३ नम्बर प्रदेश महासंघको बैठक सम्पन्न : कारखाना जाऔं अभियानमा जुट्न अपिल

३ नम्बर प्रदेश महासंघको बैठक सम्पन्न : कारखाना जाऔं अभियानमा जुट्न अपिल

 

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदेश संयोजक कुमार घतानेको अध्यक्षतामा सम्पन्न बैठकले कारखाना जाऔं अभियानमा जुट्न सम्पूर्ण प्रदेश कमिटी, जिल्ला महासंघ तथा प्रदेश र जिल्लाका पेशागत घटकहरुलाई अपिल गरेको छ ।

बैठकमा महासंघका संयोजक दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, सचिवालय सदस्य शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीको उपस्थिति रहेको थियो । 

बैठकलाई प्रशिक्षित गर्दै संयोजक दिनेश शर्माले यो व्यवस्था धराशायी तर बलियो मुक्का प्रहार गर्न नसक्दा टिकेको बताउँदै मजदुरहरुलाई एकगठ गर्न सके त्यसको बलियो तागतले यसलाई धुलोपिठो गर्ने स्पष्ट गर्नुभयो । ‘ यो सत्ता धराशायी छ, तर हामीले बलियो मुक्का प्रहार गर्न नसकेकोले त्यो टिकिरहेको छ । मजदुर किसान र उत्पीडित समुदायलाई एकगठ गरेर प्रहार गर्ने हो भने यो धुलोपिठो हुन्छ । कारखाना जाऔं अभियान मजदुरहरुलाई एकगठ गर्न शुरु गरिएको अभियान हो ।’ उहाँको उद्घोष रहेको थियो ।

त्यसैगरी बैठकलाई प्रशिक्षित गर्दै पार्टी कार्यालय सदस्य हेमन्त प्रकाश वलि क. सुदर्शनले मजदुरहरुले नेपाली क्रान्तिको नेतृत्व गर्नुपर्ने बताउनु भयो । ‘हारे हत्कडी जिते संसार भन्ने मजदुर अहिले छैनन तर मजदुर माथिको शोषणको चरित्र बदलिएको छैन । त्यो उस्तै छ ।
मजदुरहरुले नेपाली क्रान्तिको नेतृत्व गर्नुपर्छ, त्यसका निम्ति तपाईहरुले नयाँ ढङ्गले सोच्नुपर्छ । तपाईहरु पार्टी सदस्य पनि हुन्हुन्छ । पार्टी सदस्यले पार्टी र क्रान्तिका निम्ति सम्पूर्ण तागतले काम गर्नुपर्छ ।’ उहाँको उद्घोष रहेको थियो ।

यसैगरी बैठकलाई सचिवालय सदस्य क. शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीले समेत प्रशिक्षित गर्नुभएको थियो ।

बैठकले अभियानमा जुट्ने सँगै संगठन र संघर्षका क्षेत्रमा विभिन्न निर्णयहरु गरेको छ । जस अनुसार फागुन १५ सम्म प्रदेश अन्तरगतका जिल्ला महासंघका एकता अधिवेशन सम्पन्न गर्ने, अभियान अवधिमा न्यूनतम २५ हजार मजदुरसम्म पुग्ने, २ हजार मजदुर संगठित गर्ने र १०० इकाई निर्माण गर्ने लक्ष्य लिएको छ । यसै प्रकारले बैठकले प्रदेश मुख्यमन्त्रीलाई मागपत्र बुझाउने, मजदुर आन्दोलनसँग सम्बन्धित विभिन्न पक्षसँग अन्तरक्रिया गर्ने र मजदुरका पेशागत र राजनीतिक अधिकार सुनिश्चितताको निम्ति संघर्ष गर्ने निर्णय गरेको छ ।