करेन्ट लागेर एकको मृत्यु

मंसिर २४, बझाङ । खेतमा पानी लगाउन गएको बेला करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार बिहान चौडामबगर नजिक पर्ने धामीराटी कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

वडाध्यक्ष भण्डारीकाअनुसार उनी शनिबार बिहान १० बजेतिर गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका थिए । पानी लगाउन गएका भण्डारी अबेर साँझसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा चौडाम बगरको कान्द्वाल भीरमा रात आठ बजेतिर मृत फेला परेका थिए ।

भण्डारीको मृत्यु भएपछि घटनास्थलमा पुगेको प्रहरीले पनि करेन्ट लागेर नै उनको मृत्यू भएको प्रारम्भिक अनुमान रहेको बताएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेश चौधरीले विद्युत्को हाइटेन्सन तार टाउकोले छुन सक्ने ठाउँमा रहेको र निहुरिएर उठ्ने क्रममा तारमा छोइएर करेन्ट लागेको हुन सक्ने बताए ।