दर्शन : दार्शनिक फाँटमा द्वन्द्ववादका नियम तथा सिध्दान्तहरु

दर्शन : दार्शनिक फाँटमा द्वन्द्ववादका नियम तथा सिध्दान्तहरु

दार्शनिक फाँटमा तीन नियमहरु ( १) विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियम , (२) मात्रात्मक परिवर्तनमा गुणात्मक फड्कोको नियम र (३) सकार नककार र नकार सकारको नियम द्वन्द्ववादका यी तीन नियमहरु अन्तर्विरोधका आधारभूत नियमहरु हुन् , जसलाई तल बृस्त्रित रुपमा व्याख्या गर्ने प्रयत्न गरिनेछ , यी तीन नियमहरु प्रकृति ( वस्तु ) , समाज , विचारधारा आदि क्षेत्रमा लागु हुन्छ । प्रकृति , समाज , विचारधारा लगायत हरेक क्षेत्रमा विद्यमान रहने अन्तर्विरोधका नियमहरु यसै भित्र पर्दछ र यिनै द्वन्द्ववादका तीन नियमका आधारमा समाधान गरिन्छ ।
दार्शनिक क्षेत्रमा रहेका द्वन्द्ववादका यी तीन नियमहरु अत्यन्तै गहन विषय हुन् । दार्शनिक ज्ञान आर्जन गर्न चाहने र संसारलाई बुझ्न , व्याख्या विश्लेषण गर्ने बदल्न जो कोहीले पनि द्वन्द्वात्मक भौतिकवादका यी तीन आधारभूत नियमहरुलाई नबुझिकन , गहन अध्ययन नगरिकन र त्यसका सामान्य भन्दा पनि सामान्य नियमहरु नबुझिकन प्रकृतिका क्षेत्रमा , सामाजिक जीवनका क्षेत्रमा , विचारका क्षेत्रमा पैदा हुने अन्तर्विरोधहरुलाई , प्रधान अन्तर्विरोध तथा गौण अन्तर्विरोधहरु खुट्याएर ती अन्तर्विरोधहरुलाई वैज्ञानिक तथा व्यवहारिक रुपले समाधान गर्न सकिने विषय भएकोले यसका नियमहरुलाई गहराइमा पुगेर अध्ययन गर्न र बुझ्न जरुरी हुन्छ । त्यसैले यी नियमहरुलाई् सर्वसाधारण अध्ययताहरुलाई समेत बुझ्न सहयोग हुने अपेक्षाका साथ सकेसम्म सरल भाषा , शैली र शब्दावलीहरु तथा पदावलीहरु राख्ने प्रयत्न गरिएको छ ।
( १) विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियम :
सर्वप्रथम हामीले यो कुरा बुझ्न जरुरी छ कि विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियम भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । यो नियमलाई नबुझिकन बाँकी अन्य दुई नियमहरुलाई बुझ्न सकिदैन । भौतिकवादी द्वन्द्ववादका विषय माथि पढिसकेका छौ । यसलाई सरल ढंगले बुझ्ने गरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता भी. आई. लेनिनले बताउनु भएको छ । उहाँले विपरीत तत्वहरुबीच एकता ,संघर्ष र रुपान्तरणको निगमलाई “ “ “द्वन्द्ववादको गुदी “ बताउनु भएको छ । यस अनुसार हामीले के कुरा बुझ्नुपर्छ भने हरेक वस्तुमा दुई अन्तर्विरोधपूर्ण पक्ष हुन्छन् , ती आपसमा लडिरहेका हुन्छन् , ती आफ्नै अस्तित्वका लागि एक अर्कोसित आन्तरिक रुपले गाँसिन बाध्य भएका हुन्छन् । ती दुबै पक्ष गतिशील र सजीव हुन्छन् र कुनै खास अवस्थामा ती एक अर्कोमा बदलिन्छन् ।
