नेपालमा पछिल्लो समयमा अन्तराष्ट्रिय सुरक्षा चासो बढ्दैगएको देखिएको छ । खासगरी भारत र अमेरिकाले नेपालमा आबश्यकता भन्दा बढी चासो र हस्तक्षेप बढाएपछि चीनसमेत त्यसमा जोडिन पुगेको छ । त्यतिमात्र होइन पछिल्लो समयमा नेपालमा अमेरिकी खेमामा रहेका जापान र दक्षिण कोरियालगायतका मुलुकहरुको चासो पनि पहिलेकोभन्दा अनपेक्षित ढंगले बढेको देखिएको छ । नेपालमा दुई छिमेकीमध्ये भारत नेपाललाई सके सिक्किम नभए भुटानको अवस्थामा पुर्‍याउन चाहाने र चीन नेपालको सार्बभौमिकताको रक्षामा जोड दिने भएका कारण नेपाल सन्दर्भमा उक्त दुई देशका स्वार्थहरु बाझिएका देखिन्छन् । त्यसैगरी शुरुमा नेपाललाई भारतीय आँखाले हेर्दै र भारतमार्फत नेपालमा आफ्नो रणनीतिहरु अगाडि बढाउँदै आएको अमेरिका हाल आएर नेपालमा प्रत्यक्ष उपस्थिति जनाउने अवस्थामा पुगेपछि नेपाल मामिलालाई लिएर भारत र अमेरिकाका कतिपय स्वार्थहरु पनि बाझिन थालेका छन् । तथापि उनीहरुले छिमेकी चीनको मामिलालाई लिएर आपसमा समन्वयगर्ने प्रयास गरिरहेको देखिएको छ । तर सबैको स्वार्थ टकराउँदा नेपालनै रणभूमी बन्ने संभावना छ । हालको अवस्थामा भारत, अमेरिका र चीनको चासो नेपालको सत्ता राजनीतिमा समेत केन्द्रित हुनपुगेको देखिन्छ । एकातिर इन्डो पश्चिमा शक्तिले गठबन्धन गरेर नेपालको शासन सत्तामा हात बढाएको छभने अर्कातिर छिमेकी चीनले पनि नेपालको शासन सत्तामा रहेकाहरुलाई सन्तुलनमा राख्ने र आफूतर्फ आकर्षितगर्ने प्रयास थालेकोे देखिएको छ । नेपालले यसअघि असंलग्न परराष्ट्र नीति र अशल छिमेकी सम्बन्धको नीति अबलम्बनगर्दै आएकोमा पछिल्लो समयमा त्यसबाट च्युत गराउने कतिपय प्रयासहरु थालिएका छन् । ०७८ पछि यो प्रयास तीब्रभएर गएको छ । नेपालका पछिल्ला सत्ताधारीहरुले चीनलाई एक्ल्याउने तथा भारत र अमेरिकालगायतका पश्चिमाहरुलाई मिलाउने प्रयास गरिरहेका छन् । उनीहरुले त्यसलाई ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमतिको निरन्तरता भन्ने गरेका छन् । मुखले असंलग्न भनेपनि ब्यवहारले संलग्नतालाई प्रश्रय दिएको देखिएको छ । त्यसैका लागि गत महिनाहरुमा नेपालमा अमेरिका र भारतका सुरक्षा बिज्ञहरुको औपचारिक र अनौपचारिक रुपमा पटक, पटक भ्रमणहरु भएका छन् । अब उनीहरु नेपालमा कसरी हस्तक्षेप बढाउने भन्ने उपायको खोजीमा लागेको देखिएको छ । त्यसैका लागि भारतले नेपालमा आफ्नो देशका पृथकतावादीहरुको प्रबेश भएको हुनसक्ने आशंकायुक्त बहानाहरु बनाउन थालेको छ । उसले हालैमात्र खालिस्तानी कमाण्डर खोज्नेभन्दै नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रहरुमा खुफियाको निगरानी बढाउनुका साथै सुरक्षाकर्मीहरुको तैनाथी गरेको छ ।
