कतिपय कुराकानीको भूमरीले मानिसको सोचमा तहसनहस ल्याएर जीवनलाई लथालिङ्ग बनाइदिन्छ भने कतिपय कुराकानीका भूमरीले चाहिँ विचारलाई खिरिलो बनाइदिन्छ र बैचारिक स्पष्टता ल्याइदिन्छ । यस्तो कुराकानी जहिले, जहाँ, जोसँग पनि हुन सक्छ । चाहे त्यो साथीहरूसँग होस् या पारिवारिक होस् । हामी दुईको बिचमा पनि यस्ता कुराकानीका भूमरी चलिरहन्थ्यो । कुराकानीको सुरुवात प्रायः मबाट नै हुन्थ्यो । प्राज्ञिक र राजनैतिक क्षेत्रमा मात्र होइन भान्सामा सहयात्रीको भूमिकामा पनि वहाँ उपस्थित हुनुहुन्थ्यो । लेख्ने र पढाउने समय बाहेक मैले प्रायः वहाँको खाली समयमा आफूलाई लागेका प्रश्नहरू सोध्ने गर्थेँ । त्यो दिन साग केलाउँदै थियौं । मैले नारीवाद र माक्र्सवादकोे कुरा निकालेँ । म चाहन्थँे कि यस्तो कुराको छलफलमा वहाँको पूरा ध्यान केन्द्रित होस् । कसैको फोन आएपनि फोनमै क्लास चाहिँ नलिए पनि हुन्थ्यो । किनकि कहिलेकाहीँ फोनमै पढाउन थाल्नु हुन्थ्यो । नारीवादका बारेमा थुप्रै कुराहरू सुन्दै, बुझ्दै र सिक्दै आएकी थिएँ । तर यसका बारेमा केही भ्रमहरू पनि सिर्जना भएको कुरा सुनेकी थिएँ । मलाई पनि यस्तो कुराले केही लेखौँलेखौँ जस्तो लागिरहेको थियो । त्यसैले नारीवाद र माक्र्सवादका बारेमा एउटा लेख लेख्ने प्रयास गरेकी थिएँ । त्यसमा वहाँको सल्लाह र सुझाव चाहन्थँे । वहाँलाई सोध्नुको उद्देश्य नारीवाद र माक्र्सवादलाई जोडेर बुझ्न र लेख्नु थियो । वहाँ माक्र्सवादी समालोचक अनि प्रोफेसर पनि हो । पि.एच.डि.का थुप्रै विद्यार्थीहरूलाई थेसिस गाइड पनि गरिरहनु भएको थियो । महिला र पुरुष दुबै वहाँका निर्देशनमा पि.एच.डी.गर्ने विद्यार्थीहरू थिए । उहाँहरू आफ्ना आफ्ना थेसिसका बारेमा आवश्यक छलफल गर्न आउनु हुन्थ्यो । कतिपय विद्यार्थीहरूका पि.एच.डी. नारीवादका विषयमा पनि आउँथे । वहाँहरूका कुराकानी भान्सामा काम गर्दागर्दै, चिया दिँदादिँदै सुन्ने मौका पाउँथे र बडो रुचीले सुन्ने पनि गर्थेँ । विद्यार्थीहरूसँगको सम्बन्ध, उनीहरूसँग भएका छलफल र वहाँले दिएका सुझावजस्तै मैले पनि आफ्ना विचार सुनाएर वहाँका विचार सुन्न र सुझाव लिन खोज्थेँ । कहिलेकाहीँ विद्यार्थीको छलफल सुनेर नारीवादसँग जोडिएका विषय पनि रहेछन् नि ! भनेर सोध्ने गर्थेँ । कथामा पात्रहरूको चरित्र र उनीहरूको बिचको सम्बन्ध, संवादमा कसरी नारीवादलाई प्रस्तुत गरिएको छ ? कवितामा कसरी हेरिन्छ यी विषयमा मैले वहाँको विचार सुन्ने र आफ्नो विचार सुनाउने गर्थँे । त्यसपछि वहाँ कम्प्युटरमा आफ्नो काममा लाग्नु हुन्थ्यो । फेरि अलि जोडदिएर सोध्ने गर्थँे “सर ! के छ यसमा भन्नु न आफ्नो विचार” ? “पख न ! यतिबेला म तिम्रो कुरा सुनौं कि यता हेरौं, विद्यार्थीको थेसिस चेक गरेर समयमा दिनु पर्छ” भन्ने गर्नु हुन्थ्यो । समयमा दिने, मेहनत गर्ने, लगनशील र गम्भीर भएर एकएक लाइन पढेर सुझाव दिने वहाँको स्वभाव थियो ।