अब हामी गहिरिएर , समुद्रको सतहमा पुगेझै गरी यस विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियमकाबारेमा बुझ्न तयार हुन्छौं । हामीले के पाउँछौं भने विरोधीहरु आफ्नो अस्तित्वका लागि कसरी एकरूप हुन्छन् र ती कसरी एक अर्कोमा बदलिन पुग्छन् ? यसबाट स्पष्ट हुनका लागि हामीले एउटा उदाहरण लिन सक्छौ कि आज पुँजीवादी समाज एउटा वस्तु हो , त्यसमा पुँजीपतिवर्ग सर्वहारावर्ग जस्ता परस्पर अन्तर्विरोधपूर्ण पक्ष छन् । हामीले देखिरहेका छौ दुबै वर्गका स्वार्थ बेग्लाबेग्लै छन् ।तर पनि ती आन्तरिक रुपले आपसमा गाँसिएका छन् र उनीहरूबीच एकता पनि ।
त्यस्तै प्रकृति र सामाजिक जीवनका हरेक क्षेत्रमा यो बराबर लागु हुन्छ । जस्तो कि गणितमा जोड र घटाउ , यन्त्र विज्ञानमा क्रिया र प्रतिक्रिया ,, भौतिक विज्ञानमा ऋणात्मक र धनात्मक विद्युत , रसायन विज्ञानमा परमाणुहरुको संघटन र विघटन , समाज विज्ञानमा – वर्गसंघर्ष र सैन्य विज्ञानमा आक्रमण र रक्ष , दर्शनशास्त्रमा – आदर्शवाद र भौतिकवाद अर्थात् अधिभुतवाद र द्वन्द्ववाद आदि ।
यसैगरी समाज विज्ञानकै क्षेत्रमा हामी देख्दछौ कि पुँजीपतिलाई माल उत्पादनका लागि श्रमशक्ति किन्नुपर्ने र मजदुरलाई आफ्ना आवश्यकता पुरा गर्नका लागि श्रमशक्ति बेच्नु पर्ने बाध्यता छ । हामीले स्पष्टरुपमा बुझ्नुपर्छ कि यही नै विपरीत तत्वबीचको एकता हो । किनभने एकको उपस्थितिबिना अर्कोको अस्तित्व हुँदैन । जस्तै पुँजीपति हुदैन भने मजदुर पनि हुँदैन । संगसंगै भएर पनि फेरि उनीहरूबीच तीव्र संघर्ष पनि चलिरहेको छ । माल उत्पादन गरिसकेपछि पुँजीपतिले मुनाफा बढाउन चाहन्छ भने त्यसको ठिक उल्टो सर्वहारा ( मजदुर ) वर्गले मजदुरी ( ज्याला ) बढाउन चाहन्छ । मजदुरी नघाटाई पुँजीपतिलाई मुनाफा बढ्दैन भने मुनाफा नघटाई मजदुरलाई मजदुरी ( ज्याला ) बढ्दैन । मुनाफा र मजदुरी ठिक उल्टा कुरा हुन् । यसरी मुनाफा र मजदुरीको खिचातानीलाई लिएर पुँजीपति र मजदुरकाबीच हुने लडाइँ परस्पर विरोधी पक्षकाबीचको संघर्ष हो । दुबैकाबीच यो संघर्ष ( वर्गसंघर्ष ) लगातार बढ्दै जान्छ र आखिरमा पुँजीपतिवर्ग शासितकवर्गका रुपमा बदलिन पुग्छ र शासित सर्वहारा ( मजदुर ) वर्ग चाहिँ शासक वर्गको रुपमा बदलिन पुग्छ।
त्यस्तै ज्ञान – सिध्दान्तका क्षेत्रमा जुन दार्शनिक प्रवर्गहरु छन् , तिनमा पनि यही नियम लागु हुन्छ । उदाहरणका लागि पदार्थ र गति , पदार्थ र चेतना , कारण र कार्य , मात्रा र गुण , सार ( अन्तर्वस्तु) र रुप , आवश्यकता र मौका , वास्तविकता र संभावना , सामान्य र विशेष आदि दार्शनिक प्रवर्गहरु एक अर्को विरोधी पक्षसंग घनिष्ठरुपले गाँसिएका छन् र ती खास परिस्थितिमा एक अर्कोमा बदलिन पुग्दछन् ।
