अजिरकोटमाथि उभिएर

अजिरकोटमाथि उभिएर

साताको साहित्य ः संस्मरण

नजिकै उभिएका छन् साथीहरू । चामलको कुटुरो भुइँमा बिसाएर थरक मार्न बसेका छौँ । आँखाभरी हिमाल उभिन आइपुग्छ । सेतो सफा कपासको थुप्रो । केटाकेटीमा हामी साथीभाइसित खेल्दै दगुथ्र्यौं, कुनैबेला आकाशमा घाइँघुइँ गर्दै केही उडेको दृश्य आउँथ्यो ‘हवाजाज आयो’ हामी कराउथ्यौँं । खोइ खोइ भन्दै अर्को भाइ आउँथ्यो । ‘उउउ ! मेरो औँलो सोझ्झेरी हेर’ । त्यसैगरी मैले औँला सोझ्याएर हिमाल देखाएँ । त्यो मनास्लु, त्यो हिमालचुली र अर्को थेप्चे चाहिँ बौद्ध । उफ ! त्यहाँ त बाह«ैकाल जाडो हुँदो हो । मनले एकछिन् कल्पना गर्छ । उकालोमा जिउले निकालेको पसिना ओभाएपछि बाटो लागियो । फुटेका कुर्कुच्चामा रबरको चट्टी पड्काउँदै हामी सिस्ने गाउँ पुग्यौँ । चामलसित आलुको बिउ साट्न हामी त्यो गाउँ पुगेका थियौँ । बर्ष दुई बर्षमा त्यसरी आइजाइ गरियो । कुरुम्त भारी बोकेर पैदल बाटो नाप्दै हिँड्नुको सौन्दर्य चारपाङ्ग्रेको प्रयोगमार्फत् तत्स्थान पुग्नु न हुँदो रहेछ ।

यातायातको राम्रो ब्यवस्थापन भएपछि म चारपाङ्ग्रे घरभित्र बसेर पनि त्यो अजिरकोट पुगेको छु । अजिरकोट पुगेपछि म त्यही भिरालो चौरमा उभिएर दृश्यावलोकनमा लट्ठिन्छु । हामीकहाँ पल्कनु भन्ने एउटा शब्द छ नि, खाएर पिएर वा देखेर त्यो बस्तुको सौन्दर्य बोध गरेपछि फेरि फेरि त्यही बस्तु प्रयोगको पुनरावृती भैरह्यो भने पल्किइन्छ । गाउँले बोलीमा मुहुनी लाग्यो भनिन्छ नि हो त्यै मुहुनी मलाई अजिरकोटले लगाउँछ । अजिरकोटबाट सौन्दर्यपान गर्ने जोसुकैलाई पनि यसले लठ्याउँछ । अजिरकोटको प्राग् ऐतिहासिक तथ्य केलाउन मेरो बोधो दिमागले छिचोल्दैन, जुनबेला मैले त्यो कोटको पेटीमा उभिएर टोपीले पसिना पुच्दै वरपर नियालेँ त्यो दृश्य भने आँखाको भित्री तहमा गढेर बसेको छ । अजिरकोट र सिह«ानचोक जस्ता चुचुरोलाई खुच्चिङ गर्दै अग्लिएका हिमालका चुचुरा र त्यसको पेट्पेटमा मौलाएको कालो वन प्रकृतिले दिएको अथाह गौरव हो । त्यही कालो वनभित्र बयली खेल्दै लुकिबस्छ हाम्रो राज्यले राष्ट्रिय पन्क्षी मानेको डाँफे चरो र यामानुकुल राताम्मे फुल्छन् लाली गुराँसका बोटहरू । यी त भए दृश्य सम्पदा । हाम्रा पुर्खाले पहिचान गरेर जीवनोपयोगी मानेका लाखौँ जडिबुटिहरू पनि छन् र पहिचान हुन नसकेका अन्य वनौषधी कतिछन् विन्यास हुन बाँकी नै छ । त्यही कालो वनभित्र प्रकृतिले सिर्जना गरेको अर्को पोखरी छ जुन दूध पोखरी भनेर चिनिन्छ । हाम्रो संस्कृती अनुसार त्यस पोखरीको पानीमा चोपलिन पुगियो भने पुण्य हुन्छ भन्ने विश्वाशले बर्सेनी जनै पुर्णिमाको दिन भक्तहरूको भीड लाग्छ । यही पोखरीबाट निस्किएको कुल्कुले खोलो तलतल बग्दै गएपछि चेपे नदी नामले चिनिएको छ । आँखा घुमाएर तलको उपत्याकातिर झार्छु, मानव वस्तिमा मानवद्वारा सिर्जित सम्पदा र सम्पत्तिले आँखालाई झिम्को मार्न दिँदैन । त्यही चेपे नदीका दायाँबायाँ किनारमा श्रम र पसिना पोखेर सिर्जिएका खेतका गह«ाहरूमा त्यही चेपेको निर्मल जलद्वारा सिन्चित धान बालिले युगौँदेखि हजारौँको पेट भरिएको छ । आँखालाई हातको पाली बनाएर दक्षिण पश्चिम नियाल्छु तल अल्काटारसम्मका खेतका गह«ाहरू धानका बालामा सुन झुण्ड्याएर भनिरहेछन् ‘ए किसान हो ! अबेर नगर आकाश रिसाएर असिना बर्सायो भने तिम्रा लालाबाला भोकै पर्लान ।’ हस्याङ्फस्याङ हुन्थ्यो बिचरा किसानहरूलाई । बेसीमा बग्दै गरेको चेपे नदी र त्यसका सहयोगी सयौँ खोलाको पानीले सिन्चन गर्न सकिने मटिलो र भिरालो पाटो देखेर सायद पुर्खजहरूले यो धरतिमा आवाद गुल्जार गरे । पशु पालनका लागि घँसिलो र रसिलो जङ्गलको उपयोग गरे । उनीहरू कहिलेदेखि आदिवासी भए इतिहासको गर्तमा त्यो पुरियो हरायो । इतिहासमा कयौँ महामारी र प्राकृतिक विपद खस्यो त्यो भुगोलसित कुनै साक्षी छैन ।

