क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका संयोजक क. किरणले क. असीमको “जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव” को खण्डन गर्दै “जनयुद्धको समीक्षा सम्बन्धी प्रस्तावबारे” शीर्षकको एउटा खण्डन लेख्नु भएको छ । त्यसबारे केही स्पष्टताका लागि यो खण्डन लेख्न आवश्यक भएको हो ।
सर्वप्रथम त यो स्पष्ट गरौं कि पार्टीको एकता महाधिवेशनमा जनयुद्धको बारेमा विस्तृत समीक्षा गर्न हामी तीन पार्टी एकता वार्तामा नै सहमत भएका थियौं । तर संयोजकले प्रतिवेदनमा ४ वटा बुँदामा मात्र त्यसको विवरण दिनुभयो । विस्तृत समीक्षा सहितको प्रस्ताव आएन । त्यसमा थोरै कमजोरी स्वीकार्नु भएको छ । तर ती कमजोरीहरु कुन रुपका थिए ? त्यसको सैद्धान्तिक विश्लेषण गर्नु भएन । मूल रुपमा जनयुद्ध असफल हुनुमा त्यसको मूल नेतृत्वलाई जिम्मेवार बताउनु भएको थियो । क. असीमले ल्याएको “जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव” माथि क. किरणद्वारा गरिएको खण्डन पहिलो विचारधारामा प्रकाशित भएको छ ।
क. असीमको जनयुद्ध सम्बन्धी प्रस्तावको संक्षिप्त निष्कर्ष यस्तो छ, “माओवादी जनयुद्धमा जसले शोषक, सामन्तको राज्यसत्तालाई समाप्त गरेर जनताको नयाँ जनवादी गणतन्त्र स्थापना गर्नका लागि होमिए, उनीहरुको क्रान्तिकारी सपना पूरा हुन सकेन । नेपाली वीर विरंगनाहरुले क्रान्तिको निम्ति रगतको आहुति दिए । अबका दिनमा त्यो सपना पूरा गर्नका लागि हामीले विगतमा नेतृत्वका अराजक, निम्न पुँजीवादी, मनोगतवादी तथा उग्र“वामपन्थी” विचारलाई सच्चाउँदै हाम्रो कार्यनीति तथा रणनीतिलाई ठीक ढंगले निर्धारण गर्दै सही क्रान्तिकारी दिशाका साथ अगाडि बढनु पर्छ ।” मस्यौदा दस्तावेजहरु पेज १६२ त्यसका लागि प्रस्तावको अन्तमा भनिएको छ ः “त्यसकारण आज हामीले माओवादी जनयुद्धका प्रक्रियामा भएका उग्र“वामपन्थी” गल्ती भनेर गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्छ । सच्चा कम्युनिस्टहरुले आफ्ना गल्ती लुकाउनु हुँदैन । जनतासामु आफ्ना कमजोरी खुलेर राख्यौं भने हामी जनताबीच गुमेको विश्वास पुनः प्राप्त गर्न सक्नेछौं । जनयुद्धका बेला नेतृत्व हाँकेका अवसरवादीहरु दलाल संसदवादी व्यवस्थाका रक्षक बनेर गए पनि क्रान्तिकारीहरु आम समर्थक तथा जनताको पुनः विश्वास प्राप्त गरेर क्रान्तिको नेतृत्व गर्दै अगाडि बढ्न सफल हुनेछौं ।” उही पेज १६३
क. किरण र क. असीमका विचारमा कैयौं समानता र केही असमानताहरु छन् । त्यसलाई केलाउने काम गरौं ।
पहिलो, क. किरण लेख्नुहुन्छ ः“ सर्वप्रथम, २०५७ मा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पदावली प्रयोग गरेर सैद्धान्तिक रुपमा गम्भीर गल्ती भएको छ । दोस्रो, राजनीतिक कार्यनीतिका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार तथा जनताद्वारा संविधान निर्माणको नारालाई आड बनाएर सुधारवादमा जानका लागि आधार तयार पारिएको छ । त्यसै प्रक्रियामा २०६२ मा चुनवाङमा आयोजित केन्द्रीय समितिको बैठकमा पुग्दा नयाँ जनवादलाई परित्याग गरी त्यसको सट्टामा