प्रचण्डले भारतीय विस्तारवादको नाङ्गो दलाली गरे : दिनेश शर्मा

प्रचण्डले भारतीय विस्तारवादको नाङ्गो दलाली गरे : दिनेश शर्मा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट तीन मजदुर संगठनको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा सागरले १९६२ देखि नेपाली भूमि कब्जा गरेर बसेको भारतीय सेनालाई कालापानीबाट हटाउन जोडदार माग गर्नुभएको छ । उहाँले विगतमा आफूहरुले गरेको संघर्षकै कारण तत्कालीन सरकारले बुच्चे नक्सा हटाएर चुच्चे नक्सा जारी गर्न बाध्य भएको स्मरण गराउँदै भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतीय सेना कालापानीबाट हटाएर नेपाली भूमि भारतीय कब्जाबाट फिर्ता लिने विषयमा ठोस पहल गर्न आग्रह समेत गर्नुभएको छ ।


तर उहाँले भारतले बनाएको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत गाभेको विषयमा प्रम प्रचण्डले उठाएको विषयलाई विस्तारवादी शासकहरुले सामान्य बनाएर कुरालाई अन्यत्रै मोडेको र प्रचण्डको कुराको कुनै सुनुवाइ नै नगरेको भन्दै प्रचण्डले माथिल्लो कर्णाली र अरुण तेस्रोसँग सम्बन्धित जलविद्युत परियोजनाहरु भारतलाई सुम्पिएर भारतीय विस्तारवादको नाङ्गो दलाली गरेको पनि स्पष्ट पार्नुभयो ।
राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गरेर नेपालको स्वाधीनतामाथि गम्भिर खेलवाड गरेको चर्चा गर्दै उहाँले नेपाल र नेपाली जनताको स्वाधीनताको निम्ति क्रान्तिकारीहरुले निर्णायक संघर्ष अब अघि बढाउने पनि चेतावनी दिनुभयो ।


उहाँले दशवर्षको जनयुद्धले अढाई बर्ष लामो सामन्ती राजतन्त्रलाई खरानी बनाएर लोकतान्त्रिक गणतन्त्र ल्याएको चर्चा गर्दै संसदवादीहरुको असफलतामा खरानी बनेको सामन्ती राजतन्त्रका भूतहरुले टाउको उठाउन खोजेको बताउनु भयो । उहाँले राजतन्त्रका भूतहरुलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिदै अब मुलुकमा संघीय जनगणतन्त्रको खाँचो रहेको स्पष्ट पार्नुभयो ।


नेता शर्माले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तमाम समस्याहरुको दीर्घकालीन समाधानका लागि मुलुकमा संघीय जनगणतन्त्र अपरिहार्य बनेको चर्चा गर्दै मुलुकमा संघीय जनगणतन्त्रको स्थापनाका लागि छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न पनि आव्हान गर्नुभयो ।


माइतीघर मण्डलाबाट विरोध जुलुससहित नयाँ बानेश्वरमा पुगेर विरोध सभामा परिणत भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका अर्का नेता विनोद थापाले दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने आवश्यकतामाथि चर्चा गर्नुभएको गियो । कार्यक्रमको सञ्चालन मजदुर नेता राजन तिमिल्सिनाले गर्नुभएको थियो ।