काठमाण्डौ – नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले अखिल (क्रान्तिकारी)का नेता नवीन खड्का बिरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा उजुरी दिएका छन् । सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा कालो ब्यानर राखेको थियो ।
सो कालो ब्यानर राखेको फोटो सामाजिक संजालमा राखेर आफ्नो चरित्रहत्या गरेको भन्दै गैरेले क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक खड्का बिरुद्ध उजुरी दिएका हुन् । गैरेले जिल्ला प्रहरी कार्यालय नवलपरासीको उजुरी शाखामा दिएको ठाडो उजुरीमा खड्काले सामाजिक रुपमा आफ्नो चरित्रहत्या गरेको उल्लेख गरेको बुझिएको छ । भष्ट्रचारका बिरुद्ध बोल्ने बिद्यार्थी नेतालाई प्रहरीमा उजुरी दिनु भनेको दुः ख दिने नियत मात्र रहेकोे सुनवलको बिसाशयस्थित जनसेवा माविका सम्बद्ध सरोकारवालाहरु बताउछन् ।
यस अघि गैरेको बचाउमा एमालेको राष्ट्रिय युवा संघ र अनेरास्वबियुले छुट्टाछुट्टै बिज्ञप्ति सार्वजनिक गरेका थिए । जनसेवा मावि सुनवल–६ विशासयको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरेले दर्ता गरी बिक्री गरेकोले उनलाई सामाजिक बहिष्कार गर्न आब्हान सहित ४ गते बुधवार क्रान्तिकारीले सुनवल–१ सोमनाथस्थित गैरेको घरको गेटमा चेतावनीस्वरुप कालो ब्यानर राखेको हो । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सम्बद्ध बिद्यार्थी संगठनले गैरेको घरको गेटमा राखेको कालो ब्यानरमा गैरेलाई बिभिन्न ३ वटा अभियोग लगाएको थियो ।
भुमाफिया थान प्रसाद गैरेलाई सामाजिक बहिस्कार किन ? भन्ने शिर्षकको ब्यानरमा गैरेले सार्वजनिक सम्पति कब्जा गर्नुका साथै तत्कालिन अवस्थामा गाविस अध्यक्ष र बिभिन्न संघसंस्थामा हुदाँ पदको दुरुपयोग गरेको , नैतिक रुपमा समेत पतन भएको उल्लेख गर्दै क्रान्तिकारीले गेटमा कालो ब्यानर राखेपछि जिल्लामा यसको चर्चा चुलिएको छ ।
यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस काण्डमा छानबिन गरी कारबाही प्रकृया अघि बढाउन सुनवल नगरपालिकालाई पत्राचार समेत गरेको थियो । गैरे नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य एंव प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।
विद्यालयको नाउँमा साविक सुनवल गाविस–६ ‘ख’ को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको थियो । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त जग्गा गैरेकी श्रीमती लिलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत कार्यालयको श्रेस्तामा देखिएको थियो ।
तत्कालीन समय बि.स.२०४९ देखि २०५९ सम्म १० वर्षसम्म थान प्रसाद सुनवल गाविसका अध्यक्ष रहेका थिए भने २०५३ देखि २०५८ सम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।