आफ्नो निर्धारित सिद्धान्त, मूल्य, मान्यता र आदर्श भुलेपछि राजनीतिक पार्टीहरुको दुर्दशा कस्तो हुँदोरहेछ भन्नेकुरा हाल नेपालका नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रत्यक्ष प्रदर्शन गरिरहेका छन् । नेपाली कांग्रेस स्थापना कालदेखिनै नीति नभएर नेता प्रधान पार्टी रहँदैआएको हुनाले सो पार्टीको बिचार, बिधि र पद्धतिकाबारेमा टिकाटिप्पणी गरिरहनुको कुनै अर्थ छैन । तैपनि सो पार्टीको गत केन्द्रिय समितिको बैठकमा बिभिन्न प्रश्नहरु उठेका थिए । खासगरी ०४६ को परिवर्तनपछि त नेपाली कांग्रेस विदेशी शक्ति नजिक हुने र जसरी पनि सत्ता र शक्तिमा टिकिरहने अभ्यासमा लागेको देखिएको छ । तर ०४६ सालको परिवर्तनपछि संसदीय बहुदलीय ब्यवस्थाका बिरुद्ध ०५२–०६२ सम्म जनयुद्ध गरेको भनिएको पार्टी माओवादी केन्द्र आज जेजस्तो अवस्थामा त्यही नेपाली कांग्रेसको छत्र छायाँमा पुगेको छ, त्यसलेभने सबैलाई आश्चर्यचकित बनाएको छ । माओवादी केन्द्रका नेताहरु चारपटक देशको कार्यकारी प्रमुख भए तर माओवादीले ०५२ मा अगाडि सारेका कुनैपनि मागहरु पूरा भएनन् । माओवादी केन्द्रले मालेमाको सिद्धान्तलाई भुल्यो । कम्युनिष्ट पार्टीहरुसँगको सम्बन्ध टुट्दै कांग्रेसलगायतका अन्य दक्षिणपन्थी पार्टीहरुसँगको सहकार्य बढ्यो । पार्टी संगठनमा बिधि र पद्धतिभन्दा ‘आयाराम गयाराम’ नीतिले प्रमुखता पायो । हेर्दा ‘रुपमा’ माओवादी, ‘सारमा’ माओवाद बिरोधी पार्टीकोरुपमा रुपान्तरित भयो । गत ०७९ मंसिर चारको निर्वाचनले माओवादी केन्द्रलाई सरकारमा जाने जनादेशनै दिएको थिएन । नेपाली कांग्रेसलगायतका झण्डै आधादर्जन दक्षिणपन्थी पार्टीहरुसँग चुनावी गठबन्धन गरेर पनि सरकारमा जाने जनादेश नपाएको माओवादी केन्द्रले बिभिन्न ‘तिकडमबाजी’ गरेर सत्ताको बाग्डोरनै हातमा लिएको छ । जसलेगर्दा माओवादी केन्द्रका नेताहरु अवसरवादी भएको प्रचार भैरहेको छ । स्वयं सत्ता गठबन्धनमै रहेपनि नेपाली कांग्रेस र जसपालगायतका पार्टीहरु सरकारको नेतृत्वप्रति असन्तुष्ठ देखिएका छन् ।
नेकांका नेताहरु डा. शेखर कोइराला र गगन थापाहरुले त बर्तमान सरकारको खुलेर बिरोध गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत शनिबारमात्र पनि झापाको एक कार्यक्रममा जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनु भएको थियो । उहाँले खुलेरै सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलापगर्दा समाजले आत्मविश्वास गुमाएको टिप्पणी पनि गर्नुभयो । गत शनिबारनै रुपन्देहीको बुटवलमा एमालेका नेताहरुले बर्तमान सरकार र मुख्य त प्रधानमन्त्रि दाहालको कटु आलोचना गरेको देखियो । समाजवादी मोर्चामार्फत माओवादी केन्द्रसँग सहकार्यमा रहेको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी प्रकरणका कारण मोर्चा परित्यागगर्ने सम्मको कुरा उठाउन थालेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बर्तमान सरकारका गतिबिधिमाथि कटु आलोचनागर्दै देशभर आन्दोलन सञ्चालन गरेको छ । यस्तो अवस्थामा माओवादी केन्द्रको नेतृत्वले गत १६ गते शनिबारबाट तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गरेको छ । जुन अभियानमा परिचालित हुने पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्त र बिचारको नभएर सरकारले देशमा भ्रष्टाचार उन्मूलन गरेको र सुशासन कायम गरेको प्रचारगर्ने म्याण्डेट दिइएको छ । माओवादी केन्द्रका सत्तामा रहेका कतिपय नेताहरुले तीन महिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबीगरेका छन् । उनीहरुले आगामी मंसिरमा हुने विधान सम्मेलन र त्यसपछि हुने विशेष महाधिवेशनबाट आफ्नो पार्टी शक्तिशाली बन्ने ठोकुवा पनि गरेका छन् । व्यवस्था परिवर्तनको लडाईं माओवादीले गरेकाले सामाजिक तथा आर्थिक रुपान्तरण पनि माओवादीलेनै गर्ने पनि उनीहरुको दाबि देखिएको छ । राष्ट्रिय कार्यभारमा राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने, संघर्षपछि प्राप्त उपलब्धीको रक्षागर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने, नागरिकको जीवनमा देखिनेगरी परिवर्तनगर्ने, देशमै श्रम र रोजगारीको सुनिश्चितगर्ने, शान्ति प्रक्रियालाई पूरागर्ने र समाजवादको आधार तयारगरी समाजवादी नेपालको निर्माण गर्नेभन्दै भाषण गरेको पनि देखिएको छ । तीन महिने अभियानको उद्घाटनगर्दा पनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालले पार्टीको बिचार र संगठनकाबारेमा खासै संझना गरेको देखिएन । उहाँले आफूहरु सत्ता र शक्तिमा आएपछि जताततै हराभरा भएको, हरियालीले छाएको र सुशासन बढेर रामराज्य नजिक पुग्नलागेको चर्चा गर्नुभएको देखियो । बर्तमान सरकारका कमी कमजोरी औल्याउने र पार्टीमा सही बिचार र चुस्त संगठनको कुरागर्नेहरुलाई प्रतिगामीको संज्ञा दिइएको छ । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समितिको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेपनि त्यसअघि समाजवादी मोर्चाको देशब्यापि अभियान सञ्चालन गरियो । जसमा मोर्चामा सामेल घटकहरुकै बीचमा एकातिर आपसी आशंका र असन्तोषहरु ब्यक्त भएका थिएभने अर्कातिर माओवादी केन्द्रकातर्फबाट बोल्ने नेताहरुबाट पनि पार्टीकोभन्दा सरकारको गुनगानमै बढी समय खर्च भएको थियो । जसलेगर्दा माओवादी केन्द्रको तीन महिने अभियान पार्टीको प्रचारका लागि होकि समाजवादी मोर्चा र सरकारको प्रचारका लागि हो ? भन्ने भ्रमको सिर्जना भएको छ ।
गत साउनको १७ देखि २१ गतेसम्म काठमाडौंको कमलादीमा बसेको सो पार्टीको बैठकमा पनि पार्टीको बिधि र पद्धतिको कुरा उठेको थियो । नेतृत्वलेनै पार्टीलाई बिधि र पद्धतिअनुसार चल्न नदिएको भन्ने लगायतका कुराहरु पनि उठे । तीन महिने अभियानमा पनि ति कुराहरु उठ्नेवाला छन् । तर त्यसको कस्ले उत्तर दिने ? अध्यक्ष तथा प्रधानमन्त्रि दाहालले सो बैठकमा पार्टीलाई चुस्त/दुरुस्त बनाउन कडा कदम चाल्ने घोषणा गर्नुभएको थियो । तर