क्रान्तिकारी ट्रेड युनियन महासंघले अब कारखानाहरुमा अभियान चलाउने, गरियो चार महिने ‘कारखाना जाऔं’ अभियान उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघले अब कारखानाहरुमा अभियान चलाउने, गरियो चार महिने ‘कारखाना जाऔं’ अभियान उद्घाटन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले अब उद्योग तथा कारखानाहरुमा अभियान चलाउने भएको छ । महासंघले सोमबार ‘कारखाना जाऔं’ भन्ने अभियान उद्घाटन गरिएको छ । महासंघका संयोजक दिनेश शर्माले बालाजु औद्योगिक क्षेत्रमा अभियानको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा महासंघका संयोजक दिनेश शर्माले अभियान निर्देशिका जारी गर्दै अभियानको महत्त्वबारे स्पष्ट गर्नु भएको थियो।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवं प्रमुख अतिथि चन्द्रहरी सुवेदी कमरेड अटल र राष्ट्रिय उद्योग व्यापार महासंघका संयोजक जितेन्द्र दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई महासंघका सहसंयोजक इश्वर तिमिल्सिना र ३ नम्बर प्रदेश संयोजक कुमार घतानेले क्रमशः प्रशिक्षण र स्वागत मन्तव्यद्वारा सम्बोधन गर्नुभएको थियो ।

महासंघले यो अभियान आगामी अन्तर्राष्ट्रिय मजदुर दिवससम्म सञ्चालन गर्नेछ । त्यसक्रममा महासंघले संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, सम्बन्धित विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गर्ने, देशैभरका एक लाख मजदुरसँग प्रत्यक्ष पुग्ने, एक हजार नयाँ इकाई निर्माण गर्ने, मजदुरहरुका पेशागत र राजनीतिक अधिकार सुनिश्चितताका निम्ति संघर्ष अघि बढाउने आदि लक्ष्य लिएको छ । त्यसैगरी अभियानले १३५ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसमा काठमाडौमा मजदुरहरुको विशाल प्रदर्शन आयोजना गर्ने लक्ष्य लिएको छ ।

उद्घाटन कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सहसंयोजक विनोद थापाले गर्नुभएको थियो ।