टेबलमा बसेर चिया पिउँदापिउँदै मैले भनिहालेँ सर पनि नारीवादी हो नि ? “तिमीलाई कस्तो लाग्छ” ? वहाँले पनि तुरुन्तै मलाई सोधिहाल्नु भयो । मेरो अनुभवमा सर त नारीवादीनै हो । किनभने कामको भूमिका चाहे बाहिरको होस् या घरभित्रको त्यसमा कुनै किसिमको मेरो र तिम्रोपन थिएन । जसले भ्याउँछ उसले गर्ने चलन थियो । त्यसैले वहाँलाई नारीवाद हो भन्दै जिस्क्याउने गर्थँे । टाउको हल्लाएर मुसुक्क हाँसेर टार्नु हुन्थ्यो । मलाई लाग्थ्यो वहाँ मेरो कुरामा सहमत हुनुहुन्छ बढी व्याख्या नगरेर निस्कर्ष दिने प्रवृति थियो तर मलाई भने यस विषयमा अलिबढि बहस गरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले मौका मिलेपछि कुरा उठाइहाल्थँे । “सर त माक्र्सवादी समालोचक पनि हो, अर्कातर्फ पि.एच.डि.को गाइड पनि गर्दै हुनुहुन्छ” भन्थँे । महिला र पुरुष दुवैथरी विद्यार्थीहरूसँग भएको प्राज्ञिक छलफलमा कहिँकतै पनि फरक व्यवहार गरेको देख्दैनथेँ । सैद्धान्तिक विषयमा एकैकिसिमले सबैसँग छलफल गरेको पाउँथे । मैले यसलाई लैंगिक दृष्टिले बडो नजिकबाट नियाल्ने गर्थेँँ । विद्यार्थीहरूले वहाँका सामु बडो खुला रूपमा आफ्ना कुरा राखेको पाउँथे । त्यसैले रमाइलो गर्दै “हाम्रो सर त ! लैंगिक सम्बेदनशील हुनुहुन्छ” पनि भनि रहन्थेँ । कहिँ कतै पनि वहाँको संवादमा लैंगिक विभेदका शब्दहरू प्रयोग गरेको पाउँदैनथेँ । न त आफूलाई नै होच्याएर मेरा रचनाहरूलाई अवमूल्यन गरेको पाउँथे । बरू मेरो रचनामा सुझाव दिन प¥यो भने “जसरी सुरुमा चिजलाई उठाइएको छ, त्यसरी नै अन्तमा पनि सशक्त हुनुपर्छ अलि खुकुलो भयो, एक चोटी लेखेर मात्र हुँदैन ! पढ्ने, केर्ने, फेरि लेख्ने गर्नु पर्छ” । वहाँको यस्तो सुझाव सुनेर मलाई धेरै पटक आफ्नै रचना पढ्ने केर्ने बानी लाग्यो । लेखनमा रुची राख्ने मान्छे हो भनेर हेर्नु हुन्थ्यो मलाई । श्रीमती हो भनेर कहिल्यै वेवास्ता गर्ने वा मजाकमा लिनु भएन । यस्तो व्यवहारले वहाँ नारीवादी लाग्थ्यो । नारीवाद केवल महिला मात्र हँुदैन पुरुष पनि हुन्छन्, दुबै सामाजिक विकास र परिवर्तनका लागि बराबर जिम्मेवार छन् । किनकि जब कुनै पुरुषले यो महिलाको रचना, यो पुरुषको रचना भन्दा पनि यसमा के भन्न खोजिएको छ भनेर पढ्छ, व्याख्या गर्छ भने त्यो नारीवाद हो । दुबैका रचनामा विचार, कला प्रवृत्तिको सबल र दुर्बल पक्षको व्याख्या गर्छ भने त्यो नारीवाद हो । स्वाभाविक रूपमा प्रतिभा हो, जसलाई विचारले प्रभाव पार्छ, विचार महिला र पुरुष दुबैमा हुन्छ, पुरुषमा धेरै महिलामा कम होइन तर कसले कसरी व्याख्या गर्छ, आफ्ना आफ्ना शैलीले, रुचीले फरक पार्ने कुरा हो भन्ने समझ त्यो नारीवादी चेतनाको सूचक हो ।
