तलब वृद्धिको माग गर्दै हलिउड फिल्म लेखकहरू हड्तालमा उत्रिने तयारी

तलब वृद्धिको माग गर्दै हलिउड फिल्म लेखकहरू हड्तालमा उत्रिने तयारी

काठमाडौं। हलिउड फिल्मका थुप्रै लेखकहरूले आफ्नो छाता संस्थालाई हड्तालमा उत्रिने निर्णय गर्न पाउने अधिकारको पक्षमा मतदान गरेका छन् । यो कदमले हलिउड फिल्मको निर्माण कार्य रोकिन सक्ने र स्टुडियो र टेलिभिजनका काम प्रभावित हुन सक्ने रोयटर्सले बताएको छ ।

राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले बताएअनुसार आगामी मे १ सम्म नयाँ सम्झौता नगरे वार्ताकारलाई काम रोक्न आदेश दिन पाउने पक्षमा ९७.८५ प्रतिशत सदस्यले मतदान गरेका छन्। संस्थाका ११ हजार ५०० सदस्यमध्ये ८० प्रतिशतले मतदानमा भाग लिएका थिए ।

स्ट्रिमिङ टेलिभिजनको संख्यामा वृद्धि भएसँगै आफूहरू प्रभावित भएको गुनासो फिल्म लेखकहरूले गरेका छन् । उनीहरूले नेटफ्लिक्स, वाल्ट डिज्नी र अन्य स्टुडियोबाट तलब वृद्धिको माग राखेका छन् ।

आफूलाई ‘आर्थिक रूपमा असुरक्षित’ बताउने हलिउड लेखक एमी एनोबीले रोएटर्सलाई बताउँदै भनिन्, ‘मैले यसकारण वार्ता समितिलाई समर्थन गरें, किनभने यतिबेला आर्थिक अभावमा हामीजस्ता हलिउड लेखकले न्युयोर्क र लसएन्जलस जस्ता महंगा सहरमा पेट पाल्न दोस्रो काम पनि गर्नुपरिरहेको छ ।’

हलिउड लेखकहरुले यसअघि सन् २००७ र २००८ मा पनि आन्दोलन गरेका थिए, जुन १०० दिनसम्म चलेको थियो । क्यालिफोर्निया राज्यको अर्थतन्त्र २।१ बिलियन डलर पुगे पनि लेखकहरूले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । यदि, हड्तालको आह्वान गरियो भने दर्शकले सबैभन्दा पहिले लेट–नाइट टक शो प्रभावित भएको देख्नेछन् ।

त्यसपछि दिनमा देखाउने ओपेरा पनि प्रभावित हुनेछन् । कमेडी र नाटक धेरैअघि खिचिने भएकाले दर्शकले ताजा कार्यक्रम हेर्न पाउनेछैनन् । कोभिड महामारीले महिनौंसम्म विश्वव्यापी उत्पादन बन्द गरेपछि स्टुडियोहरू अर्को अवरोध चाहँदैनन् । तर, स्टुडियोसँग सीमित बजेट भएकाले उनीहरू पनि दबाबमा देखिएका छन् ।

कमकास्ट कर्प, डिज्नी, वार्नर ब्रोज, डिस्कभरी, नेटफ्लिक्स र अन्यको प्रतिनिधित्व गर्ने मोसन पिक्चर र टेलिभिजन निर्माताको संगठन ९एएमपीटीपी०ले विज्ञप्ति जारी गर्दै निष्पक्ष र व्यावहारिक सम्झौतामा पुग्न चाहेको उल्लेख गरेको छ ।