लोकतान्त्रिक गणतन्त्रको संसदवादी राजनीति कार्यदिशा स्वीकार गरिएको छ । तेस्रो, २०५६ कै दोस्रो राष्ट्रिय सम्मेलनमा सामरिक कार्यदिशाको क्षेत्रमा दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहका विशेषता तथा मान्यतालाई सार संग्रहवादी ढंगले एकै ठाउँमा घालमेल (ँगकष्यल) गर्ने काम गरिएको छ । त्यसैको परिणाम शीघ्रातिशीघ्र संसदवादी धारमा अवतरण गर्नका लागि असमय मै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गरियो । र त्यस क्रममा आप्mनो पहुँच भन्दा परका कतिपय दुस्साहसिक प्रकारका फौजी कार्वाहीहरु गरिए । फलस्वरुप कैयौं क्षति बेहोर्नु प¥यो ।” (विचारधारा–पेज ६)
क.किरणको यो विश्लेषणबाट निम्न निष्कर्ष निक्लन्छ ।
(१) प्रचण्डपथ पदावलीको प्रयोग सैद्धान्तिक रुपले गम्भीर गल्ती ।
२) राजनीतिक कार्यनीतिका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार, जनताद्वारा संविधान निर्माणका आडमा सुधारवादमा जान आधार तयार पारेको ।
(३) चुनवाङ बैठकबाट नयाँ जनवाद परित्याग, संसदवादी कार्य दिशा अपनाएको ।
४) दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोह घालमेल (ँगकष्यल) गरिएको ।
५) शिघ्रातिशिघ्र संसदवादी धारमा अवतरण गर्न असमय मै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको ।
६) दुस्साहसिक फौजी कार्वाही गरेको ।
७) २१ औं शताब्दीको जनवाद प्रस्ताव ल्याएको ।
क. किरणले थप अन्य कमजोरी पनि औल्याउनु भएको छः
(१) मूल नेतृत्व राष्ट्रिय आत्मसमर्पणको बाटो पकडेको ।
२) दिल्लीमा बाह्र बुँदे सम्झौता गरेको ।
३) विस्तृत शान्ति सम्झौता गरेको ।
४) जनमुुक्ति सेनाको नेपाली सेनामा विलय गराएको ।
५) संविधानसभामा संसदवादी रवैया अपनाएको ।
६) मित्रहरु प्रति अमैत्रीपूर्ण व्यवहार गरेको ।
७) कतिपय अवस्थामा भूलवश जनधनको क्षति पनि हुने जस्ता व्यवहारिक कमीकमजोरी गरेको ।
८) जनयुद्धको प्रक्रियामा क्रान्तिकारीहरुमा पनि आवश्यक सैद्धान्तिक, राजनैतिक तथा व्यवहारिक सतर्कता तथा सचेतनाको कमी जस्ता कमजोरी र सीमा रहन गएको ।
माथिका यी बुँदाहरुले सामान्य कमजोरी बताउँदैन । क. किरणले दिएको विवरणले गम्भीर कमजोरी भएको देखिन्छ । पूर्व मसाल लगायत कैयौं वामपन्थी तथा कम्युनिस्ट घटकहरुले यो जनयुद्ध उग्र“वामपन्थी” गल्ती हो । माओवादी अन्नतः दक्षिणपन्थी भासमा पतन हुन्छ भनेका थिए । अन्ततः त्यो भयो पनि । क. किरणले पेरुको कम्युनिस्ट पार्टीले गोञ्जालो विचारधारा पारित गरेपछि नेपालमा प्रचण्डपथ पदावली प्रयोग गर्नुलाई “गम्भीर” गल्ती भन्नु भएको छ । यसले मूल नेतृत्व कति अधैर्य र अराजक थियो ? भन्ने पुष्टि गर्दैन र ? राज्यसत्ता कब्जा गर्न जनयुद्ध गरेको पार्टीले राज्यसत्ता कब्जा नगर्दै जनयुद्धको बीचमा सर्वपक्षीय सम्मेलन अन्तरिम सरकार, जनसंविधानको कार्यनीति अगाडि सार्नु त्यो क्रान्तिकारी नीति थिएन । त्यो जनयुद्धबाट पछि हटाई थियो । दीर्घकालीन जनयुद्ध गरेको पार्टीले ८÷९ वर्षपछि “२१ औं शताब्दीको जनवाद” नीति पारित गर्नु पुँजीवादी बाटो समातेको हो कि नयाँ जनवादी बाटो ?
