कवि पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा

कवि पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा

काठमाडौं/२६ कार्तिक, कवि पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल लेखक सङ्घको आयोजनामा इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा भएको यो कार्यक्रममा परिचर्चाकारका रूपमा प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठी हुनुहुन्थ्यो ।

डा. ताराकान्त पाण्डेयले यो काव्यलाई ‘प्रगतिवादी साहित्यको महत्वपूर्ण प्राप्ति’ भन्नु भएको छ— ‘विषयका दृष्टिले यो काव्य ग्रामीण पहाडी बस्तीमा सामन्तको उत्पीडन खेपिरहेका निम्नवर्गीय पात्रहरू जुनेली र धनेको प्रेमकथामा आधारित छ । जनयुद्धसँग जोडिन पुगेको तिनको प्रेमसम्बन्ध र वैवाहिक जीवनले काव्यमा प्रेमलाई क्रान्तिमय र क्रान्तिलाई प्रेममय बनाएको छ । यहाँ वर्गीय प्रेम छ, क्रान्ति सन्दर्भ छ, स्वप्न छ, उत्पीडनका विरुद्ध विद्रोह छ र उच्च आशावाद छ । यसरी रुमानी चेतना र प्रगतिवादी चेतनाको समन्वयबाट यो खण्डकाव्य क्रान्तिकारी स्वच्छन्दतावादी बन्न पुगेको छ । समग्रमा नेपाली समाजको ऐतिहासिक विकास प्रक्रियाको बोध गराउँदै र त्यससँग जोडिँदै नेपाली लोकलयमा सुन्दर शब्दविन्यासका माध्यमबाट निर्माण प्राप्त गरेको यो खण्डकाव्य कतिपय सीमाका बावजुद ऐतिहासिक र सौन्दर्यात्मक दुबै दृष्टिले नेपाली प्रगतिवादी साहित्यको महत्त्वपूर्ण प्राप्ति बन्न पुगेको छ ।’

डा. रामप्रसाद ज्ञवालीले यसलाई ‘इतिहास चेतना बोकेको जनपक्षीय र प्रगतिशील काव्य’का रूपमा मूल्याङ्कन गर्नुभएको छ— ‘जुनेली सामाजिक तथा राजनीतिक विषय तथा प्रेम र युद्धको आख्यान बोकेको प्रगतिशील गीतिकाव्य हो । यथार्थ, आदर्श र कल्पनाको मिश्रण गर्दै तयार पारिएको यसमा पचासको दशकमा सुरु भएको माओवादी जनयुद्ध र वर्गीय समाजको चित्रण छ । प्रेम र युद्ध, वर्गीय उत्पीडन र मुक्तिको प्रयत्नमा भएको सङ्घर्ष नै यस काव्यको केन्द्रीय प्रस्तुुति देखिन्छ । लोकजीवनलाई लोकलय र सरल भाषा शैलीमा प्रस्तुत गर्नमा सफल यस काव्यको चरित्रनिर्माण र आख्यानको बुनोटमा भने पाक्न र स्वाभाविक विकास प्राप्त गर्न बाँकी देखिन्छ । सारमा यो काव्य इतिहासचेत बोकेको, जनपक्षीय र प्रगतिशील छ ।’

डा. गीता त्रिपाठीले काव्यमा सुन्दर कथावस्तु, मिहीन काव्यचेत र सुन्दर लयचेत रहेको तर प्रकाशनमा कविले थोरै हतारो गर्नु भएको कारणले थप माझिने अवसरबाट वञ्चित रहेको बताउनु भयो । प्रकाशनपूर्व अध्ययन र छलफल गराउन सकेको भए यसले अझै परिपाक प्राप्त गर्न सक्ने उहाँको राय थियो ।” त्रिपाठीले भन्नुभयो ।

आफूले प्रेमको विराट् रूपलाई नै क्रान्ति ठानेको र फराकिलो प्रेमको अभावमा क्रान्ति सम्पन्न हुन नसक्ने आफ्नो धारणा रहेको बताउँदै खण्डकाव्यकार पुरुषोत्तम आचार्यले विनम्रतापूर्वक आफ्नो भनाइ राख्नुभएको थियो—‘विद्वान् समीक्षकहरूले गर्नुभएको समीक्षाबाट मैले धेरै सिकेको छु । आगामी दिनमा आफ्नो लेखनमा ती कुराहरूलाई अपनाउने छु ।’

कार्यक्रममा लेखक सङ्घका सल्लाहकारत्रय प्रा.डा. जगदीशचन्द्र भण्डारी, आख्यानकार इस्माली र प्रा.डा. नन्दीश अधिकारी तथा प्रा.कुमार थापा र डा. लोकराज रेग्मीको पनि उपस्थिति रहेको थियो । बलराम तिमल्सिना, प्रभात सापकोटा, गौरी देवकोटा, प्रकाश गुरागाईँ, माधव घिमिरे ‘अटल’, वासुदेव गुरागाईँ, दिल पौडेल, मिसम अधिकारी, इन्दिरा अधिकारी, असल पाख्रिन, जय दाहाल र विष्णु न्यौपाने लगायतका कविहरू र अरू धेरै साहित्यानुरागी व्यक्तित्वहरूको उपस्थिति रहेको सो समारोह सघन उपस्थितिभित्रको गम्भीर तर रोचक कार्यक्रम बनेको थियो ।

अखिल नेपाल लेखक सङ्घका अध्यक्ष मित्रलाल पंज्ञानीको सभापतित्व र उपाध्यक्ष छायादत्त न्यौपानेको उद्घोषणमा सञ्चालित सो कार्यक्रममा तीन जना कलाकारहरू (सेविता अधिकारी, आइ पी आचार्य र सौगात बस्नेत) ले खण्डकाव्यका मुख्य तीन पात्रहरू (जुनेली, विवेक र धने) को भूमिकामा रहेर संक्षिप्त अभिनय प्रस्तुत गर्नु भएको थियो । दश मिनेट लामो यो नाटकीय प्रस्तुतिले उपस्थित सबैको मन जितेको थियो । कलाकारहरूको यो सुन्दर प्रस्तुतिले उत्कृष्ट संभावनाको झिल्को पारेर छाडेको महसुस भएको छ ।