पिल्सिएर बाँच्नुभन्दा लडी मर्नु जाती

पिल्सिएर बाँच्नुभन्दा लडी मर्नु जाती

साताको साहित्य ः कविता

डुबेकी छु सहिदको रगतमा आफैँ

अञ्जुलीमा उठाएर धोएकी छु मुखै !

कोही थप्ने सुनको तला, कोहीलाई छैन नुन

भोलि ‘त्यसले शिरै काटी’ नभने है सुन !

 

सहिदको रगत बेची तिनले महल किन्ने

सहिदकै लासमाथि गाडी कुदाई हिँड्ने !

सहिदका परिवार आँसु पिउँदै बस्ने

कोही भने सहिद–रगत किरिम बनाई धस्ने !

 

मरूँ कि वा बौलाऊँ म, बच्चा केले पालौँ ?

साँझ–बिहानै भोक लाग्छ पेट केले भरौँ ?!

सहिद–सन्तान तड्पाउने, झुलाउने सधैँ

आज–आज, भोलि–भोलि कति कुर्नु अझै ?

 

उता देख्यो यो रिसाउने, यता आयो ऊ नि

क्रान्तिकारी एक भए हाम्लाई सन्तोष हुने !

टुक्रिएर समाजवाद खै कसरी आउला ?

कोही रुने, कोही हाँस्ने समानता पाउला ?

 

कति हिँड्ने नाङ्गै, भोकै, कति हिँड्ने रुँदै ?

यही दिन देख्नलाई बस्या’ हुँ कि ज्यूँदै ?!

प्यारा गए रगत पोखी अब केको डर छ ?

क्रान्तिकारी जितिछाड्छ, कि लडाइँमै मर्छ !

 

पिल्सिएर बाँच्नुभन्दा लडी मर्नु जाती

सबै विभेद मेटाउन आऊ लडौँ साथी !

(सहिद निरकुमारका परिवारसँगको भेटपछि)