साथै प्रकृति , वस्तु र सामाजिक जीवनका हरेक क्षेत्रमा विरोधीहरुबीच एकता र संघर्ष पाइन्छ । हरेक विरोधी पक्षहरु आ– आफ्नो अस्तित्वका लागि परस्पर मिल्न बाध्य हुन्छन् । प्रकृतिमा दिन नभई रात हुन्न , रात नभई दिन हुन्न , चिसो नभई तातो हुन्न , तातो नभई चिसो हुन्न । गह्रौं नभई हलुको हुन्न , हलुको नभई गह्रौ हुन्न । ठूलो नभई सानो हुन्न , सानो नभई ठूलो हुन्न । अग्लो नभई होचो हुन्न , होचो नभई अग्लो हुन्न । बलियो नभई नर्बलियो हुन्न , निर्बलियो नभई बलियो हुन्न । जीवन नभई मृत्यु हुन्न , मृत्यु नभई जीवन हुन्न । शोसक नभई शोषित हुन्न , शोषित नभई शोषक हुन्न । असामी नभई साहु हुन्न , साहु नभई असामी हुन्न । राम्रो र नराम्रो ,, नयाँ र पुरानो , सत्य र असत्य , न्याय र अन्याय , मालिक र नोकर आदि यसै कुराका उदाहरण हुन् ।
विचारका क्षेत्रमा जस्तो कि कम्युनिस्ट पार्टी भित्र सही र गलत पक्षबीच जुन अन्तर्संघर्ष ( दुईलाईन संघर्ष ) चल्छ , त्यो पनि यसै कुराको उदाहरण हो । वस्तुमा रहेका उक्त विरोधी पहलुहरु जब एक अर्कोमा बदलिन्छ , त्यो बेला एकताको पुरानो प्रक्रिया भत्किन्छ र नयाँ प्रक्रियाको थालनी हुन्छ । यो प्रक्रिया निम्नबाट उच्चस्तरमा विकसित हुँदै निरन्तर अगाडि बढ्छ ।
विरोधी पक्षहरुको एकता र संघर्षबारे चर्चा गर्दैगर्दा हामीले यी दुई कुरामा ध्यान दिनु आवश्यक हुन्छ पहिलो : एकता र संघर्ष छुट्टाछुट्टै क्रममा अर्थात् कहिले एकता र कहिले संघर्षका रुपमा होइन , एकैसाथ संगसंगै चल्ने गर्दछन् । दोस्रो : त्यसप्रकारको एकता केवल क्षनिक , अस्थायी र सापेक्ष कुरा हुन्छ र त्यसमा संघर्षको प्रक्रिया नै निरपेक्ष रुपमा अगाडि बढिरहेको हुन्छ । आखिरमा गएर यो संघर्षमा पुरानो पक्षमाथि नयाँको , खराब पक्षमाथि असल पक्षको , विनासशील पक्षमाथि विकासशील पक्षको विजय सुनिश्चित हुन्छ । त्यसैले वर्गसंघर्षको भीषण प्रक्रिया अन्तर्गत सामन्त , पुँजीपति , विस्तारवादी , प्रभुत्ववादी , साम्राज्यवादी र तमाम प्रकारका शोषकहरुको हार र मेहनतकस जनता वा सर्वहारा वर्गको जीत अबश्यंभावी बन्छ ।
(२) मात्रात्मक परिवर्तनमा गुणात्मक फड्कोको नियम :
कुनै वस्तुमा दुई परस्पर विरोधी पक्षहरुबीच संघर्ष चल्दै जाँदा कुनै एक पक्षको विजय हुन्छ वा नयाँ तत्वको विकास हुन्छ , त्यसैलाई परिवर्तन भनिन्छ । परिवर्तन दुई प्रकारका हुन्छन् :
( क) मात्रात्मक र
( ख) गुणात्मक ।
