तीज यसरी मानौ

तीज यसरी मानौ

 

तीज महिलाहरूको लागि मात्र एक मुख्य चाड हो । जहाँ एकवर्ष भरिका कथा व्यथा माइतीघर गएर पोख्ने र विवाह गरेर टाढा टाढा भएका दिदिबहिनीहरूको भटघाट गर्ने एक सुनौलो अवसर पनि हो । खास तीज पर्ब किन र कसरी मनाइदै आइयो भन्ने कुरा इतिहास पुराण , उपनिषद्मा सुन्न र पढ्न पाइन्छ । कथा अनुसार पुर्वकालमा पार्वतीले आफ्नो पिताले आफ्नो विवाह विष्णु भगवानसँग गरिदन खोज्दा पार्वतीलाई मन नपरेको र आफ्नो इच्छा श्री महादेवको साथ गर्न चाहेको बाट कथा सुरू हुन्छ । हिमालय पर्वतले छोरी पार्वतीको इच्छा विपरीत गर्न खोज्दा भागेर एकान्तमा महादेव पति पाउ भनी पिताको घरबाट भागेर कुनै एकान्त जङ्गल गएर बसी पितासँग विद्रोह गरेको आफ्नो छोरीको यस्तो प्रेम हटलाई स्वीकार गरि हिमालय पर्वतले छोरीको इच्छा बमोजिम उनै महादेवको साथ विवाह गरिदिएको खुशीयालीमा तिज पर्व मनाउँदै आएको भन्ने पुराण र उपनिपद् कथा छ । जहाँ हिमालय पर्बतकी पुत्री पार्वती कथाप्रसङ्ग नै हो । यसरी प्राचीन कालदेखि मनाउँदै आएको नेपाली महिलाहरूको ठुलो पर्व हो । आफ्नो अधिकारको लागि विद्रोह गरेको एक बलियो नमुना आजसम्म आउदा पनि सान्दर्भिकता छ । प्रेम विवाह , समर्पण र विद्रोहको ।
त्यसैले तिज पर्वलाई हामी महिलाहरूले पनि त्यहीँ रुपमा मनाऔ । आज २१ औं शताब्दीमा छौ हामी । अत्यन्तै विज्ञान र प्रविधि युगमा हिजो तपाईं हामीले यहाँबाट पुजा गर्ने चन्द्रमामा हामी जस्तै नारीहरूका पाइला पुगे । परिवर्तित समय अनुसार हामीलाई पनि प्रतक्ष परोक्ष प्रभाव त पार्छ नै । हिजोको हाम्रा आमा दिदीबहिनीहरूले जिएको जीवन भन्दा सहज त पक्कै होला । तर हामी विश्वलाई पढ्दा भने अझै पनि १०० वर्ष पछाडि नै छौ भन्ने लाग्छ ? समय फेरियो जीवन शैली फेरिए तर चिन्तन भने पुरानै छ । जतिसुकै भाषण , आरक्षणका कुरा गरेतापनि व्यबहारत पितृसत्ताकै चङ्गुलमा नै गुज्रिएरहेका छौ । दर्शनका धेरै कुरा हुन्छन्, कानुनका नजिर बलिष्ठ छन् । जसरी व्याख्या गरेपनि मुलत हाम्रो धरातल उचाइमा पुग्नै सकेको पाइदैन । आजपनि बाल विवाह अनमेल विवाह छाउपडी , प्रथा छदैछ , बोक्सी अन्धविश्वासको आरोपमा कति महिलाहरूलाई दिशा सम्म ख्वाईको उदाहरण छन् । त्यसैले हामी हाम्रो अधिकार लिन सचेत हुनुपर्छ। तपाईंको आत्मसम्मान नै जीवन जिउने एक बलियो आधारशिला हो । सर्बस्व पति हुन विवाह गरेर गएपछि जिन्दगीको जिम्मेवारी पतिले नै लिनु पर्छ भन्ने मानसिकताबाट माथि उठ्नु जरुरी छ । पुरुषले नै पाल्न पर्ने ठेक्का हो भन्ने मानसिकताबाट उठौ । हाम्रो जीवनको बागडोर हामी आफैले समातौ । हामी आफैं आत्मनिर्भर बनौ तब मात्र आत्मनिर्णयको अधिकार हाम्रो हात हुनेछ । त्यसैले