काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास गरेका छन्। नेपालको चुच्चे नक्सा भित्र पर्ने क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो। कैलाशधाम पनि नाम दिइएको यो परियोजना ७५ करोड भारुमा निर्माण गरिने बताइएको छ।
जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेको ठाउँ गुञ्जी गाउँ हो। यो गाउँलाई आफ्नो देशभित्रको भूभाग भन्दै नेपालले तीन वर्षअघि चुच्चे नक्सा जारी गरेको थियो। नक्सालाई संसदले अनुमोदन गरेको थियो। शिलान्यास अवसरमा सीमावर्ती पिथौरागढ सदरमुकाममा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा भारतका अजय टमटा पिथौरागढ जिल्ला अलमोडा लोकसभा सदस्य सहभागी थिए । उत्तराखण्ड प्रदेशका राज्यमन्त्री गणेश भण्डारी, धारचुलाका ब्लक प्रमुख धनसिंह धामी, पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशी सहभागी पनि सो कार्यक्रममा सहभागी थिए । नेपालको गुञ्जीमा निर्माण गरिन लागेको शिवधामबारे नेपाल सरकार भने बेखबर छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले शिवधाम निर्माण र शिलान्यासबारे आफूलाई थाहा नभएको बताएका छन्। पिथौरागढको शिलान्यास कार्यक्रमका सहभागीले मोदीले शिलान्यास गरेको यो शिवधामलाई हिन्दूहरुको पाँचौं पवित्र धाम हुने बताएका छन्।