काठमाडौं । महान माक्र्सवादी शिक्षक कमरेड माओत्सेतुङको १३० औँ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विश्वका ८ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संयुक्त रुपमा घोषणा पत्र जारी गर्दै साम्राज्यवादी युद्धका विरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
घोषणा पत्रमा भनिएको छ, “साम्राज्यवाद, सम्पूर्ण प्रतिक्रियावादी वर्गहरू र दमन तथा उत्पीडनबाट जनतालाई मुक्त गर्न, नयाँ संसार समाजवाद–साम्यवाद स्थापना गर्न, लामो समयसम्म जारी रहने मुख्य हतियारको रूपमा जनयुद्धबारे माओत्सेतुङको सिद्धान्तलाई पुनः दोहो¥याऔं । यही नै कमरेड माओप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ ।”
घोषणा पत्रमा भनिएको छ, “सर्वहारा वर्गले साम्राज्यवादी युद्धका विरुद्ध एकजुट भएर लड्नुपर्छ । समाजवादी आधार नभएको अवस्थामा युद्ध आयो भने महान् माक्र्सवादी गुरु लेनिनले रुसी क्रान्तिमा देखाएझैँ ‘युद्धलाई गृहयुद्धमा परिणत गर्ने’ रणनीति अपनाउनु पर्छ । विश्वले सामना गरिरहेका विभिन्न सङ्कटको अन्तिम समाधान कम्युनिस्ट समाजबाट प्राप्त हुनेछ ।”
घोषणा पत्रमा माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा गरेको योगदानलाई सार्वभौम योगदानको रुपमा संश्लेषण गर्दै भनिएको छ, “ माक्र्सवाद–लेनिनवाद–माओवाद एक समग्र सत्व हो । माओवाद अहिलेको माक्र्सवाद–लेनिनवाद हो । माओवादलाई अस्वीकार गर्नु भनेको माक्र्सवाद–लेनिनवादलाई अस्वीकार गर्नु हो । माओवादले दर्शन, राजनीतिक अर्थशास्त्र, सामाजिक विज्ञान, पार्टी निर्माण, जनयुद्धबाट नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति, सङ्गठन र सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता अन्य मुद्दाहरूमा निश्चित योगदान पु¥यायो ।”
घोषणा पत्रमा भाकपा (माओवादी, कम्युुनिस्ट (माओइस्ट) पार्टी अफगानिस्तान, कम्युनिस्ट पार्टी अफ टर्की माक्र्सिस्ट–लेनिनिस्ट, कम्युनिस्ट वर्कर युनियन (मालेमा) कोलम्बिया, ग्यालिसियाको माओइस्ट कम्युनिस्ट पार्टी निर्माण समिति, माओइस्ट कम्युनिस्ट पार्टी — इटली, पीबीएसपी÷बाङग्लादेश, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ संयुक्त घोषणा पत्रको पूर्णपाठ :
संयुक्त घोषणापत्र
विश्वका सर्वहारा र उत्पीडित जनता — एकजुट होऔं !
महान माक्र्सवादी शिक्षक कमरेड माओत्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरौं । शोषण–उत्पीडन मुक्त समाजवाद–साम्यवादको स्थापनाका लागि र प्रतिक्रियावादीहरूसँग वीरतापूर्वक लड्दै क्रान्तिकारी सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने विश्वभरका उत्पीडित जनताका वीर छोराछोरीहरूलाई क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गरौं ।
संयुक्त घोषणाको उद्देश्य राष्ट्रिय मुक्ति आन्दोलन, व्यापक साम्राज्यवाद विरोधी आन्दोलन, पुँजीवादी–साम्राज्यवादी देशहरूमा सर्वहारा समाजवादी क्रान्ति र नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन माक्र्सवाद–लेनिनवाद–माओवादको प्रतिष्ठा र आवश्यकतालाई माथि उठाउनु हो । यस अवसरमा महान् माक्र्सवादी शिक्षक कमरेड माओले रक्षा, विकास र समृद्ध गरेको माक्र्सवाद–लेनिनवादको विज्ञान विना क्रान्ति र समाजवादको निर्माण असम्भव छ भन्ने कुरा आत्मसात गर्न जरुरी छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्गका सबैभन्दा प्रतिभाशाली नेताहरू, माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओत्से तुङले यो विज्ञानलाई माक्र्सवाद–लेनिनवाद–माओवादको रूपमा सजाए । हामीले माओवादलाई माक्र्सवाद–लेनिनवादको गुणात्मक, नयाँ र तेस्रो उच्च चरणको रूपमा स्वीकार गर्दछौं । माक्र्सवाद–लेनिनवाद–माओवाद सबैभन्दा उन्नत सिद्धान्त हो । कमरेड माओत्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र विश्वका उत्पीडित जनतालाई माक्र्सवाद–लेनिनवाद–माओवाद नै हामीलाई मार्गनिर्देशन गर्ने विचारधारा हो भनी दृढतापूर्वक घोषणा गरौँ ।
माक्र्सवाद–लेनिनवाद–माओवादको नयाँ, तेस्रो र उच्च चरणको रूपमा माक्र्सवाद
माक्र्सवाद एक जीवन्त विज्ञान हो, निर्जीव जडसूत्र होइन । यसले व्यवहारसँग जीवित सम्बन्ध राख्दछ र त्यसलाई योगदान गर्दछ । वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोगको विकासको प्रक्रियामा यो निरन्तर विकसित र समृद्ध हुँदै जान्छ । माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारा, सिद्धान्त वा विज्ञान विगत १७५ वर्षदेखि सबै देश र सबै क्षेत्रका वर्गसंघर्षका अनुभवहरूको संश्लेषण हो । यो दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद वा सर्वहारावादी वर्गसङ्घर्षको समग्र सत्व हो ।
माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओले वर्गसंघर्षको भट्टी र विगत १७५ वर्षदेखि पुँजीवादी विचारधारा, संशोधनवाद र त्यसका प्रतिबिम्ब र अन्य विभिन्न अनमेल प्रवृत्तिका विरुद्धको सैद्धान्तिक सङ्घर्षका क्रममा यसको विकास गरेका हुन् । मालेमावाद अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र शोषित जनताको हातमा एउटा अजेय हतियार हो । यो एउटा यस्तो हतियार हो जसले सर्वहारा वर्गलाई संसारलाई बुझ्न, क्रान्ति सम्पन्न गर्न र त्यसलाई बदल्न मद्दत गर्दछ । यो एउटा जीवन्त वैज्ञानिक विचारधारा हो जुन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी व्यवहारको प्रक्रियामा निरन्तर विकसित र समृद्ध भइरहन्छ ।
रिमद्वारा १९९३मा पारित माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दावाद ! नामक दस्तावेजमा लेखिएको छ, “माक्र्सवाद–लेनिनवाद–माओवाद अजेय हतियार हो, जसले सर्वहारा वर्गलाई संसार बुझ्न र क्रान्तिद्वारा त्यसलाई परिवर्तन गर्न सक्षम बनाउँछ । यो एक सार्वभौम रूपमा लागु हुने, क्रान्तिको प्रक्रिया र सामान्यतया मानव ज्ञानको विकासको माध्यमबाट निरन्तर विकास तथा थप समृद्ध भइरहने जीवन्त र वैज्ञानिक विचारधारा हो । माक्र्सवाद–लेनिनवाद–माओवाद सबै प्रकारका संशोधनवाद र जडसूत्रवादको दुश्मन हो । यो सर्वशक्तिमान छ किनभने यो सत्य छ ।”
कार्ल माक्र्स — माक्र्सवाद
आफ्ना घनिष्ट मित्र फ्रेडरिक एंगेल्ससँग मिलेर कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई विधि र दृष्टिकोणका रूपमा विकास गरेका थिए । उनीहरूले सामाजिक विकासको गतिका नियमहरू जान्न द्वन्द्वात्मक विधि अपनाए । यो द्वन्द्वात्मक भौतिकवाद हो । माक्र्सले वर्गीय अन्तर्विरोध र शोषणको उत्पत्ति सहित पुँजीवादको गतिका नियमहरू प्रकाशमा ल्याए, शोषणको आधारका रुपमा अतिरिक्त मूल्यको सिद्धान्त र राजनीतिक अर्थशास्त्रका सिद्धान्तको विकास गरे । उनले वर्गसंघर्षको सिद्धान्तमा आधारित वैज्ञानिक समाजवादको विकास गरे । उनले सर्वहारा वर्गसंघर्षको रणनीति र कार्यनीतिलाई निर्देशित गर्ने सिद्धान्तहरु सूत्रबद्ध गरे । उनले भने, “दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरेका छन; मुख्यकुरा यसलाई बदल्नु हो ।”
मानवजातिले शताब्दीयौंदेखि प्राप्त गरेको ज्ञानलाई माक्र्सले संश्लेषित गरे । मुख्यतया जर्मन परम्परागत दर्शन, अंग्रेजी परम्परागत राजनीतिक अर्थशास्त्र र फ्रान्सेली क्रान्तिकारी वर्ग संघर्षको सिद्धान्त र समाजवादी सिद्धान्तका तर्कसंगत मुद्दाहरूमा आधारित भई माक्र्सले इतिहाससँग सम्बन्धित द्वन्द्वात्मक भौतिकवादी अवधारणाको आविष्कार गरे । उनले मानव सारलाई सामाजिक सम्बन्धको सत्वको रूपमा परिभाषित गरे ।
उनले आफ्नो प्रसिद्ध ग्रन्थ ‘पूँजी’ मा श्रमको मूल्यको सिद्धान्तको व्याख्या गरेका छन् । अन्तर्विरोधको नियममा आधारमा माक्र्सले पुँजीवादका आधारभूत अन्तर्विरोधहरु भेट्टाए । उनले पुँजीवादी सङ्कटलाई पुँजीवादको आधारभूत अन्तर्विरोधको अर्को अभिव्यक्तिका रूपमा व्याख्या गरे । माक्र्स र एंगेल्सले सर्वहारा वर्ग सबैभन्दा क्रान्तिकारी सामाजिक वर्ग र सामाजिक विकासको प्रेरक शक्तिको रूपमा देखा परेको महसुस गरे । उनले मजदुरीको दासत्वबाट मुक्ति प्राप्त गर्ने प्रक्रियामा सर्वहारा वर्गले सम्पूर्ण समाजलाई सबै प्रकारका वर्गीय शोषण र उत्पीडनबाट मुक्त गरी वर्गविहीन समाजतर्फ अघि बढ्ने कुरा बताए । उनीहरूले यस उद्देश्यका लागि आफ्नो उन्नत सङ्गठन अर्थात् सर्वहारावादी पार्टी स्थापना गर्नुपर्छ भन्ने महसुस गरे र त्यसका लागि काम गरे ।
उनीहरूले वर्गीय समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको अन्तर्विरोधलाई वर्गीय अन्तर्विरोधको रूपमा प्रतिबिम्बित हुने र वर्गीय समाजको इतिहास वर्गसंघर्षको इतिहास रहेको बताए । माक्र्सवादको जन्म मानव इतिहासमा भएका ठुला परिवर्तनहरू र केही पश्चिमी पुँजीवादी राज्यहरूले विश्वमा आधिपत्य स्थापना गर्ने समयमा भएको थियो । माक्र्स र एंगेल्सले कम्युनिष्ट पार्टीहरू तथा पहिलो अन्तर्राष्ट्रिय गठन गर्न र त्यसको मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूले ‘सबै देशका श्रमिक मानिसहरु, एक होऔं !’ भन्दै विभिन्न देशका श्रमिकहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोण र कमरेडली ऐक्यबद्धता प्रदान गरे ।
दास समाजबाट साम्यवादसम्म मानव समाजको विकासको प्रक्रियामा राज्यको जन्म तथा विकास कसरी भयो र यो कसरी विलय हुन्छ भन्ने कुरा माक्र्स र एंगेल्सले व्याख्या गरेका छन् । माक्र्स र एंगेल्सले सबै निम्न–पुँजीवादी काल्पनिक समाजवादी सिद्धान्तहरूलाई पराजित गरे र वैज्ञानिक समाजवादका सिद्धान्तहरूलाई दृढतापूर्वक स्थापित गरे । साधारण विज्ञानदेखि क्रान्तिकारी रणनीति र कार्यनीतिसम्मका लगभग सबै विज्ञानलाई बुझ्न र विकास गर्न माक्र्सवादी पद्धतिलाई अंगीकार गरे ।
