’मजदुरसँग महासंघ’ अभियान उद्घाटन सम्पन्न ; पाँच लाख मजदुरमा पुग्ने लक्ष्य

’मजदुरसँग महासंघ’ अभियान उद्घाटन सम्पन्न ; पाँच लाख मजदुरमा पुग्ने लक्ष्य

२३ चैत्र काठमान्डौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले ’मजदुरसँग महासंघ’ अभियान संघीय राजधानी काठमाडौबाट उद्घाटन गरेको छ । मजदुर एवं मजदुरका प्रतिनिधिहरुको मजदुर मार्च प्रदर्शन पछि सम्पन्न एक कार्यक्रमका बीच महासंघका अध्यक्ष दिनेश शर्माले अभियानको उद्घाटन गर्नुभएको थियो । माइतीघर, बबरमहल, बिजुलीबजार हुँदै पुन: माइतीघरसम्म मजदुरहरुले मार्च प्रदर्शन गरेका थिए ।


अभियान उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष दिनेश शर्माले ’मजदुरसँग महासंघ’ अभियान लाखौं मजदुरसँग पुग्ने र दशौं हजार मजदुरहरुलाई संगठित गर्ने लक्ष्य सहित अघि बढ्ने बताउनुभयो । त्यसै गरि मजदुरहरुलाई क्रान्तिकारी विचारले लैस संगठनमा आबद्ध भएर अघि बढ्न अपिल गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ आजका सम्पूर्ण संकट र अन्तरविरोधको नेतृत्व एवं सम्बोधन गर्न सक्षम रहेको स्पष्ट गर्नुभयो । “ हामी एउटा विशिष्ट परिस्थितिको सामना गरिरहेका छौं, नेपालको मजदुर आन्दोलनले त्यो परिस्थितिको सामना गरिरहेको छ । जुन लक्ष्य हासिल गर्न हामीले इतिहासमा वलिदान गर्‍यौं, अहिलेको व्यवस्थाले त्यसलाई कुल्चने दुस्साहस गरेको छ, मजदुरहरुलाई राज्यबिहिन, सरकारबिहिन र अधिकारबिहिन बनाएको छ, अब यसलाई भत्काउनु पर्छ, नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्छ । हाम्रो संघर्ष यो व्यवस्था बदल्ने संघर्ष हो । यो व्यवस्था बदलेर मात्रै अहिलेका संकट र अन्तरविरोधको हल गर्न सकिन्छ ।“

यो अभियान त्यो आन्दोलनको एउटा क्रान्तिकारी हिस्सा बन्नेछ र यसले लाखौं मजदुरहरुको बीचमा पुग्ने र हजारौं मजदुरहरुलाई संगठित गर्ने प्रक्रियामा आफुलाई प्रमाणित गर्नेछ ।“ अभियानले पाँचलाख मजदुरसँग पुग्ने, दशहजार मजदुरहरुलाई संगठित गर्ने र एक हजार नयाँ इकाईहरु निर्माण गर्ने लक्ष्य लिएको छ । त्यसैगरि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष इश्वर तिमिल्सिनाले जुझारु र एकताबद्ध संगठन निर्माणको आवश्यकतामाथि जोड दिनु भयो । “जुझारु र एकताबद्ध संगठन आजको आवश्यकता हो, त्यसप्रकारको संगठनले मात्रै आजको मजदुर आन्दोलनको कार्यभार पुरा गर्न सक्छ । “


मजदुर संगठनले मिटरब्याज र लघुबित्तले आक्रान्त मजदुर किसानहरूको संघर्षप्रति ऐक्यबद्धता जनाएको छ । उनीहरुको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै दिनेश शर्माले भन्नुभयो– “अहिले चलिरहेको मिटरब्याज र लघुवित्त पीडित मजदुर किसानहरुको संघर्षमा हाम्रो संगठनको ऐक्यबद्धता छ, तर के यही बाटोबाट मिटरब्याज र लघुवित्तको शोषण–उत्पीडनको आगोमा जल्न बाध्य पारिएका मजदुर किसानले वास्तविक न्याय प्राप्त गर्लान ? तपाईहरुले वास्तविक न्याय प्राप्त गर्नुहोला ? किनकि यो संघर्ष यो राज्यव्यवस्थाको जरासँग जोडिएको छ, यसलाई नउखेल्दासम्म त्यो कसरी सम्भव हुन्छ ? संघर्षरत मजदुर किसानहरूले सोच्नेबेला भएको छ । आउनुहोस सँगै जुधौं, हामी तपाईहरुलाई मुक्त गर्न अन्तिमसम्म अविचलित जुध्ने संकल्प गर्छौं ।“
अभियानले संगठनका महासचिव वसन्त बोगटीको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय अभियान दल र प्रदेश महासंघका अध्यक्ष/संयोजकहरुको नेतृत्वमा प्रदेश स्तरको अभियान दलको संरचना घोषणा गरेको छ ।