सो बैठकको समापनपछि अध्यक्ष दाहालनै आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताउन थाल्नुभएको छ । उहाँ आफैले माओवादी केन्द्र पार्टी र नेतृत्वमाथि घेराबन्दी भइरहेको तथा नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेकोभन्दै आश्चर्य लाग्दो अभिब्यक्ति दिन थाल्नुभएको छ । माओवादी केन्द्रले यसअघि गत माघमा भएको स्थायी समितिको बैठकपछि चैतसम्म दुई महिने पार्टी सुदृढिकरण अभियान सञ्चालन गरेको भनिएको थियो । फागुन र चैत महिना पार्टी संगठन तथा जनसम्बन्ध सुदृढ अभियान चलाउने भनिएपनि त्यो सञ्चालननै हुन सकेन । अभियान अन्तर्गत पार्टीका पदाधिकारीसहित केन्द्रीय सदस्य जनताको घरमा पुगेर पार्टी निर्माणमा लाग्ने बताइएको थियो । पार्टी र सरकारलाई जोडेर जनताको समस्या समाधानमा केन्द्रित हुने भनिए पनि नेताहरुले जनतासम्म पुग्न चासो देखाएनन् । ०७८ को पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन भएको थियो । महाधिवेशनले देशमा जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको बिशिष्ट र ऐतिहासिक जिम्मेवारी सम्पन्नगर्ने उर्जा पैदागरेको भनिएको थियो । आठौं महाधिवेशनमा प्रस्तुत दस्तावेज र त्यतिबेला भएका बहसमा उठेका कुराहरु पनि महाधिवेशन सकिएको भोलिपल्टैबाट हराएका थिए ।
०६३ को परिवर्तनपछि माओवादी केन्द्र कहिले कांग्रेस र कहिले एमालेमा पस्दापस्दै अधिकांश समय बर्वाद भयोभने कतिपय नेता तथा कार्यकर्ताहरु उत्तै बसे । एमाले र माओवादी केन्द्रबीच एकता गरेर शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरियो । सो पार्टी गठन भएको तीनवर्ष नपुग्दै बिवाद चर्को भयो । २०७७ फागुन २३ गते अदालतको एक फैसलालाई बहाना बनाएर फेरी एमाले र माओवादी केन्द्र अलग भए । माओवादी केन्द्रले एमालेसँग पार्टी एकतागर्दा माओवाद परित्याग गरेको थियो । तर त्यसबाट अलग भएपछि पनि फेरी त्यसलाई अपनाए/नअपनाएको कुनै स्पष्ट गरेको छैन । सो पार्टीका कतिपय नेताहरुलेनै हामी नाममा कम्युनिष्ट भएपनि कम्युनिष्टजस्ता भएनौं भनेको सुनिन थालेको छ । नेताहरुको बुर्जुवाकरण भएको कुरा पनि उठेको छ । माओवादी केन्द्र चुनावदेखि चुनावसम्म, मन्त्रीदेखि मन्त्रीसम्म र सांसददेखि सांसदसम्म मात्रै जाने पार्टी बनेको कुरा पनि उठेको छ । आज पनि पार्टीको नाम माओवादी केन्द्र छ । तर नीति तथा कार्यक्रममा नेपाली कांग्रेसको सिको भैरहेको छ । नेपाली कांग्रेस र जसपाजस्ता पार्टी मित्रु र क्रान्तिकारी कम्युनिष्ट पार्टीलगायतका कम्युनिष्ट पार्टीहरु मुख्य दुश्मनजस्ता भएका छन् । समाजवादी मोर्चामार्फत नयाँ एमालेका रुपमा गठन भएको एकीकृत समाजवादी लगायतका पार्टीहरुसँग सहकार्य भएको छ । यसरी माओवादी केन्द्रका समस्या एकातिर र तीन महिने अभियान अर्कातिर भएको देखिएको छ । यो अभियान राष्ट्रिय राजनीतिमा भ्रम सिर्जनागर्ने र समय लम्ब्याउने कुरा मात्र हुने देखिएको छ ।






