माक्र्सद्वारा विकसित क्रान्तिकारी दृष्टिकोण, राजनीतिक सिद्धान्त र द्वन्द्वात्मक पद्धतिले सर्वहारावादी वैज्ञानिक विचारधाराको विकासमा पहिलो ठुलो कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ ।
लेनिन — लेनिनवाद
साम्राज्यवादको युगको ऐतिहासिक परिस्थितिमा समाजवादी क्रान्तिको ज्वालाका बीच लेनिनले माक्र्स र एंगेल्सका क्रान्तिकारी शिक्षा प्राप्त गरे । तिनीहरूले ती शिक्षालाई दृढतापूर्वक रक्षा गरे । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगसँग सम्बन्धित माक्र्सवाद हो । कमरेड लेनिनले माक्र्सवादका तीनवटा संघटक अंगहरुलाई समृद्ध बनाउन ठुलो योगदान दिए । उनले सर्वहारावादी पार्टी, क्रान्तिकारी हिंसा, राज्य, सर्वहारा अधिनायकत्व, साम्राज्यवाद, किसानको प्रश्न, महिलाको प्रश्न, राष्ट्रियताको प्रश्न, विश्वयुद्ध र वर्गसंघर्षका सर्वहारा रणनीतिको बुझाइलाई धेरै उच्च चरणमा विकास गरे ।
लेनिनद्वारा विकसित भौतिकवादी सिद्धान्त र पदार्थ सम्बन्धी उनको परिभाषाले माक्र्सवादी भौतिकवादको दार्शनिक जगलाई अझ बलियो बनायो । साम्राज्यवादबारे लेनिनकोे भव्य विश्लेषण माक्र्सवादमा ठुलो योगदान हो । उनले पुँजीवादको पूर्व–एकाधिकार पुँजीवादी चरणबाट एकाधिकारको चरणमा हुने रूपान्तरण र पुँजीवादको यो उच्चतम चरणले कसरी युद्ध र क्रान्ति निम्त्याउँछ भन्ने विज्ञानसम्मत व्याख्या गरे । उनले साम्राज्यवादी युद्ध साम्राज्यवादी राजनीतिको निरन्तरता र पुँजीवादको उच्चतम तथा अन्तिम चरण भएको औंल्याए । त्यसैले उनले यसलाई सर्वहारा क्रान्तिको बिहानी भएको बताए ।
कमरेड लेनिनको अर्को ठुलो योगदान भनेको सर्वहारा वर्गले निश्चित रूपमा पुँजीवादी राज्य संयन्त्रलाई ध्वस्त गर्नुपर्छ र त्यसको ठाउँमा सर्वहारा अधिनायकत्व स्थापना गर्नुपर्छ भन्नेमा दिएको जोड हो ।
विभिन्न देशहरूमा पुँजीवादको विकास असमान रूपमा हुने हुनाले पहिला साम्राज्यवादको कडी कमजोर भएको एउटा वा केही देशहरुमा समाजवादी क्रान्ति सफल हुन सक्छ । पुँजीवादी देशहरू अझै पनि बाँकी रहनेछन् । ती देशले नयाँ समाजवादी राज्यहरूका विरुद्ध कारबाही गर्न साम्राज्यवादीहरूलाई मद्दत गर्नेछन् । समाजवादी राज्यहरूको रक्षागर्नु पर्छ र विश्व समाजवादी क्रान्ति हासिल गर्नुपर्छ । त्यसैले यो संघर्ष दीर्घकालीन हुनेछ । कमरेड लेनिनको बुझाइ यस प्रकारको थियो ।
पार्टी सङ्गठनबारे उनले यस्तो बताए । पार्टीसँग धेरै फराकिलो सदस्यता नेटवर्क र व्यावसायिक क्रान्तिकारीहरूको न्युक्लियस हुनुपर्छ । यस्तो राजनीतिक दलले जनतामा घुलमिल भएर इतिहास निर्माणमा जनताको रचनात्मक पहललाई निश्चय नै महत्व दिनुपर्छ ।
राष्ट्रियताको प्रश्नमा लेनिनवादको बुझाइ गुणात्मक रूपमा उच्च छ । कमरेड लेनिनले सबै राष्ट्रियतालाई पूर्ण समानता, अलग हुने लगायत आत्मनिर्णयको अधिकार र अन्ततः सबै राष्ट्रियताको महासंघ स्थापना गर्ने अधिकार रहेको बताए । उनले राष्ट्रिय र औपनिवेशिक प्रश्न कसरी विश्व सर्वहारा क्रान्तिको आम प्रश्नको अभिन्न अंग हो भनेर व्याख्या गरे । कमरेड लेनिनको राष्ट्रिय, औपनिवेशिक सिद्धान्त अनुसार सर्वहारा क्रान्तिकारी आन्दोलन र पुँजीवादी देशका उपनिवेशहरूले राष्ट्रिय मुक्ति आन्दोलनसँग सहकार्य गर्नुपर्छ भने । यो गठबन्धनले उपनिवेश र आश्रित देशहरूमा साम्राज्यवादी, सामन्ती र दलाल पुँजीवादी प्रतिक्रियावादी शक्तिहरूको गठबन्धनलाई पनि नष्ट गर्न सक्छ । तसर्थ, यसले अन्ततः विश्वमा साम्राज्यवादी व्यवस्थाको अन्त्य अनिवार्य हुने कुरा बताए ।
कमरेड लेनिनले युद्ध समाप्त भएको तुरुन्तै तेस्रो अन्तर्राष्ट्रिय गठन गरे । उनले यसलाई साम्राज्यवाद विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको शक्तिशाली हतियारको रूपमा ढाले ।
पुँजीवाद अपेक्षाकृत शान्तिपूर्ण रूपमा विकसित भएको युगको सिद्धान्त माक्र्सवाद हो भने लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगसँग सम्बन्धित सिद्धान्त हो ।
लेनिनका निकट सहयोगी कमरेड स्तालिनले माक्र्सवाद–लेनिनवादलाई रचनात्मक रूपमा रक्षा, प्रयोग र विकास गरे । उनले कमरेड लेनिनको निधनपछि तीन दशकसम्म अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नेतृत्व गरे । दोस्रो विश्वयुद्धमा हिटलरको फासीवादमाथि हासिल गरेको विजयमा उनले उत्कृष्ट भूमिका खेलेका थिए ।
स्तालिनले लेनिनवादका दुश्मनहरु जस्तै ट्राटस्कीपन्थी, जिनाभिएभपन्थी, बुखारिनपन्थी र अन्य पुँजीवादी दलालहरू र विभिन्न प्रकारका अवसरवादहरूका विरुद्धको सङ्घर्षमा माक्र्सवाद–लेनिनवादको रक्षा र विकास गरे । उनले आफ्ना विभिन्न सैद्धान्तिक लेखनका माध्यमबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा युगान्तकारी योगदान दिएका छन् ।
माओ — माओवाद
कमरेड माओले चिनियाँ क्रान्ति र अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिलाई माक्र्सवाद–लेनिनवादको सार्वभौम सत्यसँग जोडे । उनले माक्र्सवाद–लेनिनवादलाई आत्मसात गरे, त्यसको रक्षा तथा विकास गरे । उनले दर्शन, राजनीतिक अर्थशास्त्र, सैन्य विज्ञान र वैज्ञानिक समाजवादका क्षेत्रमा माक्र्सवाद–लेनिनवादलाई नयाँ र उच्च चरणमा उठाए । कमरेड माओले माक्र्सवादी–लेनिनवादी रणनीति र कार्यनीतिको विकास गरे । पुँजीवादी युरोपभन्दा पूर्णतया भिन्न अवस्थामा रहेको औपनिवेशिक, अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती चीनमा चलेको २८ वर्षको क्रान्तिकारी सङ्घर्षको प्रक्रियामा उनले दीर्घकालीन जनयुद्धको अवधारणा विकास गरे । नयाँ जनवादको सिद्धान्त माक्र्सवाद–लेनिनवादको अस्त्र भण्डारमा एउटा विशिष्ट योगदान रहेको छ ।
सन् १९४९ मा चीनको क्रान्ति सफल भयो । पछि ख्रुश्चेभको संशोधनवाद र आधुनिक संशोधनवादका विरुद्ध विश्वव्यापी सङ्घर्ष गर्ने प्रक्रियामा उनले माक्र्सवादमा केही ठुला योगदान गरे । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यो सैद्धान्तिक संघर्षलाई ‘महान बहस’ भनेर चिनिन थाल्यो । त्यसपछि उनले माक्र्सवाद–लेनिनवादको वैचारिक शस्त्रागारमा अरु थप योगदान गरे । उनले विश्वलाई हल्लाउने महान सर्वहारा सांस्कृतिक क्रान्तिको शुरुवात गरी त्यसको नेतृत्व गरे । सांस्कृतिक क्रान्तिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक मोडको सङ्केत गर्छ । यस अवधिमा उनले समाजवादी मुलुकमा पुँजीवादी पुनस्र्थापना रोक्न, समाजवादी व्यवस्था र सर्वहारा अधिनायकत्वलाई बलियो बनाउन र विश्वभरिका जनतालाई साम्यवादतर्फ अग्रसर गराउन सर्वहारा वर्गको अधिनायकत्वमा निरन्तर क्रान्ति गर्ने सिद्धान्तको विकास गरे । समग्रमा, कमरेड माओले माक्र्सवाद–लेनिनवादको विज्ञानलाई तेस्रो, उच्च र गुणात्मक रूपमा नयाँ चरणमा पु¥याए ।
माओले द्वन्द्वात्मक भौतिकवाद र ज्ञानको सिद्धान्त सहित सर्वहारा दर्शनको विकासमा बहुमूल्य सेवा पु¥याए । उनले अन्तर्विरोधको सिद्धान्त विकास गरे, यसमा धारणागत फडका हाने । उनले अन्तर्विरोधको सिद्धान्तमा विपरीतहरुको एकता र सङ्घर्षको नियम नै मानिसको स्वभाव र चिन्तनसहित समाजलाई नियन्त्रण गर्ने गतिको आधारभूत नियम भएको कुरा सुझाए । उनले भने, “…वैज्ञानिक समाजवाद, दर्शन र राजनीतिक अर्थतन्त्र माक्र्सवादका तीनवटा आधारभूत अंग हुन् । वर्गसंघर्ष सामाजिक विज्ञानको आधार हो…।” उनले उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहार, आर्थिक आधार र उपरिसंरचना, पदार्थ र चेतनाका बीचको द्वन्द्वात्मक बुझाइ पनि विकास गरे । माओका व्यवहारलाई बुझ्ने सम्बन्धमा ‘जनताको सेवा गर’ र ‘मास लाइन’का अवधारणाहरू मुख्य विषय रहेका छन् । पार्टी र सम्पूर्ण समाजलाई सामन्ती तथा पुँजीवादी मूल्यमान्यताका विरुद्ध लड्न र पार्टी भित्रका पुँजीवादी केन्द्रहरूलाई निशाना बनाउनका लागि संचालन गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले यस विधिलाई समृद्ध बनायो ।
उनले सोभियत अर्थतन्त्रको गहिरोगरी आलोचनात्मक विश्लेषण गरे, सोभियत रूसमा समाजवाद निर्माणका सकारात्मक र नकारात्मक अनुभवहरूबाट शिक्षा लिए, र समाजवाद निर्माणलाई नियन्त्रण गर्ने गतिका विशिष्ट नियमहरूको विश्लेषण गरे । उनले ‘दुई खुट्टामा हिँड्ने’ नाराका साथ उत्पादक शक्तिको वृद्धि र उत्पादन सम्बन्धमा हुने परिवर्तनबीच उचित सन्तुलन कायम गर्नुपर्ने बताए । उनले अधिसंरचना र चेतनाले आधार परिवर्तन गर्न सक्ने र उत्पादन सम्बन्धलाई निरन्तर विकास गर्न सबै क्षेत्रमा राजनीतिको कमान्ड हुनुपर्ने धारणा राखे । माओको अर्को ठुलो जोड भनेको नोकरशाही पुँजी साम्राज्यवाद र सामन्तवादसँग गाँसिएको र दलाल चरित्रको हुन्छ भन्ने हो ।
माओले वैज्ञानिक समाजवादको क्षेत्रमा ‘दुई चरणमा क्रान्ति’ भन्ने लेनिनवादी अवधारणालाई मात्र होइन समाजवादी रूपान्तरणका सिद्धान्तहरूको पनि विकास गरे । नयाँ जनवादले सामन्ती व्यवस्थालाई मात्र होइन साम्राज्यवादलाई पनि निशाना बनायो । विश्व समाजवादी क्रान्तिको एक अंगको रूपमा सर्वहारा वर्गको नेतृत्वमा मात्र वर्तमान चरणमा पुँजीवादी जनवादी क्रान्तिका कार्यभार सम्पन्न हुनेछन् भनी यसले पुष्टि ग¥यो । माओले समाजवादमा रूपान्तरणका लागि सर्वहारा अधिनायकवादको पहिलो चरणको रूपमा चार वर्गको जनवादी अधिनायकत्वबाट बनेको राज्य सत्ताको अवधारणा स्थापित गरे । पछि माओले जनवादी क्रान्तिको चरणबाट समाजवादी चरणमा संक्रमणको सैद्धान्तिक, राजनीतिक, सांस्कृतिक र आर्थिक आधार पनि स्थापना गरे । माओले समाजवादको प्रारम्भिक चरणबाट त्यसको उच्च अवस्था अर्थात् साम्यवादमा कसरी विकास गर्ने भन्ने क्रान्तिकारी बुझाइबारे धेरै व्याख्या गरे ।