चेपे र मस्र्याङ्दीको सङ्गमबाट उत्तर चेपेको मुहानसम्मको यो उपत्यकामा मानव वस्ती कहिलेदेखि शुरु भयो यो खोजको बिषय हो । हामीलाई पढाइएको र पाइएको इतिहास पनि बिक्रमको पन्ध्रौँ शताब्दी भन्दा अघिको सबुद भेटिएको छैन । जान्ने सुन्ने भनिएका उपाध्याय ब्राह्मणहरूले तयार गरेका बंशावलीहरूलाई भिडाएर अध्ययन गरियो भने केही तथ्यहरू फेला पारिएला तर हाम्रो चेतनाले साथ दिँदैन बरु नदुखेको कपाल डोरी लगाएर किन दुखाउनु भनेर मौन बस्छ । हाम्रो इतिहास अवलोकन पनि शासक केन्द्रित छ । गोरखा वा लमजुङमा शाह शासक हुनुभन्दा युगौँ अघि पनि यो स्थानमा कोही शासकहरू थिए तर त्यो उत्खननको बिषय बन्न सकेन । मान्छेको जात बलेको आगो ताप्ने हो हारेका शासकहरूको इतिहासको किन जगेर्ना गरिन्थ्यो र । म चेपे किनारमै एकछिन् घोरिन्छु र हाम्रो समाजले धार्मिक तीर्थ मानेको काली गण्डकिसित तुलना गर्दछु । दूध पोखरीबाट निस्किएको जस्तै काली गण्डकी पनि दामोदर पोखरीबाट निस्किएको भनिन्छ । दामोदर पोखरीबाट निस्किएको काली नदीले अनकण्टार पहरासँग ठोकिदै किनाराका ढुङ्गा फुटाउँदै आफुसङ्गै हुत्याउँदै ल्याउँछ । पानीको बेगमा पौडँदै पहरामा ठोक्किदै आएका ती चट्टानको टुक्रामा कयौँ आकृती बन्छ र ती शालिग्राम कहलिन्छन् अनि हिन्दू ब्राह्मणको पूजा कोठामा पुजिन पुग्छन् । यो चेपेनदी कुनैबेला राज्यको साँध बनेर जङ्गे पिल्लरको काम गर्यो, यसैको किनारको बालुवामा हतियार लुकाएर कतिको शिरछेदन पनि भयो अनवरत रूपमा यो बगेको बग्यै छ ।

इतिहासले स्थापित गरेको काली नदीको मान्यता अहिले पनि मेटिएको छैन । काली नदीको जस्तै बेगमा चेपेले पनि बगाएर ल्याएको ढुङ्गाहरू छन् रङ र आकारमा बिबिध पनि छन् तर ती शालिग्राम मानिदैन र पुजा कोठामा पनि पुग्दैन । कतै मान्यतामा बोल्नेको पिठो बिकेको पो हो कि । यो विभेद देख्दा कता कता हाम्रा आर्य पुर्खा पक्षपाती पो रहेछन् भन्न मन लाग्छ । यद्यपि म ढुङ्गा पुज्ने संस्कृतिको पक्षपाती भने होइन र बिज्ञानमा बिश्वास गर्छु तर अर्काले ग्रहण गरेको आस्थामाथि डाह पनि गर्दिन ।

