गएको मई ५ देखि एक सातासम्म चीनका राष्ट्रपतिले यूरोपेली संघका देशहरुको राजकीय भ्रमण गरे । त्यस क्रममा मध्य र दक्षिण–पूर्ब यूरोपको चौबाटोमा अबस्थित सर्बियामा हजारौं नागरिकले जे जस्तो न्यानो र जोशिलो तरीकाले चीन र सर्बियाका झडा हातमा लिएर चिनीया राष्ट्रपति शी जिनपिङ्गको भब्य स्वागत गरे त्यसले के स्पष्ट सन्देश दिएको हिन्द–अमेरिकी बृत्तमा आकलन गरिदैछ भने चीनलाई अघि बढ्न रोक्ने अमेरिकी कोशिश अपर्याप्त र असफल भइसकेको र भइरहेको छ । यस स्थितिले नयाँ बिश्व ब्यवस्थामा चीन सबलतापूर्बक खडा हुन थालेको प्रष्ट संकेत गर्दछ । वास्तवमा यतिबेला बिकसित हुँदै गरेको नयाँ बिश्व ब्यवस्थामा बिभिन्न शक्तिहरु क्षेत्रीय आर्थिक संगठनहरुमा केन्द्रित देखिन्छन् । यसकारण कुटनीतिको सञ्चालन पनि त्यसै ब्यवहारमा आधारित हुनु पर्ने हो नै । चिनी राष्ट्रपति शी जिनपिङ्ख आर्थिक महाशक्ति बन्ने चीनको प्रतिबद्धतालाई युरोपेली युनियन, आशियान र केही क्षेत्रीय सहयोग मञ्चहरुको माध्यमबाट मजाले पूरा गर्नेतर्फ लक्षित चीनलाई अगि बढाइरहेका छन् । जसबाट बेल्ट एण्ड रोड इनिशिएटिभ(बीआरआई)को चीनको महत्वाकांक्षी सपना पूरा हुने अपेक्षा पनि बढिरहेको छ ।
बर्तमानमा बस्तुतः बीआरआई चीनको बिदेश नीतिको केन्द्र बिन्दू बनेको प्रष्टै देखिन्छ । त्यस अन्तरगत चीनले कयौं सडकहरु, बन्दरगाहहरु,रेल मार्ग र अन्य आधारभूत संरचनाहरुको निर्माणमा अर्बौं डलर झोकेर आफ्नो ब्यापारिक सम्बन्धलाई बिश्वभरी नै बिकसित र प्रवाहित तुल्याइरहेको छ । यथार्थतः चीनको यो रणनीति एशिया, हिन्द–प्रशान्त क्षेत्र, अफ्रिकादेखि लिएर युरोपसम्म गहिरो प्रभाव पार्न एकदमै सफल बन्दै गएको देखिदैछ । यसले सर्बियाबाट मध्य बाल्कन क्षेत्रका सुदूर दक्षिणी तटसम्म पुग्ने मार्ग प्रसस्त गर्दछ । यो देश बोस्निया र हर्जेगोभिना, बुल्गारिया, क्रोएशिया, हंगेरी, उत्तरी मेशोडोनिया,मोण्टेनेग्रो र रोमानियासँगको सीमालाई साझा तुल्याउँदछ ।
सर्बिया तेल, ग्यास, कोइला, फलामको धाउ, बक्साईट, तामा, सीसा, जस्ता, सुन, चाँदी, म्याग्नेशियम र संगमर्मरको भण्डार हो । चीनले सर्बियामा आधारभूत संरचनालाई सबल तुल्याएर त्यहाँका मानिसहरुको जीवनलाई खुशी र सुखी बनाउन ठूलो भूमिका निभाएको उल्लेख गरिदैछ । चीन र सर्बियाले बीआरआई पहल संरचना अन्तरगत उल्लेखनीय उपलब्धीहरु पनि हासिल गरेका छन् । त्यसबाट सर्बियाका मानिसहरुको आजीबिकामा सुधार भएको मात्र होइन चीन र सर्बिया दुबै देशको बिकासको गति पनि तीब्रताकासाथ अघि बढेको छ । सर्बिया र वरिपरीका बल्कान देशहरुमा बितेका केही बर्षहरुमा चीनले अर्बाैंं यूरो लगानी गरिसकेको छ ।