सर्वहारा कार्यनीतिको कुरा गर्दा, उनले क्रान्तिको शस्त्रागारमा ’दीर्घकालीन जनयुद्ध’ थपे । यो क्रान्तिकारी रणनीति तथा कार्यनीतिका लागि महत्वपूर्ण योगदान हो । यो गुणात्मक रूपमा नयाँ हो । उनले सर्वहारा पार्टीको लेनिनवादी बुझाइलाई थप विकास गर्नुका साथै जनवादी केन्द्रीयताको आधारमा नयाँ किसिमको पार्टी निर्माण मात्र गरेनन् आलोचना–आत्मआलोचना, सुद्धीकरण अभियान र दुई–लाइन संघर्षका बीचबाट नयाँ किसिमको पार्टी पनि निर्माण गरे । उनले संयुक्त मोर्चा र यसका सिद्धान्तहरूसँग सम्बन्धित व्यापक सिद्धान्तको विकास गरे । माओले सैन्य सिद्धान्त अन्तर्राष्ट्रिय सर्वहारा वर्गलाई सुम्पिए । उनले जनयुद्धको अवधारणासहित क्रान्तिको सिद्धान्त र अभ्यासलाई नयाँ र उच्च चरणमा पु¥याए । ‘शत्रुले आक्रमण गर्दा पछाडी हट, शत्रु थाकेको बेला सताऊ, शत्रु पछाडी हट्दा लखेट’ भन्ने जस्ता छापामार युद्धका नियमहरूका सहयोगमा बलियो शक्तिको सामना गर्न सकिने तथ्य उनले प्रमाणित गरे ।
क्रान्ति दीर्घकालीन सङ्घर्षको बाटो होस् वा आम विद्रोह, जनयुद्धका आधारभूत अवधारणाहरू विश्वभर लागू हुन्छन् । सशस्त्र बलद्वारा सत्ता कब्जा गर्नु र विद्यमान राज्य संयन्त्रलाई ध्वस्त पार्नु कुनै पनि क्रान्तिको केन्द्रीय कार्य हो । सबै क्रान्तिकारी व्यवहार सशस्त्र सङ्घर्ष केन्द्रित बनाइनुपर्छ, अथवा आम विद्रोहका लागि तयारीका कामलाई तीव्रता दिने हुनुपर्छ । अहिले पनि जनयुद्ध शत्रुलाई परास्त गर्ने सबैभन्दा विकसित विधि हो । चिनियाँ क्रान्तिको ठोस क्रान्तिकारी व्यवहारबाट जनयुद्ध सार्वभौम सिद्धान्तमा विकसित भयो । साम्राज्यवाद, सामन्तवाद र पुँजीपति वर्गलाई हटाउन सर्वहारा वर्गका हातमा वैज्ञानिक रूपमा विकसित भएको युद्धको सिद्धान्त यही हो । विश्वभर साम्राज्यवादविरुद्धको लडाइँमा यो एउटा प्रमुख हतियार हो ।
माओले विकास गरेको अर्को नयाँ सिद्धान्त भनेको पार्टी, सेना र संयुक्त मोर्चाको तीन जादुगरी हतियार हो । उनले भने, ‘हाम्रो १८ वर्षको अनुभवले संयुक्त मोर्चा र सशस्त्र सङ्घर्ष शत्रुलाई परास्त गर्ने दुईवटा आधारभूत हतियार हुन् भन्ने देखाएको छ । संयुक्त मोर्चा सशस्त्र सङ्घर्षलाई जारी राख्नका लागि हो । पार्टी एक साहसी योद्धा हो जसले संयुक्त मोर्चा र सशस्त्र सङ्घर्षका यी दुई हतियार लिएर शत्रुका अड्डाहरूलाई छिन्नभिन्न पार्छ । यसरी यी तीनवटा हतियार परस्पर अन्तर्संबन्धित छन् । जनवादी केन्द्रीयता सर्वहारा पार्टी निर्माणका नियमको सिद्धान्तसँग सम्बन्धित महत्वपूर्ण योगदान हो ।
माओले महिलाका प्रश्न, कला र संस्कृति तथा साम्राज्यवाद र राष्ट्रिय प्रश्नहरूको बारेमा व्याख्या गरे । माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले रुसमा जन्मेको खु्रश्चेभको आधुनिक संशोधनवादविरुद्ध गरेको सैद्धान्तिक सङ्घर्षलाई ‘महान बहस’ भनेर चिनिन थाल्यो । माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई सर्वहारा अधिनायकत्वको रक्षा र कार्यान्वयनको गुणात्मक छलाङ्गका रूपमा अगाडि बढाए । ‘हेडक्वार्टरमा बमबर्साऊ’ भन्ने नाराका साथ उनले ‘उपरिसंरचनामा वर्गसंघर्ष’ चलाए । यसरी उनले माक्र्सवाद–लेनिनवादको सत्यलाई चिनियाँ क्रान्तिको ठोस व्यवहारसँग जोड्ने प्रक्रियामा यो विज्ञानलाई नयाँ, गुणात्मक र उच्च चरणमा विकास गरे ।
माक्र्सवाद–लेनिनवाद–माओवाद माक्र्सवादको नयाँ, तेस्रो र उच्च चरण
‘माक्र्सवाद–लेनिनवाद–माओवाद, मुख्यतः माओवाद’ भन्ने मान्यताले माक्र्सवाद–लेनिनवाद–माओवादको समग्रतालाई समेट्दैन । यो भनाइ सर्वहारा सिद्धान्त एक अविभाज्य, जीवन्त सत्व हो र सर्वहारा क्रान्तिकारी अभ्यासबाट हालसम्म विश्वव्यापी रूपमा प्राप्त भएका सबै कुराहरू यसमा जोडिएका छन् भन्ने बुझाइको विरुद्ध छ । यसो भन्नु विगतको वैज्ञानिक समाजवादलाई नकार्नु र त्यसमा माओत्सेतुङको योगदान लागुु गर्न खोज्नु जस्तै हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद सबैभन्दा शक्तिशाली हतियार हो । यही हतियारले हामी माओवादको मुकुण्डोभित्र रहेका पुँजीवादी विचारधारा लगायत सबै प्रकारका संशोधनवादलाई परास्त गर्न सक्छौँ ।
माक्र्सवाद प्रकृति विज्ञान, समाज र मानव चिन्तनको प्रक्रियाको क्रान्तिकारी विज्ञानको रूपमा पैदा भयो । सर्वहारा वर्ग आफ्नो भविष्यसँगै समाजको भविष्य निर्माण गर्नसक्ने क्रान्तिकारी वर्गको रूपमा उभिएको बेला त्यसको जन्म भयो । यो माक्र्सवाद–लेनिनवादको नयाँ र उच्च चरणमा विकसित भयो । पछि यो माक्र्सवाद–लेनिनवाद–माओवादमा विकसित भयो । यो एउटा समग्र दार्शनिक प्रणाली, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र विश्वलाई बुझ्ने र क्रान्तिद्वारा त्यसको रूपान्तरण गर्ने रणनीति र कार्यनीति हो ।
