नेकपा कि हिकपा ?

नेकपा कि हिकपा ?

संस्कृति : एक चर्चा

नेपालमा कम्युनिस्ट समर्थक जनता धेरै हुँदा पनि कम्युनिस्टहरू सफल हुन नसक्नुको एउटा कारण मध्य नेकपा हुनुपर्नेमा हिकपा (हिन्दू कम्युनिस्ट पार्टी) भएर पनि हो । यद्यपि संसारका सबै धर्ममा आधारित संस्कृतिहरू प्रायः सामन्तवादमा अडेका हुन्छन् । तसर्थ हिन्दू संस्कृति पनि आफैमा सामन्तवादी संस्कृति हो । यसले कथित ठुलाबडाहरूलाई मान सम्मान गर्न सिकाउँछ । त्यसैले त सामाजिक सङ्घ संस्था होस् या पार्टी, सरकार वा संसदमा होस् एक पटक माथिल्लो पोष्टमा पुगेपछि ऊ कहिल्यै तल झर्न रुचाउँदैन । किनकि ठुलो हुनुमा प्राप्त हुने आनन्द, वर्चश्व र रबाफ उसलाई तल बस्दा हुँदैन । यो सामन्तवादले सिकाएको संस्कार हो, जो आज संस्कृति बनिसकेको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना काठमाडौंका नेवार समुदायले गरे । उनीहरूले देशमा जनवादी राज्य व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ गरेका थिए । त्यतिबेला चीनमा माओको नेतृत्वमा नयाँ जनवादी व्यवस्था भरखरै स्थापना भएको थियो । उता भारतमा पनि आजाद, भगतसिंहहरूको नेतृत्वमा अङ्ग्रेज (कम्पनी सरकार) विरुद्ध चलेको आन्दोलनले माहात्मा गान्धी नेतृत्वको सत्याग्रह आन्दोलनलाई चुनौती दिइरहेको थियो । आजाद भगतसिंहहरू सहिद भए पनि भारत स्वतन्त्र हुनुमा उनीहरूले चलाएको सशस्त्र आन्दोलनको प्रभावले महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसै समयमा नेपालमा पनि राणा शासन विरुद्धको आन्दोलन तातिन थालेको थियो । त्यतिबेला नेपालमा कम्युनिस्ट पार्टीको जन्म हुनु नेपालका श्रमजीवी तथा उत्पीडित जनताका निम्ति सुखद कुरा थियो ।

नेवारी समुदाय भित्रबाट कम्युनिस्ट पार्टीको स्थापना हुनाले संस्थापक नेताहरूमा इमानदारीता रहे पनि कम्युनिस्ट आन्दोलन भित्र हिन्दू धर्मको सांस्कृतिक प्रभाव पनि सँगसँगै भित्रियो । किनकि नेवारी समुदाय भित्र बहुमत प्रतिशत जनताको हिस्सा हिन्दू धार्मिक प्रभावमा रहेको छ । सुरुसुरुमा कम्युनिस्ट पार्टीका नेताहरूमा भौतिकवादी ज्ञान चेतना कम र राजनीतिक प्रभाव बढि थियोे । त्यो स्वाभाविक पनि हो । त्यसैले उनीहरूले पार्टी भित्र पनि आफ्नो धार्मिक मूल्य मान्यता र सो अनुरूपको संस्कृति भित्र्याए । पछि कम्युनिस्ट पार्टीको प्रभाव नेपालको शाषक जाति ब्राह्मण–क्षेत्री समुदायमा सर्दै गयो र नेतृत्वमा पनि उनीहरूकै वर्चस्व रहन थाल्यो । त्यो अहिलेसम्म पनि कायम रहेको छ ।

