“ व्यवहार , ज्ञान , फेरि व्यवहार र फेर ज्ञान । यो क्रम अनन्तरुपले दोहोरीएर रहन्छ र प्रत्येक आवृत्तिका साथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त हो र यो नै बोध र कार्यको एकतासम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्त हो ।” – माओत्सेतुङ , संकलित रचनाहरु , भाग १ , पृष्ठ २४६ , सिर्जनशील प्रकाशन , मैतिदेवी , काठमाडौं , दोस्रो संस्करण , २०५७ मंसिर , अनुवाद : कृष्णदास श्रेष्ठ ।
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त अत्यन्तै गहन विषय हो । यो विश्वदृष्टिकोणको विषय पनि हो । त्यसैले द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त सम्बन्धि यति ठूलो गहन दार्शनिक विषयलाई जान्न चाहने , बुझ्न चाहने र ज्ञान आर्जन गर्न चाहने सर्वसाधारण अध्यताहरुलाई सजिलो हुनेछ भन्ने आशयले सकेसम्म साधारण भाषा , शैली र दार्शनिक पदावली प्रयोग गर्ने अधिकतम प्रयत्न गर्दै लेखन कार्यलाई अगाडि बढाइएको छ ।
हामीले बुझ्ने के कुरा हो भने द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त दर्शनशास्त्रको मौलिक प्रश्नसित सम्बन्धित विषय हो । त्यसैले भौतिकवादी ज्ञान सिध्दान्त सत्ता र चिन्तनकाबीच द्वन्द्वात्मक एकता हुन्छ । संसार अज्ञेय होइन , ज्ञेय छ , मानिसको चेतनाले संसारलाई प्रतिबिम्बन गर्ने सामर्थ्य राख्दछ । विश्वलाई त्यसको सारतत्व तथा नियमलाई बुझ्न र बदल्न सकिन्छ भन्नु नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको मूल विषय हो ।
हामीले द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको स्रोत के हो ? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा बुझ्न अति जरुरी हुन्छ ।
(१) ज्ञानको स्रोत :
ज्ञानको स्रोत के हो ? ज्ञानको उत्पत्ति कसरी हुन्छ ? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? यी प्रश्नहरु ज्ञान सिध्दान्तको क्षेत्रमा प्राथमिक महत्त्वका विषय हुन् । यसबारे मार्क्सवाद – लेनिनवाद – माओवादको सिधा र स्पष्ट जवाफ छ – ज्ञानको स्रोत वस्तुगत जगत र सामाजिक व्यवहार हो । हाम्रो वरिपरिको समाज हो । यसलाई अझै यसरी सरल तरिकाले स्पष्ट पार्न सकिन्छ कि ज्ञानको स्रोत भौतिक संसार हो । वस्तुगत ( पदार्थ ) जगत हो र ज्ञानको उत्पत्ति मान्छेका उत्पादन सम्बन्धि गतिविधिहरुका बीचबाट हुन्छ । प्रकृतिसितको संघर्ष , उत्पादन संघर्ष , वैज्ञानिक खोज र प्रयोगकाबीचबाट हुन्छ । अर्थात् उत्पादनका लागि संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्बन्धि व्यवहारकाबीचबनट ज्ञानको उत्पत्ति र विकास भएको हो भन्ने वैज्ञानिक तथ्य स्पष्ट भएको छ ।