क. किरणले असमय मै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको स्वीकार गर्नु भएको छ । मित्रहरु प्रति अमैत्रीपूर्ण व्यवहार गरेको, भूलवश जनधनको क्षति भएको, क्रान्तिकारीहरुमा सैद्धान्तिक तथा व्यवहारिक सचेतना नभएको आदि पनि स्वीकार गर्नु भएको छ ।
क. किरणले दुस्साहसिक फौजी कार्वाही भएको कुरा पनि स्वीकार गर्नु भएको छ । तर त्यसलाई “वामपन्थी” दुस्साहसवाद मान्नु भएको छैन । उहाँले पार्टीलाई पुगेको क्षतिको लामो सूचि प्रस्तुत गर्नु भएको छ । तर त्यसलाई कही सुधार गरिएको वा सच्चाइएको कुरा गर्नु भएको छैन । चिनियाँ कम्युनिस्ट पार्टीभित्र लिलिसानको दुस्साहसवादलाई सन् १९३० मा छैठौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा छलफल भयो । त्यो बैठकमा दुस्साहसवादी नीतिको आलोचना गरियो र अन्त गरियो । लिलिसानलाई पार्टीबाट हटाइयो अथवा उनी आफै हटेका थिए । उनलाई हटाएपछि माओ–त्सेतुङले तयार गरेको नीति र कार्यक्रमका आधारमा गल्तीलाई सुधारियो र सही कार्यदिशा लागु गरियो । क. किरणले कमजोरीलाई औलाउनु भएको छ । तर त्यसको आलोचना गर्दै सैद्धान्तिक गल्ती कहाँ भयो ? त्यसबारे बोल्नु भएको छैन । उहाँले समीक्षा गर्दा माओवादी पक्षबाट भएका कमजोरी र मूल नेतृत्वले पार्टीलाई गलत दिशामा लगेर राष्ट्रिय आत्मसमर्पणसम्म पु¥याएको कुरालाई स्वीकार गर्नु भएको छ । यसबाट स्पष्ट भएको छ तत्कालीन माओवादी नेतृत्वले “वामपन्थी” गल्ती गरेको हुनाले नै दक्षिणपन्थी दिशा समातेको थियो । त्यसरी त्यो माओवादी जनयुद्धबारे सैद्धान्तिक संश्लेषण गर्दा “वामपन्थी” गल्ती भएको निष्कर्ष निस्कन्छ ।
स्वतन्त्र रुपले समीक्षा गर्ने हो भने उहाँले उठाएका विषयहरुबाट के स्पष्ट हुन्छ भने तत्कालिन अवस्थामा माओवादी जनयुद्ध शुरु गर्नु उपयुक्त थिएन । परिस्थिति प्रतिकुल थियो । आत्मगत अवस्था पनि मजबुत थिएन । तात्कालिन नेतृत्व महत्वाकांक्षी, अराजक, अस्थीर, सर्वहारा विश्व दृष्टिकोण नभएको कारणले नै माओवादी जनयुद्ध सफल नभएको उहाँको विश्लेषणबाट प्रष्ट हुन्छ । अझ भन्ने हो भने सर्वहारा विश्व दृष्टिकोण नभएको मात्र होइन अराजकतावादी दृष्टिकोण थियो । यदि सही सिद्धान्त, सही नेतृत्व र राष्ट्रिय अन्तर्राष्ट्रिय वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति अनुकूल हुन्थ्यो भने धोका पाउने कुरा आउने थिएन । धोका भए पनि जनयुद्धलाई अगाडि बढाउन सकिन्थ्यो । स्वयं क. किरणले जनधनको क्षति भएको बताउनु भएको छ । तर त्यसलाई अराजकतावादी शैलीका कारण नभएर भूलवश भएको बताउनु भएको छ । उहाँले उठाएका प्रश्नहरु र हामीले उठाएका प्रश्नहरुमा खासै धेरै अन्तर छैन । तर अन्तर कहाँ छ भने उहाँले ती सबै ठीक समयमा र ठीक पूर्व तयारी गरेर गरिएको हुनाले जनयुद्ध नै हो र त्यहाँ भएका गल्ती सामान्य हो भन्ने ठान्नु भएको छ । तर हाम्रो ठम्याई त्यतिबेला जनयुद्धको लागि उपयुक्त आधार थिएन । तत्कालिन नेतृत्वले देशको परिस्थिति जनयुद्धका लागि परिपक्व नभएको तत्कालीन अवस्थामा हतियार उठाउनु उग्र“वामपन्थी” गल्ती भएको छ । त्यसैको कारण माओवादी पक्ष र नागरिकतर्फ ठूलो जनधनको क्षति भयो । अन्ततः मूल नेतृत्व दक्षिणपन्थी संशोधनवादमा पतन भयो । त्यसकारण तत्कालिन नेतृत्वले गरेको गल्तीको हामीले बचाउ गरिदिनु पर्ने आवश्यकता देखिन्न ।
माक्र्सले भन्नु भएको छ, क्रान्ति शुरु गर्नु भन्दा अगाडि तयारी गर्नुपर्छ र शुरु गरेपछि क्रान्तिलाई अन्तसम्म चलाउनु पर्छ । (भावउद्धरण) तात्कालीन माओवादी नेतृत्वले जनयुद्धका लागि अनुकूल परिस्थिति तयार नहुँदै जनयुद्धको घोषणा ग¥यो । यसका पछाडि नेतृत्वको सत्तालिप्साले काम गरेको थियो भन्ने आज छर्लङ भएको छ ।
