नीति तथा कार्यक्रम र कार्यदिशाबारे
पार्टीको एकता अधिवेशनबाट पारित दस्तावेजमा नेपाल अहिले सामाजिक तथा आर्थिक रुपमा अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती विशेषता सहित नव–औपनिवेशिक अवस्थामा रहेको विश्लेषण गरिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा क्षेत्रीय विविधताले युक्त मुलुक हो । नेपाली समाज विविध वर्ण तथा जात र वर्गहरुमा विभाजित रहिआएको उल्लेख गर्दै भनिएको छ, “वर्गीय दृष्टिकोण अनुसार नेपाली क्रान्तिको मुख्य दुश्मन नोकरशाही पुँजीवाद तथा सामन्तवाद सहितको दलाल पुँजीवाद रहेको छ । मजदूर, किसान, सुकुम्बासी, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्तमान क्रान्तिका मित्र शक्ति हुन् । सर्वहारावर्ग क्रान्तिको नेतृत्वदायी, सबैभन्दा क्रान्तिकारी तथा निर्णायक शक्ति हो । बाह्यरुपमा साम्राज्यवाद ÷ विस्तारवाद क्रान्तिका दुश्मन हुन् भने विश्व सर्वहारा वर्ग तथा श्रमिक जनसमुदाय क्रान्तिका मित्र शक्ति हुन् ।”
सोही दस्तावेजमा पार्टीको कार्यदिशाबारे भनिएको छ, “माथि उल्लेख गरिए अनुसारका सामाजिक तथा आर्थिक विशेषता र अन्तर्विरोधहरूमा आधारित रहिआएको वर्तमान नेपालका सन्दर्भमा हाम्रो पार्टीको आम कार्यक्रम नयाँ जनवाद हो, आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो, अन्तिम लक्ष्य तथा अभीष्ट साम्यवाद हो । यसप्रकारका कार्यक्रमहरुको प्राप्तिका लागि परिस्थिति अनुसार विभिन्न नीति, रणनीति तथा कार्यनीति अवलम्बन गर्दै जानुपर्दछ । सर्वहारा वर्गको नेतृत्व र समग्र उत्पीडित जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु हाम्रो अहिलेको रणनीति हो । वर्तमान अवस्थामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको राजनीतिक कार्यदिशाको पहिलो खुड्किलोमा जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नु हुनेछ ।”
कार्यदिशाबारे अगाडि भनिएको छ, “नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगर्ने बित्तिकै हामी वैज्ञानिक समाजवादमा प्रदेश गर्ने छौं । सर्वहारा वर्गको नेतृत्व र सर्वहारावर्गकै अधिनायकत्वको स्थापना गर्नु नै वैज्ञानिक समाजवादको मूल रणनीति हो । सर्वहारा अधिनायकत्व स्थापना गरे पश्चात् समाजवादी सार्वजनिक स्वामित्वमा आधारित उत्पादन सम्बन्धको निर्माण तथा विकास गरिने छ । समाजवादको अवधिमा वर्ग, वर्गसंघर्ष, वर्गीय अन्तर्विरोध र समाजवादी बाटो तथा पँुजीवादी बाटोका बीच दीर्घकालीन सङ्घर्र्ष चल्नेछ । सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सैद्धान्तिक मान्यता र तदनुसार व्यवहारमा संलग्न रही महान सर्वहारा सांस्कृतिक क्रान्तिका बीचबाट वर्गसङ्घर्ष र वर्गीय अन्तर्विरोधहरूको समाधान गर्दै साम्यवाद तर्फ अगाडि बढ्नु नै हाम्रो अभीष्ट हो ।”
आम कार्यक्रमका मूल पक्ष
दस्तावेजमा पार्टीका आम कार्यक्रमका मूल पक्षको रुपमा ११ वटा बुँदमा विषयवस्तुहरुलाई समेटिएको छ । जसमा क) नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना ।, ख) देशको भौगोलिक अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको रक्षा ।, ग) मजदुर वर्गका आधारभूत हक अधिकारको प्राप्ति ।, घ) सामन्ती भूस्वामित्वको अन्त्य तथा कान्तिकारी भूमिसुधारको व्यवस्था । कृषिको व्यावसायीकरण तथा औद्योगीकरण ।, ङ) दलाल तथा नोकरशाही पुँजीवादका विरुद्ध राष्ट्रिय उद्योगधन्दाको विकास सहित स्वतन्त्र तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण । सीमित निजी अर्थतन्त्र तथा सहकारी व्यवस्थासहित राजकीय क्षेत्रको नेतृत्वदायी तथा प्रधान भूमिका ।, च) आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय तथा क्षेत्रीय स्वशासन र पहिचानसहितको सङ्घीयता ।, छ) दलित, महिला तथा मुस्लिम समुदाय र अपाङ्गहरुका लागि विशेषाधिकारको व्यवस्था ।, ज) शिक्षा, स्वास्थ्य क्षेत्रको राष्ट्रियकरण ।, झ) जनउत्तरदायी तथा सर्वसुलभ न्याय प्रणाली ।, ञ) शान्तिपूर्ण सहअस्तित्व तथा पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र नीतिको व्यवस्था ।, ट) जनवादी, राष्ट्रिय तथा वैज्ञानिक संस्कृतिको स्थापना । आदि रहेका छन् ।





