सन् १९६९ मा कमरेड माओको नेतृत्वमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले माओ विचार (अहिलेको माओवाद) को ऐतिहासिक र व्यापक विश्लेषण ग¥यो । यसका अनुसार माओ विचारले महान् बहसको समयदेखि नै विश्वको माक्र्सवादी–लेनिनवादीको पहिचान हासिल ग¥यो, ऐतिहासिक महत्व प्राप्त ग¥यो र चिनिया कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको समयमा सर्वहारा विचारधाराको विकासको गुणात्मक, नयाँ र उच्च चरण बन्यो ।
माक्र्सवाद–लेनिनवाद–माओवाद एक समग्र सत्व हो । माओवाद अहिलेको माक्र्सवाद–लेनिनवाद हो । माओवादलाई अस्वीकार गर्नु भनेको माक्र्सवाद–लेनिनवादलाई अस्वीकार गर्नु हो । माओवादले दर्शन, राजनीतिक अर्थशास्त्र, सामाजिक विज्ञान, पार्टी निर्माण, जनयुद्धबाट नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति, सङ्गठन र सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता अन्य मुद्दाहरूमा निश्चित योगदान पु¥यायो ।
आधुनिक संशोधनवादलाई परास्त गर्नु भनेको माक्र्सवाद–लेनिनवाद–माओवादको विकासको एउटा हिस्सा हो
सोभियत सामाजिक–साम्राज्यवाद महाशक्ति नरहे पछि ‘अमेरिका एकमात्र आधिपत्यवादी महाशक्ति हो’ भन्ने बब अवाकियनको नव–संशोधनवादी सिद्धान्त र ‘अमेरिका वैश्विक साम्राज्यवादी राज्य हो’ भन्ने प्रचण्डको सिद्धान्त बाहिर आयो । सिद्धान्त यी सबै अवसरवादी ‘आधुनिक’ सिद्धान्तहरूको आधार काउत्स्कीको ‘अति–साम्राज्यवादी’ हो । यस सिद्धान्त अनुसार साम्राज्यवादमाथि विजय हासिल गर्न असम्भव छ । त्यसैको आधारमा नेपाल माओवादी पार्टीले दलाल शासक वर्गसँग हात मिलाएर नेपालको क्रान्ति, जनयुद्ध, विश्व कम्युनिष्ट आन्दोलन र विशेषगरी दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनलाई घोर धोका दियो । माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्तलाई एक सत्वको रूपमा बुझ्नु त्यस्ता नव–संशोधनवादी गलत सिद्धान्तहरूलाई पराजित गर्नका लागि महत्वपूर्ण पक्ष हुनेछ ।
वर्गसंघर्षलाई सर्वहारा अधिनायकत्वसम्म विस्तार गर्ने कुरालाई सीमारेखा मान्ने कुरा अलि जटिल भएको छ । आज, यसलाई साम्यवादमा नपुगेसम्म समाजवादमा वर्गहरु र शत्रुतापूर्ण अन्तर्विरोध रहन्छ भन्ने स्वकार्नु, पार्टीमा पुँजीवादी वर्ग रहन्छ भन्ने मान्नु र सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई सकार्नु नै वास्तविक माक्र्सवादी–लेनिनवादी–माओवादी हुनु हो ।
तसर्थ, हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको यो सर्वहारा विज्ञानलाई यसको सिर्जनात्मक प्रयोगको प्रक्रियामा र हाम्रा क्रान्तिकारी अनुभवहरूबाट संश्लेषण गर्ने प्रक्रियामा मात्रै समृद्ध गर्न सक्छौं ।
अन्तर्राष्ट्रिय परिस्थिति
अन्तर्राष्ट्रिय रूपमा तीनवटा आधारभूत अन्तर्विरोधहरू दिन प्रतिदिन चर्किंदै गएका छन् । विश्वभर फैलिएको आर्थिक सङ्कटले उत्पीडित जनतालाई थप गरिबीतर्फ धकेलिरहेको छ । शोषक वर्गसँग ठुलो मात्रामा सम्पत्ति जम्मा भइरहेको छ । बेरोजगारी, मुद्रास्फीति, रोग, वातावरण, खाद्यान्न लगायतका सङ्कटले विश्वका उत्पीडित जनतालाई अवर्णनीय कठिनाइमा पारेको छ । जनताका आधारभूत समस्या दिनानुदिन बढ्दै गएका छन् । यो अवस्था उत्पीडित देशहरूमा मात्र होइन, पुँजीवादी–साम्राज्यवादी देशहरूमा पनि देखिन्छ । साम्राज्यवादले आफ्नो सङ्कटलाई टार्नका लागि विश्वव्यापी उत्पीडित जनता र राष्ट्रियतामाथि थप दमन गर्दै आएको छ । विश्व आर्थिक सङ्कटले सबै अन्तर्विरोधहरूलाई तीव्र बनाउँदै नयाँ क्रान्तिको लागि अनुकूल वस्तुगत परिस्थिति सिर्जना गरिरहेको छ । क्रान्तिकारी विकल्प अभूतपूर्व रूपमा तत्कालीन आवश्यकताको रूपमा अगाडि बढिरहेको छ । यसलाई पूरा गर्ने जिम्मेवारी माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीहरूको काँधमा छ ।
विश्व बजार र स्रोतसाधनका लागि साम्राज्यवादीहरूका बीच विवाद बढ्दै गएको छ । अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रामक आक्रमण यसको पछिल्लो उदाहरण हो । इजरायलले कब्जा गरेको प्यालेस्टाइनको भूभागमा रहेको इजरायलको सैन्य अखडामा प्यालेस्टाइनको राष्ट्रिय मुक्ति सङ्घर्ष सङ्गठन ‘हमास’ले गरेको आक्रमण यो सङ्घर्षमा नयाँ मोड हो । प्रतिक्रियावादी इजरायलले ‘आतंकवाद विरुद्धको युद्ध’ को नाममा प्यालेस्टाइनका जनतामाथि बमबारी गरेर यसको प्रतिकार गरिरहेको छ । प्यालेस्टाइनको न्यायोचित राष्ट्रिय मुक्ति सङ्घर्षको प्रतिनिधित्व गर्ने हमासलाई साम्राज्यवादी देशका जनता लगायत विश्वभरका जनताबाट धेरै पटक समर्थन प्राप्त भइरहेको छ । अमेरिकाबाट सुरु भएर क्यानडासम्म फैलिएको मजदुर हडतालले पुँजीवादी–साम्राज्यवादी देशहरूमा सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको बढ्दो अन्तर्विरोधलाई उजागर गरेको छ । जर्मनी, बेलायत जस्ता अन्य देशहरूमा पनि मजदुर सङ्घर्ष चलिरहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनता साम्राज्यवादीहरूका विरुद्ध विभिन्न तरिकाले लडिरहेका छन् । यो सबैले क्रान्तिका लागि अनुकूल परिस्थिति विकास भएको देखाउँछ ।