आज भन्दा २८÷२९ वर्ष अगाडिको एउटा घट्ना यो प्रसङ्गसँग भन्न सान्दर्भिक लाग्यो । दुर्गम जिल्ला जाजरकोटमा एउटा विदेशी सँस्थामा जागिरको अन्तरवार्तामा पास भएँ । जागिर गर्ने अवसर मिल्यो, त्यो पनि भरखरकै उमेरमा सानो छोरी छोडेर । ३÷४ महिना पछिमात्र घर आउँन पाइने, विदा पनि बढिमा एक हप्ता मात्र । घर पाएक जागिर पाउन गाह्रो, दुर्गम पहाडी क्षेत्रमा जानु पर्ने, सरलाई सोधँे म त जान्छु, पाएको जागिर किन छोड्ने ? वहाँले पनि हुन्छ, सक्नु प¥यो ! छोरी छोड्न सक्छौ त ? भन्नु भयो । मैले सक्छु भने बाबाले मायाँ गर्नु हुन्छ, हेरिहाल्नु हुन्छ नि ढुक्क लाग्छ फेरि अरू दिदी र दाइहरू पनि छन् के भो र ? वहाँले मलाई किन जाने, पर्दैन, जे छ ठीक छ केही भन्नु भएन । मेरो दुर्गममा काम गर्ने रुचीलाई रोक्नु भएन बरू मलाई जाने तयारीमा धेरै सहयोग गर्नु भयो । यतिटाढा जानका लागि सजिलै महिलालाई श्रीमानले हुन्छ भन्ने त्यतिबेला त्यस्तो समय थिएन । अहिले पनि बहुतै कमै होलान् । जब मैले नियुक्ति लिएर जाजरकोट पुगँे त्यहाँको एक कार्यक्रम व्यवस्थापकले मलाई सोध्यो “पक्कै पनि तपाईको घरमा सौता हुनु पर्छ । श्रीमानले अर्की विवाह गरेर वास्ता नगरेका अलक्कै बसेका महिला, वा अविवाहित महिला मात्र यति टाढा जागिर गर्न आउँछन् । श्रीमानले मायाँ गर्ने श्रीमतीलाई यति टाढा जागिर खान पठाउँदैनन्” । यस्तो भावले मलाई सोध्यो । त्यो कार्यक्रम व्यवस्थापकको कुरा र सोच देखेर मलाई अचम्म लाग्यो, र मैले तुरुन्तै सोधेँ “के तपाईंको प्रोजेक्टको आवश्यक्ता श्रीमानले मायाँ नगरेका, सौता भएका र अविवाहित महिला मात्र राख्ने हो ?’’ भनेर जवाफ दिएँ । म कडा भएर प्रस्तुत भएँ । ‘‘किन उठाउनु भयो यो प्रश्न ? यसको जवाफ चाहियो सर !” ऊ हच्कियो, आफ्नो प्रश्नलाई मिलाउन खोज्दै थियो । मैले उसको यस्तो प्रश्नको किन र कसरी उठाउने हिम्मत भयो भनेर जुका जस्तै टाँस्सिएर स्वीकार नगरेसम्म छोडिन । हिड्नुस् डाइरेक्टरसँग बसौँ र यसमा छलफल गरौं भनेपछि “गल्ति भयो प्रोजेक्टको यो उद्देश्य होइन शीलाजी ! ठट्टा गरेको, तपाईंले ठट्टालाई ठूलो बनाउनु भयो” भन्यो । मेरो अस्तित्वको कुरालाई ठट्टा भन्ने ? यस्तो प्रवृति भएकालाई के भन्ने ? तपाइँले बुझ्न सक्नु भएन । मेरो योग्यता र क्षमता भएर यहाँ आउन सक्नु भयो भनेर । महिलालाई हेर्ने यस्तो दृष्टिकोण भएकाहरूले के सहयोग गर्लान् समाजको विकासमा ? म प्रतिस्पर्धा गरेर आएको एक सक्षम र सचेत महिलालाई यस्तो दृष्टिले हेर्ने चेतना भएका पुरुषलाई के भन्ने ? यहाँ मैले एउटा पुरुषको बिरोध गर्न खोजेको होइन । महिला माथिको लैँगिक विभेदको बिरोध मात्र गरेको हो ।
मलाई वहाँले दिनुभएको सम्मान, हामी बिचको समझदारी र विश्वासले मैले काम गर्ने र जाने इच्छा राखेँ । घरमा छोरी हेर्ने, म बाहिर काम गर्ने यी सबै कुरामा स्वीकार गर्नु वहाँको नारीवादी प्रवृति हो । गाह्रो हुन्छ, सक्दैनौ, घरमा नै बस्नुपर्छ भन्ने जस्ता कुरा कहिल्यै भएन । मलाई व्यवस्थापकले भनेको कुरा पनि सरलाई सुनाएकी थिएँ र वहाँले भन्नु हुन्थ्यो “हुन्छन् यस्ता प्रवृति भएका मान्छेहरू । यही बिचमा रहेर हामीले बाँच्ने हो, लड्ने हो” । नारीवादी भनेको लिने र दिने अर्थात् तिम्रो र मेरो कित्ताको हिसाब किताब होइन । यो मानवीय धरातलमा उभिएर दुबैको अस्तित्वलाई स्वीकार गर्ने कुरा हो । दुबैका सबल र दुर्बल चेतनालाई बुझ्ने बुझाउने हो ।