त्यसैले ज्ञानको प्रारम्भिक विन्दु मान्छेको सामाजिक व्यवहार हो । जब मान्छे उत्पादन कार्यमा सहभागी बन्छ , त्यसबेला उसले प्रकृतिसित संघर्ष गर्नुपर्छ , वैज्ञानिक प्रयोगको निम्ति उसले आफूमा भएको क्षमता , योग्यता र सिपको प्रयोग गर्दछ , त्यसका निम्ति आौजार र साधनहरु खोजी गर्ने र निर्माण गर्ने कार्यमा संघर्ष गर्दछ , यो कार्य सामाजिक व्यवहारविना सम्भव हुदैन । ऊ सामाजिक जीवनमा जोडिनु अनिवार्य हुन्छ । त्यसैले सामाजिक व्यवहार नै मान्छेको ज्ञान प्राप्तिको स्रोत बन्दछ । यसरी निष्कर्षमा पुग्न सकिन्छ कि उत्पादनका लागि संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्बन्धि व्यवहारबाट नै ज्ञानको उत्पत्ति र विकास भएको हो भन्ने वैज्ञानिक तथ्यहरुले पुष्टि गरिसकेको विषय हो ।
यस विषयमा कमरेड माओले भन्नुभएको छ , “ मान्छेले आफ्ना भौतिक आवश्यकताहरु पुरा गर्न उत्पादनमा लाग्दछन् । मानव ज्ञान विकसित हुने प्राथमिक स्रोत यही नै हो ।“ – माओ त्सेतुङ , संकलित रचनाहरु भाग १ , पृष्ठ २६८ , सिर्जनशील प्रकाशन , मैतिदेवी , काठमाडौं , २०५७ ।
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्त्वपूर्ण पक्षसित सम्बन्धित छ । आफू बसिरहेको संसारलाई हामी जान्न सक्छौ कि सकदैनौ ? के त्यो यथार्थको ठिक प्रतिबिम्ब हुन सक्छ ? के सत्ता ( पृथ्वी ) र चिन्तनको मेल हुन सक्छ ? यी प्रश्नहरुको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न भिन्न ढंगले दिएका छन् । यस विषयमा दार्शनिकहरु दुई विपरीत खेमामा विभाजित छन् । यो हामी बसिरहेको संसार ज्ञेय छ , बुझ्न र जान्न सकिने मात्र होइन यसलाई बदल्न सकिन्छ भन्ने दार्शनिकहरु भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार यो संसार अज्ञेय छ , यसलाई बुझ्न र बदल्न सकिदैन भन्ने दार्शनिकहरु आदर्शवादी खेमामा खडा हुन पुगेका छन् । यसबाट स्पष्ट हुन्छ कि द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त अज्ञेयवादका विरुद्ध परिलक्षित रहेको छ । भौतिकवादी ज्ञान सिध्दान्तले दुनियाँलाई बुझ्ने मात्र होइन यसलाई बदल्ने हो भन्ने कुरालाई ग्रहण गर्दछ ।
(२) व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार :
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तका अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै व्यवहारको आधार हो । सर्वप्रथम स्वयं ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओले यसरी व्याख्या गर्नुभएको छ , “ व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको पारख गर । इन्द्रियग्राह्य ज्ञानबाट शुरु गर र सक्रियतापूर्वक त्यसलाई बुध्दिसंगत ज्ञानमा विकसित गर , अनि बुध्दिसंगत ज्ञानबाट शुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रुपले क्रान्तिकारी व्यवहारको पथप्रदर्हन गर । व्यवहार ज्ञान , फेरि व्यवहार , फेरि ज्ञान । यो क्रम अनन्त रुपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व।माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्त हो ।“ – माओ त्सेतुङ , संकलित रचनाहरु , भाग १ , पृष्ठ २४७ , उही । कमरेड माओका यी भनाइहरु मननयोग्य रहेका छन् ।
(३) ज्ञानको दुई छलाङको सिध्दान्त :
