
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको ‘नक्कली भुटानी शरणार्थी प्रकरण, महंगी, भ्रष्टाचार, बेथितिलगायत जनसरोकारका जल्दोबल्दो विषयसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको संवाद डवलीमा भएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका कार्यालय सदस्य सिपी गजुरेलले भ्रष्टाचार र मानव तस्करीका कारण बुद्ध र सगरमाथाको देशको सम्मान अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुले गुमाउनु परेको बताउनु भयो । भ्रष्टाचारको सम्बन्ध मानव तस्करसँग रहेको भन्दै उहाँले नक्कली शरणार्थी प्रकरणमा संलग्न मानव तस्करहरुलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यो वा त्यो नाममा अपराधीलाई उन्मुक्ति दिन खोजियो भने देशैभर आन्दोलनको आँधीबेहरी उठ्ने र त्यसको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गर्छ र गर्नुपर्छ भन्दै जनताको चाहना अनुसार नै भ्रष्टाचार विरुद्ध देशव्यापी संघर्षको घोषणा गरिएको पनि स्पष्ट पार्नुभयो ।

संसदीय व्यवस्थाको भ्रष्टीकरण र असफलताबाट प्रतिगामी पुनरुत्थानवादीहरु समेत अहिले हौसिरहेको र जनतालाई भ्रमित तुल्याइरहेको चर्चा गर्दै उहाँले संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको दिशामा आन्दोलनलाई लैजाने अभिभारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको काँधमा आएको पनि बताउनु भयो ।
उहाँले क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएकोले छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आव्हान समेत गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले अहिलेको यो दलाल संसदीय व्यवस्थाले आफ्नो फाइदाको लागि देश बेच्न पनि तयार हुने संस्कारको विकास गराएको भन्दै अब यो दलाल व्यवस्थाका विरुद्ध निर्णायक हमला बोल्ने बेला आइसकेको बताउनु भयो ।
उहाँले मानव तस्करी र भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएकोमा र संलग्नहरुलाई पक्राउ गरेकोमा वर्तमान प्रचण्ड सरकारलाई धन्यवाद समेत दिंदै यस प्रकरणमा संलग्नहरुलाई मात्रै नभएर विगतमा भएका तमाम भ्रष्टाचारमा संलग्नहरुलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले नेपालमा भ्रष्टाचारको जालो निकै वडास्तरसम्म फैलिएको र अन्तर्राष्ट्रिय जगतमा समेत बद्नाम बन्न पुगेकोले यही व्यवस्थालाई कायम राखेर भ्रष्टाचारको अन्त्य नहुने भन्दै यो संसदीय व्यवस्थालाई फालेर मुलुकमा नयाँ जनवादी गणतन्त्र स्थापित भएपछि मात्रै भ्रष्टाचारको अन्त्य हुने दावी गर्नुभयो । उहाँले पनि क्रान्तिकारीहरु अब एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. दीपेन्द्रबहादुर क्षेत्रीले शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई जोगाउने खेल भइरहेको तर्फ इङिगत गर्दै दुईवटा पासपोर्ट लिएरका रवि लामिछानेलाई सरकारले क्याविनेट निर्णयबाटै उन्मुक्ति दिएजस्तै यस प्ररणमा पनि संलग्न मुख्य अपराधी÷तस्करहरुलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको दावी गर्नुभयो । अर्थविद् क्षेत्रीले घटना क्रमले यही संसदीय व्यवस्थाभित्र जनताको अवस्था बदलिने नदेखिएकोले अब अग्रगामी परिवर्तनतर्फ देशलाई लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
पार्टीका नेता चन्द्रहरि सुवेदी अटलको अध्यक्षतामा सपन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन अर्को नेता शरदचन्द्र रसाइलीले गर्नुभएको थियो । कार्यक्रममा कार्यालय सदस्य उदयबहादुर चलाउने समेतको उपस्थिति रहेको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (आरसिपी, नेपाल)ले भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्षको घाषणा गरेको छ । जेठ ५ मा बसेको सो पार्टीको कार्यालयको बैठकले जेठ ७ देखि १७ सम्म भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको आयोजित अन्तरक्रिया कार्यक्रममा नेताहरुले जानकारी समेत दिनुभयो । पार्टी अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षतामा ५ जेठमा बसेको बैठकले जेठ ८ र ९ गते विद्यार्थीले र जेठ १० र ११ गते मजदुरले काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने, जेठ ११ गतेभित्र आफ्नो अनुकूलतामा पार्टीले प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारको विरोध तथा भण्डाफोर गर्ने, पार्टीको आयोजना र पार्टी तथा जवस मोर्चाहरुको सक्रिय सहभागीतामा १२ गते पोखरा, १३ गते बुटबल, १४ गते हेटौंडा र धनगढी, १५ गते जनकपूर वा सर्लाही, १६ गते विराटनगर वा इटहरी र १७ गते सुर्खेत भण्डाफोर तथा विरोध सभा सम्पन्न गर्ने निर्णय गरेको थियो ।
फोटो ः जयनारायण दाहाल