कुनै पनि व्यवहारिक कुराकानी र छलफलमा हामीले नारीवादलाई जोडेर हेर्ने चलनजस्तै भइसकेको थियो । प्रायः मैले घरभित्र गरिने कुरा तथा प्रसङ्गलाई जेन्डर र नारीवादी कोणबाट हेर्ने र व्याख्या गर्ने गर्थेँ । वहाँले सायद तिमीले सही मूल्याङ्कन गरेकी छौ मेरो बारेमा भनेर होला यस विषयमा कुनै विवाद गर्नु हुन्थेन तर मैले भने यस्ता प्रसङ्गमा सर नारीवादी हो भन्न छोडिन र त्यो दिन पर्खिरहेको थिएँ – वहाँकै मुखबाट “हो म नारीवाद हुँ” भनेको सुन्न ।
एकातिर माक्र्सवाद अर्कातर्फ समाज, परिवार, विचार त्यसैले अध्ययन चाहिन्छ, अरूका लेख, समालोचनाहरू पढ्नु पर्छ, कति पढेको छौ ? भन्दै मलाई सोध्नु हुन्थ्यो । यही मौकामा मैलेपनि सोध्न बाँकी राखिन । के पढैं त ! नारीवाद र माक्र्सवादी समालोचना ? त्यो पनि हो, लिटरेचरहरू अध्ययन गर्नु पर्छ भन्ने गर्नुहुन्थ्यो । ठीक छ अध्ययन त जरुरी छ । माक्र्सवाद बुझ्नेले नारीवाद त अवस्य बुझेको हुनु पर्छ । नारीवाद नबुझे पनि महिला को हो ? उसको भूमिका र अस्तित्वका बारेमा त बुझेकै होला । माक्र्सले मानव कल्याणको कुरा गर्छ, शोषणबाट मुक्तिको कुरा गर्छ, सामाजिक यथार्थ चित्रणको व्याख्या गर्छ । महिला पुरुषबिचको अन्तरसम्बन्धलाई वर्गीय मुक्तिको कोणबाट हेर्दछ । यो समानताको कुरा हो । महिला अधिकारका निम्ति सबैभन्दा बढी बोल्ने भनेको माक्र्सवाद नै हो ।
समाजको अस्तित्व महिला र पुरुषको समान कार्य र व्यवहारबाट हुन्छ । माक्र्सका अनुसार समाजमा एउटा वर्गलाई समाजको सम्पूर्ण विकासको नियन्त्रण, अवसर र उपलब्धिबाट अलगाइएको छ भने त्यो उनीहरूमाथि गरिएको शोषण हो । जो बढी शोषित हुन्छन् उनीहरू नै यस्ता सम्पूर्ण अवसरबाट अलग रहेका हुन्छन् । नारी पनि यही अवस्थाबाट गुज्रिरहेका हुन्छन् । उसको क्षमता, योग्यतालाई समाज विकासको प्रक्रियामा पुरुष सरह यथार्थ रूपमा स्वीकार गर्न गाह्रो हुन्छ । यो यथार्थलाई पहिचान गरी व्याख्या र विश्लेषण गर्ने नारीवादी समालोचक हो । जसले एउटा पाटोलाई छोडेर अर्को पाटो त्यो पनि छनौट गरी आफूलाई खुसी दिने, रमाइलो दिने र आनन्द दिने र आफ्नो स्वार्थमा मात्र लेख्छ भने ऊ माक्र्सवादी समालोचक कसरी हुन सक्ला ? किनकि क्षमता, योग्यता भन्ने कुरा प्रकृतिले नारी र पुरुषलाई भनेर छुट्टा छुट्टै बनाएको छैन । यसलाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक कुराले असर पार्छ । यो यथार्थलाई नबुझेर साहित्य लेखिन्छ भने त्यो साहित्य अधुरो हुन्छ, विभेदपूर्ण हुन्छ । यो कुरामा छलफल वहाँसँग भइरहन्थ्यो र सहमत जनाउनु हुन्थ्यो तर यसमा बढी भने मै बोल्ने गर्थेँ ।
