सर्वोच्चको आदेशसँगै माधव नेपाल लागे युरोपतिर, बाबुरामले भने– अनुसन्धानलाई सघाउँछु

सर्वोच्चको आदेशसँगै माधव नेपाल लागे युरोपतिर, बाबुरामले भने– अनुसन्धानलाई सघाउँछु

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्विट्जरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा.कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको छ ।

भट्टराईले भनेका छन्, ‘ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानुनविपरीत, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुन अनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ। अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।’