मानिसको ज्ञानको क्षेत्र ज्यादै विशाल र असिमित छ । मानिसले कसरी प्रत्यक्ष रुपमा ज्ञान प्राप्त गर्न सक्छ त ? यो ज्यादै महत्त्वपूर्ण प्रश्न हो । मानिसको ज्ञान ज्ञानिन्द्रियहरु जस्तै – नाक , कान , आँखा , मुख , छाला आदिद्वारा रुप , रस , गन्ध, स्पर्श , शब्द ,।संवेदनाहरुको ज्ञानसितै शुरु हुन्छ । यसै प्रक्रियामा संसारलाई प्रत्येक्ष र जान्न सकिन्छ ।यो नै इन्द्रियग्राह्य ज्ञान हो । यस प्रकारको ज्ञान मानिसको निम्ति अझै अधुरो हुन्छ । त्यसैले मानिसको ज्ञानले बुध्दिजन्य ज्ञानमा छलाङ हान्न जरुरी हुन्छ ।संवेदना , संस्कार र प्रत्येक्षबाट प्राप्त ज्ञानलाई बुध्दिजन्य ज्ञानमा समृद्ध तुल्याउने काम हुन्छ । यसमा वस्तुहरुको समग्रता , सारतत्व र आन्तरिक सम्बन्धलाई संश्लेषित गरिन्छ । त्यसपछि यसै क्रममा मानिसमा धारणा , निर्णय , निष्कर्ष , नियम वा सिध्दान्तको जन्म हुन पुग्छ । अनि फेरि यस प्रकारको बुध्दिजन्य ज्ञानले व्यवहारमा छलाङ हान्नु पर्दछ । यस विषयमा कमरेड माओले अगाडि भन्नु हुन्छ , “ इन्द्रियग्राह्य ज्ञानबाट आरम्भ गर्नु र त्यसलाई गत्यात्मक रुपले बुध्दिसंगत ज्ञानमा विकसित गर्नु , त्यसपछि बुध्दिसंगत ज्ञानबाट आरम्भ गरेर गत्यात्मक रुपले क्रान्तिकारी व्यवहारको प्रदर्शन गर्नु , जसबाट कि आत्मगत र वस्तुगत संसारमा परिवर्तन ल्याउन सकियोस् ।
व्यवहार , ज्ञान , फेरि व्यवहार , फेरि ज्ञान । यो क्रम अनन्त कालसम्म आवृति भइरहन्छ र हरेक आवृतिको साथमा ज्ञानको अन्तर्वस्तु अरु बढी उच्चस्तरमा पुग्दै जान्छ ।“ – माओ त्सेतुङ , संकलित , रचनाहरु , भाग १ , पृष्ठ २६७ , सिर्जनशील प्रकाशन , मैतिदेवी , काठमाडौं , २०५७ । अत: व्यवहारबाट सिध्दान्त र सिध्दान्तबाट व्यवहार यही नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको दुई छलाङको सिध्दान्त हो ।
(४) सत्यको वस्तुनिष्ठता:
हामीले बुझ्ने कुरा के हो भने मानवीय ज्ञान सत्यको अन्तर्वस्तु वस्तुगत जगत हुन्छ । हाम्रो ज्ञानको अन्तर्वस्तु विषयी अर्थात् मानिस होइन , विषय अर्थात् वस्तुगत संसारमा आधारित हुन्छ । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तका अनुसार मानिसको आत्मा वा मन भन्दा बाहिर प्रकृति वा वस्तुजगतको स्वतन्त्र अस्तित्व छ र त्यो मानिसको आन्तरिक मनमा प्रतिबिम्बित हुन्छ । यही नै सत्यको वस्तुनिष्ठता हो ।
(५) व्यवहार नै सत्यको कसौटी :
मार्क्सवादी दार्शनिकहरुले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धि त्यो ज्ञानलाई बुझिन्छ , जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरुप हुन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ , “ सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो , जुन मानिसमा भर पर्दैन , मानव जातिमा भर पर्दैन । त्यसको सार तिनै वस्तुगत प्रक्रियाहरुको निरुपित गर्दछन् , जसलाई त्यसले प्रतिबिम्बित गरेको हुन्छ ।“ – लेनिन , संकलित रचना संग्रह , खण्ड १८ , पृष्ठ १३७ ।