के भनिएको छभने भारतको पञ्जाबलाई छुट्टै खालिस्तान राज्य मागगर्दै आएका अमृतपाल सिंह र उनका समर्थकहरुलाई खोज्न नेपालको कञ्चनपुरस्थित सीमा नजिकका भारतीय बस्तीमा सुरक्षा एजेन्सी र खुफिया संयन्त्रहरुलाई सक्रिय गराइएको छ । भारतीय सुरक्षाकर्मीले नेपालको कञ्चनपुरसँग सीमा जोडिएका आफ्नो देशका बस्तीमा खालिस्तानी कमाण्डर खोज्नभन्दै बाक्लो उपस्थिति देखाउन थालेका छन् । नेपालको पश्चिमी सीमासँग जोडिएका उत्तराखण्डको उद्यमसिंहनगर र चम्पावत जिल्लामा सुरक्षा निकायले सर्च अप्रेसन अगाडि बढाएका समाचारहरु बाहिर आएका छन् । तर अमृतपाल सिंहको अझै अत्तोपत्तो लाग्नसकेको छैन । खुल्ला सीमा क्षेत्रबाट नेपाल पस्नसक्ने आशंकामा प्रहरी, सुरक्षा एजेन्सी र खुफियातन्त्रलाई सतर्क राखिएको भारतीय सञ्चारमाध्यमहरुले नै उल्लेख गरेका छन् । पञ्जाब प्रहरीले हतियारधारी केही व्यक्तिहरुको पोष्टर जारीगरेको देखिएको छ । उक्त पोष्टर सामाजिक सञ्जालहरुमा पनि देख्न सकिन्छ । तिनमा अमृतपाल सिंह, हरजीत, विक्रम जीत, पपल प्रीत, हर प्रीतलगायत रहेका छन् । खोजी सूचीमा रहेकाहरुको जानकारी पाएमा भारतीय प्रहरी र सुरक्षा एजेन्सीहरुलाई सूचितगर्न भनिएको छ । त्यसैले भारतीय गुप्तचर र सुरक्षाकर्मीहरु अनौपचारिक रुपमा नेपाली भूमीमा पनि परिचालित भएको हुनसक्ने संभावना छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाईसमेत सतर्क गराइएको देखिएको छ । भारतीय प्रहरीले नेपालसँगको सीमामा सतर्कता अपनाएको र संदिग्ध, अपरिचित र बाहिरका व्यक्तिहरुमाथि नजर राख्न शुरुगरेको चर्चा पनि हुनथालेको छ । खालिस्तानी कमाण्डर सिंह र समर्थकहरुका पोष्टर सीमा क्षेत्रका सार्वजनिक स्थानहरुमा समेत टाँसिएका देखिन्छन् । जानकारहरुकाअनुसार एसएसबी र प्रहरी संयुक्त चेकिङमा जुटेको पाइएको छ । नेपालको दोधारा चाँदनीको सीमावर्ती मेलाघाट बजारमा पनि त्यस्तो चेकिङ थालिएको थाहाभएको छ । जहाँ नेपाल भित्रिने यात्रुको परिचयपत्र पनि हेर्न थालिएको छ । हुन त पछिल्ला दिनमा भारतमा थुप्रै यस्ता पृथकतावादी आन्दोलनहरु भैरहेका छन् । जसका हेडक्वार्टरहरु अमेरिका र बेलायतमा स्थापना गरिएका समाचार बेलाबखत आउने गरेका छन् । भारतमा गाभिएको भनिएको सिक्किममा पनि मुक्ति आन्दोलन थालिएको छभने भुटानले चीनसँगसमेत सहकार्य थालेका कतिपय घटनाहरु बाहिर आएका छन् । हुन त गत असारको शुरुमै दिल्लीले नेपालका मदरसामा भारतविरोधी गतिविधि भएको आरोप लगाउने प्रयास गरेको थियो । नेपालका केही भारतपक्षीय नेताहरुलेसमेत जनकपुरमा पुगेर भारतीय भनाईमा होमा हो मिलाउँदै नेपालमा हिन्दू मुस्लिम बिवादको कुरा उठाउने प्रयास गरेका थिए ।
भारतले त्यतिबेला नेपालको तराई क्षेत्रमा रहेका मदरसामा भइरहेका अवान्छित गतिविधिका कारण भारतको सुरक्षा चुनौती थपिएको आरोप लगाएको थियो । नयाँदिल्लीमा गत असार एक र दुईगते भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक आवरणमा भारतविरोधी गतिविधि भइरहेको बताएको थियो । उनीहरुले मदरसाबाट अवान्छित गतिविधिहुँदा त्यसले भारत र नेपाल दुवैको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको अथ्र्याउन खोजेका थिए । बैठकमा नेपाली पक्षले मदरसालाई विद्यालयकारुपमा दर्ता गरिसकेको र तिनको नियमित अनुगमनसमेत भैरहेकोभन्दै भारतीय पक्षलाई आश्वस्त पार्ने प्रयास गरेको थियो । सो बैठकमा नेपाली पक्षको