सामान्यतया अध्यात्मवादीहरू सुरुदेखि नै झुटो बोल्न अभ्यस्त हुन्छन भने भौतिकवादीहरू तुलनात्मक रुपमा सत्य बोल्छन । झुटो बोल्नु अध्यात्मवादीहरूको नियत नभएर उनीहरूले स्विकार गरेको दार्शनिक मान्यताको कारण हो ।
तपाईहरूलाई मेरा कुरा अनौठो लाग्यो होला । या त हावामा। लेखिएको जस्तो लाग्यो होला । तर मैले माथिका कुरा हावामा लेखेको होइन । केही स-साना उदाहरणहरूद्वारा म प्रस्ट पार्ने कोसिस गर्छु ।
१.अध्यात्मवादीहरू स्वर्ग र नरक छ भन्छन । यो कुरा भूगोल या खगोल विज्ञानले आजसम्म पुस्टि गरेको छैन । स्वर्ग या नरक कहाँ छ ? पृ्थ्वीबाट त्यो कुन दिशामा कति किलोमिटर टाढा छ भनेर उनीहरू केही पनि भन्दैनन् । स्वर्ग या नरक गएको मानिस आजसम्म कोही पनि फर्केर आएर उताको खबर सुनाएको छैन । नमरी स्वर्ग या नरक जान मिल्दैन भनेर उनीहरू नै भन्छन । स्वर्ग या नरकमा चिठ्ठीपत्र पठाउन मिल्दैन ।त्यहाँ हुनेहरूको खबर सुनाउने कुनै रेडियो या टेलिभिजन पनि छैनन। स्वर्गमा हुनेहरूलाई फेसबुकमा साथी बनाउन या ट्विटरमा फलो गर्न पनि मिल्दैन । स्वर्ग या नरकमा हुनेहरूसँग फोनमा या भिडियो कलमा कुरा गर्न मिल्दैन। इमेलबाट खबर पठाउन पनि मिल्दैन । भने पछि स्वर्ग र नरक मानव ज्ञानको आजसम्मको पहुँच अनुसार छैन ।तर अध्यात्मवादीहरू हावाको तालमा छ भनेर ढिपी गर्छन । यही कुरामा उनीहरू हजारौं वर्षदेखि झुटो बोलिरहेका छन ।
२. अध्यात्मवादीहरू ईश्वर या देवता या भगवान छन र यो संसारको रचना र यसको संचालन पनि तिनै देवताले गरेको हो भनेर भनेर भन्छन ।
अध्यात्मवादीहरूका पनि धर्म अनुसारका आ-आफ्ना भगवान छन । ती भगवानहरू फरक फरक भाषा बोल्छन र फरक फरक भाषा मात्रै बुझ्छन । मानिसलाई अप्ठेरो पर्यो भने भगवानले सहयता गर्छन भनेर उनीहरु मान्छन । असल काम गर्नेलाई स्वर्गको पुरस्कार र खराब काम गर्नेलाई नरक लगेर थरी थरीको यातनाले दण्ड दिन्छन भन्छन । यो कुरा पनि आजसम्म पुस्टि भएको छैन । स्वर्गको स्वाद चाखेर आएको या नरकको यातना भोगेर आएको एक जना पनि मानिस छैन । ईश्वरसँग भेट गरेर एक मिनेट बात मारेको मानिस पनि कोही छैन । तर पनि अध्यात्मवादीहरू ईश्वर छ भनेर ढिपी कस्न छोड्दैनन । अझ उनीहरू के भन्छन भने ईश्वरको प्रार्थना गरेपछि या ईश्वरको नाममा दान गरेपछि मानिसले गरेको जस्तो सुकै पापबाट पनि छुटकारा पाउँछ । यो कुरा सुन्दा नै अनौठो र अनैतिक खाले छ ।
पहिलो कुरा त तिनीहरूलाई ईश्वरको प्रार्थना गरेपछि या दान गरेपछि पापबाट मुक्त होइन्छ भनेर कसरी थाहा भयो ? कसले भन्यो ? त्यसरी पापबाट को को मुक्त भयो भन्ने केही उदाहरण छैन । उनीहरू धर्म शास्त्रमा लेखिएका बासी उदाहरण दिन्छन ।ती कुरा पनि प्रमाणित छैनन । जब ईश्वर भएको कुरा नै प्रमाणित छैन भने ईश्वरद्वारा पापमोचन भएको भन्ने कुरा कसरी प्रमाणित होस ? यसरी अध्यात्मवादीहरू प्रत्येक कुरामा झुटो बोल्छन । यसरी झुटो बोल्दै छु भन्ने कतिपय अध्यात्मवादीहरूलाई त थाहा पनि हुदैन। उनीहरू यस्तो सफेद झुट कुरा पनि लाज, घीन ,डर केही नमानी सत्य कुरा भने जसरी खुलेआम भन्छन ।