पि.एच.डी. सकेर अध्यापनमा लाग्नु भएका महिला साहित्यकारलाई साहित्य कार्यक्रमका सन्दर्भमा कुनै पुस्तकहरूमा बोल्नका लागि, वक्ताका रूपमा समान रूपमा नाम सिफारिस गरेको देख्थेँ । कुनै प्रकारको विभेद गरेको देख्दैनथेँ । यस्तो देखेर मलाई गर्वको अनुभूति हुन्थ्यो । जबसम्म बोल्ने अवसर मिल्दैन व्यक्तिले आफुलाई कसरी विकास गर्न सक्छ ? तसर्थ मौका दिनुपर्छ जसले गर्दा ऊ अध्ययन गर्न, विश्लेषण गर्न सक्छ । यसरी नै अभ्यास हुँदै जाने हो । कोही पनि जन्मैदेखि जानेर आएको हुँदैन । वहाँको यस्तो विचार देख्दा वहाँ जेन्डर, नारीवाद र माक्र्सवादमा धारणागत रूपमा स्पष्ट हुनुहुन्छ भन्ने लाग्थ्यो किनकि कुनै व्यक्ति विशेषप्रतिको लक्ष्यभन्दा पनि उसको विचार, समस्या, आवश्यकताका बारेमा अध्ययन गर्ने हो ।
पि.एच.डि. थेसिसका क्रममा आउने वहाँका विद्याार्थीहरूलाई मैले पनि मेरो कवितासङ्ग्रह दिने अवसर पाउँथे र भन्ने गर्थें पढ्नुहोला, केही सल्लाह सुझाव भए दिनुहोला । सबैले बडो सम्मानका साथ स्वीकार गर्नुहुन्थ्यो । एकचोटी वहाँको एक जना विद्यार्थीले भन्नुभयो– “मेडमको कवितासङ्ग्रह लिएर घरमा राखेँ, पढेको थिइन, महिलाको शोषण विरोधको कविता त लेख्नु भएको होला, यस्तै गन्थन् त होला भनेर सोचेँ तर एकदिन अध्ययनका क्रममा कोठामा मेरो आँखा मेडमको कविता सङ्ग्रहमा प¥यो खै ! कस्तो लेख्नु भएछ भनेर यसो हेर्दै जाँदा त राम्रो लाग्दै गयो, पढ्दै गएँ कविता त सकियो थाहै भएन, अल्छि लागेन, पढौं पढौं लाग्दालाग्दै सकियो” । हामी दुबैजनाले वहाँले भनेका यी कुरा सुन्यौं, सर मुसुक्क हाँस्नु भयो तर म केही बोलिन । बडो इमान्दारीले भन्नुभयो आँखा नपरेको भए कसले पढ्ने ? फेरि सरको मेडम भनेर पढेको हो कि ? महिलाका रचनाहरूलाई पूर्व अनुमानित गर्ने प्रवृति पनि नभएको होइन । यिनीहरूले दमन, पीडा, दुःखका बारेमा मात्र गन्थन् लेख्छन्, यस्तो सोचाइ सामान्यीकरण भएको छ । यसरी मूल्याङ्कन गर्ने प्रवृति नारीवादी सोचाई होइन जस्तो लाग्छ ।
सिर्जनात्मक सल्लाह र सुझाव, स्वस्थ छलफल अनि भाषिक शुद्धाशुद्धिका लागि मैले आफ्ना रचनाहरू औपचारिक रूपमा इमेल गरेर वहाँलाई पठाउने गर्थेँ । नारीवाद र माक्र्सवादको लेख पनि इमेल गरेर पठाएँ । धेरै जसो वहाँले मेरो रचनामा कहीँ कतै अस्पष्ट छ भने रातो लगाएर फेरि अट्याच गरेर पठाउने गर्नुहुन्थ्यो । इमेल खोलेर हेर्दा बुझिएन, लामो, दोहरियो, के भनेको जस्ता प्रश्नहरू लेखेर पठाउने गर्नुहुन्थ्यो । तर नारीवाद र माक्र्सवादको मेरो लेखमा भने वहाँले नारीवाद र माक्र्सवादलाई रातो लगाउनु भएन र कुनै पनि प्रश्नहरू पनि त्यहाँ लेख्नु भएको थिएन । म त मख्ख परेँ ! अचम्म भो सरले त केही सल्लाह र सुझाव दिनु भएन तर पनि मनले मानेन वहाँको सुझाव नआएसम्म पूरा भएको महसुस हुन्थेन, मैले वहाँसँग सोधेँ खोइ त ! सरको सुझाव आएन त ? वहाँले नारीवाद तिमीले बढि बुझेको छौ, फेरि तिमीलाई अनुभव पनि छ भनेपछि मैले तुरुन्त के माक्र्सवाद र नारीवाद सरले बुझ्नु भएको छैन र भनेर प्रश्न गरिहालेँ । वहाँले भन्नुहुन्थ्यो माक्र्सवादलाई नारीवादमा जोड्ने कुरामा अलि विश्लेषण गर्नुपर्छ महिला भएकै कारण विभेदको अनुभव तिमीले बढि गरेकी छौ होला त्यसैले विश्लेषण गर्न सक्छौ । मैले हुन्छ गर्छु तर सरको पनि यसमा थप विचार के छ ? भन्नुपर्छ किनकि सर नारीवादी पुरुष हो नि त ! हैन ? खाली समयमा आफूलाई