नेतृत्व गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखले गर्नुभएको थियोभने भारतीय पक्षकातर्फबाट गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुखले गर्नुभएको थियो । भारतले नेपालको तराईमा रहेका मदरसालाई आतंकवादी संगठनले दुरुपयोग गरिरहेको आशंका व्यक्त गरेपनि त्यो गलत साबित भएको छ । गतबर्षहरुमा पनि भारतले पटक, पटक नेपालका मदरसामा पाकिस्तानी खुफिया संस्था आइएसआई तथा साउदी अरबले लगानी गरिरहेको र ती मदरसामार्फत् भारतबिरोधी गतिबिधी भैरहेको आरोप लगाउने गरेको देखिएको थियो ।
कतिपय भारतीय सञ्चारमाध्यमले पनि बेलाबखत भारतीय खुफिया संस्थाको रिपोर्टको हवालादिँदै नेपाल—भारत सीमामा मदरसाको संख्या बढिरहेको र त्यसबाट भारतको सुरक्षामा चुनौती उत्पन्न भएकोभन्ने विवरण सहितका समाचार दिनेगरेका छन् । त्यसैगरी अमेरिकाले पनि नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहका लागि ट्रान्जिट प्वाइन्ट भएको दाबी गर्नथालेको छ । अमेरिकी ब्युरो अफ काउन्टर टेरोरिजमले गत महिना जारीगरेको एक वार्षिक प्रतिवेदनमा नेपालको सन्दर्भमा त्यस्तो भनिएको थियो । अमेरिकी सरकारको विदेश विभाग अन्तर्गत रहेको सो ब्यूरोले प्रकाशित गरेको वार्षिक प्रतिवेदन–२०२१ को पृष्ठ १७९ र १८० मा नेपालबारे उल्लेख गरिएको छ । सो प्रतिवेदनले भारतसँगको खुला सीमाना र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको अपर्याप्त सुरक्षा प्रोटोकलमाथि गम्भीर प्रश्न उठाएको देखिएको छ । प्रतिवेदनमा उपरोक्त दुई आधारमा नेपाललाई अन्तर्राष्ट्रिय आतंकारी समूहहरुका लागि नेपाल प्रवेशगर्ने सजिलो बिन्दुकारुपमा अथ्र्याउन खोजिएको थियो । प्रतिवेदनमा नेपालको विमानस्थलको सुरक्षा व्यवस्था निकै कमजोर र अपर्याप्त रहेको भनिएको थियो । सो प्रतिवेदनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्क्रिनिङ राम्ररी नगरिएको र नेपाल आउने यात्रुको विवरण डाटाबेसमा नराखिएको पनि उल्लेख गरिएको थियो । प्रतिवेदनले यात्रा कागजातको वैधता जाँचगर्न पर्याप्त र आधुनिक उपकरणको अभावप्रति चिन्ता पनि व्यक्त गरेको थियो । यसरी भारत र अमेरिकाले नेपालमा आतंकवादी गतिबिधि रहेको प्रमाणित गराएर हस्तक्षेपगर्ने उपायको खोजि गरिरहेको देखिएको छ । तर नेपालमा हालसम्म प्रकटरुपमा कुनैपनि खालका आतंकवादी गतिबिधिहरु भैरहेका छैनन् । नेकपा (माओवादी) ले ०५२ सालमा भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको बिरोधगर्दै जनयुद्ध शुरुगरेको थियो । जसमा राष्ट्र, राष्ट्रियता र देशभक्तिका धेरै कुराहरु प्रमुख रुपमा समाबेश थिए । माओवादीको त्यतिबेलाको नेतृत्व हाल नेपालको सत्ता र शक्तिमा रहेपनि त्यतिबेला अगाडि सारिएका कुनै पनि मागहरु पूराभएका छैनन् । अब फेरी नेपालको देशभक्त शक्तिले तिनै मागहरुलाई उठाएर साम्राज्यवाद बिरोधी अभियान थाल्नुपर्ने टड्कारो आबश्यकता देखिएको छ । यसतर्फ नेकपा(क्रान्तिकारी) माओवादीले ध्यान देला कि ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार