शनिबारीय साहित्य : कविता
***
पूजा गर्न जाऊँ भने मन्दिर छिर्न दिन्नौ
हिन्दू नै होस भन्छौ तर जनै भिर्न दिन्नौ
ईशाई बने दलाल भन्छौ धर्म छोडे पापी
कतिन्जेल बस्नु शिरमा तिम्रो लात थापी ?
न सुखले बस्न दिन्छौ न त दिन्छौ हिड्न
उठी सुख न बसी सुख भो वाध्य भयौं भिड्न
कि त च्यात पण्डित बाजे विभेदका पाना
कि त देऊ मन लागेको धर्म मान्न जान !
के लेखेको ‘ढोल गवार पशु शूद्र नारी’ ?
मानिसको इज्जतलाई पशुसँग झारी
धर्म शास्त्र भन्नु रैछन अन्यायका पोका
राम्रो लेख्या होला भन्थ्यौं पाइएछ धोका !
‘पद्भ्यां शूद्रो अजायत’ के रे के रे भन ?
‘ब्राम्हणोस्य मुखमासित’ यो कस्तो गन्थन ?
हजार वर्ष ढाट्यौ ठग्यौ अझै कति ठग्छौ ?
बाढी आयो चेतनाको अब तिमी बग्छौ !





