लागेको विषयमा प्रश्नहरू गरिरहन्थेँ तर यसपटक वहाँकै मुखबाट म नारीवादी पुरुष हुँ भनेको सुन्नलाई बारम्बार जिस्काइरहन्थेँ । मैले पटकपटक नारीवादी पुरुष भनेको सुनेर वहाँ हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो “तिमी लेखन ! म हो कि होइन भनेर किन सोध्नु प¥यो ?” किन नसोध्ने सर मेरो मान्छे, मेरो र सरको बुझाई एउटै हुनुपर्छ नि होइन र ? मैले अलि जोड दिएर नै भने । कस्तो लाग्छ तिमीलाई भन न भनेर उल्टै मलाई सोध्नु भयो । नारीवाद पनि धेरै थरिका छन् । बुर्जुवा अधिकारवादीहरुले भन्ने गरेको नारीवाद वर्गबाट पृथक गरेर महिला र पुरुषलाई विभेद गर्ने दृष्टिकोण हो, तर सर त माक्र्सवादी कोणबाट नारीवादलाई अध्ययन गर्नुहुन्छ जस्तो लाग्छ भनेर जवाफ दिएँ । मैले तिम्रो लेखमा केही प्रश्न गरेको छैन, तिमी अनुभवी छौ, अध्ययन गरेकी छौ भनेर जवाफ दिनुभयो । मैले भने होइन, सर पनि म जतिनै अनुभवी हुनुहुन्छ त्यसैले सर नारीवादी पुरुष हो । मुसुक्क हाँस्दै हरे ! तिमीले त मलाई पुरै बकाउन पो थाल्यौ, कति केरेको भन्नुभयो । मलाई भने वहाँलाई बारम्बार सोधेर रिस उठेको हेर्न मन लागिरहेको थियो । तर कहाँ रिसाउने, बरू गम्भीर भएर आफू नबोलेर मलाई बहस गराउन पो प्रेरित गर्नु भएको अनुभूति गर्थेँ । तर अब यस किसिमको मीठो छलफल गर्न वहाँ मेरोसाथ हुनुहुन्न । यस्तो छलफल अब कोसँग गर्ने ? कहिलेकाहीँ छोरीलाई पनि देखाऊ न भन्ने गर्नु हुन्थ्यो भने टिकापूर जानु अगाडि सागरलाई पनि देखाऊ ऊ पनि उपन्यास लेख्छ, कविता लेख्छ भन्नु भएको थियो । सायद ! अब म तिमीबाट छिट्टै सदाकालागि विदा हँुदैछु भनेर होला मलाई यस्तो सङकेत दिएको !
आजभन्दा करिब दुईवर्ष अगाडि फेसबुक वालमा बलराम तिमिल्सिनाको “एक वेश्याको वकपत्र” कविता देखाउँदै मलाई पढत ! भनेर आफ्नो मोबाइल दिदै गरेको याद आयो । मैले पुरै कविता पढेकी थिएँ । त्यसको दुई टुक्रा यहाँ जोड्न चाहन्छु ।
तिमीले देशको व्यापार ग¥यौ
मैले देहको व्यापार गरेँ
तिमीले रमाइरमाई देश बेच्यौ
मैले रोईरोई सरीर बेचेँ
यसरी तिमी गद्दार भयौ र
म वेश्या भएँ
मेरो देश र मेरी आमा एकै हुन
आमा बेचेको पैसा मलाई चाहिंदैन
म बूढी आमालाई पाल्न देह बेच्दै छु ।
वास्तवमा वहाँले भनेजस्तै सिद्धान्तमात्र लेखेर हुन्छ र ? व्यवहारमा जोडुनुपर्छ । आफ्नो जीवनमा लागु गर्नुपर्छ । अनुभव गरेरमात्र लेख्न र विश्लेषण गर्न सकिन्छ । यहाँ कवि बलराम तिमिल्सिनाले पनि एउटा नारी आफ्नो देहव्यापार गर्न बाध्य छे यो सत्य हो । नारीवाद के हो ? कसरी बुझ्ने ? कसरी स्वीकार गर्ने बडो महत्वपूर्ण प्रश्न हुन् । नारीलाई कसरी बुझ्ने, उनको अवस्था हुनुको कारण केहो ? यहाँ कविले यो यथार्थलाई स्वीकार गर्नु भएको छ । नारी वेश्या भएकी छ । उसलाई वेश्या बन्न बाध्य बनाउने राज्य व्यवस्था हो । तसर्थ नारीको वास्तविक अवस्थालाई नजिकबाट बुझ्ने विचारको चेतना नारीवाद हो र यहाँ मैले भन्नै पर्छ कि कवि बलराम पनि नारीवाद हुन् किनकि यो चेतना भएरनै वहाँको अभिव्यति कवितामा झल्कियो ।
