१८ जिल्लाबाट आइतबार थप १ हजार बढी पीडितहरू काठमाडौं आउँदै

काठमाडौं । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं आएको छैटौँ दिनमा थप १ हजार बढी पीडितले काठमाडौं आउने तयारी गरेका छन्।

देशभरका १८ जिल्लाबाट आइतबार पीडितहरू काठमाडौं आउन लागेको मिटरब्याजविरुद्धको संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले नेपालखबरलाई जानकारी दिए। देशभर ३५ जिल्लाका पीडितहरू सम्पर्कमा आएकोमा तत्काल १६ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेको उनले बताए।

उनकाअनुसार कैलाली, बाँके, दाङ, रूपन्देही, नवलपरासी, झापा, सुनुसरी, तनहुँ, कास्की, उदयपुर र मधेसका ८ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेका हुन्।

सोमबार काठमाडौं पुग्ने उनीहरूको तयारी छ। २० चैतमा सिंहदरबार, २१ चैतमा बालुवाटार र २२ चैतमा संसद्‌ भवनअगाडि मार्चमास गरेर धर्नाका कार्यक्रम सार्वजनिक गरिने प्रवक्ता नवीनले बताए।

नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध संघर्षरत छन्। पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बसेका थिए। गत असोज १ गते पीडित र सरकारबीच ५ बूँदे सहमति भएको थियो।

तर त्यो सहमति कार्यान्वयन नभएको संघर्ष समितिका प्रवक्ता नवीनले बताए। ुकर्मचारीस्तरबाट आयोग बनाउने भनिएको छ, यो मान्य हुँदैन। कम्तिमा राजनीतिक स्तरको हुनुपर्छ, भूमि अधिकार बुझ्ने आयोग चाहिन्छ,ु उनले भने।

मार्चमा तत्काल १ हजार बढी पीडित जिल्लाबाट काठमाडौं आउने भए पनि व्यवस्थापनलाई हेरेर जिल्लाका ४ सय जति पीडित मात्रै धर्नामा बसाउने तयारी छ। नागरिक आन्दोलन र दलित अधिकारसँग सम्बन्धित संघसंस्थाले ऐक्यवद्धता जनाएकाले काठमाडौंमा २ हजार बढीले संयुक्त मार्चपास गर्ने तयारी समितिको छ।

मिटरब्याजीले उठीबास लगाएपछि महोत्तरीको बर्दिबासबाट पैदलयात्रा गरी काठमाडौँ आउनेमा काखे बच्चा च्यापेका आमाहरू पनि छन्।

यसबीच सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ भने आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्तासमेत गरिसकेको छ। वार्ता सकारात्मक भएको बताइएको छ। प्रधानमन्त्री दाहालले पीडितका सबै माग पूरा गर्ने आश्वासन दिएका छन्।

यद्यपि, महोत्तरीबाट पैदल हिँडेर आएका पीडितको नेतृत्व गरिरहेका र आइतबार काठमाडौं आउने पीडितको नेतृत्व गरिरहेका अभियन्ताबीच एकमत भने छैन।