काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटललाई पुत्रशोक परेको छ । नेता अटलका एक मात्र छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा परी निधन भएको छ । बैशाख ७ गते दुर्घटनामा परेका शैलेन्द्रको उपचारको क्रममा सोमबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । बैशाख ७ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ट्रकको ठक्करबाट घाइते भएका कारमा सवार शैलेन्द्रको उपचारको क्रममा निधन भएको हो ।
सोही कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने ६८ वर्षीय सुवर्ण मल्लको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रवार बिहान भरतपुरबाट मुग्लिङतर्फ जादै गरेको बि एबी ५३२० नम्बरको कारलाई बिपरित दिशाबाट आउदै गरेको बा प्र ०३–००१ ख २०६३ नम्बरको ट्रकले ठक्कर दिंदा कारमा सवार शैलेन्द्रसहित चार जना यात्रु घाइते भएका थिए ।
कारमा चालक भरतपुर–१९ बस्ने बर्ष ३८ को शैलेन्द्र सुवेदी, बुटवल–२ बस्ने बर्ष ४६ का सुमन मल्ल, सोहि ठाउँका ७४ वर्षीय केशव मल्ल र ६८ वर्षीय सुवर्ण मल्ल यात्रारत रहेका थिए ।
ट्रक चालक धादिङ धुनेबेशी नगरपालिका–७ बस्ने बर्ष ४२ को राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
छोरा शैलेन्द्रको दुर्घटनाको खबर लगत्तै नेता अटल पुरानो मेडिकल अस्पताल पुग्नु भएको थियो । अहिले पार्टीका चितवन जिल्लाका नेता कार्यकर्ताहरु र सबै आफन्तहरु अस्पतालमा जम्मा भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ अम्बिका मुडभरीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउसो १२ बजे मृतक शैलेन्द्रको शव अन्त्यष्टीका लागि भरतपुर अस्पतालबाट देवघाट लाने तयारी गरिएको छ ।