देशभक्त जनगणतान्त्रिक माेर्चाका ९८ बुँदे माग प्रधानमन्त्रीलाई, पूरा नगरे संघर्षमा उत्रने चेतावनी (९८ बुँदे मागसहित)

देशभक्त जनगणतान्त्रिक माेर्चाका ९८ बुँदे माग प्रधानमन्त्रीलाई, पूरा नगरे संघर्षमा उत्रने चेतावनी (९८ बुँदे मागसहित)

 

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (देजमो)ले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९८ बुँदे ज्ञापन पत्र बुझाएको छ । शुक्रबार देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सिपी गजुरेल गौरवको नेतृत्वमा गएको मोर्चाको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा माग पूरा नभएर संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा मोर्चाका अध्यक्ष सिपी गजुरेल जनयुद्धका बेलादेखि उठाएका मागहरु अहिले पनि ज्युँका त्युँ रहेको भन्दै फेरि पनि आन्दोलन गर्न बाध्य हुनुपर्ने स्थिति बनेको बताउनु भयो । उहाँले भन्नुभयो, “हिजो तपाईकै नेतृत्वमा दशवर्ष जनयुद्ध लडियो । तपाईं र बाबुराम जी पटक पटक प्रधानमन्त्री हुनुभयो । तर समस्या ज्युँ का त्युँ रह्यो । यो बिडम्बनापूर्ण स्थिति हो । तपाईले विगतमा दुई पटक यो व्यवस्था बुझ्दैमा खेर गयो । तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा यो पटक भने केही गरेर देखाउँछु भन्नुभएको थियो तर त्यस दिशातर्फ खासै संकेत अहिलेसम्म देखिएको छैन ।” अध्यक्ष गजुरेलले अगाडि थप्नुभयो, ‘मान्छेहरुले आत्मदाह गर्नुपर्ने स्थिति बन्न थाल्यो । हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समग्र विषयलाई ९८ बुँदामा सुत्रबद्ध गरेका छौं । यसमा समावेश गरिएका कतिपय मागहरु हिजो तपाईं हामीले सँगै उठाएका मागहरु छन् । हामीले तपाईको यो तेस्रो कार्यकालमा यी माग पूरा हुने विश्वास लिएका छौ ।’


ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मोर्चाले अगाडि सारेका मागहरु आफ्नो पनि माग भएकोले मेरो काममा यी मागहरुले सहयोग पुर्‍याउने बताउनु भयो । उहाँले जनयुद्ध दिवसमा विदा दिने र जनयुद्धका दस हजारभन्दा बढी सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुलाई नियमित कामको रुपमा मात्र नबसझ्न आग्रह गर्दै विगतमा भन्दा आफूले केही नयाँ गर्न खोजेको बताउनु भयो ।

उहाँले ००७ सालदेखि नै मात्रात्मक परिवर्तन हुँदै आएको र जनयुद्धले पनि गुणाात्मक परिवर्तन गर्न नसकेको स्वीकारोक्ति गर्दै उहाँले भन्नुभयो, “जनयुद्धका लक्ष्य र उद्देश्य अझै पूरा भएका छैनन् । गुणात्मक परिवर्तन हुन बाँकी नै छ । तपाईहरुको निष्कर्ष पनि यही हो । हाम्रो बुझाइ र अनुभूति पनि त्यही छ । कसरी अगाडि बढ्ने भन्ने विषयमा तपाईं हाम्रा बाटाहरु मात्र फरक रहे । तपाईहरुले त्यहाँबाट जे जस्ता अनुभव हासिल गर्नु भा छ, हामीले यहाँबाट जे जस्ता अनुभव हासिल गरेका छौ । ती दुवै नेपाली क्रान्तिका साझा अनुभव हुन् । र, अब परिस्थितिले ती अनुभवलाई साझा बनाउने दिशातर्फ धकेलेको छ ।’

‘देशको स्वाधीनताको रक्षा गर्न र नेपाली समाजलाई गुणात्मक परिवर्तनको दिशातर्फ लैजान माओवादीहरु, कम्युनिस्ट क्रान्तिकारीहरु एक ठाउँमा आउनु पर्छ । यो संसदीय व्यवस्थाबाट देश र जनताको हित सम्भव छैन । अब नकारात्मक अनुभवबाट सकारात्मक शिक्षा लिदै अगाडि बढ्नुको विकल्प छैन ।’ प्रम प्रचण्डले भन्नुभयो, ‘तपाईहरुले उठाएका माग मेरा पनि माग हुन् । मेरो काममा यी मागले सहयोग पुर्याउने छन् । म सकेसम्म यी माग पूरा गर्न कोशिस गर्ने छु ।’
उहाँले संक्रमणकालीन न्यायको विषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउन संसदमा संशोधित विधेयक पेश गरिसकिएको र अब चाँडै पास हुने जानकारी गराउँदै जनयुद्धमा १२ हजारभन्दा बढी नागरिक तत्कालीन राज्यको दमनबाट मारिएको पनि दावी गर्नुभयो ।

ज्ञापन पत्र बुझाएर बाहिरिएपछि मोर्चाका अध्यक्ष सिपी गजुरेलले मूलबाटो डटकमलाई प्रतिक्रिया दिंदै प्रधानमन्त्रीलाई बुझाएका मागहरुका बारेमा केही समय हेर्ने र त्यसपछि पनि माग पूरा गरिएनन् भने संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

९८ बुँदे मागलाई प्रधानमन्त्री प्रचण्डसामु देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले प्रस्तुत गर्नु भएको थियो ।

ज्ञापन पत्र बुझाउन गएको टोलीमा मोर्चाका अध्यक्ष सिपी गजुरेल, महासचिव परि थापा, प्रदेश ३ का अध्यक्ष शिव श्रेष्ठ रहनु भएको थियो । सो अवसरमा वर्गदृष्टि साप्ताहिकका सम्पादक इन्द्र राउतको समेत उपस्थिति रहेको थियो ।

 

 

thumbnail of ज्ञापन पत्र (1)