एकै ओभरमा अभिषेकको ५ छक्का

एकै ओभरमा अभिषेकको ५ छक्का

चैत्र २९, २०७९

विराटनगर — उद्घाटन खेलमा बिहारको नरपथगन्जसँग स्तब्ध भएको त्रिभुवन आर्मीले ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार पहिलो जित पाएको छ । अर्को विभागीय टोली एपीएफले दोस्रो जितसहित शीर्षस्थानमा रहेको छ ।

आर्मीले समूह ‘क’ मा वाईआरसीसी विराटनगरलाई ७ विकेटले हरायो । एपीएफले लगातार दोस्रो जित निकाल्ने क्रममा नरपथगन्जलाई ५ विकेटले पन्छायो ।

१ सय ५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५.१ ओभरमा ३ विकेट गुमाई लक्ष्य पूरा गर्दा बसिर अहमदले अविजित ४४ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए । हरि चौहानले २ छक्का र ५ चौकासहित ३८ रन र सन्दीपले १५ बलमा ३६ रन र राजेश पुलामीले १० बलमा २४ रन जोडेका थिए । राजेशले २ छक्का र २ चौका प्रहार गरे । वाईआरसीसीका वृहस्पति सहनीले १८ रन खर्चेर २ र हरिशले २० रन खर्चेर एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको वाईआरसीसीले १९.५ ओभरमा अलआउट हुँदा १ सय ५५ रनको योगफल बनायो । सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय बनाए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । अभिषेक चौधरीले २६ बलमा ३१ र सिद्धान्त लोहनीले १६ बलमा २८ रन रन जोडे । आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा १२ रन दिएर ३ तथा विक्रम सोब र सुमी श्रेष्ठले समान २–२ विकेट लिएका थिए ।

एपीएफले दोस्रो खेल जितेर ४ अंक बटुलेको छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको एपीएफले ९ बल बाँकी रहँदा विजयी रन जोडेको थियो । विपिन क्षेत्रले ३० बलमा ३ चौका र ३ छक्कासहित अविजित ४०, अमरसिंह राउटेलाले २२ र प्रदीप ऐरीले २५ रनको योगदान गरे । विपिन म्यान अफ द म्याच भए । नरपथगन्जका अमन यादवले ३ र अमर चौधरीले २ विकेट झारे ।

यसअघि नरपथगन्जले १६.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको मध्यम योगफल जोडेको थियो । अभिषेक पाठकले १२ बलमा ४६ रनको विष्फोटक इनिङ्स खेले । उनले एक चौका र ६ छक्का प्रहार गरेका थिए । उनले एपीएफका बलर कृष्ण कार्कीको एकै ओभरमा लगातार ५ छक्का प्रहार गरे ।

नरपथगन्जका भानु यादवले ५ चौकासहित २६ रन र सचिन मुमुरले ४ चौकासहित २० रनको योगदान गरेका थिए । एपीएफका अमरसिंह राउटेला, योङमान कार्की, पूर्ण बिके र तिलक कुमारले समान २ विकेट लिए । बुधबार आर्मी र एपीएफ तथा नगरपथगन्ज र वाईआरसीसीबीच भिड्ने छन् ।