अब हामी क. असीममाथि लगाएका आरोपबारे विचार गरौं । क. किरणले भन्नुभएको छ, “क. असीमले उक्त प्रकारका धारणा प्रस्तुत गर्दा क्रान्तिका लागि परिस्थितिको अध्ययन गर्ने सन्दर्भमा पुँजीवादी विकास भएको मुलुकका लागि उपयुक्त हुने सशस्त्र विद्रोह र अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा रहेको मुलुकका लागि उपयुक्त हुने दीर्घकालीन जनयुद्ध दुवैका बीचको भिन्नतामाथि ध्यान दिनु भएन । सशस्त्र विद्रोहको सफलताका लागि आवश्यक परिस्थिति र जनयुद्धको थालनी गर्न आवश्यक हुने परिस्थितिका बीच भिन्नता हुन्छ ।”
क. असीमले जनयुद्ध शुरु गर्नका लागि ठोस परिस्थितिको ठोस विश्लेषण नभएको भन्ने विचारको प्रत्युत्तरमा क. किरणको माथिको विचार आएको हो । क. किरणको माथिको विचारले के बताउँछ भने पुँजीवादी विकास भएको देशमा सशस्त्र विद्रोहका लागि वस्तुगत र आत्मगत परिस्थिति चाहिन्छ तर दीघकालीन जनयुद्धका लागि चाहिंदैन । यो कुरा नबुझेको भनेर क. असीमलाई सारसंग्रहवादी बताउनु भएको छ । क. असीमले आफ्नो प्रस्तावमा लेख्नु भएको छ, “माओवादी जनयुद्ध असफल हुनुमा कुनै व्यक्ति विशेषको गल्ती मात्र ठान्नु गलत हुनेछ । मूल कुरो तत्कालीन अवस्थाको मूल्यांकन गर्न नसक्नु ठूलो कमजोरी भएको छ । कमजोरी कुनै व्यक्तिको भन्दा पनि तत्कालिन नीतिमा भएको कमजोरीलाई समीक्षा गर्नुपर्छ ।” त्यसकारण कुरो “पुँजीवादी विकास भएको” वा “अर्धसामन्ती तथा अर्ध औपनिवेशिक” अवस्थाको होइन, कुरो नीतिको हो । क. माओले चिङकाङशानमा आधार क्षेत्र बनाउँदा चीनमा जनयुद्धका लागि परिस्थिति निर्माण भएको थिएन र आधार क्षेत्र बनाएपछि परिस्थिति निर्माण भएको हो भन्ने क. किरणको विश्लेषण वस्तुपरक मूल्यांकन भएन । चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टीको स्थापना हुनु भन्दा अगाडि १९१९ को ४ मई आन्दोलन भएको थियो । साम्राज्यवाद विरोधी त्यो देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व चिनियाँ मजदुरले गरेका थिए र विद्यार्थीहरुले साथ दिएका थिए । त्यो भन्दा अगाडि सन् १८४० को अफिम युद्ध, सन् १८९० को चीन जापान युद्ध, सन् १८९० मा ७ वटा पुँजीवादी शक्तिहरुको संयुक्त सेनाद्वारा आक्रमण, सन् १८५१ देखि १८६४ सम्म १४ वर्ष चलेको थाएपिङ आन्दोलन, सन् १९०५ मा डा. सनयातसेनले क्रान्तिकारी लिगको स्थापना गरेका थिए । उनको नेतृत्वमा १९०५ देखि १९११ सम्म धेरै विद्रोहहरु भएका थिए । नानकिंग भन्ने ठाउँमा क्रान्तिकारी सरकार नै बनेको थियो । तर ती आन्दोलनहरुमा माक्र्सवादी लेनिनवादी सिद्धान्तद्वारा पथप्रदर्शन भएको थिएन र त्यतिबेला एउटा कम्युनिस्ट पार्टीको आवश्यकता थियो । त्यही दौरानमा प्रथम विश्वयुद्धले पनि चीनमा प्रभाव पा¥यो । सन् १९२१ मा कम्युनिष्ट पार्टीको स्थापनाले चिनियाँ किसान मजदुरहरुलाई क्रान्तिकारी चेतना दिइरहेको थियो । त्यसप्रकारको उर्वर धरातलमा माओको नेतृत्वमा चिङकाङशानमा आधार क्षेत्र तयार गर्न मद्दत पुगेको थियो । क. किरणले आधार क्षेत्र बनेको मात्र देख्नु र त्यसको पृष्ठभूमिलाई नदेख्नु, अरु त्यहाँका जनतामा वर्गचेतना नभएको देख्नुले माक्र्सवादी दृष्टिकोण नअपनाएको देखिन्छ । उहाँले मात्राबाट गुणमा जाने प्रक्रियालाई पनि अस्वीकार गर्नु भएको छ । उहाँ प्रश्न गर्नु हुन्छ, “नेपाल जस्तो अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा रहेको मुलुकमा जनयुद्धको पहल गर्नका लागि के पुँजीवादी मुलुकहरुका सशस्त्र विद्रोहको विजयका लागि चाहिने व्यापक जनआन्दोलनको प्रक्रिया जत्तिकै अपेक्षा गर्न सकिन्छ । निश्चितरुपमा सकिंदैन र यस सन्दर्भमा चिङकाङ शान क्षेत्रको उदाहरण हेरे पुग्दछ ।” विचारधारा पेज ४