नेपालका कम्युनिस्ट नेताहरूमा माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रभावले भन्दा पनि बढ्ता प्रभाव त्यसको राजनीतिक–अर्थशास्त्र र समाजविज्ञानले पारेको छ । नेपाली काङ्ग्रेसले पुँजीवादी राजनीतिक प्रणालीलाई अवलम्बन ग¥यो भने कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूलाई समाजवादी राजनीतिक प्रणालीले प्रभावित ग¥यो । एउटा सच्चा कम्युनिस्ट सदस्यलाई दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद यी माक्र्सवादका तीनवटै सङ्घटक अङ्गले प्रभाव पार्नुपर्ने हो र त्यसप्रति इमान्दार हुनुपर्ने हो तर नेपालमा त्यसो हुन सकेन । अपवादमा रहेका सीमित नेता–कार्यकर्ता बाहेक सबैले माक्र्सवादको दर्शन (द्वन्द्वात्मक भौतिकवाद)लाई चटक्कै छोडे र उनीहरूले राजनीतिक अर्थशास्त्र र समाजवादलाई मात्र पकडे । हुँदा हुँदा अहिलेसम्म आउँदा समग्र कम्युनिस्ट आन्दोलनको दुईतिहाई भन्दा बढीले त त्यही राजनीतिक अर्थशास्त्र र समाजवादलाई पनि चटक्क छोडेर संसदीय दलाल पुँजीवाद तथा नोकरशाही पूँजीवादलाई अङ्गालो हाल्न पुगेका छन् । जहाँ सामन्तवादको प्रभाव पनि जब्बर रूपमा बसेकै छ । अझ संस्कृतिका क्षेत्रमा त झन् सामन्तवाद प्रभावी भएर प्रस्तुत भइरहेको छ ।

अहिलेको संविधानले नेपाललाई एक धर्मनिरपेक्ष राज्यका रूपमा स्वीकार गरेको छ । तर परिभाषामा त्यसलाई सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षण गरिने छ भनेर पनि लेखिएको छ । यसो हुनुको कारण नेपालका कम्युनिस्ट पार्टीहरूमा ब्राह्मण–क्षेत्री समुदायको कब्जा रहनु र उनीहरूमा हिन्दू धर्म–संस्कृतिको रगतले भरिएको शरीर र मष्तिष्क हुनु हो । माक्र्सले धर्मलाई अफिमसँग तुलना यसै कारण गरेका थिए, किनकि धर्मले मानिसलाई यसरी लट्ठ्याउँछ कि नेपालमा त पार्टीका शीर्ष नेताहरूले धर्म र संस्कृतिको व्याख्या गर्दा आफ्नो स्वार्थअनुरूपको गर्छन् । माक्र्सवादको ज्ञानसिद्धान्त अनुसार तथ्य र ऐतिहासिक पृष्ठभूमिका आधारमा होइन । धर्म, संस्कार र संस्कृतिको दार्शनिक बहस र छलफल गर्नेहरूलाई पनि कम्युनिष्ट हुँ भन्नेहरूले नै खिसिट्युरी गर्ने र सनातनदेखि मान्दै आएको संस्कृति बचाउनु पर्छ भन्दै अन्धविश्वासलाई बढावा दिने गरिरहेका छन् ।

