
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको जनाएको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने–नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानललक्षित एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानललाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन काउन्सिलले विशेष अभियान थालेको जानकारी दिए । काउन्सिलले यसअघि नै युट्युबलगायत सामाजिक सञ्जालको नियमन तथा व्यवस्थापनका लागि सुझाव दिन कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदनसहित सरकारलाई सुझावसमेत पेस गरिसकेको थियो ।