चाँडै अस्ताए फिडे मास्टर ‘भुयु’

चाँडै अस्ताए फिडे मास्टर ‘भुयु’

चैत्र २६, २०७९

काठमाडौँ — भित्री काठमाडौंको मखन टोलका अनेक विशेषता छन् । त्यसमध्ये एउटा उल्लेखनीय विशेषता हो, यो सानो टोलले नेपाली चेसलाई धेरैभन्दा धेरै खेलाडी दिएको छ । त्यसमध्ये केही त राष्ट्रिय च्याम्पियन रहे । मखन नेपाली चेसको शक्तिका रूपमा पहिले थियो । अझै पनि कायम छ ।

यही धरोहर कायम राख्न धेरै भूमिकामा काम गरेका सुजेन्द्रप्रसाद श्रेष्ठको शुक्रबार निधन भएको छ । उनी ५६ वर्षका थिए । नेपाली चेसमा अझ धेरै काम गर्ने योजना बुनिरहेका सुजेन्द्र चाँडै अस्ताए ।

उनलाई एक वर्षअघि मुखको क्यान्सर पुष्टि भएको थियो । उपचारकै क्रममा उनी दुई महिनाअघि मात्र भारतको चेन्नई गएका थिए । पछिल्लो समय उनी घरमै रहेर उपचार गरिरहेका थिए । जावलाखेलस्थित क्यान्सर अस्पतालमा उनको निधन भएको थियो । उनी मखन चेस क्लबका संस्थापक अध्यक्ष थिए । अन्तिम समयसम्म उनी त्यसै क्लबनिम्ति सक्रिय रहे । स्थापनासँगै क्लबले विभिन्न प्रतियोगिताको आयोजना र प्रशिक्षणको काम गरेको थियो ।

यसक्रममा उनले यो खेललाई स्कुलसम्म पुर्‍याउने प्रयास गरे । यसै कारण नेपाली चेसले धेरै नयाँ र युवा खेलाडी पाएको थियो । नेपाली चेसका लागि उनको सबैभन्दा ठूलो योगदान पहिलोपल्ट रेटिङ प्रतियोगिता आयोजना थियो । यो प्रतियोगिता सन् २०१३ मा भएको थियो । त्यसअघि नेपालमा जति प्रतियोगिता आयोजना हुन्थे, त्यसको हैसियत स्थानीय प्रतियोगिताकै रूपमा मात्र थियो । यो प्रतियोगिताको आयोजना नेपाली चेसका लागि कोसेढुंगा साबित भयो ।

‘नेपाली चेसमा यति धेरै सक्रिय र लगातार लागेको व्यक्तित्व कमै छन् । त्यसमा एक सुजेन्द्र हुन् । उनको निधन यो खेलका लागि निकै अपूरणीय क्षति हो,’ नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जनले भने । नेपाली चेसमा उनी सुजेन्द्रभन्दा पनि ‘भुयु’ उपनामले बढी चिनिए । सुजेन्द्रसँगै उनको परिवारको तीन दाजुभाइ राष्ट्रियस्तरका खेलाडी रहे । त्यसमध्ये एक राजेन्द्रप्रसाद श्रेष्ठले भने, ‘खेलाडीका रूपमा उनी आक्रामक थिए र यसै अनुसार खेल्न रूचाउँथे ।’

खेलाडीका रूपमा उनी फिडे मास्टर भए । सन् २०१० मा श्रीलंकामा एसियन जोनल ३।२ मा नेपालको प्रतिनिधित्व गर्दै सुजेन्द्रले यो उपाधि हात पारेका हुन् । उनले धेरै अवसरमा नेपालको प्रतिनिधित्व गरे । त्यसमध्ये सबैभन्दा ठूलो उपलब्धि तीनपल्ट विश्व चेसकै सबैभन्दा ठूलो प्रतियोगिता चेस ओलम्पियाड खेल्नु रह्यो । उनले इटालीमा ३७ औं, जर्मनीमा ३८ औं र नर्वेमा ४० औं चेस ओलम्पियाड खेलेका थिए ।

सन् २००८ को राष्ट्रिय चेसमा उनी दोस्रो भएका थिए । उनले नेपाल बुद्धिचाल संघको उपाध्यक्ष पद पनि सम्हाले । उनी फुटबलका राम्रा खेलाडी थिए । फरवार्डका रूपमा मैदानमा बिताए । उनले ०५२ र ०५४ को लिगमा काठमाडौं क्लबका लागि सहिद स्मारक लिग ‘ए’ डिभिजन खेले । उनको फुटबल भने अन्नपूर्ण क्लबबाट सुरु गरेका थिए । काठमाडौं क्लबका अध्यक्ष रहेका सन्जीव मिश्रका अनुसार आफ्नो समयमा उनी उमेर समूहको राष्ट्रिय टिमका बलियो प्रत्याशी थिए ।