राममन्दिर प्राण–प्रतिष्ठाको राजनीति

२२ जनवरीमा अयोध्यामा राम मन्दिरको उद्घाटन हुँदै छ । यो उद्घाटन केवल आस्थासँग मात्रै सम्बन्धित थियो भने यसमा भाग लिने मानिस सम्भवत: धार्मिक नेता हुन्थे । तर, यस्तो देखिँदैन, उद्घाटन कार्यक्रममा धार्मिक गुरुभन्दा बढी राजनीतिक नेता सामेल हुँदै छन । स्वयं प्रधानमन्त्री नरेन्द्र मोदी कार्यक्रमको ‘रौनक’ बन्दै छन । उनीबाहेक भाजपा र आरएसएसका ठूला नेता पनि उद्घाटन मञ्चमा देखिनेछन । केही विपक्षी राजनीतिक दललाई निम्तो दिइएको छ । भाकपा माक्र्सवादीले निम्तो अस्वीकार गरेर ठूलो साहस देखाएको छ । भाकपाले यसरी धर्म निरपेक्षताको अडान लिनु ठूलो हिम्मतको विषय हो ।
तर, यी सबलाई बेवास्ता गर्दै सत्ताधारी पार्टी, समर्थक पत्रिका र टिभी च्यानल दिनरात धर्मको अफिम जनतामाझ बाँडिरहेका छन । हरेक दिन मिडिया मन्दिर समारोहलाई लिएर विशेष ‘सो’ चलाइरहेको छ । हिन्दी पत्रिका र च्यानल ‘रामभक्तिमा’ मग्न देखिन्छन । राम मन्दिर निर्माणको श्रेय एक पार्टी विशेषका विशेष नेतालाई दिइँदै छ र विपक्षी पार्टीलाई खुलेर ‘खलनायक’का रूपमा पेस गरिँदै छ ।
यो सबै देख्दा दु:ख लाग्छ । के बाबासाहेब अम्बेडकरले यही भारतको सपना देखेका थिए ? के यही भारतका लागि भगत सिंहले बालिदान दिएका थिए ? जब यो मुलुकमा धर्मका नाममा राजनीति हुन्छ, तब राष्ट्रिय एकता कमजोर हुन्छ भन्ने ऐतिहासिक तथ्यलाई मेटाउने कोसिस गरिँदै छ । हाम्रा नेता र मिडियाले हाम्रो संविधान धर्मनिरपेक्ष हो भन्ने तथ्य बिर्सेको भान हुन्छ । सत्ताको नशामा चूर भएर नेताहरूले राज्यको धर्म हुँदैन, बरु राज्यले सबै धर्मलाई समान रूपमा हेर्छ भन्ने धर्मनिरपेक्षताको मर्मलाई नै अनदेखा गरेका छन ।
अहिले संकटको समय हो किनभने मुलुकको सारा ऊर्जा मन्दिर निर्माणमा खर्च भइरहेको छ । यो संविधानको मूल्यको उल्लंघन पनि हो । यी प्रश्न गर्दा हामीलाई ‘हिन्दूविरोधी’ वा ‘राष्ट्रविरोधी’ घोषित गरिन सक्छ । तर, यी प्रश्न त्यो सूर्यजस्तै छन्, जसलाई हत्केलाले छोप्न सकिँदैन । ढिलो–चाँडो यी प्रश्न उठ्ने नै छन । दुर्भाग्य, साम्प्रदायिकताको उन्मादले मुलुकका ज्वलन्त प्रश्न दबिएका छन  । मिडियाले गाँस, वास र कपासका मामिलामा प्रश्न उठाउँदैन, बरु यसले फजुलका धार्मिक झगडा देखाउँछ । यता भारत समानताका लागि संघर्षरत छ भने उता भारतका राजनेताले मन्दिर–मस्जिदको आगो झोस्दै राजनीतिक रोटी सकिरहेका छन ।
हिन्दुत्वका समर्थकहरू राम मन्दिरलाई आस्थाको विषय मान्छन । तर, उनीहरूप्रति मेरो एक प्रश्न छ, यदि राम मन्दिर धार्मिक आस्था हो भने उद्घाटन चुनावको ठीक अगाडि किन भइरहेको छ ? यदि यो आस्थाको मामिला हुन्थ्यो भने उद्घाटनको जिम्मा धर्मगुरुलाई दिइन्थ्यो र सरकारले आमजनताको भलाइका लागि काम गथ्र्यो । नरेन्द्र मोदी भगवान् रामको नाम जपेर तेस्रोपटक प्रधानमन्त्री बन्न आतुर छन् भन्ने देखिन्छ ।