म त्यही चेपे किनारमा उभिएर आफ्ना माता पिताको अन्तिम संस्कारमा रोएको छु र आँखाको आँसु पखालेको छु । मेरा माता पिता मात्र होइन धेरै अग्रजहरूको चिता यही पानीले पखालेको छु । स्नान गरेको छु र बगरको ढुङ्गो कुल्चिएर फर्किएको छु । चेपेको पानीले धोएर सफा बनेका मेरा आँखा मानव निर्मित वस्ती चहार्न पुग्छ । जिज्युले आर्जिएर पेटपुग्दो खान पुग्ने परिवार र आफ्नै नाउँमा पुर्जा पाएको माटोमा दशनङ्ग्री खियाएर पनि परिवारलाई तीन महिना आफ्नो उत्पादनले खुवाउन हम्मेहम्मे पर्ने गरीब किसान पनि यही उपत्याकाको सेरोफेरोमा बसोबास गरेका छन् । केही जग्गा जमिन भएका सम्पन्न किसानकहाँ ज्याला निमेकमा श्रम बेचेर सुत्केरी श्रीमतीलाई कुना उतार्ने वा आमा बाको किरियाकर्ममा कोरा बसेर निस्किएका ती टुहुरा छोरा÷बुहारी र छोरीहरू कति छन् आजसम्म कसैले पन्जिकरण गरेको छैन ।

म सिह«ानडाँडाको जनजातिको वस्तिभित्र पस्छु । रोजगारीको खोजी गर्दै भारतीय सेना र त्यो भन्दा पर खाडी पुगेर पसिना बेच्नेहरूको लेखा राख्न मन लाग्छ तर मेरो एक्लो प्रयासले केही नापिनेवाला छैन । सिह«ानडाँडाका मात्र होइन यतिबेला त लप्सिबोट, बिचौर, बोराङ काफलडाँडाका आँगनमा युवाहरूको बोली सुन्न पनि मुस्किल हुँदै गएको छ । मेरा आँखाले पहिलो पटक देखेको त्यो बुधसिङ लामिडाँडाको सुन्दर फाँट बाँझै बसेर हाम्रो श्रम र शीपमाथि खबरदारी गरीरहेझैँ लाग्छ । हाम्रा पुर्खाले लामो खोजपछि रैथाने बनाएका अन्नबाली बिस्तारै बिस्तापित हुन पुग्नु इतिहासका अभिलेख हराउनु हो ।

पृथ्वीको कुनै खण्डमा मानव अतिक्रमण गरेर उत्पादन योग्य जमिन बनेपछि त्यो नगदमा विनिमय हुन्छ । अझै पनि मानव श्रमले उत्पादन योग्य नबनेका कतिपय भुभागहरू प्राकृतिक बोट बिरुवा पालेर आफ्नो सौन्दर्य पोखिरहेका वन जङ्गलहरू छन् । उच्च पहाडबाट झरेका पानीका छहराहरू निरन्तर बगेको बग्यै छन् । कयौँ विशाल खर्कहरू चौँरी र भेडाहरूको चरनमा पोहोर परार र झन् परार जस्तै हरियाली पालेर पर्खिरहेका छन् । कयौँ उद्भिजन्य जडिबुटिहरूमा मानव ध्यान नपुगेर हुर्कदै बढ्दै र सड्दै पनि गएका छन् । प्रत्यक्ष नगदमा श्रम साटिन थालेपछि प्रकृतिका विभिन्न उत्पादन खेर जाने हुने रहेछ । भुइँको टिप्दा के हाम्रो पोल्टाको पोखिएको त छैन ? प्रश्न उठाउनु जायज नै ठहर्ला । खिम्पु ओलाङ र सिस्नेको लेकमाथि झ्याङिएको तीते निगालोको डोको थुन्से बुन्ने तामाङ दाइहरूको सीप पुस्तान्तरण हुन नसक्दा परम्परित कला ओझेलमा पर्दै जानू र प्लाष्टिक जन्य सामग्रीको प्रचलन बढ्नु आर्थिक सन्चितिमा ह«ास आउनु शुभ सङ्केत होइन । जिज्युले उभ्याएका ढुङ्गे घरहरूमा सल्लाको फल्याकले छाएका छानाहरू अहिले इतिहास बन्दै गएको छ । अजिरकोटको चौरबाट नियालेर हेर्दा हराउँदै गएका खरका छानाको विकल्पमा आएको जस्ता पाता र क्रङ्किटले उभिएका भुइँघरले नवीन सौन्दर्यले भने अझै हामीलाई लठ्याइ रहेको छ । इतिहासमा रामशाहले बध गरे भनिएका अजिरकोटका शासक को थिए र उनका सन्ततीहरू अहिले कहाँ छन् के चासोको बिषय हुन सक्छ ? अजिरकोट मात्र होइन सिह«ानचोक कोटको मर्म पनि उही हो ।

इतिहासमा दर्ज भएको स्यार भोट र त्यो कालखण्डको कला संस्कृतिको कुनै दशी बोकेर बाँचेका छन् भने यस्को उत्थान र जगेर्ना गरिनु वान्छनीय देखिन्छ । द्रब्यशाह र नरहरी शाहकी आमाले दूधको धारा बगाएकी चेपे नदीको मिथकले मात्र पुग्दैन बरु लिगलिगकोट र रागिनासकोटदेखि उत्तर पसारिएर हिमालय शृङ्खलासम्म पुगेको यो भुगोलको गर्भमा रहेका खनिजजन्य वस्तुहरूको पहिचान र उत्खनन् गर्न सकियो भने इतिहास प्रति न्याय गरेको ठहरिने छ ।
हर्मी गोरखा, हाल रत्ननगर –३, चितवन ।