नेपालका कम्युनिस्टहरूमा विकृति आउनुको पछाडिका कारणहरू त धेरै छन् तर त्यस मध्य हिन्दू धर्मप्रति लिप्त हुनु पनि एउटा जब्बर कारण हो । जानेर वा नजानेर नेपाली कम्युनिस्ट आन्दोलनमा हिन्दू धर्म, संस्कार र संस्कृतिको प्रभाव जब्बर परेको छ । यो सामन्तवादी संस्कृतिका विरुद्ध कडा रूपमा नउभिएसम्म नेपालको कम्युनिस्ट आन्दोलन ओह«ालो लाग्नबाट कसैले पनि बचाउन सक्दैन । नेपालका सबै कोटरीका कम्युनिस्ट नेताहरूले जनतामा र कार्यकर्तामा माक्र्सवादी सिद्धान्तका लामालामा प्रशिक्षण दिन्छन्, सार्वजनिक मञ्चहरूमा निकै ठूला ठूला आदर्शका ब्याख्यान छाँट्छन् तर स्वयम् आपूmले त्यस सिद्धान्तको अनुसरण गर्दैनन् । शब्द र कर्मका बिचमा अभेद्य पर्खाल खडा छ । जब नेतामा नै ब्यबहार र सिद्धान्तको बेमेल हुन्छ तव त्यसको प्रभाव कार्यकर्तामा र जनतामा पर्नु स्वाभाविक हुन्छ । यसले त नेताहरूप्रति जनताको विश्वास गुम्दै जान्छ र जनतामा सबै नेता र पार्टी उस्तै हुन्, यिनले भन्छन् एउटा र गर्छन् अर्कै भन्ने परिरहेको छ । त्यसले कम्युनिस्ट आन्दोलन नै कमजोर हुँदै जान्छ । आज नेपालमा त्यही भएको छ ।

नेपालमा कम्युनिस्ट आन्दोलन बेलाबखत देशमा हलचल ल्याउनेगरी चलेका थिए । पछिल्लो चरणमा माओवादीको नेतृत्वमा दस बर्ससम्म जनयुद्ध पनि भयो तर पनि सांस्कृतिक रूपमा रूपान्तरणकारी आन्दोलन चल्न सकेन । त्यहाँ पनि जनताले कार्यकर्तालाई र तल्लो कार्यकर्ताले माथिल्लो नेतालाई गर्ने व्यवहारमा सामन्तवादी संस्कृति जब्बर रूपमा गढेको थियो । यद्यपि कयौँ ठूला ठूला परिवर्तनहरू पनि भए । पुराना मूल्य मान्यताहरू भत्किएका पनि थिए । तर त्यस सँगसँगै हिन्दू संस्कृतिका प्रभावहरू स्वतः जनवादी संस्कृतिका नाममा पनि अन्तरघुलित भएर पसे । जस्तो कि नेताहरूलाई स्वागत तथा विदाई गर्दा अविर, टीका र मालाहरूको डङ्गुरले पुरिदिने । नेताहरू र कार्यकर्ताहरूको खानपिन, बस्ने सुत्ने व्यवस्था उच्च र निम्न वर्गीय हुने । सम्मान र सत्कारमा घण्टौ लाइन बसेर जयजयकार गर्नुपर्ने जस्ता संस्कृतिहरू सामन्तवादी संस्कृतिकै पुनरावृत्ति थिए । आपूmलाई कार्यकर्ताहरूले उच्च सम्मान दिएकोमा नेताहरू मखलेल हुने र र्कायर्ताहरूलाई रैती जस्तो ठान्ने प्रवृत्ति ज्युँ का त्युँ रहिरह्यो । पार्टी कमिटीमा आवश्यकता र क्षमताको भरपुर उपयोग गर्न पदोन्ती हुनु आन्दोलनमा स्वाभाविक नै थियो तर उसको आवश्यकता अर्को भूमिकामा हुँदा पनि एक पटक पुगेको पदबाट तल झर्नै नहुने प्रवृत्ति नेपालका सबै कम्युनिस्ट नामधारी पार्टीहरूमा क्यान्सर जस्तै रोग भएर बसेको छ । यो पनि हिन्दू धर्मको प्रभाव हो । वेद, शास्त्र, जानेका विद्वान भनिएकाहरूलाई महाराज भन्नुपर्ने, व्यास जी भन्नुपर्ने र उसको सान सौकत अर्कै प्रजातिका मानिस हुन् जस्तो गर्ने प्रचलन छ नि त्यो कम्युनिस्ट आन्दोलनका उच्च ओहोदाका नेताहरूमा पनि छ । किनकि कम्युनिस्ट नेताहरू पनि त्यही धर्म सम्प्रदायबाट आएका र अझ वर्ण व्यवस्था अनुसार धेरैजसो ब्राह्मण कूलमा र केही क्षेत्रीय कूलमा जन्मिएकाहरूले पार्टीको नेतृत्व गरिरहेका छन् । ब्राह्मण–क्षेत्री कूलमा जन्मनु नै गलत वा उनीहरूले नेतृत्व गर्न नै हुँदैन भन्ने यो आलेखको आशय किमार्थ होइन तर उनीहरूमा सर्वहारा चेत, संस्कृति र द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तले लैस हुनु पर्छ र सोही अनुसारको व्यवहार पनि हुनु पर्छ । त्यो हुन नसक्नु नेपाली कम्युनिस्ट आन्दोलनको अभिसाप हो ।

