काठमाडौँ । नेपाल–अमेरिका ल्यान्ड फोर्स टक बुधबार सकिएको छ । मानवीय सहायता, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा छलफल गरी नेपाली र अमेरिकी सेनाबीचको तीनदिने संवाद सकिएको हो ।
छलफलले दुई देशबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ । द्विपक्षीय संवादको पाँचौं संस्करण सन् २०२४ को मार्चमा अमेरिकामा गर्ने तय भएको छ ।
छलफलमा २२ सदस्यीय अमेरिकी टोलीको नेतृत्व अमेरिकी सेनाको प्यासिफिक कमान्डका डिपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका थिए । १४ सदस्यीय नेपाली टोलीको नेतृत्व भने उपरथी अशोकराज सिग्देलले गरेका थिए । मेजर जनरल स्मिथले कार्यक्रमपछि रक्षासचिव किरणराज शर्मा र प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका थिए ।
नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका मेजर जनरल भर्खर भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका छन् । उनी भिस्तारा एयरको उडानमा गएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डर क्रिस्टोफर स्मिथ नेतृत्वको टोली नयाँ दिल्ली गएको हो ।
यसैबीच, काठमाडौंस्थित अमेरिकी दूतावासको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकांश स्थानको निरीक्षण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय लागुपदार्थ र सोसम्बन्धी कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरु १४ चैत्रमा विमानस्थलको विशेष निरीक्षणमा पुगेका छन् ।
दूतावासले विमानस्थल कार्यालय,नेपाल प्रहरी र अध्यागमन कार्यालयलाई जानकारी गराउँदै निरीक्षण गराएको हो । यसक्रममा ११ जनाको टोलीले विमानस्थलस्थित प्रहरी,अध्यागमन र भन्सार कार्यालयका प्रमुखसँग भेट गरेको छ । उनीहरुले विमानस्थलको आगमन र प्रस्थान कक्षको सुक्ष्म अध्ययन गरेको बताइन्छ ।
विमानस्थलबाट हुनसक्ने लागुपदार्थ ओसारपसारको सम्भावनालाई दृष्टिगत गर्दै अमेरिकी टोलीले काठमाडौं विमानस्थलको निरीक्षण गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ । विमानस्थल निरीक्षण गर्न गएको टोलीमा केइली ओजिमा,केभिन स्कुल्ली, रेमण्ड म्याकडफी,हुग अस्टिन,लिआने टोमे, जेनिफर दास,पिटर एस ग्रीन,सुवास श्रेष्ठ, सनतवरसिंह थापा,स्नेही श्रेष्ठ र आरके भसिन थिए ।