जनतासँग नेकपा(क्रान्तिकारी माओवादी) भन्ने नारा सहित अभियानको उद्घाटन

जनतासँग नेकपा(क्रान्तिकारी माओवादी) भन्ने नारा सहित अभियानको उद्घाटन

२४ चैत्र झापा ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ ले जनतासँग नेकपा(क्रान्तिकारी माओवादी) भन्ने नारा सहित झापा जिल्लाको महेशपुरबाट अभियानको थालनी गरेको छ ।


जनतासँग जनसम्बन्ध विस्तार गर्ने लक्ष्य सहित दुई महिने अभियानको शुभारम्भ गर्दै प्रदेशका १४ वटै जिल्लामा अभियान चलाइने क्रान्तिकारी माओवादीले जानकारी दिएको छ ।
अभियानको क्रममा मजदुर ,किसान तथा सुकुम्बासीका झुपडीसम्म पुगेर जागरुक बनाउने र राष्ट्रियता ,जनतन्त्र र जनजीवीकाको विषयमा नागरिकलाई सुसज्जित बनाउने लक्ष्य राखिएको छ । मिटर ब्याज पीडित तथा वर्गिय तथा जातिय समस्यामा परेका नागरिकहरुलाई सहयोग पुर्‍याउने अभियानको लक्ष्य रहेको छ ।
अभियानले कम्युनिस्ट पार्टीहरुको एकता , धु्रवीकरण ,पार्टी संगठन सुदृढीकरण र जनसंघर्ष तथा जनसम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिएको छ ।
अभियान उद्घाटनको प्रमुख अतिथी पार्टीका पिविएम तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्माले गर्नु भएको थियो ।उहाँले जनताको घरदैलोमा पुगेर उनीहरुको समस्यामा क्रान्तिकारी माओवादीका नेता तथा कार्यकर्ता सरिक हुने बताउनु भयो । उहाँले पछिल्लो समय बढ्दै गएको विदेशी साम्राज्यवादी तथा विस्तारवादीको हस्तक्षेप र दलाल संसदीय व्यवस्थालाई भण्डाफोर गर्नका लागि नागरिकलाई सचेत गराउन अभियानको उद्घाटन गरेको स्पष्ट पार्नु भयो । इन्चार्ज शर्माले नेपाली जनताका तमाम समस्याहरु हल गर्नका लागि संघीय जनगतन्त्र स्थापना गर्नका लागि अभियानबाटै जनताको घरदैलोमा पुगेर आग्रह गर्ने भनाई राख्नु भयो ।
कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश सेक्रेटरी सरलले गर्नु भएको थियो भने संचालन झापा जिल्ला सेक्रेटरी हरि गौतमले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित नेता,कार्यकर्ता तथा स्थानीय नागरिकहरुको स्वागत पार्टीका प्रदेश सदस्य तथा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका प्रदेश १ अध्यक्ष विष्णु चौधरीले गर्नु भयो । उक्त उद्घाटन कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य अर्जुन राजवंशीले स्थानीय नागरिकहरुका समस्याहरुको विषय वस्तु उठान गर्नु भएको थियो ।