काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ४४ रिक्त स्थानमा मंसिर १६ मा हुने स्थानीय उपचुनावको भण्डाफोरसहित बहिस्कार गरेको छ । एकता महाधिवेशनको तयारीमा जुटेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले व्यवस्थापन तथा प्रचारप्रसार, आन्तरिक फोरम लगायत सबै हिसाबले एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । मंसिर १३ गते न्यूरोडको भूगोल पार्कमा एकता महाधिवेशन उद्घाटनको भव्य तयारी गरिएको छ । जनसहभागितासहित उद्घाटन कार्यक्रमलाई भव्य बनाउन उपत्यकाका दुई स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ । महाधिवेशन प्रचार प्रसार समितिका संयोजक रामसिंह श्रीसले दिएको जानकारी अनुसार रत्नपार्क शान्तिबाटिका र माइतीघर मण्डलाबाट जुलुस निकाल्ने तयारी गरिएको छ । मंसिर १३ गते रत्नकापार्क शान्तिबाटिका र माइतीघरबाट निकालिएको जुलुस न्यूरोड भूगोलपार्कमा पुगेर महाधिवेशन उद्घाटन समारोहमा परिणत हुनेछ । महाधिवेशनको उद्घाटन पार्टीका संयोजक मोहन वैद्य किरणले गर्नुहुनेछ ।
एकता महाधिवेशनको बन्द सत्र भने त्रिवी, कीर्तिपुरको हलमा गरिने बताइएको छ । १० दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने कार्यदिशाको सामयिक विकास गर्ने अर्थात् राजनीतिक र फौजी कार्यदिशाको विकास गर्नेछ । क्रान्ति गर्न लायक एक जुझारी क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको रुपरेखा तयार पार्नेछ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको यो महाधिवेशनलाई देशभित्र र बाहिरबाट मित्रशक्ति र भाइचराहरुले मात्रै होइन देशी विदेशी प्रतिवादी र संशोधनवादीहरुले समेत महत्वका साथ हेरिरहेका छन् ।
यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्यमा उपनिर्वाचन बहिस्कार तथा भण्डाफोरका लागि ४ बुँदे कार्यक्रम समेत सार्वजनिक गरिएको छ । बहिस्कार कार्यक्रमहरुमा १– संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने, २– व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने, ३– भण्डाफोर सभाहरु गर्ने । र, ४– सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने । रहेको छ । वक्तव्यमा सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान आव्हान गरिएको छ ।
र, वक्तव्यमा भनिए अनुसार उपनिर्वाचन हुने स्थान केन्द्रित बहिस्कार तथा भण्डाफोर र महाधिवेशन प्रचारसभाहरुलाई एकसाथ अगाडि बढाइएको छ । उपत्यकाका दजनौ ठाउँमा प्रचार तथा भण्डाफोरसभाहरु सम्पन्न भएका छन् । त्यसैगरी काठमाडौं बाहिर पनि यस्ता कार्यक्रमहरु तीव्ररुपमा भइरहेका छन् ।
पार्टीले उपचुनाव बहिस्कार गर्ने घोषणा गरिएको वक्तव्यमा भनिएको छ, “विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि।सं। २०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो ।’ हाल यहाँ तथाकथित कम्युनिस्टहरुको चुनावमा रहेको सहभागिता र उनीहरुको शासनमुनि जनताको भोगाइले यही भनाइलाई सावित गरेको छ ।
सर्वविदितै छ, कम्युनिस्टहरुले चुनावलाई आफ्नो रणनीति पुरा गर्ने कार्यनीति बनाउनुपर्छ । उनीहरुले तात्कालिक परिस्थितिको ठोस विश्लेषण गरी बहिष्कार वा उपयोग गर्दछन् । रणनीतिलाई फाइदा हुने शर्तमा उपयोग र बहिष्कार दुवै गर्नुपर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यनीतिका नाममा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावमा भाग लिने र चास्नीको झिंगा बनी त्यसैलाई रणनीति बनाउने समस्या रहेको कुरा जगजाहेर छ । नेकपा ९एमाले० र नेकपा ९माके० यही कार्यनीतिको चास्नीमा डुबिरहेको दृश्य सबैले हेरिरहेकै छन् । त्यसकारण चुनाव रणनीतिक महत्वको कार्यनीति भएकोले हामी आम जनसमुदायलाई होसियार रहन विशेष अनुरोध गर्दछौं ।
नेपालमा संसदीय व्यवस्था अन्तर्गत हुने चुनावबाट नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । यो पुँजीवादी अर्थव्यवस्थामा आधारित पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत हुने चुनाव होइन, बरु दलाल पुँजीवादी अर्थव्यवस्थामा आधारित दलाल संसदीय व्यवस्था अन्तर्गत हुने रिक्त स्थानको स्थानीय चुनाव हो । आज नेपालमा संघीय, प्रादेशिक र स्थानीय चुनावमा जित्नेहरु जनप्रतिनिधिहरु होइनन्, बरु नवधनाढ्य र दलाल पुँजीवादका पुच्छर बन्दै गएका छन् । स्थानीय निकाय स्वयं भ्रष्टाचारका शिकार बन्दै गएका छन् । पालिका प्रमुखहरुको भ्रष्टाचारको साझेदारी नातावादसँग घनिष्ट रुपले जोडिएको छ ताकि भ्रष्टाचारको अलिकति पनि आम्दानी परिवारबाहिर नजाओस् । स्थानीय निकायका कर्मचारीहरु योग्यताका आधारमा होइन, नाता वा आफ्नै पार्टीको सदस्य भएको आधारमा नियुक्ति गरिन्छ । शोषित– उत्पीडित वर्गका मानिसहरु चुनिएर जनपक्षीय कार्य गर्ने स्थिति नै छैन । स्थानीय चुनाव पनि नव धनाढ्यहरुको कब्जामा परिरहेको छ । एमाले र माकेको चुनावमा भाग लिने कार्यनीति वास्तवमा रणनीतिमा बदलिएको छ र त्यसले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई बलियो बनाउन, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी चेतनालाई धमिल्याउन, क्रान्तिकारी पार्टी र संगठन निर्माणमा असमर्थ बनाउन र सामाजिक जीवनको विकासमा व्यवधान खडा गर्न मद्दत गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस चुनावमा भाग लिनुको परिणाम पनि अर्को परिस्थिति तयार नभएसम्म यही हुनेछ । यसको साथै हाम्रो पार्टीका सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान गर्दछौं । त्यसकारण हाम्रो पार्टी यो रिक्त स्थानीय चुनावको निम्न कार्यक्रमका साथ बहिस्कार गर्दछ ः
१० संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने ।
२० व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने ।
३० भण्डाफोर सभाहरु गर्ने ।
४० सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने ।”