पूर्वी पहाडमा बाढी र पहिरोमा परी पाँचको मृत्यु, २८ बेपत्ता

पूर्वी पहाडमा बाढी र पहिरोमा परी पाँचको मृत्यु, २८ बेपत्ता

काठमाडौं । प्रदेश १ को पहाडी जिल्लामा अविरल पानीपछि आएको बाढी र गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । मनसुनको सुरुवातमै शनिबार रातिको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्‍याएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक–एकजना छन् ।

बाढीमा २८ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै संखुवासभामा २० जना हराइरहेका छन् । हराएकामध्ये अधिकांश संखुवासभास्थित सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेका छन् । पाँचथरमा पाँचजना र ताप्लेजुङमा तीनजना हालसम्म बेपत्ता छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोसीका विभिन्न जिल्लामा २० घर बगाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार संखुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बाढीपहिरोले बगाएको छ । बाढीपहिरोका कारण पाँचथरका ३१ घरपरिवार विस्थापित भएर आफन्तको शरणमा पुगेका छन् । इलाममा एउटा घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले व्यापक क्षति पुर्‍याएको छ । बाढीले चैनपुर र पाँचखपन नगरपालिकामा १० घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । मोटरेबल पुल भाँचिएपछि दुई पालिकबीच आवातजावतमा समस्या हुनुका साथै वैकल्पिक घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ ।बाढीमा परी सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर गरी १९ जना सम्पर्कविहीन भएकामा एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार पाँचखपन– ९ का सन्तोष राईको मृत्यु भएको हो । बाढीमा परेर घाइते भएका कम्पनीका तीनजना मजदुरले बताएअनुसार १८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको र खोजीकार्य जारी रहेको डिएसपी गोदारले बताए । जलविद्युत् आयोजनाको निर्माणको काममा खटिएकाहरू खोलाछेउमै टहरा हालेर बसेका थिए । तर, राति एक्कासि बाढी आउँदा क्षति भएको हो ।

बाढीमा परी पाँचपखन घर भएका कम्पनीका मेसिन अपरेटर दीपक मगर, इटहरी घर भएका साइट इन्चार्ज सन्तोष ढकाल, चैनपुर घर भएका ट्र्याक्टरचालक भुवनसिंह तामाङ, पाँचपखन घर भएका इलेक्ट्रिसियन सुवाहाङ राई, झापा घर भएका सुपरभाइजर फौदबहादुर कार्की, घनकुटा घर भएका मेसिन अपरेटर गणेश गिरी, इलाम घर भएका मेसिन हेल्पर राजकुमार राई, झापा घर भएकी कुक मीना श्रेष्ठ र चैनपुर घर भएका हेल्पर ज्ञानबहादुर लिम्बूको अवस्था अज्ञात छ । कामदारहरू कैलालीका रामजनम थारू, अमर थारू र सीता थारू तथा बर्दियाका राहुल थारू, रोहित थारू, पुलसत थारू, कालीराम थारू, सुगत थारू र राजाराम थारूको अवस्था अज्ञात रहेको उनले बताए ।

सभापोखरी पहिरोमा परी एक दम्पती बेपत्ता भएका छन् । सभापोखरी– ३ सुनौम्ला गाउँमा पहिरोमा गरी स्थानीय ६० वर्षीय गणेश राई र उनकी श्रीमती सञ्चमाया राई बेपत्ता भएका हुन् । गोठ पहिरोले बगाउँदा गोठमै रहेका उनीहरू बेपत्ता भएको प्रहरीको भनाइ छ । संखुवासभाको चैनपुर र पाँचखपनको बीचको हेवाखोला, चैनपुरको पिलुवा र मायाखोलामा आएको बाढीले तटीय क्षेत्र र बस्ती निकै जोखिममा परेको र अझै वर्षाको सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन स्थानीय प्रशासन र स्थानीय सरकारले अनुरोध गरेका छन् । पाँचखपन नगरपालिकामा विस्थापित परिवारलाई स्थानीय सरकारले राहत वितरण र बसोवासको व्यवस्थापन गरेको छ ।

बाढीले पाँचथरमा एकजनाको मृत्यु भएको छ । पाँचजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका– ४ घर भएकी आठ वर्षीया जुना साउदेन रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार साउदेनको उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो ।

बेपत्ता हुनेमा हिलिहाङ– ७ का तिलकुमार तामाङ, फिदिम– ११ का संजोक लिम्बू, फिदिम– ५ का राजकुमार राई, फिदिम– ४ का आशिष माझी, फिदिम– ४ का एलिसा माझी रहेका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म नौ परिवार विस्थापित भएका छन् ।

शनिबार राति ठूलो पानी परेपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेका ३० वर्षीय गणेश तामाङ आमाबुबासहित परिवारलाई सुरक्षित स्थानमा पहिरोमा सार्न लागे । उनले बुबा, आमा, श्रीमती र छोराछोरीलाई खोलापारि पुर्‍याएका थिए । बुबाको गमबुट छुट्यो, हिलो छ, लिएर आउँछु भनेर फर्केर खोलामा मात्र पुगेका थिए माथिबाट आएको बाढी र पहिरोले उनलाई लग्यो । हर्कबहादुर तामाङ छोरालाई हेर्दै थिए, पहिरोमा बिलाए । तामाङको शव आइतबार बिहान फेला परेको छ ।

सोही पहिरोमा परेका एकै घरका तीनजना अझै बेपत्ता छन् । पहिरोमा यादवकुमार बुढाथोकीकी श्रीमती ६३ वर्षीया भगीमाया, उनकी बुहारी ३३ वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल बेपत्ता छन् । यादव भने शनिबार सिरिजंघा गाउँपालिका– ५ पेदाङमा रहेकी दिदीको घरमा गएकाले बाँचेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । गत २४ घन्टामा ताप्लेजुङमा ४७।५ मिलिलिटर पानी परेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले बताएको छ ।

पहिरोले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङलगायतका ६ घर बगाएको छ । उनीहरू छिमेकीको शरणमा बसेको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् । मेरिङदन–६ मेहेलेका २१ घर पहिरोको जोखिममा परेपछि उनीहरूलाई अन्यत्र सारिएको छ ।

मैवाखोला गाउँपालिका– ४ ओदकका देवीथाने शेर्पाको घर बगाएको छ भने १० घर उच्च जोखिममा छन् । बाटो अवरुद्ध हुँदा ताप्लेजुङको जिल्ला सदरमुकाम फुङलिङसँग आठराई–त्रिवेणीकोे सम्पर्क टुटेको छ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुसम्म पुग्ने बाटोसमेत मैवाखोलाले भत्काउँदा सबै सम्पर्क टुटेको छ । पूर्वी गाउँपालिका सिदिङवा, सिरिजंघा पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध छ ।

मैवाखोला– २ र ५ नम्बर वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताए । मैवाखोला गाउँपालिकामा मात्र चारवटा झोलुंगे पुल बगाएको छ । विभिन्न ठाउँमा लघु जलविद्युत् बगाउँदा गाउँ अन्धकार भएको छ । मैवाखोला– ३ थेरथेरेमा केन्द्रीय विद्युत् प्रसारण लाइनको पोल ढलेका कारण गाउँपालिका अन्धकार भएको छ ।

सिदिङ्वा– ६ मेहेले स्वास्थ्य चौकी भवन बगाएको छ । सिरिजंघा– ८ याम्फुनिमा स्वास्थ्य चौकीछेउमा काबेली खोलो पुगेपछि अन्यत्र सुरक्षित ठाउँमा सारिएको छ । सोही वडाको वडा कार्यालय, प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयसमेत सारिएको छ ।