चौतर्फी दबाबपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ, देउवापत्नी आरजुबारे प्रहरी मौन

चौतर्फी दबाबपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ, देउवापत्नी आरजुबारे प्रहरी मौन

काठमाडौं । चौतर्फी दबाबपछि नेपाली कांग्रेसका नेता तगा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी कांग्रेस सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणालाई पक्राउ गर्ने विषयमा भने प्रहरी मौन रहेको छ ।

दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो । खाडसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा छन् ।

यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । एमाले सचिव रायमाझी फरार रहेका छन् ।

गृहसचिवको जिम्म्मेवारीमा रहेका सचिव सिंह तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले ८ महिना अघि कोशी प्रदेश प्रमुख सचिवबाट एकै पटक सरुवा गरेर गृह सचिवको जिम्मेवारी दिएका थिए ।

२०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाँण भए । खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेको बयानमा उनीहरुले भनेका छन् ।

ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए ।

खाँण निकट रहेका हाल कांग्रेसका एक सांसदले पनि काम मिलाउने भनेर केही रकम लिएको उल्लेख छ । ती नेतामार्फत मञ्जु खाँणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यस क्रममा चल्यो ।

गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताए ।

भण्डारीले बयानमा भनेका छन्, ‘त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं ।’

कति पैसा दिएको भन्ने बयानमा उल्लेख भए पनि प्रहरीले रकम खुलाएको छैन र बालकृष्ण खाँणलाई अहिलेसम्म छानबिनमा ल्याएको छैन । त्यसका लागि माथिल्लो तहबाट आदेश पर्खिएको अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।

यसबीचमा पैसा उठाउनेमध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी मागेका थिए । आफूहरुलाई दलाल गिरोहको भरोसा नरहेको भन्दै गजेन्द्र बुढाथोकी नामका एकजनाले गृह सचिव पाण्डेलाई भेटेर कन्फर्म गरेका थिए । पाण्डेकै आश्वासनपछि बुढाथोकी ढुक्क भएर आफन्त तथा चिनजानका मान्छेलाई अमेरिका जाने शीर्षकको पैसा नफस्ने बताएका थिए ।

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ ।

सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाँणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।

यो सबै जानकारी पाएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइन्छ । यो प्रकरणलाई राजनीतिक हतियार बनाएर एमालेको बदनाम गर्ने र सत्ता गठबन्धनका नेताहरुलाई जोगाउने खेल भएपछि उनले चैत १३ को रेकर्डसमेत बाहिर आउने चेतावनी दिएका छन् ।

प्रहरी र सरकारी वकिलभित्रैबाट यो कुरा एमाले नेताहरुसम्म लिक भएको बताइन्छ । सरकारी वकिलले प्रहरीसँग दिएको बयानका कतिपय भाग हटाइएकोमा प्रश्न उठाएका छन् । अभियुक्तको बयान नै अन्तिम सत्य हुन्न । तर, प्रहरीले माथिको दबाबमा आफू अनुकूल बयान काँटछाँट गर्न नमिल्ने सरकारी वकिलहरुको भनाइ छ ।

स्रोतका अनुसार खाँणको नाम समेत आएपछि देउवाले प्रधानमन्त्रीसँग चासो राखेका छन । खाँणको नाम नलिई दोस्रो बयानको कागजमा सही गराउन खोजिएपछि यो कुरा बाहिर आएको महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीले बताए ।

आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । देउवाले त्यहीबाट प्रधानमन्त्री प्रचण्ड र आईजीपी वसन्त कुँवरलाई फोन गरेको कांग्रेस नेताहरु बताउँछन् । देउवा यो प्रकरणमा एमालेका नेतालाई पक्राउ पुर्जी जारी गरिएकोमा समेत सन्तुष्ट नरहेको बताइन्छ ।

ओलीले खाँणलाई जोगाएर एमाले नेताहरुलाई फसाइए आफू चुप नलाग्ने भनेपछि शीर्ष नेतृत्व संकटमा परेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउने पक्षमा छन् ।

यी अभियुक्तविरुद्ध जेठ १२ भित्र अदालतमा मुद्दा दायर गर्नुपर्नेछ ।