शनिबारीय साहित्य ः संस्मरण
*** ***
नेपाली समाजका विद्यमान पाँच अन्तर्विरोध वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र छुवाछुत जस्ता अन्तरविरोध हल गर्ने उद्देश्यले २०५२ फागुन १ देखि महान् जनयुद्धको सुरुवात भएको थियो । परिवारभित्रको गरिबी, समाजभित्रको छुवाछुत, महिला पुरुष बीचको विभेद साथै अर्कोतिर मभित्रको अन्तरनीहित विद्रोही स्वभावका कारण म जनयुद्धमा सहभागी भएँ । महान् जनयुद्धले जातिप्रथाको अन्त्य, पितृसत्तावादका विरुद्ध विद्रोह र गरिबीको उन्मुलन गर्छ भन्ने बुझाई मभित्र सङ्गठित हुँदै गइरहेको थियो ।
एकातिर जनयुद्धले एकपछि अर्को सफलता हासिल गर्दै अगाडि बढिरहेको थियो, भने अर्कोतिर प्रतिक्रियावादी राज्य सत्ताको दमनका शृङ्खलाहरू पनि अगाडि बढिरहेको थियो । २०५८ को पहिलो वार्तापछि जनयुद्धले राजनीति र फौजी श्रेष्ठता हासिल गरिरहेको थियो । राष्ट्रिय रूपमा मात्रै होइन जनयुद्ध अन्तर्राष्ट्रियकरण भइरहेको थियो । २०५८ को अन्त्यतिर मैले पाल्पाको माथागढी गाउँपालिका झडेवा क्षेत्रमा सामन्त जमिन्दारका विरुद्ध आन्दोलनको तयारी गर्दै थिएँ । त्यही राजनीतिक कारबाहीको अर्को पक्ष फौजी कारबाहीको पनि जनअपेक्षा बढिरहेको थियो । जनयुद्धमा राजनीतिक प्रचार र काम कारबाहीले मासुको भूमिका र फौजी हस्तक्षेप र काम कारबाहीले नङको भूमिका खेलिरहेका हुन्थे । त्यसै सिलसिलामा पार्टीको निर्देशनमा जनमुक्ति सेनाको एक टुकडी मेरो सम्पर्कमा आइपुग्यो । संविधानसभाको पक्षमा जनमत तयार पार्ने लगायतका महत्वपूर्ण उद्देश्यहरू प्राप्त गर्ने दायित्व हामीले पूरा गर्दै अगाडि बढिरहेका थियौँ । जनमुक्ति सेनाको टुकडीमा एकजना कमाण्डर दिपेश पनि हनुहुँदो रहेछ । खै के कारणले हो उनको नजर ममा परेछ मलाई थाहै भएन । उनले समयक्रमसँगै मप्रतिको नजरलाई सङ्गठित र सुदृढ गर्दै गएछन् । हामी सबै कदिन र जटिल परिवेश र समयमा अगाडि बढिरहेका थियौँ । आपसी भेटघाट र छलफल एवम् सहकार्यको लागि परिस्थिति त्यति सहज थिएन । त्यतिबेला हामी सबैको एउटा मान्यता थियो– ‘पार्टी नै सबैथोको हो’ । पार्टीले पनि हामी कार्यकर्ताहरूलाई सबैथोक नै ठान्दथ्यो । पार्टी हाम्रो थियो, हामी पार्टीमा थियौँ । त्यसैले त असम्भवलाई सम्भव बनाउन सक्थ्यौँ ।
