१४ असार सुर्खेत ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय प्रवक्ता धर्मेन्द्र बास्तोलाले बैङ्क, वित्तीय संस्थाहरूका नाइकेलाई जहाँ भेट्यो त्यही जनकारबाही गर्नुपर्ने बताउनु भएको छ । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले बैङ्क, वित्तीय संस्थाहरू लुटेरा भएको बताउँदै यिनीहरूका नाइकेलाई जहाँ भेट्यो त्यही कारबाही गर्नुपर्ने बताउनु भएको हो ।
साथै उहाँले नेपालमा जनताको गणतन्त्र नभई दलाल पुँजीवादी र माफियाको गणतन्त्र भएको बताउनु भएको हो । उहाँले संसदीय व्यवस्था स्थापना भएपछि विभिन्न भ्रष्टाचारका काण्डहरू समेत घटेको जिकिर गर्दै सरकारमै रहेका मन्त्रीहरू पनि भ्रष्टाचारका विषयमा जोडिनु भनेको लज्जास्पद भएको उहाँको भनाई छ ।
‘पछिल्लो समय सरकारमै रहेका मन्त्रीहरू पनि भ्रष्टाचारका जोडिनु भएको विषय धेरै सुनिँदै आएको छ, उहाँले भन्नु भयो— उहाँहरू पनि त्यसरी भ्रष्टाचारमा जोडिनु भनेको लज्जास्पद हो । साथै क्रान्तिकारी कम्युनिस्ट पार्टीले हप्ता उठाउने गरेको छ भन्ने प्रश्नमा उहाँले आफ्नो पार्टीले कुनै पनि हप्ता उठाउने नगरेको प्रष्ट पार्नु भयो ।
उहाँले एमाले र काँग्रेस पार्टीले मात्रै हप्ता उठाउने गरेको आरोप लगाउनु भयो । लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको भन्दै उहाँले यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति दिइएको आरोप समेत लगाउनु भयो ।





