यसपटक विपक्षी दल आफ्ना मनमुटाव त्यागेर एकै ठाउँमा आएका छन् भन्ने उनलाई थाहा छ । मोदीलाई सन् २०१४ अर्थात् १० वर्षअघि आफूले गरेको अधिकांश वाचा पूरा भएका छैनन् भन्ने पनि थाहा छ । महँगी कम भएको छैन । युवाले रोजगारी पाएका छैनन । घरबारविहीनले ओत लाग्ने घर पाएका छैनन । मोदी शासनकालमा दुई कुरा बहुतै सफलतासाथ सम्पन्न भएका छन । पहिलो, केही मुठीभरका मानिसको खजाना भरिएको छ भने दोस्रो, आरएसएसको साम्प्रदायिक एजेन्डा मुलुकभरि फैलिएको छ । आज हरेक ठाउँमा गेरुवा झन्डा देख्न सकिन्छ ।
अहिले सार्वजनिक संस्थान पनि गेरुवा शक्तिको कब्जामा छन । बाबरी मस्जिदलाई सहिद बनाएर सोही स्थानमा राममन्दिरको निर्माण पनि त्यही गेरुवा एजेन्डाअनुरूप नै भएको थियो र अहिले यो एजेन्डा राजनीतिक शक्तिको दुरुपयोग गरेर पूरा गरिँदै छ । गेरुवा शक्तिले आमचुनावसम्म धार्मिक कट्टरता कायम राखिराख्न चाहन्छ । साम्प्रदायिक शक्ति मानिसहरू धर्म र भावनामा आएर मतदान गरून् भन्ने चाहन्छ ।
इतिहासमा अब के हुन्छ भन्नेबारे भविष्यवाणी गर्न गाह्रो हुन्छ । उदाहरणका लागि सन् २००४ मा ‘साइनिङ इन्डिया’को नारा लगाउँदै अत्यधिक पैसा खर्च गर्दै चुनाव लडेका अटल विहारी बाजपेयी पराजित भएका थिए । यो तथ्य भाजपा र आरएसएसलाई राम्रोसँग थाहा छ । कहिलेकाहीँ पूर्वनिर्धारित योजना सफल नहुन पनि सक्छ भनेर हिन्दूत्वका नेतालाई थाहा छ । यसैकारण रामका नाममा राजनीति भइरहेको छ । यदि विकासको राजनीति गरेका भए यी नेतालाई रामका नाममा राजनीति गर्नुपर्थेन ।
वास्तवमा राम मन्दिर भाजपा र आरएसएसका लागि धार्मिक नभई पूर्ण रूपमा राजनीतिक मुद्दा हो । भाजपा र आरएसएसलाई मुलुकमा ठूलो जनसंख्याले भगवान् रामलाई पुज्छन् भन्ने थाहा छ । यसैकारण गेरुवा शक्तिले राम मन्दिर भत्काउने ‘आतंककारी मुसलमान’ बाबर थिए भन्ने भ्रम फैलाएको छ । राम मन्दिर आन्दोलनका नाममा साम्प्रदायिक शक्तिले हिन्दू र मुसलमानलाई आपसी शत्रुका रूपमा पेस गरेका छन । यो शक्तिले राम मन्दिर निर्माण गरेर हिन्दू धर्मलाई पुनरुत्थान गर्ने विष फैलाएको छ । दु:खको कुरा सर्वोच्च अदालतले पनि यसमा भिडलाई हेरेर सतही फैसला दिएको छ । अहिलेको यो नाजुक समयमा हामीले धैर्य राख्न जरुरी छ । लोकतान्त्रिक एवं शान्तिपूर्ण ढंगले आफ्ना कुरा राख्न र यसैअनुरूप आन्दोलन अगाीड बढाउन आवश्यक छ । अहिले रामका नाममा निस्किरहेका ठुल्ठूला र्‍यालीमा उपद्रवी नारा लागिरहेका छन । यस्ता मामिलामा हामी संयम हुन आवश्यक छ ।
(कुमार स्वतन्त्र पत्रकार एवं राजनीतिशास्त्रका अध्यापक हुन ) सत्य हिन्दीबाट