अर्धसामन्ती तथा अर्ध औपनिवेशिक देशमा गाउँहरुबाट आन्दोलन विकास हुन सक्दैन । त्यसकारण आधार क्षेत्रहरु बनाएर गाउँबाट शहर घेर्ने नीति बनाउनुपर्छ भन्ने उहाँको तर्क छ । अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएर पनि नेपालमा ००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०१० सालको पश्चिम तराइको किसान आन्दोलन, मध्य तराईको किसान आन्दोलन, ०३६, ०४६ को सामन्तवाद विरोधी गाउँ, शहर जताकतैबाट उठेको आन्दोलन, बचत विरोधी किसान आन्दोलन आदिले गाउँसम्म नै जनतालाई झकझ्काएका छन् । तर नेपालमा आन्दोलनको प्रवृत्ति खास गरेर ००७ सालदेखि नै शहरिया आन्दोलनले प्रमुखता पाएको पाइन्छ । आन्दोलनहरुले नेपाली जनतालाई सचेत नगराएको होइन, तर संगठित रुप ग्रामीण वर्गसंघर्षको विकास हुन सकेको थिएन । १० वर्षसम्म माओवादी जनयुद्धबाट राजतन्त्रको अन्त हुन सकेन । राजतन्त्रबारे तत्कालिन माओवादीको नीति स्पष्ट पनि थिएन । राजासित कार्यगत एकतासम्मका कुरा चलेका थिए । तर १९ दिने जनआन्दोलनले गर्दा राजतन्त्रले सत्ता छाड्नु प¥यो । हामी यो स्वीकार गरेका छौं कि माओवादी जनयुद्धको असर जनआन्दोलनमा परेको थियो र तत्कालीन माओवादीको सहयोगबाट अर्थात् संसदवादी र गैर संसदवादी तथा माओवादी सहकार्यले जनआन्दोलन सफल भएको थियो । त्यसकारण देशमा कैयौं प्रकारका आन्दोलन तथा माओवादी जनयुद्धको प्रभावले मात्रात्मक रुपमा राजतन्त्र अन्त गर्नका लागि भित्रभित्रै राजतन्त्र विरुद्ध अन्तर्विरोध विकास भएको थियो । अन्ततः ०६२÷६३ मा त्यो अन्तर्विरोध जनआन्दोलनको रुपमा विस्फोट भयो र राजतन्त्र अन्त भयो ।
तत्कालीन माओवादी नेतृत्वको वैधानिक आन्दोलनप्रति विश्वास थिएन । तर जनयुद्ध शुरु भएपछि तत्कालीन माओवादी नेतृत्व शुरुदेखि जनयुद्ध सँगसँगै सम्झौताको पनि खोजी गर्दै आयो र संसदीय पार्टीहरुसित सहकार्य भएपछि जनआन्दोलनमा पनि सम्झौताबाट आफ्नो माग प्राप्त ग¥यो । त्यसकारण क. किरणले भने जस्तो “परन्तु,चीनमा सम्पन्न गरिएको दीर्घकालीन जनयुद्धको पहलका लागि देशव्यापी जनउभारको आवश्यकता पर्दैन र क्रान्तिकारीहरुको आत्मगत तयारी पनि त्यसै अनुरुपको हुने गर्छ ।” भन्ने भनाईले तथ्यसित मेल खाँदैन ।
क. किरणले तर्क गर्नु भएको छ, “नेपालमा अनेकौं संघर्ष भएका छन् र ती लामोसमयदेखि जनसंघर्ष–दमन– अनि पुनः जनसंघर्षको गोलचक्करवादका सिकार रहि आएका छन् । तर ती मात्रात्मक अवस्थाबाट गुणात्मक अवस्थामा किन फेरिएनन् ? त्यसका पछाडि स्वस्फूर्तततावाद र भँडुवा विकासवादले काम गरेका छन् ।” (विचारधारा पेज ४) पहिलो कुरा त कतिवटा जनआन्दोलनको नेतृत्व क्रान्तिकारीहरुले गरे ? सत्य कुरो त यो हो कि जुनसुकै जनआन्दोलनमा पनि वामपन्थी तथा कम्युनिस्टहरुको सक्रिय भूमिका रहन्छ, आन्दोलन उत्कर्षमा पुग्छ, अनि दक्षिणपन्थी पार्टीहरुले सत्तासीन शासकहरुसित मिलेर आन्दोलन सम्झौतामा टुंग्याईदिन्छन् । यो तितो यथार्थ हो । यो गोलचक्करवाद कम्युनिस्टहरुका कारण उत्पन्न भएको होइन । यसप्रकारको “गोलचक्करवाद” मा नपर्नका लागि उहाँले जनयुद्ध शुरु गरिएको तर्क दिनु भएको छ । हामीलाई थाहा छ वर्गसंघर्षका रुपहरु धेरै हुन्छन् । हाम्रो चाहनाले मात्र क्रान्ति हुँदैन । यदि हुन्थ्यो भने अहिलेको समयमा शासकहरुप्रति जनता अत्यन्त आक्रोशित छन्, जनता परिवर्तन चाहन्छन् । तर