हामी जबसम्म स्व निर्भर भै बाच्न सक्दैनौं तबसम्म पिडीत , र उपेक्षित बनिरहनु पर्नेछ । अधिकारकोलागि हामी नै शिक्षित सक्षम र सचेत हुनु अपिरिहार्य छ । शिक्षा ज्ञान र सिपमा बराबर भएमात्र हामी अधिकारमा पनि बराबर हुन सक्छौ । जवसम्म हामी स्वालम्भी बन्न सक्दैनौं आर्थिक रूपमा कमजोर नै हुन्छौ र हामी आश्रति भैनै रहनेछौ । सामाजिक , आर्थिक , राजनीति सबै क्षेत्रमा हामी पछाडि नै हुनेछौं अपमानित भै रहने छौ ।
हिजो २००७ साल भन्दा पहिले योगमाया न्यौपानेको नृतृत्वमा जिउँदै वलिदानीमा चढेको इतिहास पनि साक्षी छ । त्यसपछि महिलाका अधिकारको विषय कुरा उठान प्रथम मंगलादेवी , देखि , जनयुद्धसम्म आइपुग्दा धेरै महिलाहरूले आफ्नो हक अधिकार साथै देशकै हितको लागि बन्दुक पनि बोकेर लडेँ । आंशिक परिवर्तन त गर्यो तर पनि निर्णायक तहमा पितृसत्तात्मक नै हावी छ । गाउँ , समाज , टोल , छिमेकमा अनेकौं घटना घटिनै रहेका छन् । छोरीहरू कतै सुरक्षित नदेख्दा तपाईं जस्तै आमाहरू आँसु को भेलमा नै दीन बिताउन विवस छन् । अचानको पीर खुकुरीले त नबुझ्ला तर शिक्षित र सचेत नारीहरूले एक पटक चिन्तन गर्नु नै आजको आवश्यकता हो ।
त्यसैले यो तिज पर्बलाई खाने लगाउने पर्वको रुपमा भन्दा आफ्नो अधिकार निम्ति जुट्ने दिनको रुपमा मनाऔ । कानुनका कुरा गरौ , अधिकार कुरा गरौ, राष्ट्रका कुरा गरौ अन्यायका कुरा गरौ । समानताका कुरा गरौ । संस्कार र संस्कृति मर्यादित सभ्य र सुन्दर संसारका कुरा गरौ । सद्भाव र प्रेम मायाका कुरा गरौ इतिहास कुरा गरौ , भविष्य र वर्तमान कुरा गरौ दिदीबहिनीहरूका सुखदुःखकाद कुरा गरौ । सभ्य र मर्यादामा रहेर चाडपर्व मान्न सिकौ । भोजभतेरमा मात्र भन्दा हामीले सम्मानित जीवन बाच्ने कसरी भन्नेतर्फ लागौ । हाम्रो सही बाटोले नै हाम्रा संन्ततिको लागि असल मार्ग पहिलाउने छ । आउने पिढीको लागि मार्ग प्रसस्त हुनेछ । भरखरै अमेरिकामा ममताको बिभत्स हत्या भयो । घरभित्रै गायब भइन् । सबै मिलेर यसको भत्र्सना गरौ । तपाईं हामी जस्ता महिलाहरूको हत्या हिंसाका प्रसस्त घटनाहरू हामी सङ्गै अनगिन्ती छन । त्यसको दोषी अझैसम्म पत्ता लागेको छैन पोखराका नमिता , सुनिता देखि निर्मला सम्म हजारौं चेलीले अकालमा नै ज्यान गुमाउनु परेको छ । गुमनाम नै छन । कानुनले अपराधी कहिल्यै चिन्न सकेन । कहाँ कहिले को अस्ताउछ के थाहा छैन । घर स्कुल , कलेज ,बाटो पधेँरो यात्रा, जीवन बचाएर हिड्नु अत्यन्तै चुनौतिपुर्ण छ । त्यसैले अबको समय हाम्रो हो भन्दै आफू र आफ्ना छोरीहरूको सुरक्षाको लागि एक हुँदै गाउँ नाचौ हक अधिकारको सुनिश्चित गरौ । महिला पुरुष एकरथका दुइपाङ्ग्रा हुन । कुनै एक विना संसार परिकल्पना गर्न सक्छौ र ?