अमेरिका र रुसबीचको साम्राज्यवादी विवाद र अमेरिकी साम्राज्यवादी वर्चस्वको परिणामस्वरुप रुसले युक्रेनमाथि आक्रमणको युद्ध सुरु ग¥यो । विगत २० महिनादेखि छद्म युद्ध चलिरहेको छ । ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ । अर्कोतर्फ पश्चिम एसियामा यी सबैबीच सहकार्य–विवाद, मुख्यतया विवाद चर्को बन्दै गएको छ । साम्राज्यवादी देशहरूले देशलाई टुक््रयाउन युद्धको तयारी गर्दा तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको छ । अमेरिकाले आफ्नो महाशक्तिको हैसियत गुमाएको छ र ‘बहुध्रुवीय विश्व’ अस्तित्वमा आएको छ । यो अवस्था सहन नसकेर अमेरिका आफ्ना प्रतिद्वन्द्वी साम्राज्यवादी देश रुस र चीनसँग गम्भीर द्वन्द्वमा छ । यसैबीच चीन र रुसले बहुपक्षीयताको नाममा बहुध्रुवीय विश्वलाई एकताबद्ध बनाउने प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिका–नेटोको खतरनाक रणनीतिका कारण विश्वका विभिन्न भागमा तनाव बढिरहेको छ । यसले स्थितिलाई चर्काएर तेस्रो विश्वयुद्धतर्फ धकेल्दै छ ।
जनयुद्धको प्रयोज्यता
‘सशस्त्र बलबाट सत्ता कब्जा गर्ने र युद्धबाटै समस्याको समाधान गर्ने’ भन्ने सिद्धान्त विश्वमा विभिन्न अवस्थामा विभिन्न ढङ्गले लागू हुँदै आएको छ । मालेमाको बुझाइअनुसार पुँजीवादी–साम्राज्यवादी देशमा जनताको क्रान्तिको पथ आम सशस्त्र विद्रोह हो र अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती देशका जनताको लागि दीर्घकालीन जनयुद्ध हो । कमरेड माओले जनयुद्धको धारणामा वर्णन गरेका सिद्धान्तहरू यी दुवै पथमा विश्वभर लागु हुन्छन् । यीनलाई लागु गर्नुपर्छ । यस सार्वभौम महत्वका कारण पुँजीवादी–साम्राज्यवादी देशहरूमा वर्ग सङ्घर्ष र अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती मुलुकहरूमा दीर्घकालीन जनयुद्ध द्वन्द्वात्मक रूपमा अन्तरसम्बन्धित छन् ।
जनयुद्धको रणनीतिको जीवनरेखा कुनै पनि देशमा बहुसङ्ख्यक रहेका बृहत् जनसमुदायमा भर पर्छ जसले अत्यन्त सानो सङ्ख्याद्वारा संरक्षित सरकारको भाडाको सशस्त्र बलका वर्ग शत्रुहरूलाई परास्त गर्न सक्छ । जस्तो कि कमरेड लेनिनले ‘राज्य र क्रान्ति’ मा भनेका छन्, “यसबारे जनताले व्यवस्थित ढङ्गले आत्मसात गर्ने आवश्यकता र हिंसात्मक क्रान्तिको यही दृष्टिकोण माक्र्स र एङ्गेल्सको सम्पूर्ण सिद्धान्तको मूलमा निहित छ ।” जनतामा भर परेर, शत्रुसँग लड्न जनतालाई हतियार दिएर हामी शत्रुलाई अप्ठ्यारोमा पार्न सक्छौं र ती जनताले आफ्नै क्षेत्रमा निरन्तर काम गरिरहन सक्छन् । रक्षात्मक युद्धमा धेरै ठुलो शक्तिलाई केन्द्रित गरेर र शत्रुलाई जनताबाट अलग्याएर शत्रुलाई टुक्रा–टुक्रा पार्न सक्छौं । ‘शत्रु अगाडी बढ्दा पछि हट्ने, शत्रु थाकेको बेला सताउने र पछि हटेको अवस्थामा लखेटने’ माओले बनाएको छापामार युद्धका नियमहरू लागु ग¥र्यौं भने, हामी बलियो शक्तिको कुशलतापूर्वक सामना गर्न सक्छौं ।
कमरेड माओले सूत्रबद्ध गरेको दीर्घकालीन जनयुद्धले तीनवटा रणनीतिक चरणहरू पार गर्छ — रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमण । माओले छापामार, चलायमान र मोर्चाबन्दी युद्धका नियमहरू र यी बीचको सम्बन्धलाई विस्तृत रूपमा विकास गरे । जनयुद्ध दीर्घकालीन भए पनि अभियान र युद्ध तत्काल निर्णय लिइने सिद्धान्तअनुरुप हुनुपर्ने उनले बताए । उनले केन्द्रिकृत रणनीतिक कमाण्ड र विकेन्द्रिकृत कमाण्डको गठन गरी नयाँ प्रकारको नेतृत्व प्रणाली विकास गरे । माओले जनयुद्धको रणनीतिक प्रत्याक्रमण, आत्मरक्षा, शत्रुको उन्मूलन, युद्धका कार्यहरू, सेनाको केन्द्रीकरण र विकेन्द्रीकरण, जनताको राजनीतिक परिचालन, सिपाही र अफिसरका बीचको सम्बन्ध, जनसेना र जनताका बीचको सम्बन्धबारे अवधारणा अगाडि सारे । मुख्य सर्त जनसेनालाई मुख्य संस्थागत रूपमा गठन गर्ने हो । छापामार युद्ध मुख्यतया सरकारको सशस्त्र बल विरुद्ध अपेक्षाकृत कमजोर शक्तिले लडने युद्ध हो ।
दोस्रो विश्वयुद्ध र फासीवादको प्रारम्भिक अवधिमा सहरी र ग्रामीण छापामार युद्धको प्रयोग र सशस्त्र जनप्रतिरोध सुरु भएको थियो । सम्पूर्ण युरोपमा र विशेष गरी फ्रान्स र स्पेनमा छापामारहरूले प्रभावकारी रूपमा फासीवादी शक्तिहरूविरुद्ध छापामार तरिकाले लडे । यस किसिमको सङ्घर्षमा कम्युनिस्ट बाहेक देशभक्तहरु पनि सहभागी थिए । दोस्रो विश्वयुद्धपछि पनि राष्ट्रिय मुक्ति सङ्घर्षहरूले छापामार पद्धति अपनाई जनयुद्धको रणनीतिमा आधारित भएर आफ्नो सङ्घर्षलाई दृढतापूर्वक जारी राख्न सके । तिनीहरूले जनतालाई हतियार दिएर र छापामार रणनीति लागू गरेर आफ्नो सङ्घर्ष जारी राखे ।
दोस्रो विश्वयुद्धपछि चीन, भियतनाम, उत्तर कोरिया, क्युवा र इन्डो–चीनमा भएको जनयुद्धबाट साम्राज्यवादीहरू, विशेषगरी अमेरिकी साम्राज्यवादीहरूले ठुलो प्रहार भोगे । यी जनयुद्धहरूले स्थायी डर पैदा गरे ।