मध्य युरोपको एउटा अर्को देश हंगेरी र चीनको सहयोग पनि नयाँ उच्चाईमा पुगेको छ । बेइजिङ्गमा हंगेरियन साँस्कृतिक केन्द्रले बर्षौंदेखि सफलतापूर्बक काम गर्दै आइरहेको छ । अब बुढापेस्टमा चीनको साँस्कृतिक केन्द्रको पनि चाँडै नै आधिकारिक उद्घाटन गरिने तय भइसकेको बताइन्छ ।
हंगेरियन भाषा पाठ्यक्रम कयौं चिनीया बिश्वबिद्यालयहरुको पाठ्यक्रममा रहेका छन् । कन्फ्यूशियस संस्थान र कन्फ्यूशियस क्लासरुमले हंगेरीमा लोकप्रियता र सहभागिता हासिल गरिरहेका छन् । त्यहाँ भ्रमणका बेला शी जिनपिङ्गले भनेका पनि छन् कि हामी बेल्ट एण्ड रोड(बीआरआई) पहल र हंगेरीको पूर्बी उद्घाटन रणनीतिका बीच अझ बढी तालमेल बनाउनका लागि हंगेरीसँग मिलेर काम गर्नेछौ र बुढापेस्ट–बेलग्रेड रेल मार्ग लिङ्क लगायत अन्य महत्वपूर्ण सहयोगका परियोजनाहरुको निर्माणमा पनि तीब्रता ल्याउने छौं । स्वच्छ ऊर्जा, कृत्रिम बुद्धिमत्ता(एआई), डिजिटल अर्थब्यवस्था, हरित बिकास र अरु उदाउँदा सम्भाब्य क्षेत्रहरुमा हंगेरीसँग चीनको सहयोग निरन्तर सबल हुँदै गएको छ ।
यी युरोपका यी देशहरुको यात्रा गर्नभन्दा पहिला शी जिनपिङ्ग फ्रान्स पुगेका थिए । फ्रान्स यूरोपेली संघको अहम महत्वको सदस्य हुँदा हुँदै पनि कूटनैतिक स्वायत्ततालाई लिएर अमेरिकाका बिरुद्ध निकै मुखर रहँदै आएको देखिदै आएकोछ । गत बर्ष मात्रै फ्रान्सका राष्ट्रपति म्याँक्रोले चीनको यात्रा गरे पछि एक चीन नीतिको समर्थन जनाएका थिए ।यूरोपेली संघ त्यस क्षेत्रका २७ देशहरु रहेको बिश्वको एउटा निक्कै नै सबल संगठन हो जसले ब्यापार, सुरक्षा, कृषि, मत्स्य पालन,पर्यावरण र जलवायु परिबर्तन आदि लगायत बिभिन्न क्षेत्रमा काम गर्ने गर्दै आएको छ । बिश्व कूटनीतिमा पनि यसको अत्यन्तै अहं महत्वको स्थान रहेको मानिन्छ ।
इण्डो–पश्चिमा देशहरु भने चीनका बिरुद्ध ईयुलाई उचाल्दै युरोपेली संघ स्थिरता, सुरक्षा, समृद्धि, लोकतन्त्र, आधारभूत स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय स्तरमा बिधिका नियमहरुलाई बढावा दिनका लाग काम गर्छ भनेर निकै फुक्र्याउने गर्दछन् । हुन पनि अमेरिकासँग अहिलेसम्म युरोपेलेी संघको गहिरो आर्थिक सम्बन्ध र सामरिक सरोकार रहँदै आएको पनि छ । अनि नाटो सैन्य संगठनले यसको ईयुमा सम्बद्र्धन गर्ने गर्दै आएको पनि छ । ईण्डो–प्यासिफिक क्षेत्रमा चीनलाई सबैभन्दा ठूलो चूनौति मानिरहेका युएस–इण्डो युरीमै ईयुका सदस्य राष्ट्रहरु रहनु पर्ने ठान्दछन् । तर फ्रान्सका राष्ट्रपति माँक्रोल भने यूरोपले अमेरकामाथिको पर निर्भरता कम गर्नु पर्ने बताउने गर्दै आएका छन् । यसरी प्रष्ट छ कि चीनलाई लिएर युरोपेली देशहरु र अमेरिकासँगको बढ्दो मतभेद खुलेरै बाहिर आइसकेको र आइरहेको छ ।