अब प्रष्ट भयो कि सामाजिक व्यवहार मात्र सत्यको कसी बन्न सक्छ । ज्ञान सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्तमा व्यवहारको दृष्टिकोण प्राथमिक र आधारभूत दृष्टिकोण हो ।
(६) ज्ञान सिध्दान्तको विधि :
ज्ञान सिध्दान्तको विधि अन्तर्गत विभिन्न विषय पर्दछन् , जस्तै :
पहिलो – कुनै पनि वस्तु वा प्रकृतिलाई ठिकसित बुझ्न , त्यसका नियम पत्ता लगाउन र त्यसको राम्रो निरक्षण वा जाँचबुझ गर्नु पर्दछ । अनि त्यसलाई प्रयोगमा ल्याएर सिध्द गर्नु पर्छ निरक्षण र प्रयोग परस्पर सम्बन्धित छन् ।
दोस्रो – ज्ञानको विधि , निगम र आगमनको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ । निगमनलाई सामान्य र आगमनलाई विशेष रुपमा बुझ्नुपर्छ । निगमन र आगमनको विधिले सिध्दान्त र व्यवहारको द्वन्द्ववादलाई प्रस्तुत गर्दछ ।
तेस्रो – ज्ञान मूर्त र अमूर्तको द्वन्द्वात्मक विधिका रुपमा विकसित हुन्छ । चिन्तनको विकास कुनै ठोस वस्तुको मूर्त प्रत्येक्षबाट अमूर्त हुँदै मूर्तमा जाने प्रक्रियाका बीचबाट हुने गर्दछ ।
चौथो – ज्ञानको अर्को विधिको नाम ऐतिहासिक र तार्किक विधि हो । ऐतिहासिक विधिले कुनै पनि वस्तुको तथ्यांकगत विकास प्रक्रियाको तस्बिर प्रस्तुत गर्दछ । अनि तार्किक विधिले त्यस तस्बिरलाई बौद्धिक नियमसंगतिमा ढालि दिन्छ ।
पाँचौ – ज्ञान सिध्दान्तको एउटा महत्त्वपूर्ण विधिको नाम हो – विश्लेषण र संश्लेषणको एकता हो । कुनै पनि वस्तुलाई अंश अंशमा केलाउनु , वर्गीकरण गर्नु , विविध ढंगका अन्तर्विरोधहरुलाई दर्शाउनु विश्लेषण हो । अंश अंशलाई समग्रमा ल्याउनु वर्गीकृत वस्तुलाई एकीकृत गर्नु र विविध अन्तर्विरोधहरुलाई समाधान तर्फको बाटो देखाउनु संश्लेषण हो । कुनै पनि क्रान्तिका विशेषताहरुको विवेचना गर्नु विश्लेषण हो भने त्यसको समाधान दिनु संश्लेषण हो ।
अत: समग्रमा भन्नु पर्दा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त अन्तर्गत आत्मगत र वस्तुगत पक्ष , सिध्दान्त र व्यवहार तथा भनाई र गराएका बीच द्वन्द्वात्मक एकता कायम गर्नुपर्ने कुरामा विशेष जोड दिइन्छ ।
(७) निष्कर्ष :
मार्क्सवादका विविध पक्षहरुमा गहिरो ज्ञान प्राप्त गर्नका लागि द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तले महत्त्वपूर्ण मद्दत गर्दछ । किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्दछौ भने हरेक वस्तुको विकास छिपछिपेबाट गहिरातिर , सरलबाट जटिलतिर , सानोकाट ठूलोतिर , सजिलोबाट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्छ । यो नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको प्रमुख आधार हो
।
त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको महत्त्वपूर्ण स्थान रहेको छ । किनभने द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसकै आधारमा मात्र हामी संसारलाई बुझ्न र बदल्न र वर्गविहिन , राज्यविहिन वैज्ञानिक साम्यवादी नौलो मानव समाजको निर्माण गर्न सक्षम हुन्छौं ।