हामी कम्युनिस्टहरुले सशस्त्र युद्ध शुरु गर्न सक्ने अवस्थामा छैनौं । यहाँ पनि वस्तुगत र आत्मगत परिस्थितिको तयारी कै कुरो अगाडि आउँछ । जनता त कैयौं पटक हार्न सक्छन्, फेरि पनि उठिरहन्छन्, लडिरहन्छन् । हामी माक्र्सवादीहरुले बारम्बारको जनसंघर्षलाई “गोलचक्करवाद” भनेर उपयुक्त परिस्थिति विना हतियार उठाउन थाल्यौं भने त्यो नै निराशा र निम्न पुँजीवादी अधैर्यता हो । त्यसले हामीलाई अराजकतातर्फ लैजान्छ । उग्र“वामपन्थी” दिशामा लैजान्छ र अन्तमा शत्रुसँग आत्मसमर्पण गराउँछ । नेपालमा जनवादी क्रान्तिका लागि हतियार उठाउने बेला भएको छैन, जनसंघर्ष अहिलेको संघर्षको प्रधान स्वरुप हो भन्नुलाई स्वतस्र्फूततावाद र भँडुवा विकासवाद भन्ने हो भने हामी स्वतःस्र्फूतवाद र भँडुवा विकासवादबाट जोगिन तथा क्रान्तिकारी बनिरहन जति बेला पनि सदावहार रुपले हतियार उठाइरहनु पर्छ–क्रान्ति सम्पन्न हुनेबेलासम्म । यसप्रकारको तर्कले हामीलाई आगामी दिनका लागि सही मार्गदर्शन गर्दैन
भारतमा तेलेंगना किसान विद्रोह, नक्सलवादी किसान विद्रोहमा नेतृत्व गरेका पार्टीहरु अहिले पनि जनसंघर्षद्वारा राज्यसत्ता विरुद्ध लडिरहेका छन् । तर उनीहरु क्रान्तिकारी कार्यदिशा परित्याग गरेका छैनन् । हामी .क माओले भने झंै विशाल जनसमुदायमाथि भर पर्नुपर्छ । जनतालाई साथमा लिएर अघि बढ्नु पर्छ भन्ने मान्यता राख्नुपर्छ । क्रान्ति आवश्यक छ, तर हामी जुनसुकै बेला पनि हतियार उठाउने अवस्था रहँदैन । ती सबै कुरा तत्कालीन परिस्थितिसँग सम्बन्धित कुरो हो । “गोलचक्करवाद” भयो भनेर जतिबेला पनि हतियार उठाउने कुरा होइन ।
क. किरणले क. असीममा क्रान्तिकारी वर्गचेतनाको कमी रहेको बताउनु भएको छ । उहाँको आरोप के छ भने क. असीमले माओवादी र राज्यको आतंक दुवैलाई समानान्तर रुपमा राख्नु भएको छ । क. किरण लेख्नुहुन्छः “जनयुद्धको प्रक्रियामा कैयौंले एकातिर माओवादी आतंक र अर्कोतिर राज्य आतंकका कुरालाई समानान्तर तरिकाले उठाउने गरेका थिए, क. असीमका उक्त भनाईहरुले पनि यसै समानान्तरतालाई मद्दत पु¥याएका छन् ।” हो, आतंक जसले गरे पनि त्यो आतंक नै हो । कम्युनिस्टको नाममा आतंक गरे पनि र राज्यले कम्युनिस्ट सखाप पार्ने नाममा आतंक गरेपनि आतंक भनेको आतंक नै हो । स्वयं लेनिनले लोकवादीहरुका आतंकवादी प्रणालीको विरोध गर्नु भएको छ । अहिले हामी इतिहासको समीक्षामा छौं । त्यो समीक्षा गर्दा निशस्त्र नागरिकको हत्या चाहे त्यो विद्रोही पक्षबाट होस्, वा राजाबाट, लाई उचित भनियो भने इतिहास माथिको अन्याय हुन्छ । हामीले तत्कालीन राजतन्त्रात्मक राज्यसत्ता विरुद्धको लडाईलाई सकारात्मक माने पनि निहत्था नागरिकहरु माथिको आक्रमणलाई गलत कार्य भनेका थियौं ।
त्यतिबेला क्रान्तिकारी मित्रशक्तिहरुले जनयुद्धको आलोचना गर्नुको पछाडि प्रतिक्रियावादीहरुबाट हुने दमनले क्रान्तिकारी आन्दोलनलाई क्षति तथा धेरै पछाडि धकेल्छ र जनतामा कम्युनिस्टहरु प्रति विकर्षण पैदा हुन्छ भन्ने अर्थमा मात्र हो । किनभने संसारमा कही पनि क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्पन्न भएको छैन । नेपालमा पनि झापा विद्रोहदेखि अराजकतावादी चिन्तनका कारण जुन उग्र“वामपन्थी” कार्यहरु भए, त्यसबाट क्रान्ति सम्पन्न हुने स्थिति देखिएको थिएन । स्वयं माओवादी पक्षभित्र ठूलो क्षति भएको थियो । त्यसकारण त्यसबाट हुने क्षतिलाई बेलैमा रोक्नका लागि उग्र“वामपन्थी” कार्यको आलोचना आवश्यक थियो । त्यतिबेला मित्रशक्तिहरुले गरेको आलोचना प्रतिक्रियावादीहरुले गरे जस्तो विरोध होइन । तर तत्कालीन माओवादीले त्यसलाई शत्रुतापूर्ण अर्थमा लियो ।
