२८ चैत मन्थली ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)द्वारा रामेछापको सदरमुकाम मन्थलीमा विरोधसभा गरी रामेछाप प्रजिअलाई ज्ञापन पत्र बुझाइयो । मिटरब्याजी, लघुवित्तीय शोषणलगायत समस्या समाधान माग गर्दै सोमबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो । दुवै पार्टीले अपराह्न मन्थली बजारमा संयुक्त रूपमा विरोध प्रदर्शन र सभा पनि आयोजना गरेका छन् ।
नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका संयोजक अशोक सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेकपा (बहुमत) रामेछापका इन्चार्ज अग्रीम, नेकपा (बहुमत) केन्द्रीय सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारी, नेकपा (क्रान्तिकारी माओवादी) रामेछापका सेक्रेटरी लाङ्घाली मगर, नेकपा (बहुमत) रामेछापका संयोजक उजिर, नेकपा (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन रामेछापकी अध्यक्ष एवम् पार्टी जिल्ला समितिकी सदस्य सीता गौतम, नेकपा (क्रान्तिकारी माओवादी) मन्थली नगर इन्चार्ज रमेश बोहोरालगायत सहभागी थिए ।
नेकपा (क्रान्तिकारी माओवादी) रामेछापका जिल्ला सेक्रेटरी लाङ्घाली मगरले ज्ञापनपत्र वाचन गर्दै सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुनै पनि विषय सम्बोधन नगरेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू निरन्तर सङ्घर्ष सञ्चालन गर्न बाध्य बनेको बताए । लाङ्घालीले दुई क्रान्तिकारी पार्टीबीच एकता घोषणा भइसकेकाले जनताले फेरि पनि विद्रोहमा सामेल हुनुपर्ने अवस्था उत्पन्न भएको बताए ।
मिटरब्याजी, लघुवित्तीय शोषण, राज्यले मच्चाएका राष्ट्रघात, जनघातलगायत समस्या समाधान गर्नुपर्ने विषय समेसिटएका नारा लगाउँदै दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
ज्ञापनपत्र बुझेपछि प्रमख जिल्ला अधिकारी अनिता निरौलाले आफूहरू दुई पार्टीद्वारा प्रस्तुत मागप्रति सकारात्मक रहेको र ज्ञापनपत्र सरकारको माथिल्लो निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले दुई क्रान्तिकारी पार्टीबीच हुन लागेको एकताले देश र जनताका समस्या सम्बोधन गर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी थिइन् ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि दुवै पार्टीले सदरमुकाममा रहेको देवकोटाचोक, पीपलबोटमा मिटरब्याज, लघुवित्तीय शोषणविरुद्ध सभा आयोजना गरेका थिए । विरोधसभालाई दुवै पार्टीका नेताहरुले समवोधन गरेका थिए ।
पार्टीका केन्द्रीय प्रचार मोर्चाका संयोजक अशोक सुवेदीले युवाहरूलाई विदेशतिर लखेटेर दलाल सत्ताले राज्यको दोहन र ब्रह्मलूट गरिरहेको बताए । जनतामाथिका सबै किसिमका शोषण, दोहन, लुटपाट र राष्ट्रघात नरोकिएमा जनता विद्रोहमा लामबद्ध हुने र त्यसको नेतृत्व दुई क्रान्तिकारी मालेमावादी पार्टीबीच एकता भएर बनेको नयाँ पार्टीले गर्ने उनले बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी लाङ्घालीले स्वागत भाषण गरेका थिए । नेकपा (बहुमत) रामेछापका संयोजक उजिरले सञ्चालन गरेको कार्यक्रममा स्थानीय सामाजिक कार्यकर्ता नवराज अधिकारीलगायतले बोलेका थिए ।
अखिल नेपाल महिला सङ्गठन रामेछापकी अध्यक्ष सीता गौतमले महिलाहरू पनि दलाल सत्ताका विरुद्ध क्रान्तिको अग्रमोर्चामा लामबद्ध हुनुपर्ने बताएकी थिइन् । उनले दलाल संसदीय पुँजीवाद शोषण र व्यभिचारको जड रहेकाले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताउँदै सभा विसर्जन गरिएको थियो ।
कार्यक्रममा नेकपा (बहुमत) का सल्लाहकार ढुण्डीराज अधिकारीले क्रान्तिकारी, देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनवादी गीत गाएका थिए ।