कुनै वस्तुमा क्रमिक विकास मात्र हुनु तर त्यसको स्वरूप र गुणमा कुनै फरक नदेखिनु मात्रात्मक परिवर्तन हो । फड्को मारेर त्यसको स्वरुप र गुणमै फरक देखिनु गुणात्मक परिवर्तन हो । उदाहरणका लागि पानी क्रकश: तातिनै जानु। मात्रात्मक परिवर्तन हो । त्यतिखेर पानी त तात्छ तर त्यो पानी नै हुन्छ र त्यसमा पानी कै गुण हुन्छ । जस्तै १०० डिग्री से. ग्रे. तापक्रममा पुग्छ पानी उम्लेर वाफ बन्छ । त्यतिखेर पानी नै रहन्न , त्यसको स्वरूप र गुण पनि फेरिएर त्यसभन्दा बेग्लै वाफको स्वरूप र गुण देखिन्छ । यो गुणात्मक परिवर्तन हो ।
कार्ल मार्क्स ( १८१८– १८८३) र फ्रेडरिक एंगेल्स ( १८२०– १८९५ ) द्वारा मार्क्सवाद र मार्क्सवादी दर्शनको प्रतिपादन र अण्वेषण पश्चात् मार्क्सवादको पथप्रदर्शनमा ठूला ठूला सामाजिक ( राजनीतिक ) क्रान्तिहरु सम्पन्न भए । सामाजिक क्रान्ति पनि यसै परिवर्तनका फल हुन् । उदाहरणका रुपमा यो लिन सकिन्छ कि जस्तो सन १९१७ अक्टोबर २५ ( नयाँ पात्रो अनुसार नोभेम्बर ७ ) महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यो एक युगान्तकारी कदम थियो । रुसको सर्वहारा वर्गले पहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा सचेत र संगठित हुँदै गयो । सन १९०५ मा सशस्त्र विद्रोह गर्यो । त्यो विद्रोह असफलतामा टुंगियो । रुसको सर्वहारा वर्गले तमाम प्रकारका सफलता र असफलताका सकारात्मक र नकारात्मक अनुभवबाट आफूलाई सक्षम बनाउँदै लग्यो ।त्यो मात्रात्मक परिवर्तन थियो ।आखिरमा जब उसले १९१७ अक्टोबरमा पुगेर पुँजीपतिवर्गलाई ध्वस्त पारी आफू सत्ताधारी बन्यो ।त्यो गुणात्मक परिवर्तन थियो । त्यसै परिवर्तनले गर्दा पहिलेको शासक वर्ग ढल्यो र त्यतिखेरको शासित सर्वहारा वर्ग शासक बन्न पुग्यो । त्यो मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा फड्को मार्यो । रुसको व्यवस्थामा नै मौलिक परिवर्तन भयो । नयाँ सर्वहारा वर्गीय सत्ताको जन्म भयो । यो सकारात्मक पक्ष हो । नयाँ युगको जन्म गरायो अक्टोबर क्रान्तिले ।
अर्को नकारात्मक पक्ष पनि विद्यमान रहेको हुन्छ । कुनै बेला परिवर्तन उल्टो दिशातिर पनि हुने गर्दछ ।जस्तो कि १९५३ मा तत्कालीन रुसी महासंघका नेता स्टालिनको मृत्यु भयो । त्यत्पश्च्यात रुसमा प्रतिक्रान्ति भयो । सोभियत समाजवादी व्यवस्था ढल्यो । सन १९७६ माओ त्सेतुङको निधन भयो । त्यस पश्चात् चीनमा प्रतिक्रान्ति भयो । साथै नेपालमा पनि शान्ति प्रक्रियासंगै नेपाली माओवादी आन्दोलनमा पनि प्रतिक्रान्ति भयो । महान् दश वर्षे जनयुद्धबाट प्राप्त भएका उपलब्धिहरु गुम्न पुगे । परन्तु त्यो क्रान्तिको लामो र जटिल प्रक्रियाभित्रको अस्थायी हार मात्र हो र अन्तिम अर्थमा परिवर्तन सुल्टै दिशामा हुन्छ । यो विज्ञानको नियम हो । गतिको नियम हो ।