देह बेचेर आमा पाल्ने छोरीलाई महान् बनाएको भाव उनको यस कवितामा देखिन्छ । आमा र देशलाई एउटै स्थानमा राखेका छन् यो नारीप्रतिको उच्च सम्मान हो । उनले देश बेचेर रमाउनेलाई गद्दार भनेका छन् । नारीवादी केवल महिला मात्र होइन पुरुष पनि हो तर त्यो पुरुष जसले समानतालाई स्वीकार गर्छ, असमानताको विरोध गर्छ, वास्तविक समस्याको धरातलमा साहित्य लेख्छ ऊ माक्र्सवाद नारीवादी हो त्यसैले यहाँ कवि बलराम पनि माक्र्सवादी नारीवाद हुन् । नारीवादमा कुनै लिने र दिने कुरा छैन । तेरो यति कित्ता र मेरो यति कित्ता भन्ने छैन यहाँ नारी पुरुष समाज रूपान्तरणका लागि उत्तिकै जिम्मेवारी छन् । दुस्ट नारी पनि हुन्छे, अमानवीय अभद्र उसले पनि गर्छे । यो नारीवाद होइन किनकि नारीवादका नाममा अर्थात् महिला अधिकारका नाममा जे पनि बोल्न हुने जे पनि गर्दा हुने र यसलाई स्वीकार गर्ने पर्छ भन्ने हुँदैन । आफ्नो खुसी र स्वार्थका लागि गरिने सबै क्रियाकलाप स्विकार्य र साथित्व भावमा हुने तर कम्जोरी देखाउने वित्तिकै त्यही व्यवहार यौनहिंसा हुने । यस्तो बदलाको भावनाले हेर्न खोज्ने नारीवादले समाजमा समानता होइन विकृति तथा लैंगिक विभेद बढाउँन सहयोग गर्छ ।
केही लेख्ने मनस्थिति बन्यो भने वहाँसँग आफ्ना चिन्तनहरू सुनाउने गर्थेँ तर सुनाउने र सुन्ने शृङ्खला कहिल्यै पूरा हुन्थेन । कहिले फोन आएर, कहिले, पढाउने समय भएर, कहिले विद्यार्थीसँगको छलफलले टुट्ने गथ्र्यो र फेरि समयको अनुकूलतामा निरन्तरता दिने गर्थँे । सुन्ने र स्पष्ट विचार राख्ने तर यहिनै हुनुपर्छ भनेर दवाब नदिने वहाँको शैलीले अझ बढी सोच्न सहयोग पुग्थ्यो । माक्र्सवाद दृष्टिकोणले समाजको व्याख्या, विश्लेषण अर्थात् मूल्याङकन गरिन्छ भने पक्कै पनि महिला र पुरुष दुबैको सामाजिक सम्बन्धको व्याख्या र विश्लेषण हुन्छ होला । माक्र्सवाद दर्शन हो र नारीवाद पनि एउटा दर्शन हो । संरचनागत र संस्थागत शक्तिमा नारी र पुरुषको अस्तित्वलाई कसरी परिभाषित गरिएको छ भन्ने कुरा पनि माक्र्सवादी समालोचकले विश्लेषण गर्नु पर्छ वा पर्दैन ? साँझ विहान वहाँसँग भएका यस्ता सवालमा अनौपचारिक कुराकानीले ठूलो सहयोग मिल्थ्यो । वहाँ भन्नु हुन्थ्यो माक्र्सवादले शोषण र असमानतालाई केन्द्रमा राखेर समाजिक, पारिवारिक सम्बन्धको विश्लेषण गर्छ । यो महिला, यो पुरुष, यो दलित, जातको आधारमा होइन । नारीको अस्मिता, उसको भूमिका, समानता, स्वतन्त्रतामाथि भएको शोषण र अमानवीय प्रवृतिको यथार्थलाई बुझ्ने र अध्ययन गर्ने, बोल्ने पुरुष पनि नारीवादी हो ।
दुस्ट प्रवृति महिला र पुरुष दुबैमा हुन्छ । चाहे महिलामा होस् या पुरुषमा तर यो गलत प्रवृति हो भन्ने कुरा कुनै महिला वा पुरुषले स्वीकार गर्छ भने यस्तो चिन्तनलाई नारीवादी हो भन्न सकिन्छ । जब कुनै महिलाले आफ्ना पतिलाई ढाँटेर वा छलेर क्यासिनो जान्छिन् र भन्छिन् के भो ! जब पुरुषले ढाँटेर जान सक्छ भने किन नजाने बराबरी त हो नी, यो नारीवाद होइन । यो दुबैको बदमासी हो । यस्तो बराबरीले फेरि अर्को शोषण र दमनलाई जन्माउँछ ।