समयक्रमसँगै दिपेशले मलाई मन पराउने मात्र होइन छोटो समयमै गहिरो प्रेम गर्नु हुँदोरहेछ । पार्टीमा जानकारी पनि गराइसक्नुभएको रहेछ । त्यो कुरा पार्टीले मलाई जानकारी गराएपछि मात्र मलाई थाहा भयो । दिपेशसँग मैले कुराकानी गरेँ । मन पराउनु प्रेम गर्नु प्रस्ताव गर्नु, एउटा कुरा हो तर विवाह गर्ने भन्ने अलि फरक कुरा हो । किनकि विवाह भनेको दुई चार दिनलाई हैन, जीवनभरिलाई हो । तसर्थ धेरै गम्भीर ढङ्गले सोचेर मात्र गर्नुपर्छ । एकातिर हामी जनयुद्धको कदिन मोडमा छौँ, अर्कोतिर हामी सामाजिक हिसाबले अन्तर जातका हौँ । हामीमा अझै समग्र राजनीतिक बुझाइमा परिपक्को भइसकेका छैनौ । मैले यसो भन्दै गर्दा दिपेशले भने म जिम्मेवारीका हिसाबले हजुरभन्दा जुनियर छु । तपाईं मभन्दा सिनियर हनुहुन्छ । जातीय हिसाबले अन्तरजात भन्ने मेरो दिमागमै छैन । समस्या त आउलान् त्यसको सामना गर्ने हो । मेरो पहिलो नजर नै हजुरमा बस्यो हामी अगाडि बढौँ । जे पर्छ मिलेर सामना गरौँला । यही सङ्क्षिप्त कुराकानी भएपछि हामीले देव गुरुङ, श्रीराम ढकाल, हाल सहिद धुर्व, अविनाशसँगको लामो छलफल ग¥यौ । विशेषगरी हाम्रो नेता अझ दिपेशको पारिवारिक अभिभावक जस्तै देव गुरुङको सल्लाह सुझाव एवम् निर्देशनमा हामी अगाडि बढ्ने सोच बनायौँ । त्यसपश्चात् पार्टीको योजना र प्रस्तावमा हामी विवाह बन्धनमा बाँधिने निर्णयमा पुग्यौँ । त्यतिबेला पार्टी र क्रान्ति हाम्रो जीवन थियो । जीवन नै पार्टी र क्रान्ति थियो । यसको अर्थ विगतप्रति कुनै पश्चाताप हैन बरु गर्व र गौरव छ ।
२०५९ साल कार्तिक १५ गते तनहुँको घिरिङ गाउँपालिका वार्ड नं ४ को गाबडाँडा गाउँमा भव्य जनसहभागिता सहित तीन जोडीको जनवादी विवाह सम्पन्न भयो । ती तीन जोडी यमबहादुर अधिकारी ‘प्रतिक्षा’ र सरस्वती पाण्डे ‘सीमा’, चन्द्रबहादुर गुरुङ ‘दिपेश’ र सीतादेवी बौडेल ‘ज्योति’ तथा यमबहादुर थापा ‘अरूण’ र एलिजा गुरुङ ‘जोशीला’ थियौँ । हामी ६ जना हरू मध्ये सीमा र दिपेश सहिद भइसक्नुभयो । उक्त कार्यक्रमको प्रमुख अतिथि देव गुरुङ र अतिथि श्रीराम ढकाल हनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन हाल सहिद आशाकाजी श्रेष्ठले गर्नुभएको थियो ।
विवाह सम्पन्न गरिसकेपछि दिपेशसँग सङ्क्षिप्त कुराकानी भयो । उहाँहरूको टिम गोर्खाको ताकुकोट रेडको तयारीमा अगाडि बढ्दै हुनुहुन्थ्यो । त्यतिबेला दिपेशले हामी पार्टीको निर्देशनमा कारबाहीमा जाँदै छौं, के हुन्छ थाहा छैन, तपाईं राम्रोसँग जानुहोला । सतर्कता पूर्वक दुश्मनको घेरा छल्दै जानुहोला । सचेत हुने सतर्कता अपनाउने र सक्रिय हुने तरिकाले नै हामी सफल हुन सक्छौँ । भन्ने भनाइलाई आत्मसात गर्दै दरिलो हात मिलाएर हामी बिदा भयौँ । म लगायत हाम्रो टोली विवाहको जानकारी पत्र लिएर पाल्पातिर लाग्यौँ ।
