काठमाडौं । आज सम्पन्न संसदीय उपनिर्वाचनले जनतामा संसदीय व्यवस्था र यो व्यवस्था अन्तर्गतको चुनावप्रति वितृष्णा बढेको देखिएको छ । चितवन, तनहुँ र बाराका तीनवटै निर्वाचनमा मंसिर ४ को भन्दा कम मतदान भएको छ । निर्वाचनप्रति जनतामा कुनै उत्साह देखिएको पाइएन ।
निर्वाचन अधिकारीहरुका अनुसार तनहुँ १ मा ५१ प्रतिशत मत खसेको बताइएको छ । उक्त क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए। तनहुँ १ मा ९ जना उम्मेदवार छन्। जहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ।
यस्तै, बारा २ मा करिब ५६ प्रतिशत मत खसेको दावी गरिएको छ।
बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन्। उपनिर्वाचनमा मंसिरको निर्वाचनमा भन्दा कम मत खसेले मतदातामा उत्साह नदेखिकएको विश्लेषण गरिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसहित उपचुनावमा ३४ जना उम्मेदवार छन्।
उता, चितवन २ मा पाँच बजेसम्म ७३ हजार ३५९ जनाले मात्र मतदान गरेका छन्। गत मंसिर ४ मा भएको चुनावमा भन्दा यी तीनै क्षेत्रमा कम मत खसेकोले जनतामा संसदीय व्यवस्था, संसदवादी पार्टी र संसदीय निर्वाचनप्रति जनताको अविस्वास दिनानु दिन बढ्दो छ ।






