साहित्यमा महिलाहरूका रचना बुझ्न नखोज्नु, नपढ्नु वा उनीहरूले के लेखेका छन् भनेर नजर अन्दाज गर्नुको मतलब यस्ता प्रवृति भएका मानिस भित्र समानताको बुझाई मरिसकेको छ । कार्ल माक्र्सको अलगको सिद्धान्तको आधारमा महिलालाई सिङ्गो समाजबाट अलग्याइदिनु हो, उनीहरूलाई अमानवीय रूपमा हेर्नु हो । जसरी मज्दुरहरूलाई मूल उत्पादनबाट अलगाउनु, बढिभन्दा बढी समय उनीहरूलाई काममा लगाएर उनीहरूको आफ्नो परिवारमा सँगै बस्नबाट बन्चित गराइदिन्छ । त्यसकारण महिलाहरूका रचनाहरूलाई साहित्यको मूल प्रवाहबाट अलग्याउनु माक्र्सवादी समालोचक होइन जस्तो लाग्छ । मेरो यो लामो व्याख्या सुनेर वहाँले टाउको हल्लाएर सर्मथन गर्नुहुन्थ्यो । बच्चा जन्माएकै भरमा महिलाको समग्र जीवनलाई कम्जोर देख्नु माक्र्सवाद नारीवाद होइन, भन्ने महसुस गर्ने पुरुष पनि नारीवाद हो । मेरो सर यसमा पर्नुहुन्छ वहाँलाई भनिरहन्थेँ । मेहनत गर्ने, बुझ्न र सिक्न खोज्ने, सहन गर्ने कुरा व्यक्तिको स्वभाव हो । नम्र भएर बोल्ने, अलिकति सहन गर्ने, न जानेको कुरा सोध्ने के त्यो झुक्नु हो र ? प्रकृतिले महिलासँग न सोध्ने पुरुषसँग मात्र सोध्ने कहाँ भनेको छ ? सामाजिक न्याय र समानतामा सहमत राख्ने नारीवाद हो ।
सायद यो अन्तिम वैचारिक छलफल हो जस्तो लाग्छ । वहाँ टिकापूर जानु भन्दा एक हप्ता अगाडिको कुरा हो । फेसबुक वालबाट डाक्टर रजनी ढकालको “सारी लाउँदैमा पढाउन आउँछ ?” भन्ने कविता हेर त ! भन्दै आफ्नो मोबाइल मलाई दिनु भयो । मैले पूरै कविता पढेँ । उक्त कविताको एक टुक्रा यहाँ जोड्न चाहन्छु ।
सारीकै फेरबाट खसेर
सारीकै आँचलमा हुर्केर
दम्भ र अभिमानको टोपी मिलाउँदै
कुशासनको कोट भिरेर
रुढ सत्ता कुर्लिन्छ
सारी लगाउँदैमा पढाउन आउँछ ?
यो कविता प्रश्नसूचक र व्यङ्ग्यात्मक शैलीमा लेखिएको छ । यहाँ प्रश्नकर्ताले पुरुषत्व झल्काएको छ । सारी लाउने महिलाले पनि पढाउन सक्छन् ? भन्ने भाव कवितामा झल्किन्छ । महिलाको योग्यता, क्षमता प्रति अवमूल्यन गरेको देखिन्छ । यो प्रवृत्ति प्रगतिवाद र नारीवादी चिन्तनको विरोध हो । छोरा होस् वा छोरी आमाका गर्भबाट जन्मेर सारीको फेरोमा सुरक्षा पाएर हुर्केको हो । तर यो यथार्थलाई यहाँ प्रश्नकर्ताले स्वीकारेको देखिदैन । यहाँ त पुरुषत्वको अहमता चरमोत्कर्ष रूपमा व्यक्त भएकोले कविलाई नारी प्रतिको यस अमानवीयता, असमानताले आक्रोशित बनाएको छ । किनकि महिला भएकै कारण उनको बौद्धिक क्षमताप्रति विभेद र अपमान भएको छ । यसर्थ कविले आफ्ना कविता मार्फत् यस्तो प्रवृतिको प्रतिकार गरेको भाव व्यक्त गरेकोले कवि ढकाल नारीवादी हुन् । मैले यसरीनै वहाँको अगाडि कविताको छोटो व्याख्या गर्दै भने सरको यसमा सर्मथन छ ? वहाँ मुसुक्क हाँस्नु मात्र भयो । मौनम सम्मती लक्षणमः भनेझैँ मेरो विचारमा वहाँले नबोलेर समर्थन गर्नु भयो । अनि मैल पनि हाँस्दै भने अब भन्नुस् त सर ! म पनि नारीवादी पुरुष हो ।