दिपेशसँग वैवाहिक सम्बन्धमा जोडिइ सकेपछि हामी करिब मात्र अढाई वर्ष सँगै रह्यौँ । विवाहपछि एकै पटक हाम्रो पहिलो भेट २०६० सालको वार्ताकालमा पाल्पा तानसेनमा भयो । म वार्ता टोलीको व्इवस्थापन सदस्य भएकोले आमसभाका लागि गाउँ गाउँतिर जनता र बस पठाउन व्यस्त थिएँ । त्यतिबेला मेरो भाइ दीपकले दिदी भिनाजु आउँदै हुनुहुन्छ भनेर सुनायो । हामी त्यो दिन तानसेनमै बस्यौँ । भोलिपल्ट पहिलोपटक आमाबुबासँग भेट्न मदनपोखरा घरमा आयौँ । मुस्किलले पार्टी कामको व्यस्तता र सुरक्षाका कारण हामी दुई तीन दिन मात्र घरमा बस्यौँ । त्यहीँबाट हामी पहिलोपटक दिपेशको जन्मथलो चितवनको दारेचोक घरमा आमा बुबा दाजु र दिदीहरूसँग भेटघाट ग¥याँै । हामी आफ्नो जिम्मा र क्षेत्रको कामको व्यस्तताका कारण तीन चार दिनमा आआफ्नो क्षेत्रतिर लाग्यौँ । हाम्रो दोस्रो भेट २०६० सालको कार्तिक मङ्सिरतिर पाल्पाको हालको रम्बा गाउँपालिकाको हमिनमा भयो । र हाम्रो तेस्रो भेट २०६० सालको अन्त्यतिर रूपन्देहीको देवदहमा भयो । चौथो भेट २०६१ साल वैशाख ८ गते पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा भयो । हाम्रो अन्तिम भेट २०६१ जेठमा उहाँ आर्मी हिरासत बाट निस्केपछि झडेवामा भयो । २०६१ जठदेखि २०६१ पौससम्म हाम्रो भौतिक रूपमा भेटघाट हुन सकेन मात्र एकवटा चिठी आदानप्रदान भएको थियो । बेलामौकामा फोनमा कुराकानीसम्म पनि हुन सकेन ।
२०६१ को पुसमा मेरो पेटमा बच्चा रहेको बेला म साह्रै बिरामी थिएँ । त्यही बेला अ.ने.रा.स्व.वि.यु.क्रान्तिकारीको केन्द्रीय बैठकमा सहभागी हुन रोल्पा जानको लागि कञ्चन खनाल र तेजकुमारी पौडेल आउनुभएको रहेछ । हाम्रो भेट रम्बा गापाको ताहुमा भयो । मेरो अवस्था बुझ्नुभयो, करिब पाँच दिनजति हामी सँगै बस्यौँ । लामो छलफल ग¥यौँ । म बैठकमा सहभागी हुन नसक्ने अवस्थाको जानकारीसँगै मेरो स्वास्थ्य अवस्था निकै कमजोर रहेको थियो । डेढ महिना अगाडि मात्र भाइ दिपक सहिद भएको पीडा त छँदै थियो, त्यसमाथि मेरो स्वास्थ्य अवस्था निकै कमजोर भएको कारणले कञ्चन खनाल र तेजकुमारी पौडेल लगायत पार्टीका साथीहरूको सल्लाह अनुसार चेक गराइसकेपछि डाक्टरको सल्लाहअनुसार म इण्डियाको बम्बई जाने निधो भयो । जहाँ मेरो आफ्नै अन्टीले जागिर गर्नुहुन्थ्यो । पाल्पा जिल्ला डिसियसले उपचार लगाएत किशोर हाल स्वर्गीय कृष्ण खनालको आउने जाने भाडा सहित रु १० हजार दिएर बिदाई गर्नुभयो । किशोरले मलाई बम्बई छोडेर फर्कनु भयो । मेरो आन्टीको सम्पूर्ण सहयोगबाट २०६१ माघ ८ गते, (२००५, २१ जनवरी) मा छोरीको जन्म भयो । नाजुक स्वास्थ्य अवस्था खर्चको अभाव आदिका बाबजुद सम्पूर्ण समस्या समाधान गर्न मेरो अन्टीमै भर पर्नुप¥यो । छोरी जन्मेको २२ दिनपछि अर्थात् माघ ३० गते पहिलोपटक दिपेशसँग फोनमा कुरा भयो । जुन फोनले मैले सारा दुःख सुखमा र सबै अभाव एवम् विपन्नता सम्पन्नतामा फेरिएको अनुभव गरेँ ।
