नेपालका चर्चित कम्युनिष्ट नेता निर्मल लामा भौतिकरुपमा हामी बीचबाट बिदा हुनुभएको पनि २४ बर्ष ब्यतित भएछ । मैले ०३६ सालको आन्दोलनपछि करिव २० बर्षजति उहाँलाई नजिकबाट अध्ययनगर्न पाएछु । उहाँसँग ०३५÷०३६ सालको आन्दोलनका क्रममा कहिले, कसरी, कहाँ भेट भयो ठ्याक्कै भन्न सक्तिन । तर धेरै कार्यक्रमहरुमा भेट भयो । त्यतिबेलाको प्रचलनअनुसार पार्टीका साथीहरुको नाम, ठेगाना सोध्ने÷खोज्ने चलन थिएन । धेरै कार्यक्रममा सहभागिहुँदा उहाँ हाम्रो पार्टी नेकपा( चौम) को ठूलै नेता होभन्ने अनुभूति भएको थियो । ०३७ पछि म पत्रकारितामा प्रबेश गरेँ । त्यसैले मकहाँ धेरै लेख रचनाहरु आउँथे । त्यसमध्येमा ‘नरेश’को लेख धेरै उत्कृष्ठ हुनेगथ्र्यो । एमबि सिंह र नरेशका लेखहरु छापिएका पत्रिका धेरै बिक्थे । लामाजीलाई मैले धेरैपटक जनजागृति पत्रिकामा लेख्दै गरेको भेट्थेँ । पछि उहाँनै लेखक नरेश होभन्ने थाहाभएको थियो । त्यहाँनै मैले कामरेड रोहितलाई पनि पहिलो पटक भेटे÷चिनेको हुँ । नरेशजी मेरो जैसीदेवलको डेरामा पनि पटक, पटक आउन थाल्नुभएको थियो । जहाँ बसेर उहाँ लेख पढ गर्नुहुन्थ्यो । पढिसकेपछि कहिलेकाहीँ माक्र्सवाद, लेनिनवाद र माओ बिचारधारका बिभिन्न पक्षकाबारेमा बिश्लेषण गरेर सुनाउनु हुन्थ्यो । त्यहीँबाट मैले माक्र्सवादी शिक्षाकाबारेमा राम्रो जानकारी पाएको थिएँ र माक्र्सवादी शिक्षा पढ्ने र सोहीअनुसार पत्रकारितागर्ने लत बसेको थियो । लामाजी आकस्मिकरुपमा आउनु हुन्थ्यो र आकस्मिकरुपमा जानु हुन्थ्यो । उहाँको पुस्तकमा अन्डरलाइन गरेर पढ्ने बानी रहेछ । मेरा केही पुस्तकमा उहाँले कलमलेनै अनडरलाइन गरिसक्नु भएको रहेछ । पछि मैले धेरै साथी आउँछन् । यसरी केरमेटगर्दा अप्ठेरो पर्छ कि ? भन्ने जिज्ञासा राख्दा उहाँले गल्ती महशुस गर्नुभएको थियो । समयक्रममा डिआर पोख्रेललगायतका धेरै भूमिगत साथीहरुले ति पुस्तकहरु पढ्नु भएको थियो । त्यसबीचमा लेखिका पारिजातसँग सम्पर्क भैसकेको थियो । हाम्रो पार्टीका नेता निर्मल लामाको उहाँ आफन्त भएको जानकारी पनि भयो । एकदिन मैले उहाँलाई निर्मल लामालाई चिनाइदिन आग्रह गरेँ । उहाँले कुनै दिन त्यहाँ आएको मौका प¥योभने चिनाइ दिउँला भन्नुभएको थियो । एकदिन म बिहान करिव आठ बजेको समयमा लेखिका पारिजातलाई भेट्न म्हेपी पुगेको थिएँ । त्यतिबेला उहाँले लामाजीसँग भेट्ने भनेको होइन ? बोलाई दिउँ भन्नुभयो । मैले हुन्छ भनेँ । उहाँले आफू बसेकै ठाउँबाट मेरो नाम लिएर लामाजी यहाँ भेट्न आउनु भएको छ भन्नुभयो । उहाँ कोठाबाट तुरुन्तै बाहिर आउनु भयो । हात मिलाउँदैगर्दा मैले भनेँ उहाँ त नरेश हो । त्यसपछि हामी सबैजना ‘चिनेको मान्छेसँग फेरी परिचय भएकोमा’ बेस्सरी हाँसेका थियौं । सो घटनाबाट लेखक नरेशनै निर्मल लामा भएको मलाई अवगत भएको थियो । त्यसपछि पनि आउ जाउ, भेटघाट भैरहेको थियो ।