३. अध्यात्मवादीहरू आत्मा पहिलो हो र भौतिक जगत दोस्रो हो भन्छन । अझ उनीहरू ‘ब्रम्ह सत्य जगत मिथ्या’ नै भन्छन । यो संसार निराकार ईश्वरले रचना गरेको हो भन्छन । अर्थात यत्रो विशाल ब्रम्हाण्ड उनीहरू ईश्वरले शून्यबाट बनाएको हो भन्छन । शून्यबाट केही पनि बन्दैन
।जब केही भन्छ भने त्यो कुरा शून्य नभएर शून्यभन्दा माथिको अरु केही कुरा हो । शून्यमा शून्य जोड्दा, शून्यमा शून्य घटाउँदा,शून्यलाई शुन्यले गुणन गर्दा या शून्यलाई शून्यले भाग गर्दा आउने परिणाम शून्य नै हुन्छ । आजको विज्ञानले यो ब्रम्हाण्डको रचना ब्रम्हाण्ड खुम्चिने क्रममा बनेको एउटा सघन भौतिक कणको महाविस्फोटबाट बनेको हो भन्छ । महा विस्फोटपछि कैयन वर्षसम्म आजको अबस्थाको भौतिक या स्थुल पिण्डहरूको ब्रम्हाण्ड नबनेर एउटा उर्जा-तरङ्ग मात्र भएको र पछि क्रमस: परमाणुहरू हुदै आजको स्वरुपको ब्रम्हाण्ड बनेको हो भन्छ । आज संसारभरका वैज्ञानिकहरू यही कुरालाई मान्छन। आज संसारभरका विज्ञानका विद्यार्थीहरू यही कुरा पढ्छन । स्वयम् अध्यात्मवादीहरू पनि स्कुल,कलेज या विश्वविद्यालयहरूका परीक्षामा यही कुरा लेखेर उत्तीर्ण हुन्छन ।तर जब गफ गर्ने समय हुन्छ त्यसपछि फेरि ईश्वरको लिला हो भन्न थाल्छन । यो संसार ईश्वरको रचना हो भनिहाल्छन ।
चेतना ,चैतन्य या आत्मा भौतिक जगतकै प्रतिविम्वन हो र भौतिक जगतको अनुपस्थितिमा चेतना या आत्माको कुनै अस्तित्व हुदैन । जस्तो कि तातो या चिसो , भोक लागेको या तिर्खा लागेको,दु:ख लागेको या खुसी लागेको अनुभूति मानिस बाँचुन्जेल मात्र गर्छ ।जब मानिस मर्छ त्यस पछि मरेको लासले तातो चिसो,भोक तिर्खा,दु:ख सुख केही पनि अनुभूति गर्दैन ।यी अनुभूतिहरु हाम्रा ईन्द्रियहरूद्वारा मस्तिस्कमा पठाइएका सूचनाहरूको विश्लेषणको आधारमा गरिएका हुन। जब इन्द्रियहरूले काम गर्न छोड्छन् तब मानिसले ती अनुभूति नै गर्दैन । जस्तो वालक देखिनै कान नसुन्ने मानिसले ध्वनि वारे केही पनि अनुभूति गर्दैन । त्यस्तै बालकदेखि नै आँखा नदेख्ने मानिसले उज्यालो या अँध्यारो वारे केही अनुभूति गदैन । उसले रङ्गहरूको वारेमा अनि वस्तुहरूका आकार प्रकारहरू वारे केही अनुभूति गर्दैन ।
तर अध्यात्मवादीहरू आत्मा अजर अमर छ भनेर ढिपी गर्छन । कुनै पनि कुरा कस्तो छ भनेर भन्न त्यस वारेमा विस्तृत अध्ययन तथा परीक्षण गर्न पर्ने हुन्छ । आत्मा अजर अमर छ भन्ने कुरा कहिलै प्रमाणित नभएको सत प्रतिशत झुटो कुरा हो।
४.अध्यात्मवादीहरू भाग्य,कर्म आदि हुन्छ भन्छन । ईश्वर हुन्छ भनेजस्तै उनीहरू, भूत, प्रेत,मसान,किचकन्या,डाइनी,बोक्सी सबै हुन्छन भनेर भन्छन । उनीहरू ग्रह दशा, शुभ ,अशुभ आदिमा विश्वास गर्छन ।उनीहरू वरदान ,आशिर्वाद या श्रापमा विश्वास गर्छन ।
आजसम्म भाग्य कहाँ लेखिएको हुन्छ भनेर कसैले देखेको छैन । एकै दिन एकै समयमा जन्मेको मानिस कोही धनी र कोही गरीब हुन्छ ।तर अध्यात्मवादीहरू ग्रह नक्षत्र आदिको प्रभावले जीवनमा प्रभाव पार्छ भनेर ढिपी सक्छन । जसरी आजसम्म कसैले ईश्वर देखेको छैन त्यसै गरी कसैले भूत प्रेत मशान पनि देखेको छैन ।उनीहरूको बासस्थान वारे पनि कसैलाई थाहा छैन। कुनै पनि देशको जासुसी संस्थालाई पनि भूत,प्रेत मशान आदिको बसोबास स्थान वारे थाहा छैन । तर पनि अध्यात्मवादीहरू ढिपी कस्न छोड्दैनन् ।