दिपेश पनि युद्धमैदानबाटै फोनमा कुरा हुन पाएपछि साह्रै खुसी भए । स्वास्थ्य स्थिति कस्तो छ ? छोरी कस्ती छिन् ? छोरी को जस्तो छिन् ? एकपटक उसलाई रुवाएर आवाज सुनाउन मिल्दैन ? आदी थुप्रै खुसीका जिज्ञासाहरूलाई मैले फोनमै मेटाइदिएँँ । हाम्रो जीवनको सबभन्दा खुसीको क्षण भनेर हामीले अनुभव साटासाट ग¥यौँ । मैले नेपालको अवस्था स्थिति र साथीहरूको बारेमा सोधेँ । यताको स्थितिबारे अवगत भए ।
दिपेशसँग म बम्बई हुँदा दोस्रो पटक फोनमा कुरा २०६२ वैशाख १२ गते भयो । खै किन हो कुन्नी त्यतिबेलाको फोनमा बढी भावनात्मक कुरा भए । अलि बेसी दिपेश भावनात्मक भएका थिए । आफ्नो सहयोद्धाहरू सूर्यबहादुर थापा, सरस्वती, प्रज्ञा लगायतका थुप्रै साथीहरू सहिद भएको खबर सुनाए, जसले मलाई निकै भावुक बनायो । लामो कुराकानी ग¥यौँ । कुराकानीको अन्त्यमा उहाँले तीनवटा कुरा गर्नुभयो । पहिलो युद्ध निर्मम हुन्छ । हामी त्यहीभित्र छौं । तसर्थ जतिबेला जहाँ जे पनि हुन सक्छ । त्यसका निम्ति हामीले आफूलाई तयार पार्नुपर्छ । हामी जो कोही पनि मर्न सक्छौँ यसमा आत्तिन, रुन, कराउन र डराउनु हुँदैन । यदि म मरे भने पनि तिमीले आफ्नो जीवनलाई नयाँ सिराबाट अगाडि बढाउनु पर्छ । दोस्रो हाम्रो छोरीलाई एक असल ज्ञानी र क्रान्तिकारी बनाउनुपर्छ त्यसको लागि हामी दुवैको भूमिका उत्तिकै छ । अझ विशेषगरी तपाईको भूमिका नै निर्णायक र महत्वपूर्ण रहन्छ । तेस्रो मैले मेरो च्यानलमा दाइहरूसँग प्रस्ताव गरेको छु सायद अनुमति पाएँ भने एकदुई वटा महत्वपूर्ण मोर्चाको कारबाहीपछि म छिट्टै भेट्न आउनेछु, र हामी सँगै फर्कनेछौँ । विडम्बना नै भयो उहाँ आउने र सँगै फर्कने दिन कहिल्यै आएन ।
विडम्बना भनौँ या युद्धको खेल यही फोनको कुरा नै हाम्रो अन्तिम भएछ । यो कुरा भएको दुई दिनपछि अर्थात् २०६२ बैशाख १४ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा तात्कालीन शाही सेनाले गोली हानेर घाइते बनाई तड्पाई तड्पाई दिपेश र गुराँस (जितबहादुर तितोङथिङ, उहाँ दमयन्ती रुचाल ‘ऋतु’ गण्डकी प्रदेश सभा सदस्यको जीवन साथी हुनुहुन्छ)लाई हत्या गरिसकेको रहेछ । उहाँहरूको सहादत भएको खबर