनका असली कारण विचारधारात्मक र राजनीतिक विषय नै हुन्। स्थिति जे जस्तो भएपनि आखिरमा सच्चा कम्युनिस्टहरु एकातिर र संशोधनवादीहरू अर्कोतिर लामबद्ध हुन पुग्दछन् । यसलाई कसैले रोक्न सक्दैन । हामीले इतिहासमा दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण
विचारधारात्मक संघर्ष चलाउँदै आएका छौं र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका सच्चा उत्तराधिकारी पनि हामी नै हौँ ।”
उहाँले अगाडि भन्नुभयो, “देशमा भूमण्डलीकृत साम्राज्यवाद, विस्तारवाद, नवउपनिवेशवाद तथा नवउदरवादको हैकम बढ्दै, दलाल नोकरशाही पुँजीवादी राज्यसत्ताको शोषण(उत्पीडन चर्कदै र दक्षिणपन्थी संशोधनवाद प्रभावी बन्दै गएको वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा आफ्ना विगतका कमी कमजोरीहरुलाई सच्याउँदै संगठन तथा संघर्षका कामहरुलाई अगाडि बढाउँदै जनतासितको सम्बन्धलाई बलियो बनाउँदैमालेमाको रक्षा, प्रयोग तथा विकास गर्दै, सुदृढ तथा अनुशासित पार्टीको निर्माण र क्रान्तिको तयारीको दिशामा अगाडि बढ्नु अत्यन्तै ठुलो चुनौती हो। यस प्रकारका चुनौतीहरूको दृढ सामना नगरिकन क्रान्ति अगाडि बढ्न सक्दैन र चुनौतीहरूको सामना गर्ने तर्फ हामीहरु एक ढिक्का तथा संकल्पबद्ध हुँदै वर्तमान राज्यसत्ता तथा व्यवस्थाको विकल्पका रुपमा प्रस्तुत हुन जरुरी छ ।
हाम्रो पार्टी एकता परिवर्तनकामी जनसमुदायका चाहना तथा भावना र क्रान्तिको ऐतिहासिक आवश्यकतामा आधारित रहेको छ । यसै पार्टी एकतालाई सुदृढ तुल्याउँदै पार्टी र क्रान्तिका कामहरूलाई नयाँ ढंगले अगाडि बढाउन आयोजित यस राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्न पाउँदा मलाई निकै प्रसन्नता र गौरवको अनुभूति भएको छ । अन्त्यमा, म यस राष्ट्रिय एकता महाधिवेशनलाई स्थापित तुल्याउँदै सही तथा क्रान्तिकारी विचारधारात्मक, राजनीतिक तथा सांगठनिक कार्यदिशा पारित गर्नुका साथै क्रान्ति तथा पार्टीका कामलाई अगाडि बढाउन समर्थ केन्द्रीय समितिको निर्माण गर्न यो एकता महाधिवेशन शानदार रुपमा सफल हुनेछ भन्ने हार्दिक कामना, अपेक्षा र दृढ विश्वास गर्दछु ।”
रत्नपार्क शान्तिबाटिका र त्रिपुरेश्वरबाट निकालिएको जुलुस न्यूरोडको भूगोल पार्कमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । पार्टीका सहसंयोजक सन्तबहादुर नेपालीको अध्यक्षता, हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालन र बरिष्ठ नेता सीपी गजुरेल गौरवको स्वागत मन्तव्यका साथ सुरु भएको कार्यक्रममा पार्टीका सल्लाहकार संयोजक गोविन्द सिंह थापा, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी कार्यालय सदस्य धनकुमारी सुनुवार, अखिल नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि लक्ष्मण उप्रेती, प्रतिरोध जनअधिकार आन्दोलनका संयोजक संगीतस्रोत र विदेशी भाइचराहरु जर्मन कम्युनिस्ट एमएलपिडीका विदेश विभाग सदस्य गाबी, टर्कीको टिकेपिएमएलका प्रतिनिधि अला, सिपीआई एमएल (रेड स्टार)का प्रतिनिधि शंकर, सिपीआइएमएल (मासलाइन)का प्रतिनिधि ध्रुवनारायणले महाधिवेशनको भव्य सफलताको शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सबै अतिथिहरुलाई प्रमुख अतिथि संयोजक किरणले मायाको चिनो प्रदान गर्नुभएको थियो । जर्मनी कम्युनिस्ट पार्टीको तर्फबाट पनि संयोजक किरणलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा पार्टीका विदेश विभागका इन्चार्ज परि थापाले चीन, रुस, ब्राजिल, कोलम्बो, बंगलादेश, अष्ट्रेलिया लगायत ९ वटा देशका कम्युनिस्ट पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको जानकारी दिनुभयो ।
कार्यक्रमको बिच बिचमा सामना सांस्कृतिक परिवार र रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । अन्तमा, कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा पार्टी सहसंयोजक सन्तबहादुर नेपालीले भूमण्डलीकृत साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध लड्न अतिथिहरुबाट प्राप्त शुभकाना र सुझाबले पार्टीमा थप उर्जा र उत्साह थपेको भन्दै सबै अतिथिहरुलाई धन्यवादसहित उद्घाटन समारोहको अन्त्य गर्नुभयो ।
बन्द सत्र भोलि विहान ८ बजेदेखि त्रिवि कीर्तिपुरको स्मृति हलमा सुरु हुनेछ । बन्द सत्र मंसिर २३ गतेसम्म चल्नेछ ।