आज हिन्दू धर्मावलम्बीहरूको ‘महान्’ पर्व ‘बडा’ दशैँ । नेपालका धेरै कम्युनिस्ट पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मले निकै हर्षबढाइँका साथ दशैँको शुभकामना आदान प्रदान गरेका छन्, टीक जमरा लगाएका छन् र ‘शक्ति’पीठहरूको दर्शन र पूजाआजा गरेका छन् । संसारभरीका जो मानिसहरू भौतिकवादी दर्शनमा विश्वास गर्छन् उनीहरू कम्युनिस्ट नहुन पनि सक्छन् तर संसारभरीका कम्युनिस्टहरू अनिवार्यतः भौतिकवादी हुन जरुरी छ । नेपालमा निकै कम दर्जनौँमा गनिन सक्ने कम्युनिस्ट नेता कार्यहरू मात्रै भौतिकवादी छन् बाँकी सबै अध्यात्म दर्शनका अनुयायीहरू छन् । चाहे ती हिन्दू, मुस्लिम, कृश्चियन वा वौद्ध धर्मका नै किन नहोउन् ।

हिज जाँड रक्सी खानु हुँदैन भन्नेहरू आज जाँड रक्सीका घैँटोमै डुब्नु, जुवा तासको विरोध गर्नेहरू आज ठूला ठूला जूवाका खालमा रमाउनु, तस्करी चोरीको विरोध गर्नेहरू नै आज ठूलाठूला तस्करी धन्दामा लाग्नु, भ्रष्टाचारमा चुर्लुम्म डुब्नु, मानव तस्करीमा लिप्त हुनु, दलाली र माफियातन्त्रको जालोमा डुबेर त्यहीँ रमाउनु भनेको बैचारिक रूपमा प्रतिवद्ध नहुनु र विचलित हुनुको परिणाम हो । हिज बंशजको राजतन्त्रले मनाउने धर्म, संस्कृति र परम्परा आज उही रूपमा राष्ट्रपति, प्रधानमन्त्री वा तीन वटै सरकारी निकायका पदाधिकारीहरूले गर्नु भनेको सामन्तवादलाई यथावत राख्नु नै त हो । हिजो राजाको हातबाट टीका थाप्नु र आज राष्ट्रपतिबाट टीका थाप्नुमा सांस्कृतिक फरक कसरी भयो ? केवल टीका लगाइदिने पात्र मात्रै त फरक भयो । धर्म संस्कृति त एउटै भयो । हिज राजाको हातबाट टीका थाप्नेहरू रैती हुने र आज राष्ट्रपतिबाट टीका थाप्नेहरू जनता हुने कसरी हुन्छ ? यस्तो भाष्य निर्माण गर्नु वर्तमान राजनीतिक नेताहरूको निहीत स्वार्थ पूर्ति गर्नु र जनतालाई उल्लु बनाउने कुरा मात्रै हो । त्यसैले नेपालका कम्युनिस्टहरूले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्नु भन्दा हिन्दू कम्युनिस्ट पार्टी भनेर राख्नु उचित हुन्छ । त्यसो गर्दा शब्द र कर्मको मेल पनि हुन्छ ।

७ कात्तिक २०८०, तुलसीपुर, दाङ