पनि निकै ढिलो गरी १४–१५ दिनपछि अमर रमेश रेग्मीले फोन मार्फत जानकारी गराउनु भयो । जीवनसाथी गुमाउँदाको पीडा, मेरो आफ्नो स्वास्थ्यको नाजुकता सानो बच्चा सहित दुश्मनको चरम दमन झेल्दै अगाडि बढ्नुको विकल्प बाहेक मसँग अरू केही थिएन । अनौठो संयोग मान्नुपर्छ दिपेशसँग मेरो सहयात्रा ठिक २९ महिना (२०५९ कार्तिक १५ देखि २०६२ बैशाख १४) मात्रै भयो । हामी जीवनसाथीको रूपमा २९ दिन मात्रै सँगै बस्यौँ । तर यी २९ महिना र २९ दिन समाज, परिवार र संसार बुझ्ने र बदल्ने हिसाबले असाधारण नै रहे ।
दिपेशको वास्तविक नाम चन्द्रबहादुर गुरुङ हो । उहाँको जन्म २०३९ चैत्र १ गते बुबा कर्णध्वज गुरुङ र आमा पूर्णमाया गुरुङको कोखबाट जन्मनुभएको थियो । उहाँका दुई दाजु मिनबहादुर गुरुङ र मनबहादुर गुरुङ हुनुहन्छ भने एकमात्र दिदी मनकुमारी गुरुङ हुनुहुन्छ । गाउँमै रहेको राष्ट्रिय आधारभूत निमाविबाट निमावी तहको शिक्षा हासिल गर्नुभएको थियो । घरमा बस्दा घरपरिवार सबै किसान पेशामा संलग्न भएकोले दिपेश पनि सानै उमेरमा कृषि क्षेत्रको काममा सिपालु नै हुनुहुन्थ्यो । उहाँ आफ्नो गाउँमा सबैको आँखाको नानी जस्तै हुनुहुन्थ्यो । उहाँले २०५५÷२०५६ सालदेखि नै माओवादी पार्टीलाई सहयोग गर्दै आउनुभएको थियो । २०५७ सालको कार्तिक मङ्सिर तिर आसपासका साथीहरूसँग माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर हिँड्नुभएको थियो । सुरुवातका केही समय चितवनकै पहाडी भूभागमा काम गर्नुभयो । केही समयपश्चात् जनमुक्ति सेनाको ११ नम्बर प्लाटुनको सदस्य हुँदै सेक्सन कमाण्डर, सहकमाण्डर, प्लाटुन कमाण्डर हुँदै २०६०÷२०६१ सालमा एसटिएफको प्लाटुन कमाण्डरमा कार्यरत हुनुहुन्थ्यो ।
दिपेशको जीवनी फौजी कारबाहीको पर्याय जस्तै रहेको छ । उहाँले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, म्याग्दीको सदरमुकाम बेनी, स्याङ्जाको सदरमुकाम पुतलीबजार, गोर्खा जिल्लाको ताकुकोट, नवलपरासीको दुम्कीबास, चितवनको पर्साचौकी, धादिङको कृष्णभिर, रोल्पाको धौलाबाङ, लमजुङको भिरपुस्ताङ रिपिटर टावर कब्जा, चितवन र धादिङको सिमाना जवाङखोला, लमजुङको लम्की, लमजुङकै फुलिङ्गिरी, रुकुमको खारा, रुपन्देहीको छपिया चौकी, नवलपरासीको सुनवल चौकी, सुनवलकै रम्बापुर भिडन्त, सामन्ती जाली फटाहा जमिन्दारका विरुद्ध त असङ्ख्य सेबोर्टेज जस्ता मोर्चामा भाग लिनुभएको थियो । उहाँले छोटो समयमा दर्जनौं फौजी काम कारबाहीहरूमा भाग लिएर आफूलाई सफल कमाण्डरका रूपमा परिचित गराउनुभएको थियो ।
