शनिबारीय साहित्य : कविता
***
सर्वहारा श्रमिक जनताको पक्ष लिएर
गास, बास, कपास, स्वास्थ्य र शिक्षा नपाउनेले
समान अधिकार र स्वतन्त्रता पाउनु पर्छ भन्ने
आवाज घन्काएर
शोषण दमनको बिरुद्धमा संगिन तेस्र्याएर
काँधमा बन्दुक बोकेर लड्दैछु ।
नरुनु आमा मरे भने म
लेकबेसी मैदानसम्म क्रान्तिको विगुल फुक्दै
मालेमावादको वैचारिक हतियारलाई,
वर्गीय सत्ता र वर्गीय लडाईं बारे
जनतालाई बुझाउँदै छु,
आमा दुःखी गरीब जनताको
आँखाको नानी भएको छु ।
त्यसैले
नरुनु आमा मरे भने म
शोषित श्रमिकको मुक्तिका लागि
वर्ग वैरीको लुटको महल भत्काउदै छौं
सामन्ती सत्ताका जेल नेल तोड्दै छौं
वर्गीय दुश्मनको घमण्ड चुर्ण पार्दै छौं ।
लडाई हो कुनै क्षण ढल्न सक्छु म
तर पनि विलाप गर्दै
नरुनु आमा मरे भने म
एक्काइसौं शताब्दीमा जनवाद ल्याउने छौं
संसारैभरि क्रान्तिको विउ रोपेका छौं
समाजवाद हुदै साम्यवादसम्म पुग्ने
मार्ग पहिल्याएका छौं ।
शहीदको कोटा चुक्ता गर्ने पालो पर्दा
स्वर्णीम अक्षरले नाम लेखिछाड्ने छु
भौतिक शरिर ढले पनि
म सधै बाँचिरहने छु
आँशुको बलिन्द्र धारा बगाई
नरुनु आमा मरे भने म
हजारौं छोरा छोरीको रगतलाई सम्झनु
नरुनु आमा मरे भने म ।
(क. सचिनको सर्लाही हरिवनमा शहादत भएको हो ।)