साताको साहित्य ः कविता
डुबेकी छु सहिदको रगतमा आफैँ
अञ्जुलीमा उठाएर धोएकी छु मुखै !
कोही थप्ने सुनको तला, कोहीलाई छैन नुन
भोलि ‘त्यसले शिरै काटी’ नभने है सुन !
सहिदको रगत बेची तिनले महल किन्ने
सहिदकै लासमाथि गाडी कुदाई हिँड्ने !
सहिदका परिवार आँसु पिउँदै बस्ने
कोही भने सहिद–रगत किरिम बनाई धस्ने !
मरूँ कि वा बौलाऊँ म, बच्चा केले पालौँ ?
साँझ–बिहानै भोक लाग्छ पेट केले भरौँ ?!
सहिद–सन्तान तड्पाउने, झुलाउने सधैँ
आज–आज, भोलि–भोलि कति कुर्नु अझै ?
उता देख्यो यो रिसाउने, यता आयो ऊ नि
क्रान्तिकारी एक भए हाम्लाई सन्तोष हुने !
टुक्रिएर समाजवाद खै कसरी आउला ?
कोही रुने, कोही हाँस्ने समानता पाउला ?
कति हिँड्ने नाङ्गै, भोकै, कति हिँड्ने रुँदै ?
यही दिन देख्नलाई बस्या’ हुँ कि ज्यूँदै ?!
प्यारा गए रगत पोखी अब केको डर छ ?
क्रान्तिकारी जितिछाड्छ, कि लडाइँमै मर्छ !
पिल्सिएर बाँच्नुभन्दा लडी मर्नु जाती
सबै विभेद मेटाउन आऊ लडौँ साथी !
(सहिद निरकुमारका परिवारसँगको भेटपछि)