जुन रुपमा माओवादीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरुले घेराबन्दी शुरु गरेका थिए, त्यो अवस्थामा माओवादीका लागि अगाडि बढ्न सम्भव थिएन । अगाडि बढेको भए माओवादी मात्र होइन, प्रतिक्रियावादीहरुले कम्युनिस्ट भन्ने जतिलाई समाप्त पार्ने अवसर प्राप्त गर्थे । त्यसलाई रोक्न जनतामा आत्मगत तयारी थिएन । त्यसले माओवादीलाई अझै ठूलो क्षति पुग्नेवाला थियो । त्यो क्षति माओवादीको मात्र हुन्थेन, सम्पूर्ण क्रान्तिकारीहरुको क्षति हुने थियो । त्यसकारण तत्कालीन माओवादी लोकतान्त्रिक गणतन्त्रमा त्यतिबेला आउनु ठीक निर्णय थियो । तर माओवादी नेतृत्व यसरी आत्मसमर्पण गर्छ नै भन्ने लागेको थिएन । शान्तिप्रक्रियामा आए पनि सेना समायोजन र हतियार सुपुर्दगी गर्नु गलत भएको थियो ।
जनयुद्धको प्रक्रियामा नै गलत मानेपछि शान्ति प्रक्रियामा आउनुलाई सही भन्नु स्वाभाविक हो । माओवादीले पहिलो संविधानसभामा भाग लिंदा त्यो पार्टी भित्र शान्ति प्रक्रियाका विषयमा कुनै विवाद थिएन । त्यतिबेला माओवादी सबै कमरेडहरु संविधानसभामा जानु भएको थियो । शक्ति सन्तुलनका हिसावले उहाँहरु शान्ति प्रक्रियामा अवतरण गर्नुपर्ने अवस्था आएको थियो ।
क. किरणले लेख्नु भएको छ, “क. असीमले एकातिर जनयुद्धको थालनी गर्नुलाई गलत र अर्कोतिर शान्ति प्रक्रियामा आउनुलाई सही बताउनु भएको छ । …… जनयुद्धलाई गलत र शान्ति प्रक्रियालाई सही ठान्नु माक्र्सवाद सम्मत विचार होइन । जनयुद्धको परित्याग गरी शान्ति प्रक्रियामा आउनुलाई प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादीहरुले स्वागत गरेका छन् । क. असीमले पनि ठीक त्यही गर्नुभएको छ ।” (विचारधारा पेज ५ ) क. किरणले क. असीम तथा प्रतिक्रियावादी र दक्षिणपन्थी संशोधनवादीलाई समानस्तरमा राख्नुभएको छ । माओवादी जनयुद्धको प्रक्रियाको, पूर्व मशालले गरेको विरोध वा क. असीमले गरेको समीक्षा र प्रतिक्रियावादीहरुले गरेको विरोधलाई एउटै देख्नु सही दृष्टिकोण होइन ।
त्यसपछि पनि उहाँ अगाडि लेख्नुहुन्छ, “एकातिर शान्ति प्रक्रियामा आउनुलाई ठीक कार्यदिशा अपनाएको बताउनु र अर्कोतिर हतियार सुपुर्दगी तथा सेना समायोजनलाई गलत भन्नुका बीच कुनै वैचारिक सामञ्जस्य देखा पर्दैन । यो स्पष्ट दोधारे दृष्टिकोण हो, द्वैतवाद हो ।” (उही) क. असीमको त्यसप्रकारको दृष्टिकोण द्वैतवादी होइन, द्वन्द्वात्मक भौतिकवादी हो, जसलाई क. किरणले बुझ्न सक्नु भएन र निष्कर्ष निकाल्नु भयो– दोधारे दृष्टिकोण, द्वैतवाद ।
प्रतिक्रियावादीहरु तत्कालीन माओवादीलाइ शान्ति प्रक्रियामा ल्याएर निशस्त्र पार्न चाहन्थे । क्रान्तिकारी नीतिको परित्याग देख्न चाहन्थे । माओवादी त्यतिबेला यति गलिसकेका थिए कि साम्राज्यवादीहरुले जे भने पनि मान्ने अवस्थामा पुगेका थिए । माओवादीले उनीहरुको निर्देशनलाई मानेर सेना समायोजन र हतियार सुपुर्दगी गरे । त्यसैले पूर्व मशाल वा क. असीमले शान्ति प्रक्रियालाई तात्कालिक रुपमा समर्थन गरे पनि सेना समायोजन र हतियार सुपुर्दगीलाई समर्थन नगरेको सत्य हो । हतियार सुपुर्दगी र सेना समायोजन तथा अयोग्य बालसेना भनेर बहिर्गमन गर्नु प्रतिक्रियावादीहरु समक्ष आत्मसमर्पण थियो ।