पछिल्लो समय इराक, अफगानिस्तान र अन्य देशका जनताले अमेरिकी र बेलायती साम्राज्यवादीहरू विरुद्धको लडाइँमा छापामार रणनीति प्रयोग गरे । तिनीहरूले दशकौंसम्म साम्राज्यवादीहरूलाई स्थिर रूपमा नियन्त्रण गर्न सफल भए ।
साम्राज्यवादको बढ्दो सङ्कटसँगै फासीवाद फेरि विश्वभर फैलिएको छ । एकातिर फासीवादी गुट र पार्टीहरू बढ्दै गएका छन् भने अर्कोतिर राज्य र सरकारहरू थप फासीवादी बनेका छन् । दमनकारी संयन्त्र र उच्च–प्रविधि मार्फत् गुप्तचर नेटवर्कहरूले धेरै देशलाई पुलिसराजमा परिणत गर्दैछ । जातीय अराजकता, राष्ट्रवादी आधिपत्य, जातिवाद, धार्मिक उन्माद र अन्य यस्ता कुराहरू फासीवादी शासनको मञ्चमा परिणत भइरहेका छन् । यस्तो अवस्थामा हामी अत्यन्त केन्द्रीकृत राज्य, अतिआधुनिक हतियारहरू (जस्तै हाइटेक मिसाइल, ड्रोनबाट बमबारी), सूचना प्रविधि (जस्तै ४जी, ५जी), आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिरहेका शोषणकारी शासकहरूसँग कृत्रिम प्रज्ञा र जनयुद्ध मार्फत कुशलतापूर्वक लड्न सक्छौं । फिलिपिन्स, टर्की, भारत, पेरु जस्ता देशहरूमा माओवादी पार्टीहरूद्वारा सञ्चालित जनयुद्धहरू बलियो राज्यसंयन्त्रविरुद्ध लडिरहेका छन्, त्यसलाई ध्वस्त पार्न छापामार विधिहरू प्रयोग गरी जनयुद्धमार्फत जनतालाई परिचालन गर्ने नयाँ अनुभवहरू दिइरहेका छन् ।
निष्कर्ष
यस्तो अवस्थामा सर्वहारा वर्गले साम्राज्यवादी युद्धका विरुद्ध एकजुट भएर लड्नुपर्छ । समाजवादी आधार नभएको अवस्थामा युद्ध आयो भने महान् माक्र्सवादी गुरु लेनिनले रुसी क्रान्तिमा देखाएझैँ ‘युद्धलाई गृहयुद्धमा परिणत गर्ने’ रणनीति अपनाउनु पर्छ । विश्वले सामना गरिरहेका विभिन्न सङ्कटको अन्तिम समाधान कम्युनिस्ट समाजबाट प्राप्त हुनेछ ।
अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती देशहरूमा दीर्घकालीन जनयुद्धको बाटोमा नयाँ जनवादी क्रान्तिहरू भइरहेका छन् । फिलिपिन्स, टर्की, भारत, पेरु लगायतका देशहरूमा आफ्ना साम्राज्यवादी मालिकहरूको समर्थन प्राप्त देशीय शासक वर्गको दमनकारी अभियानको सामना गर्दै जनयुद्ध चलिरहेको छ । अन्य देशमा पनि तयारी भइरहेको छ । अहिलेको अवस्थामा अर्धऔपनिवेशिक, अर्धसामन्ती देश र पुँजीवादी–साम्राज्यवादी देशहरूमा वर्ग सङ्घर्षको विकास गर्ने र सर्वहारा पार्टीहरूलाई बलियो बनाउने काम विश्वको सर्वहारा वर्गको हो । आज हामीले विभिन्न किसिमका संशोधनवादी, नवसंशोधनवादी, प्रतिक्रियावादीको साम्यवाद, मालेमावाद र क्रान्तिकारी आन्दोलनमाथि सैद्धान्तिक आक्रमणको सामना गर्नु परेको छ । जनमानसलाई युद्ध तथा क्रान्तिको बाटो र पुँजीवाद–साम्राज्यवादको सैद्धान्तिक विसर्जनबाट विमुख गर्नका लागि अवसरवादी सिद्धान्त र जनताको मनलाई प्रदूषित गर्ने नक्कली क्रान्तिकारीका विभिन्न किसिमका क्षुद्रपुँजीवादी, विसर्जनवादी सिद्धान्तलाई बुझेर हामील माओवादसम्मत संघर्ष गर्नुपर्छ । हामीले सर्वहारा सेना, वर्गयुद्ध, क्रान्तिकारी युद्ध, दीर्घकालीन जनयुद्ध र क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गर्न सक्षम बोल्सेभिक पार्टीहरू निर्माण गर्नुपर्छ । हामीले क्रान्तिकारी आन्दोलनलाई सफलतापूर्वक अगाडि बढाउनु पर्छ ।
यी कार्यहरू पूरा गर्न, साम्राज्यवाद, सम्पूर्ण प्रतिक्रियावादी वर्गहरू र दमन तथा उत्पीडनबाट जनतालाई मुक्त गर्न, नयाँ संसार समाजवाद–साम्यवाद स्थापना गर्न, लामो समयसम्म जारी रहने मुख्य हतियारको रूपमा जनयुद्धबारे माओत्सेतुङको सिद्धान्तलाई पुनः दोहो¥याऔं । यही नै कमरेड माओप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ ।
माओले यसरी भनेका छन् “…विभिन्न देशका जनताले आक्रमणकारीहरूलाई परास्त गर्न निरन्तर क्रान्तिकारी युद्धहरू गरिरहेका छन् । नयाँ विश्वयुद्धको खतरा अझै छ, र सबै देशका जनता तयार रहनु पर्छ । तर क्रान्ति नै आजको विश्वको मुख्य प्रवृत्ति हो – ‘विश्वका जनता, एक होऔं र अमेरिकी आक्रमणकारी तथा त्यसका पछि दौडिने कुकुरहरुलाई परास्त गरौं ।” मई २३, १९७० ।
सर्वहारा अन्तराष्ट्रियवाद जिन्दाबाद !
विश्व समाजवादी क्रान्ति अमर रहोस !
विभिन्न देशका सर्वहारा क्रान्तिकारी पार्टी र सङ्गठनहरूको एकता अमर रहोस् !
माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !
२६ डिसेम्बर २०२३
हस्ताक्षरगर्ने पार्टीहरु
भाकपा (माओवादी
कम्युुनिस्ट (माओइस्ट) पार्टी अफगानिस्तान
कम्युनिस्ट पार्टी अफ टर्की माक्र्सिस्ट–लेनिनिस्ट
कम्युनिस्ट वर्कर युनियन (मालेमा) कोलम्बिया
ग्यालिसियाको माओइस्ट कम्युनिस्ट पार्टी निर्माण समिति
माओइस्ट कम्युनिस्ट पार्टी — इटली
पीबीएसपी÷बाङग्लादेश
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल






























