झोला

झोला

 

भिर्न त
उसले पनि भिरेछ
लेनिनको चित्र अङ्कित
झोला
तर खाली थियोे
वर्गसंघर्ष
सर्वहारा अधिनायकत्व
सर्वहारा मानवतावाद

उसका मनका झोलामा
थियोे संसदवाद चुनाव
सर्वकल्याणकारी राज्य
शान्ति वर्गसमन्वय

मार्क्स लेनिन स्टालिन माओ
यी सबै शब्द लाग्छन्
पुराना शास्त्रीय
मन लाग्छ बिर्सन
विस्मृतिकै लागि
स्वाँग गरिरहे छ विमर्शको
यो पनि तरिका हो एउटा
सुरुपता ध्वन्यर्थलाई
कुरूपता विद्रूपतामा
फेरेर शब्दको अर्थ
आफू जस्तै
आत्मसमर्पणकारी
बुर्जुवा रङ्गधारी
बन्ने बनाउने
खेल पनि हो शब्दक्रीडाको

पुरानै सत्ता छ
झोलामा साथी
नाम त
धोखेबाज छलीले पनि
राख्न सक्छ
क्रान्तिकारी
आफैं ब्युँझन सकिएन
भने
सँगै हिंड्दाहिंड्दै
मुसार्दा मुसार्दै
रित्तो बनाउन सक्छ
तिखो हतियार
सँगै हुनु जरुरी छ