क. किरणको विचार के देखियो भने जनयुद्धको प्रक्रियाको विरोध र शान्ति प्रक्रियाको समर्थन गरेको हुनाले क. असीमको प्रतिक्रियावादी र दक्षिणपन्थीहरुको जस्तो विचार भयो । अर्को कुरा शान्ति प्रक्रिया ठीक तर सेना समायोजन र हतियार सुपुर्दगी गलत भन्नु पनि दोधारे र द्वैतवादी दृष्टिकोण भयो । क. असीमको स्पष्ट दृष्टिकोण यो हो कि माओवादी जनयुद्धको प्रक्रियामा उग्र“वामपन्थी” गल्तीहरु भएको हुनाले शान्ति प्रक्रियामा आउनु जनता तथा स्वयं माओवादीको हितमा भएको हुनाले समर्थन गर्नु सही थियो । शान्तिप्रक्रियामा आउनुलाई प्रतिक्रियावादीहरुले चाहे जस्तो पूर्व मशालको धारणा होइन । माओवादीलाई निशस्त्र पार्नुपर्छ भन्ने धारणा होइन । सिद्धान्ततः जनयुद्धको विरोध पूर्व मशालले गरेको होइन । त्यसकारण सेना समायोजन र हतियार सुपुर्दगीको विरोध गर्नु स्वाभाविक हो । तर क. किरणले खाली रुपलाई हेर्नुभयो । त्यसको अन्तरवस्तुलाई बुझ्न सक्नु भएन । त्यसैले उहाँले पूर्व मशाल वा क. असीमलाई प्रतिक्रियावादीहरुको समकक्षमा राखेर विश्लेषण गर्न पुग्नु भयो ।
क. किरणले क. असीमले माओवादी जनयुद्धका सकारात्मक पक्षहरुलाई औल्याएको कुरालाई सकारात्मक “राम्रो” बताउनुभएको छ । तत्कालीन माओवादीले १० वर्षे माओवादी जनयुद्धको दौरान धेरै नै शिक्षा प्राप्त ग¥यो । तर सबै राजनीतिक दलहरुलाई माओवादीले संसदवादी भनेर प्रहार गर्ने नीतिले गर्दा अन्ततः माओवादी प्रायः एक्लो हुन पुग्यो । एक्लैले राजतन्त्रको प्रहार सामना गर्न नसक्ने भएपछि इतर पार्टीहरुसित संयुक्त मोर्चा बनाएर संयुक्त जनआन्दोलनमा जाने नीति लियो । त्यो नै सकारात्मक कुरो थियो । तत्कालीन माओवादी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरुबाट घेराबन्दीमा परिरहेको बेला नीतिमा परिवर्तन गर्नु र जे जति उपलब्धिहरु हासिल गर्न सकिन्छ, त्यसलाई हासिल गर्नु तत्कालिन परिस्थितिको ठीक विश्लेषण थियो । यदि शान्ति प्रक्रियामा आएर त्यसप्रकारको संयुक्त आन्दोलनमा नआएको भए तत्कालीन माओवादी तर्फ ठूलो क्षति हुने थियो । माओवादीले १० वर्षमा प्राप्त गर्न नसकेको सफलता १९ दिने जनआन्दोलनबाट प्राप्त भयो । नेपाली जनता मुख्य दुश्मन शक्ति राजतन्त्रको अन्त भयो । माओवादी सहकार्य नभएको भए संसदवादी तथा गैर संसदवादी दलहरु पनि आप्mनो मिशनमा सफल हुन सक्ने थिएनन् । त्यसले राजतन्त्र फाल्नमा संयुक्त जनआन्दोलनको औचित्यता पुष्टि भएको छ । त्यसकारण ०६२÷६३ को जनआन्दोलनको श्रेय माओवादीलाई पनि जान्छ ।
हामीले कुनै पनि घटना परिघटनाको समीक्षा गर्दा आफ्नै पार्टीको नीतिबाट मात्र होइन, तटस्थ र पूर्वाग्रहरहित भएर निर्मम तरिकाले विश्लेषण गर्नुपर्छ । सकारात्मक तथा नकारात्मक पक्षको राम्रोसँग चिरफार गर्नुपर्छ । क. असीमले माओवादी जनयुद्धको त्यही प्रकारले समीक्षा गर्नुभएको छ । तर पूर्व माओवादीलाई क. असीमको मूल्यांकन अहिले सही नलाग्न सक्छ । किनकि त्यही जनयुद्धको जगमा टेकेर दलाल पुँजीवादको सेवा गर्ने अवसर प्राप्त भएको छ । माओवादी केन्द्र इतर माओवादी पृष्ठभूमिका अन्य घटक वा स्वयं क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका युद्धमा खटेका कमरेडहरुलाई समेत माओवादी जनयुद्धको प्रक्रियामा उग्र“वामपन्थी” गल्ती भएको छ भन्दा आफैलाई भनेको जस्तो लाग्न सक्छ । यो समीक्षा उहाँहरुको समीक्षा होइन, नेतृत्वको समीक्षा हो । यो सबै प्रक्रियामा मूल नेतृत्व जिम्मेवार छ । हिजो पनि त्यही पक्ष जिम्मेवार थियो । आज त्यो पक्ष लेनिनले भने जस्तै दक्षिणपन्थी संशोधनवादी भासमा पतन भइसकेको छ । यो इतिहास हो, यसलाई इतिहास कै रुपमा बुझ्नुपर्छ र रहन दिनुपर्छ । त्यहाँबाट अलग भइसकेका क्रान्तिकारीहरुले नयाँ ढंगबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । विगतको इतिहास वरिपरि गोलचक्कर लगाउन खोज्यौं भने हामी अगाडि बढ्न सक्ने छैनौं ।