दिपेशले देश, समाज र जनताका निम्ति आफ्नो अमूल्य जीवन बलिदान गरेर अमूल्य योगदान गरिसक्नुभयो । हामी बाँचेकाहरूले उहाँबाट के सिक्ने र अब के गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो । दिपेशबाट हामीले सिक्ने र अनुसरण गर्ने धेरै गुणहरू छन् । मुख्यतः हामीले पाँचवटा गुणहरू सिक्न र अनुसरण गर्न सकिन्छ ।
१. व्यवहार कुशल, उद्देश्यमा सफल ः
दिपेशले उद्देश्यबारे गम्भीरतापूर्वक सोचविचार गर्नुहुन्थ्यो । धेरैलाई सहभागी बनाएर छलफल गर्नुहुन्थ्यो । निश्चित गरिएको उच्च र महान् उद्देश्य पूरा गर्न व्यवहारमा कुशलता चाहिुन्थ्यो । चाहे व्यवहारिक सवाल होस् चाहे सैद्धान्तिक जुनसुकै सवाल भएपनि उद्देश्य पूरा गर्न व्यवहारमा सिपालु नभएसम्म उद्देश्य सफल हुन सक्दैनथ्यो । चाहे सङ्गठन निर्माणमा होस् चाहे फौजी कारबाहीमा सफलता प्राप्त गर्ने सवाल होस् दिपेश व्यवहार कुशल र उद्देश्यमा सफल हुने उहाँको महत्वपूर्ण गुण र विशेषता थियो । हामी वैवाहिक सम्बन्धमा गाँसिएको पनि उहाँको व्यवहार कुशल र उद्देश्यमा सफल हुने गुण र विशेषता भएरै हो ।
२ अनुभवी र साहसको धनी ः
अनुभव, थुप्रै काम एवम् व्यवहारबाट प्राप्त हुने शिक्षा हो । दिपेशमा व्यवहारिक शिक्षाको खानी नै थियो । उहाँमा अनुसरण गर्नलायक साहस थियो । त्यसैले त दर्जनौं फौजी कारबाहीको सफलतामा उहाँको महत्वपूर्ण योगदान रहेको छ । अनुभव र साहसका नाममा उहाँले कहिल्यै दुःसाहस भने गर्नुभएन बरु सतर्कता अपनाउनुभयो । आफ्नो अनुभव र साहसलाई सही ढंगले सदुपयोग नै गर्नुभयो । माओवादीको सङ्गठनात्मक आधार र जनआधार कमजोर भएका ठाउँहरूमा पनि सङ्गठन विस्तार एवम् फौजी कारबाहीको तयारी एवम् सफलता प्राप्त गर्न उहाँ सिपालु हुनुहुन्थ्यो ।
३ जनशैली र श्रमप्रेमी ः
दिपेशबाट सिक्ने एउटा महत्वपूर्ण गुण उहाँले सबभन्दा बढी श्रमलाई माया र प्रेम गर्नुहुन्थ्यो । जहाँ र जहिले पनि श्रमसँग जोड्ने र काम गर्ने उहाँको विशेषता नै थियो । बेला मौका घरमा गएर घरायसी कामदेखि खेतबारीको काम गर्न भ्याउनुहुन्थ्यो । छोटो समयमा पनि आमाबुबाले उहाँको काम गर्ने जाँगर र सीप देखेर अचम्मित हुनुहुन्थ्यो । आफूले जन्माएको छोराछोरी भन्दा नजिकको भाव दिन सक्ने र अनुभूति गराउन सक्ने खुबी देखेर बुबा आमा सर्वाधिक खुसी हुनुहुन्थ्यो । जुनखुसी अप्रत्यासित लुटियो । यही विशिष्ट गुण र विशेषताका कारण उहाँलाई जनताले मन पराउँथे । अर्को घटना उहाँमा जनप्रिय कार्यशैलीका कारण रूपन्देहीको देवदहमा तत्कालीन शाही सेनाले गिरफ्तार गर्दा जनताहरू उहाँको रिहाइको माग गर्दै ब्यारेक पुगेका थिए । उहाँलाई छुटाउन सफल पनि भएका थिए । उहाँलाई जनताले आफ्नै छोरा र सन्तान सरह मान्दथे ।