परिवर्तन भनेकै विकास हो । विकास भनेको विरोधीहरुबीचको संघर्ष हो । कुनै पनि चीजको विकास समान ढंगले हु सक्दैन ।अन्तर्विरोधका प्रधान र अप्रधान ( गौण ) पहलु हुने परिवर्तनको क्रममा यसो हुन्छ । त्यसैले क्रान्ति , परिवर्तन वा विकासलाई सरल होइन , बक्र र असमान ढंगले हुने विकासका रुपमा ग्रहण गर्नुपर्ने हुन्छ ।
मात्रात्मक परिवर्तनको गति सर्प जस्तै सुल्ल सुल्ल हुन्छ । तर गुणात्मक परिवर्तनको गति भने भ्यागुताको जस्तै ठाउँ छोडेर उफ्रिने हुन्छ । दक्षिणपन्थी अवसरवादीहरुले मात्रात्मक परिवर्तनलाई मात्र जोड दिन्छन् । जस्तै नेपालका नामधारी कम्युनिस्टहरू पटकपटक सरकारमा जाने र सामान्य सुधारका कार्यलाई मात्र जोड दिन्छन् र सबथोक भइसक्यो भन्ने कुप्रचार गर्दै आएका छन् । त्यस्तै उग्रपन्थी अराजकतावादीहरुले गुणात्मक परिवर्तनलाई मात्र जोड दिन्छन् । क्रान्तिकारीहरुले मात्रााात्ममक परिवर्तनको आवश्यकतामाथि ध्यान दिदै गुणात्मक परिवर्तनतर्फ जोड दिइरहेका हुन्छन् ।
हामीले बुझ्ने कुरा के हो भने संसारमा कुनै पनि वस्तु स्थायी छैन । हरेक वस्तु परिवर्तनशील छ । जस्तो अहिले प्रतिक्रियावादीहरुको सत्ता बलियो जस्तो र जनताको स्थिति कम्जोर देखिए पनि यो क्षणिक एवं अस्थायी कुरा हो । परिवर्तनको क्रममा त्यो सत्ता त्यो सत्ता कम्जोर र जनताको स्थिति मजबुत हुँदै जान्छ । कुनै जमान जार , हिटलर , च्याङकाइसेक पनि धेरै मजबुत थिए तर जनताको सामुन्ने उनीहरूको हार भएरै छाड्यो ।
हाम्रै देश नेपालमा पनि १०४ वर्षसम्म जनताको बीचमा बिगबिगी मच्चाएको राणा शासन खतम भयो ४० वर्षसम्म हैकम जमाउदै आएको निरंकुश पञ्चायती व्यवस्था ढल्यो । २४० वर्षीय सामन्ती राजतन्त्रको अन्त्य भयो । अहिलेको संसदीय व्यवस्थालाई कम्युनिस्ट – काँग्रेसरुपी खच्चडहरुले अजम्मरी देखाउन कोसिस गरिरहेका भए पनि प्रस्तावित महान् नेपाली नयाँ जनवादी क्रान्तिका सामु त्यो कुनै दिन पक्कै धराशायी बन्ने निश्चित छ । किनकि विकासको प्रक्रियामा नयाँले पुरानोको लिएरै छाड्छ । त्यसो भएर नै माओ त्सेतुङले “ ध्वंसबीना निर्माण हुन्न “ भन्नुभएको छ ।
आजको युग साम्राज्यवाद र सर्वहारा बीचको भीषण संघर्षको युग हो । र गतिशील युग हो । यो विज्ञानले पुष्टि गरिसकेको कुरा हो । त्यसैले विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ । मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्कोको नियम बमोजिम नै समाज विकासको क्रममा वर्गबिहिन राज्यबिहीन वैज्ञानिक साम्यवादको जन्म हुनेछ

(३) निषेधको निषेध नियम :