०३९ तिर एक दिन पार्टी फुट्न लागेको खबर आयो । ज्यादै खिन्न भएको थिएँ । त्यसैबेला कामको सिलसिलामा बुटवल जानुपर्ने भयो । त्यहाँ पुग्दा हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका नेता कृष्ण धमलासँग भेटभयो । छलफलकैक्रममा पार्टी बिभाजनका कुराहरु पनि भए । उहाँले पार्टी भित्रभित्रै बिभाजन भैसकेको र अब बचाउन सकिने अवस्था नरहेको बताउनु भएको थियो । तैपनि बुटबल पुगिसकेको अवस्थामा गोरखपुर पुगेर नेताहरुसँग छलफल गरौंभन्ने सल्लाह भयो । हामी बस चढेर गोरखपुर पुग्यौं र पार्टीको सम्पर्क कार्यालय पुस्तक पसलमा गयौं । निर्मल लामा त्यहीँ हुनुहुँदो रहेछ । हामीले आफ्ना जिज्ञासा राख्यौं । उहाँले फुटिहाल्ने कुरा त होइन । केही बिवादहरु सिर्जना भएका छन् । हामी छलफल गर्दैछौं । समाधान गर्छौ । साथीहरुले चिन्ता लिनु पर्दैनभन्ने आशयमा कुरा गर्नुभयो । त्यसपछि मोहनबिक्रम सिंह पनि आउनु भयो । उहाँसँग पनि पुरानै परिचय छँदै थियो । उहाँले पनि पार्टी बिभाजन भैहाल्ने अवस्था छैन भन्नुभयो । त्यसपछि एमबिलेनै मारबाडी सेवा सदनको लजमा बस्ने प्रबन्ध गरिदिनु भएको थियो । एक रात त्यहाँ बसेर घुमघामगर्दै दुबैजना बुटबल फर्केका थियौं । त्यसको केही समयपछि पार्टी र बिद्यार्थी संगठनलगायत सबै बर्गिय संगठनहरु धमाधम बिभाजन भए । साथीहरुले प्रधान अन्तरविरोध, ००७ सालको क्रान्तिलाई हेर्ने दृष्टिकोण र पञ्चायतको चुनाव उपयोगको प्रश्नबारे बिवाद भएर पार्टी फुटेको भनेका थिए । एकले अर्कोलाई शंकागर्ने, मौका परेको खण्डमा कुटपिटगर्ने र सिआइडी भएको गंभिर आरोप लगाउने लगायतका कामहरु भए । सबैका कोड नामहरु पनि सार्बजनिकगर्ने होड पनि चल्यो । हेर्दाहेर्दै त्यतिबेलाको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी नेकपा(चौम) फुटेर दुई चिरा भएको थियो । पछि निरन्तररुपमा कहिले मिलाउने र कहिले फुटाउनेगर्दै पार्टीलाई बिवादास्पद र शक्तिहीन बनाउने कामहरु भए । ०४६ सालको आन्दोलन सफल भएपछि लामाजी संविधान मस्यौदा समितिको सदस्य बन्नुभएको थियो । सरकारी नम्बरप्लेट भएको गाडिमा लामाजी सुरक्षा गार्डसहित हिँडेको देख्दा हामीले ठूलै युद्ध जितेछौंजस्तो अनुभव हुन्थ्यो । त्यसपछि केही समय भेटघाटहरु पनि कम भए । उहाँ भक्तपुर तिर आइरहनु हुन्थ्यो । तर कुरा हुनपाएको थिएन । एकदिन कसैले त्यतिबेलाको संविधानको मस्यौदा खुल्लामञ्चमा लगेर सार्बजनिक गरिदिएछ । सो काम लामाजीका निकटका ब्यक्तिहरुले गरेकोभन्ने कुरा आएपछि उहाँले झण्डै मस्यौदा समितिबाट राजीनामा दिनुपरेको थियो । पछि आत्मालोचना गरेर त्यसलाई मिलाउने काम भएको थियो ।