कुनै पनि समय शुभ र अशुभ हुदैन ।कुनै पनि दिन पवित्र र अपवित्र हुदैन । तर अध्यात्मवादीहरू शुभ मूहुर्त जुराउन भनेर पात्रो हेर्छन । फलानो काम गर्न फलानो दिन शुभ र फलानो दिन अशुभ हुन्छ भन्छन । बिबाह लगायतका काम गर्न खास खास महिना गर्नै नहुने अनि खास खास महिनामा मात्रै गर्नु पर्ने भनेर बिहेको लगन भनेर महिना र गते नै तोक्छन । धार्मिक काम या चाड पर्वमा टीका लगाउने आदि गर्न कति घडी र कति पालामा साइत छ भनेर तोक्छन। वैज्ञानिक हिसाबले सोच्दा यी सबै कुरा बेकार हो ।बेकार हो भन्नुको अर्थ झुटा हो ।
कतै हिड्नु पर्दा साइत हेर्ने काम पनि उनीहरू गर्छन ।साइत जुराउन चन्द्रमा र योगिनीहरू मिलाउनु पर्छ भन्छन । जस्तो कि कतै यात्रा गर्दा चन्द्रमालाई सामुन्ने या दायाँ पार्नु पर्छ भन्ने उनीहरूको मत छ । यस वारेमा एउटा मन्त्र नै छ ….:सनमुखे अर्थ लाभाया ,दक्षिणे सुख सम्पदा । पृष्ठियो मरणम् चैव वाम चन्द्र धनम् क्षय ।’
यो मन्त्र अनुसार चन्द्रमालाई सामुन्ने या दाहिना पारेर खास दिनको खास समयमा यात्रा गर्न एक जनालाई मात्र मिल्छ । किन भने खास रासीमा चन्द्रमा कुन दिशामा हुन्छन भनेर भनिएको हुन्छ । चन्द्रमाको दिशा कसै गरी मिलायो भने फेरि रङ्ग मिल्दैन ।रासी अनुसारका चन्द्रमाका रङ्ग हुन्छन भनेर उनीहरू विश्वास गर्छन। जस्तो कि- मेख सिंह वृष्चिक रक्तै ,धन मिथुन मिना पितै, कुम्भ कन्या मकर कृष्ण,वृष,कर्कट तुला श्वेत ‘ भन्ने उनीहरूको विश्वास छ । चन्द्रमाको रङ्ग अनुसार शुभ अशुभ हुन्छ भन्ने अर्को नियम छ फेरि ।
रक्त चन्द्र भवे युध्दम, कृष्ण चन्द्र नसंसय, श्वेत चन्द्र भवे लाभम् पीता चन्द्र शुभाशुभम …’
ल भन्नुस त यो सारा झ्याउ झमेला मिलाएर एकै पटक एकै परिवारका फरक फरक राशी भएका मानिस यात्रा गर्न कसरी मिल्छ ? अनि यो झ्याउ झमेलामा वैज्ञानिक कारण चै के होला त ? अहँ कुनै वैज्ञानिक कारण छैन। यी सबै सोझा साझा मानिसलाई ढाट्ने र ठगेर खाने षडयन्त्र मात्र हो ।
यसरी हेर्दा अध्यात्मवादीहरू पाइला पाइलामा बोली बोलीमा अप्रमाणित कुरा गर्छन । अप्रमाणित अर्थात झुटा कुरा गर्छन ।
यसको विपरित भौतिकवादीहरू अध्यात्मवादीहरूका तुलनामा सत्य कुरा गर्छन । झुटो कुुरा गर्ने संभावना भौतिकवादीहरूमा पनि हुन्छ तर उनीहरू कम झुटा कुरा गर्छन । कमसेकम मथि चर्चा गरिएका ईश्वर,स्वर्ग,नरक,भाग्य,कर्म, भूत ,प्रेत,आत्मा, परमात्मा , जस्ता कुरा हुदैन भन्छन।हुदैन भनेनन् भने पनि मलाई थाहा छैन,मैले यो वारेमा बुझेको छैन भन्छन ।
झुटो बोल्ने अपराधलाई हिसाब गर्ने हो भने अध्यात्मवादीहरू भौतिकवादीहरूभन्दा तुलना गर्नै नमिल्ने गरेर बढी छन ।
तर आश्चर्यको कुरा के छ भने ,यसरी बात बातमा झुटो बोलेर जीवन चलाउने अध्यात्मवादीहरू आफूलाई सबैभन्दा ठूलो सत्यवादी अनि भौतिकवादीहरूलाई पापी,ईश्वर विरोधी, वेद विरोधी,वाइवल विरोधी या कुरान विरोधी भनेर हेला गर्छन। हेला मात्र गर्दैनन दमन पनि गर्छन ।