यतिबेला युरोपेली संघमा सामेल भएको हंगेरी र फ्रान्स चीनसँगको सहयोगलाई नयाँ उच्चाईमा लगिरहेका देखिन्छन् । यस बद्लिदो स्थितिले गर्दा अमेरिकाको त्यस अभियानलाई धक्का लागिसकेको या लागिरहेको छ जुन अभियान अन्तरगत अमेरिकाले युरोपेली देशहरुका बीच आर्थिक, सामाजिक र क्षेत्रीय एकता तथा समन्वयलाई महत्व दिदै आएको देखिन्थ्यो । हुन पनि अमेरिकाले यूरोपमा साझा बिदेश नीति तथा सुरक्षा नीतिका लागि समेत प्रतिबद्धता देखाउने गरेको हो । तर चीनको बिरोधलाई लिएर भने उनीहरुका बीच एकरुपमा देखिएको छैन । बद्लिदो बिश्व परिस्थितिमा यूरोपमा चीनको बढ्दो प्रभावको असर एशिया, अफ्रिका, युरोपदेखि लिएर हिन्द–प्रशान्त क्षेत्रमाथि पनि पर्नसक्छ भन्ने आकलन पनि भइरहेको छ । एशिया प्रशान्त क्षेत्रमा संचारको सुरक्षित समुद्री मार्गलाई लिएर यूरोपेली संघको स्पष्ट रहेको र चीन यसको मार्गमा ठूलो चूनौति देखापर्दछ भन्ने एकथरीको बिश्लेषण छ । तर अब के देखिन थालेको छ भने यूरोपेली संघका कतिपय देशहरुले चीनको बिश्व प्रभावको यथार्थलाई ब्यवहारमा स्वीकारिसकेका छन् ।
हुन पनि चीनले २०१२ मा नै मध्य र पूर्वी युरोपेली देशहरुसँग सहयोग बिस्तार गर्ने उदेश्यले एउटा फोरम चलाउन शुरु गरेको थियो । त्यसयता दक्षिण पूर्बी, मध्य र पूर्बी यूरोपमा चीनको भूमिका लगातार बढ्दै गइरहेको देख्न सकिन्छ । तर अमेरिकाको के कोशिश छ भने यूरोपेली संघसँग एउटा यस्तो बिश्व लगानी योजनामा अघि बढ्न सकियोस जसबाट चीनको बेल्ट एण्ड रोड इनिशिएटीभको बिकल्पकारुपमा त्यो खडा हुन सकोस् । तर आजको बिश्व भू–धरातलमा यस्तो प्रयास सफल हुने देखिदैन । चीनको बीआरआईले नै अब ग्लोबल गेट वे (बिश्व प्रवेशद्वार)कारुपमा प्रभाव छोडिरहेको छ ।अनि यसबाट युरोपका कतिपय देशहरुले त्यसलाई इन्कार पनि गरिरहेका छैनन् । कोभिड महामारीका कालमा चीनले बिश्वमा अझ चमत्कार गर्दै र अमेरिकालाई पछाडि छोड्दै युरोपेली संघसँग सबैभन्दा बढी ब्यापारिक साझेदार बन्ने इतिहास रच्यो । चीन यो कारोबार लगातार अगाडि बढोस् भन्ने चाहन्छ । यसैका लागि चिनीयाँ राष्ट्रपति युरोपको यात्रामा गएका पनि हुन् । के कुरा चाखलाग्दो पनि छ भने चीनको उपस्थितिले जर्जिया, ग्रीस, हंगेरी, र रोमानियामा बिकास त भएको छ तर लोकतान्त्रिक मूल्य कमजोर भएको केही बिश्लेषकहरुले भन्ने गर्दै आएका छन् । तिनले भन्दछन् कि चीन इरान,उत्तर कोरिया र रुस जस्ता देशहरुलाई मद्दत गरेर प्रतिबन्धरहीत समानान्तर बिश्व ब्यवस्था स्थापित गर्न सफल भइरहेको छ । यी सबै कुरा अगाडि बढ्दै जाँदा यूरोपेली संघका कतिपय देश आर्थिक प्रगतिका लागि चीनलाई स्वीकार गरिरहेकाछन् । तर यो कुरा अमेरिका लगायत पश्चिमा कतिपय देशलाई पच्न सकरहेको छैन । चीनको बढ्दो बिश्व प्रभावबाट लोकतन्त्र, स्वतन्त्रता र मानबीय मूल्यहरुमा गहिरो चोट पुग्ने आशंका र चिन्ता इण्डो–पश्चिमा शक्ति केन्द्रहरुले गरिरहेका छन् । तर चीन भने आइलागेका सबै चूनौतिहरुलाई झेदै लगातार अघि बढिरहेको छ ।