०४७ सालको संविधानलाई जनपक्षीय बनाउन उहाँले लामै बहस गर्नुपरेको र धेरै अडान लिनुपरेको भन्ने कुराहरु बाहिर आएका थिए । संविधान मस्यौदाकाक्रममा राजतन्त्रको अधिकार कटौटीगर्न लामाजीले अडान लिएका कुराहरु पनि त्यतिबेला चर्चाका बिषय थिए । ०५४ सालमा राष्ट्रघाती महाकाली सन्धिको विरोधमा उहाँको नेतृत्वमा भएको बर्दीवास – काठमाडौं सप्ताहव्यापी जनपैदल मार्चले पाएको चर्चा पनि मेरो संस्मरणमा ताजै रहेको छ । अर्को संझना के छभने ०५७ को बैशाखमै हुनुपर्छ लामाजी सिकिस्त हुनुभएकाले उपचारका लागि दिल्ली लैजाने तरखर भैरहेको खबर सुनेँ । तत्काल म्हेपीको नम्बरमा फोन गरेँ । संयोगले उहाँलेनै उठाउनु भयो । भोजन नलीको क्यान्सरले उहाँको बोली दबिएको थियो । ज्यादै मसिनु स्वरमा उहाँले दिल्ली जाने तयारी भैरहेको र फर्केर आएपछि कुरागर्ने बताउनु भएको थियो । मैले फोनबाटै उहाँलाई स्वास्थ्य लाभको सुभेच्छा ब्यक्त गरेँ । तर संयोग त्यसपछि उहाँ ०५७ सालको बैशाख २७ गते सधैका लागि हामी माझबाट बिदा हुनुभयो । उहाँको अन्त्येष्ठिमा काठमाडौंमा उर्लेको मानव सागर स्मरणिय थियो । सबै पक्षका नेता तथा कार्यकर्ताहरुको त्यसक्रममा जमघट भएको थियो । आज पनि मसँग नरेशकासाथै निर्मल लामाका कतिपय लेख रचनाहरु संकलनमा रहेका छन् । आज संझन्छु उहाँ ज्यादै अध्ययनशील र गंभिर प्रकृतिको हुनुहुन्थ्यो । उहाँका तर्कहरु अकाट्य खालका हुन्थे । आफ्नो अडानमा उहाँ दृढ रहने गर्नुहुन्थ्यो । कुनै पनि बिषयमा उहाँको ब्याख्या र बिश्लेषण ज्यादै गहन हुने गथ्र्यो । ०४६ सालको राजनीतिक परिवर्तनपछि भने उहाँमा केही बिचालन आएकोजस्तो देखिएको थियो । उहाँ आफू पनि नेपाली कांग्रेसको सदस्यहुँदै कम्युनिष्ट पार्टीमा प्रबेश गर्नुभएको रहेछ । ०३९÷०४० मा पार्टी बिभाजन भएपछि उहाँले केही नेकां समर्थकहरुलाई पार्टीमा प्रबेश गराएर एकैपटक उपल्लो तहको जिम्मेवारी दिनुभएको रहेछ । जुन कुरा पछिमात्र खुल्यो । जो आज पनि बर्तमान सरकारको उपल्लो तहमा रहेका छन् । उनीहरुमा संशोधनवादी बिचार हाबि छ ।
०३५ तिर पुष्पकमल दाहाल र ०३८ तिर डा. बाबुराम भट्टराईको प्रबेश तत्कालीन नेकपा (चौम) मा भएको हो । आज फर्केर हेर्दा पार्टीलाई बिभाजनमा पु¥याउन उहाँहरुको पनि अहम भूमिका देखिएको छ । निर्मल लामाजीहरुले पञ्चायतको कठीन भूमिगत कालमा काम गर्नुभएको थियो । जसलाई आजको पुस्ताले स्मरणगर्नु पर्दछ । आज पनि नेपालको समग्र राजनीतिमा तत्कालिन चौमको बिरासत रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सबैभन्दा ठूलो र अग्रणी कम्युनिष्ट पार्टी रहेको छभने तेश्रो महाधिवेशनबाट अलग भएकाहरुले गठन गरेको र बिभिन्न चरण पारगर्दै आएको एमाले संसदवादी कम्युनिष्ट पार्टीमध्येको सबैभन्दा ठूलो रहेको छ । डा. बाबुराम भट्टराईले कम्युनिष्ट राजनीति र पार्टीसमेत छाडिसक्नु भएको छ । त्यसैगरी पुष्पकमल दाहालको एमाले बन्ने रहर पूरा हुनसकेको छैन । पछिल्ला राष्ट्रिय र अन्तराष्ट्रिय घटनाक्रमहरुले संसदवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु ‘आमने सामने’ हुने संभावनाहरु बढिरहेका छन् । नाममात्रका कम्युनिष्ट पार्टीको भण्डाफोर आजको प्रमुख आवश्यकता भएको छ ।