: प्रकृति विज्ञान ( वस्तु ) को क्षेत्रमा फ्रेडरिक एंगेल्सको विश्लेषण अनुसार कुनै वस्तुलाई हटाई त्यसको ठाउँ ओगट्ने , वस्तुलाई अर्को वस्तुले हटाउँछ र फेरि त्यसको ठाउँ ओगट्छ । यो प्रक्रिया पुरा हुदा उही कुरा दोहोरीएको जस्तो देखा पर्छ , तर त्यस्तो भएको हुँदैन । बरु पहिलेको वस्तु भन्दा गुणात्मक रुपले बेग्लै नयाँ वस्तुको जन्म भएको हुन्छ । यसै प्रक्रियालाई निषेधको निषेध भनिन्छ ।
उदाहरणका रुपमा मकैको गेडा रोपेपछि बिरुवा उम्रन्छ , बिरुवाले मकैको दाना निषेध गर्दछ । यो पहिलो निषेध भयो । मकैको बिरुवा बढ्दै जान्छ र त्यसमा घोगा लाग्छ , त्यसले पाकेपछि बोटको निषेध गर्दछ । यो दोस्रो निषेध भयो ।
त्यस्तै सामाजिक विज्ञानको क्षेत्रमा प्रारम्भिक आदिम साम्यवादलाई पहिलो वर्ग समाज दास समाज व्यवस्थाले निषेध गर्यो । दास युगिन सामाजिक व्यवस्थालाई सामन्ती सामन्ती सामाजिक वर्गीय व्यवस्थाले निषेध गर्यो । पुँजीवादी ( क्रान्ति ) व्यवस्थाले सामन्ती व्यवस्थालाई निषेध गर्यो । नयाँ जनवादी तथा वैज्ञानिक व्यवस्था ( क्रान्ति ) पुँजीवादी व्यवस्थालाई निषेध गरेर वैज्ञानिक साम्यवादको स्थापना गर्नेछ ।
त्यस्तै दार्शनिक क्षेत्रमा पहिले स्वत: स्फुर्त भौतिकवाद थियो । त्यसलाई यान्त्रिक भौतिकवादले निषेध गर्यो , फेरि त्यो यान्त्रिक भौतिकवादलाई द्वन्द्वात्मक भौतिकवादले निषेध गर्यो ।
अब हामी हेरौं , मकैको गेडाको ठाउँमा मकै , साम्यवादी समाजको ठाउँमा साम्यवादी समाज र भौतिकवादको ठाउँमा भौतिकवाद आउन पुग्यो । यहाँ वस्तु पुन: दोहोरीएजस्तो देखिन्छ तर त्यो होइन , पहिलेको वस्तुभन्दा गुणात्मक रुपले बेग्लै वस्तुको जन्म भएको हो । यो नियम पनि प्रकृति र सामाजिक जीवनको क्षेत्रमा व्यापक रहेको छ । हरेक ऋतुले अर्को ऋृतुको निषेध गर्दछ । जस्तै पहाडहरु भएको ठाउँमा महासागर र महासागर भएको ठाउँमा पहाडहरु बन्दछन् । यसबाट के निष्कर्षमा पुगिन्छ भने सृष्टिको हरेक प्रक्रिया निषेधको निषेधमा आधारित छ ।
यसमा प्रश्न उठ्न सक्छ – त्यसो भए भावी साम्यवाद वर्गसााजको निषेधबाट जन्मने भएको र हरेक वस्तुमा निषेधको निषेध नियम लागु हुने भएकोले के त्यसको पनि निषेध हुदैन ? यस प्रश्नका उत्तर हुन् : ेृ
पहिलो यो नियम लागु हुनका लागि परस्परविरोधी पक्षहरुबीच संघर्ष हुनु आवश्यक सर्त हो ।भावी साम्यवादी समाजमा परस्परविरोधी वर्गहरुबीच संघर्ष नहुने भएकोले त्यो समाजको निषेध हुदैन । दोस्रो – जुन वस्तुको जन्म हुन्, त्यो वस्तु मर्दछ ।साम्यवादी समाज पनि जन्मिने भएकोले त्यसको पनि मृत्यु निश्चित छ । आखिर यो पृथ्वी पनि मर्दछ । यिनमा पहिलो कुरा सापेक्ष रुपमा र दोस्रो कुरा निरपेक्ष रुपमा सत्य हुन् ।
दार्शनिक फाँटमा माओ त्सेतुङले गरेको विकास :
दार्शनिक फाँटमा द्वन्द्ववादका नियम र सिध्दान्तहरुबारे अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता तथा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले विकास गर्नुभएको छ –
(१) विपरीत तत्त्वको एकत्व । कम्युनिस्ट पार्टी विपरीत तत्वको एकत्व भएको र कम्युनिस्ट पार्टीभित्र चल्ने दुई लाईन संघर्ष पार्टीको ज्यान भएको बताउनु भएको छ र पार्टी भित्र दुई लाईन ( विचारधारात्मक : संघर्ष ) समाप्त भए , पार्टीको मृत्यु हुने कुरा बताउनु भएको छ
(२) कुनै पनि वस्तु , प्रकृति र मानव समाजको निधेषको निषेध होइन , सकार – नकार , नकार – सकारको सिध्दान्त स्थापित गर्नु भएको छ र नकारात्मक पक्षलाई पन्छ्याउनले र सकारात्मक पक्षलाई समेट्ने कुरा बताउनु भएको छ ।
(३) एकको दुईमा विभाजन ।
(४) ज्ञान – सिध्दान्तको क्षेत्रमा – दुई छलाङको सिध्दान्त । व्यवहार ज्ञान व्यवहारको वैज्ञानिक सूत्रीकरण र ज्ञानका दुई चरणको आविस्कार । प्रतिपादन गर्नुभएको छ ।
(५) अन्तर्विरोधका सन्दर्भमा : आधारभूत अनणतर्विरोध ,प्रधान अन्तर्विरोध , अन्तर्विरोधको प्रधान पहलु , अन्तर्विरोधको पहिचान तथा परिचालन विधि

(६) दर्शन संघर्षको हुने भन्दै माओ त्सेतुङले दर्शनको जन्म वर्गसंघर्षकोबीचबाट हुने बताउनु भएको छ । र , मार्क्सवादी दर्शनलाई संघर्षको दर्शन भन्नुभएको छ ।
निष्कर्ष :
यहाँ दार्शनिक फाँटमा रहेका द्वन्द्ववादका नियम र सिध्दान्तहरुका बारेमा कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५) द्वारा द्वन्द्ववादका तीन नियमहरु र सिध्दान्तहरुका साथै लेनिन र माओ त्सेतुङले विकास गर्नु भएका सिध्दान्त र नियम र शिक्षाहरुलाई समेत समावेश गरिएको छ ।
द्वन्द्ववादका यी तीन नियमहरुको अध्ययनबाट हामी के पाउँछौं परिवर्तनको मुख्य कारण परस्परविरोधी तत्वहरुबीच आन्तरिक संघर्ष नै प्रमुख हो र परिवर्तनको मुख्य कारण आन्तरिक हुन्छ र बाह्य कारण कारण सहयोगी मात्र हुन्छ ।
यी विषयहरु दर्शनसंग सम्बन्धि भएकाले यसको अध्ययनलाई छिपछिपेबाट गहिराइतिरबाट , सरलबाट जटिलतिरबाट विकास गर्दै दार्शनिक ज्ञान भण्डारलाई समृद्ध प्रार्दै अगाडि बढ्नुपर्ने हुन्छ । त्यसैले सर्वसाधारण अध्ययताहरु समेतलाई पढ्न र बुझ्न सजिलो हुनेछ भनेर यस आलेखमा सकेसम्म सरल भाषा , शब्द र शैली प्रयोग गर्ने प्रयास गरिएको छ । तैपनि समस्या सिमारहित हुन सक्तैन । थुप्रै कमीकमजोरी अवश्यै छन् , सच्याउन सहयोगको अपेक्षा राखेको छु ।
( लेखक – क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका सचिवालय सदस्य हुनुहुन्छ ।)