साताको साहित्य : कविता
रङ्गमञ्चमा थरी-थरीका नाटकहरू
मञ्चित भै रहेछन्
नव उदारवादी प्रजातन्त्र
समाजवादी प्रजातन्त्र
मार्क्सिजम समाजवाद
गाेलचक्करमा साेलाेमाेलाे समाजवाद
तब न त
दर्शक दीर्घा खच्चाखच् छ
भाइभारदारका बीच महाराजा
थाङ्ना धाेती र टाेपीका बीच मुखिया
फकिरदेखि अमिर सम्म
उहीँ
जप्दै माला समाजवाद दिक्षित मुस्काइरहेछन्
तब न त
फिराद तामेली हुँदैछ
महान् क्रान्तिहरूअार्यघाटमा
चण्डालद्वारा चीरदाहित हुँदैछ
मार्क्सहरू पादरीद्वारा अभिषेकित हुन ब्यघ्र छन्
लिङ्गमा तुला धरेर बैतर्णी तरिंदैछ
तब न त
द्वन्दात्मक भौतिकवाद
अतिरिक्त मूल्य जस्ता
बिज्ञानकाे बिकास माथि नै
ब्याधाहरू तिर छाेड्दैछन्
निरंकुशताकाे सामन्तवाद
दलाल सहितकाे पूँजीवाद
सिंहासनमा अड्डा जमाइ रहेछ संविधान
तब न त
रङ्गमञ्च कालकुट अत्तरले वास्नादित छ
सलामी अर्पण हुँदैछ
प्रतापी भूपतिका हुकुममा
रङ्गमञ्चमा नाटकहरू मञ्चित भै रहेछन्
नायकहहरू,खलनायकहरू
बिदुषकहरू
नीर्देशकहरू
बिभूषित छन् बिभूषणले
समाजवाद
रूवाँटे र जाँते पीङ्ममा फन्कि रहेछ
बिम,नाल र बलाे कस्सिएकाे छ
नव उदारवादकाे
तब न त
संबैधानिक समाजवाद
प्रदर्शित छ रंगमञ्चमा
नाटकहरू मञ्चित भै रहेछन् थरी-थरीका
रंगमञ्चमा ।





