४ स्वतन्त्रता र समानता ः उहाँको जीवनको पर्याय ः
दिपेशको सोच साँच्चिकै स्वतन्त्र थियो । जो मलाई सबभन्दा बढ्ता मन पथ्र्यो । महिला र पुरुषमा भेद भन्ने उहाँमा कतै देखिँदैनथियो । साँच्चिकै समानताको व्यवहार उहाँमा भेटिन्थ्यो । सामान्य कुरा खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने महिलाको मात्र जिम्मा हो भन्ने सोच उहाँमा मैले कहिल्यै देखिन । पितृसत्तावादका विरुद्ध बरु मातृसत्तावादको वकालत गरेको अनुभूति गराउनुहुन्थ्यो । उहाँमा रहेको स्वतन्त्रता र समानतावादी सोच र व्यवहारले उहाँ एक असल कम्युनिस्ट भएको पुष्टि हुन्थ्यो । साँच्चिकै स्वतन्त्रता र समानता उहाँको जीवनको पर्याय नै थियो ।
५ मिहिनेती र मिलनसार ः
दिपेश आफ्नो उद्देश्य सफल पार्न जस्तोसुकै कठिन मिहिनेत गर्नुहुन्थ्यो । उद्देश्य र योजना सफल पार्न उहाँको मिलनसार बानीले मद्दत गथ्र्यो । पानीमा माछा मिलेझैँ उहाँ साथीहरू बीचमा होस् या जनताका बीचमा असाध्यै घनिष्ठतापूर्वक मिलेर अगाडि बढ्ने उहाँको गुण र विशेषता थियो । सङ्गठनका क्षेत्रमा अझ विशेषगरी सैन्य क्षेत्रमा आफ्नो टिममा उहाँको मिलनसार बानीले उहाँ सर्वाधिक लोकप्रिय हुनुहुन्थ्यो ।
अन्त्यमा दिपेशले जस्तै योगदान र बलिदान गर्न त मैले सकिन । परिवारबाटै पाँच महिनाको अन्तरालमा जीवनसाथी दिपेश र सहोदर भाइ दिपक बौडेललाई मैले गुमाएँ । दुई जना परिवारबाटै गुमाउँदाको पीडा कति असह्य हुन्छ भन्ने त मैले कसरी व्यक्त गर्न सक्छु र ? मैले यति भन्न सक्छु दिपेश र मेरो भाइ दिपक हिँडेको बाटोबाट कत्ति पनि विचलित भएको छैन र हुने पनि छैन । दिपेश तिमीले छोडेर गएको चिनो अर्थात् तिम्रो उत्तराधिकारी छोरी दिपशिखा गुरुङलाई तिमीले भनेअनुसार नै असल ज्ञानी र क्रान्तिकारी बनाउन अन्तिमसम्म प्रयत्न गर्नेछु । तिम्रा अधुरा सपना पूरा गर्न अन्तिमसम्म लड्ने प्रण गर्दछु । वर्ग संघर्ष भन्दा जटिल र पेचिलो आन्तरिक संघर्ष अर्थात् पार्टीभित्रको अन्तरसङ्घर्ष दुई लाइन संघर्ष) हुँदो रहेछ । जे होस् कुनै पनि प्रकारको हरेस नखाएर अन्तसम्म लड्ने प्रतिबद्धता व्यक्त गर्दछु । प्रिय जीवनसाथी दिपेश र प्यारो भाइ दिपक लगायत सम्पूर्ण सहिदहरू लाल सलाम । सहिदहरूको अधुरा सपना पूरा गर्नेछाँं ।
(नोटः लेखक पहिलो संविधानसभा सदस्य तथा हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।)