हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु

हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु

काठमाडौं । नेपाली समयअनुसार हिजो विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा भएको आक्रमण र सोको कारण त्यहाँ रहेका १० जना नेपाली विद्यार्थीकाे निधन भएकाे छ । नेपाल सरकारकाे परराष्ट्र मन्त्राालयले जनाए अनुसार इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको सिक्ने र आर्जन गर्ने कार्यक्रम अन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यी मध्ये सुुदुुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए ।
नेपाली राजदूतावास प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समुहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भैरहेको छ । बाँकी ११ जना मध्ये १० जनाकाे आक्रमणमा परी निधन भइसकेकाे छ भने एकजना सम्पर्कविहिन अवस्थामा रहेका छन् ।
मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा,  सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन्।सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्।
सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। 
कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।  
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।
प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ।