माघ ९ बालाजु औद्योगिक क्षेत्र, काठमाडौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको ’कारखाना जाऔं !’ अभियान उद्घाटन सम्पन्न भएको छ । संगठनका संयोजक दिनेश शर्माले अभियान उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा संगठनका संयोजक दिनेश शर्माले अभियान निर्देशिका जारी गर्दै अभियानको महत्त्वबारे स्पष्ट गर्नुभयो ।
त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवं प्रमुख अतिथि चन्द्रहरी सुवेदी कमरेड अटल र राष्ट्रिय उद्योग व्यापार महासंघका संयोजक जितेन्द्र दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई महासंघका सह संयोजक इश्वर तिमिल्सिना र ३ नम्बर प्रदेश संयोजक कुमार घतानेले क्रमश: प्रशिक्षण र स्वागत मन्तव्यद्वारा सम्बोधन गर्नुभएको थियो ।
महासंघले यो अभियान आगामी अन्तर्राष्ट्रिय मजदुर दिवससम्म सञ्चालन गर्नेछ ।
त्यसक्रममा महासंघले संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, सम्बन्धित विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गर्ने, देशैभरका एक लाख मजदुरसँग प्रत्यक्ष पुग्ने, एक हजार नयाँ इकाई निर्माण गर्ने, मजदुरहरुका पेशागत र राजनीतिक अधिकार सुनिश्चितताका निम्ति संघर्ष अघि बढाउने आदि लक्ष्य लिएको छ । त्यसैगरी अभियानले १३५ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसमा काठमाडौमा मजदुरहरुको विशाल प्रदर्शन आयोजना गर्ने लक्ष्य लिएको छ ।
उद्घाटन कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सह संयोजक विनोद थापाले गर्नुभएको थियो